प्रेस विज्ञप्ति

साहित्य परिषद्, भूटानले अन्तर्राष्ट्रिय साहित्य सम्मेलन गर्ने

आदरणीय पत्रकार एवं सञ्चारकर्मीज्यूहरू,

अमेरिकामा साहित्य परिषद्,भूटानले आगामी जुन २५ र २६ मा दुई दिने वृहत् अन्तर्राष्ट्रिय साहित्य सम्मेलनको आयोजना निश्चित गरेको ब्यहोरा यहाँहरूलाई जानकारी गराउन चाहन्छु । उक्त कार्यक्रममा वरिष्ठ साहित्यकार प्रा. डा. गोविन्दराज भट्टराई प्रमुख अतिथि तथा प्रमुख व्यक्ता रहनु हुने छ । दुई दिन कार्यक्रममा पहिलो दिन उपन्यास, कथा, भाषा शिक्षण तथा कविता विधाका ११ वटा कृतिहरूको विमोचन हुने छ । अमेरिका, क्यानडा, नर्वे तथा नेपालमा रहेका भुटानी स्रष्टाहरू अधिक उपस्थिति रहने कार्यक्रममा सृजना वाचन, गीति एल्बमहरूको लोकार्पणका साथै पुनर्वासमा भाषा साहित्यको संरक्षण र संवर्द्धनका भएका पहलका बारेमा छलफल र अन्तर्क्रिया हुनेछ । । दोस्रो दिन साङ्गीतिक प्रस्तुतिका साथै समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने कलाकार, समाज सेवी, स्रष्टा, शिक्षक र उद्योग व्यवसायीहरूलाई सम्मान तथा अभिनन्दन गरिनुका साथै विभिन्न सन्दर्भका पाँच वटा कार्यपत्रहरू प्रस्तुत हुनेछन् । कार्यक्रममा ड्यामोक्रेट सिनेटर शरद ब्राउन, कङ्ग्रेस वुमेन जोयस्बेटी र सिटी काउन्सिल म्याम्बर भुवन प्याकुरेल र ओहायो राज्यका गभर्नरका प्रतिनिधिहरू पनि सहभागी हुनेछन् र नेपाली साहित्य र समाजबारे आफ्ना गहन विचारहरू राख्नेछन् ।

विशेष अतिथिका रूपमा नेपालबाट साहित्यकार कृष्ण धरावासी, स्रष्टा अञ्जना भट्टराई (ओस्ती), कान्तिपुर दैनिकका सम्पादक पारस नेपाल भुटानी मानव अधिकारवादी नेता एन बी गिरी तथा विभिन्न राज्यबाट भुटानी समुदायका नेतृत्वकर्ता यस कार्यक्रममा सहभागी हुनहुनेछ । यसै गरी नर्वेबाट स्रष्टा रमेश गौतम, कवि डिल्लीराम आचार्य, न्यु जिल्यान्डबाट समाजसेवी गङ्गा अधिकारी र क्यानडाबाट भानु ढुङ्गाना पनि सहभागी हुनेछन् ।

यसै गरी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, त्रिवेणी नेपाली साहित्य संसार अमेरिका, गोधुली साहित्य चौतारी क्यानडा, आँकुरा साहित्य चौतारी क्यानडा, विश्व भुटानी साहित्य संघठन, एस के एजुकेसन र मातृ भाषा संरक्षण समूह अमेरिका जस्ता संस्थाहरूका पदाधिकारीहरूको समेत कार्यक्रममा उपस्थित रहनेछ ।

साहित्य परिषद् भुटान (LCOB) पुनर्वासमा भाषा,साहित्यको संरक्षण र संवर्द्धनका लागि निरन्तर क्रियाशील रहेको छ । परिषद् अमेरिकामा पञ्जीकृत एउटा गैर नाफामुखी (501 C) मान्यता प्राप्त संस्था हो । सन्२०१६ मा अमेरिकामा दर्ता भए पनि यसको यात्रा सन् १९९३ बाट आरम्भ भएको थियो । नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण, संवर्द्धन र विकासलागि स्थापित साहित्य परिषद्ले तीन दशकको यात्रामा धेरै आरोह-अवरोह पार गर्दै आफ्नो स्थापनाकालको लक्ष्य, उद्देश्य र मूल्यहरूको प्राप्तिका निम्ति निरन्तर क्रियाशील र प्रतिबद्ध पनि छ ।

लगभग ३ दशक लामो यात्राका क्रममा परिषद्ले लेखन, प्रकाशन, र साहित्यिक र सांस्कृतिक कार्यक्रमहरू मात्र गरेन, भाषा शिक्षण र नेपाली साहित्यको अध्ययन र पठनपाठनको अभियानै चलायो । नेपालका ७ वटै शिविरहरूमा शाखा-प्रशाखा विस्तार गरेर भाषा साहित्यको अध्ययनको व्यवस्था तर्जुमा समेत गर्‍यो । साहित्य परिषद् भुटान र साहित्य प्रचार समिति सिलगढीको संयुक्त पहलमा १९९३ देखि सुरु भएको साहित्यिक एवं शैक्षणिक अभियान २००९ सम्म निरन्तर चलिरह्यो । १७ वर्ष लामो उक्त शैक्षणिक अभियानबाट लगभग १ हजारभन्दा बढी भुटानीहरूले साक्षर र शिक्षित बन्ने अवसर पाए ।

यसका साथै परिषद्ले स्थापना कालदेखि नै पत्रपत्रिकाको प्रकाशन (जस्तै भुटान कोपिला वार्षिक, भुटान जागरण पाक्षिक) प्रकाशन गरेर समाजका उदयमान लेखकहरूलाई लेख्ने, अभिव्यक्ति दिने र सामाजिक उन्नयन र चेतना विस्तारका लागि एउटा मञ्च प्रदान गर्‍यौँ । शरणार्थी क्याम्पमा नेपाली भाषा पढाउने अधिकांश शिक्षकहरू परिषद्का उत्पादित नै थिए र अहिले भुटानी समाजमा उदाएका थुप्रै लेखक र स्रष्टाहरूको जननी पनि साहित्य परिषद् नै हो ।

पुनर्वासपछि भाषा, संस्कृति र पहिचानका समस्याहरू झन् जटिल भएर गएका छन् । भाषा-सांस्कृतिक अभियानलाई जारी राख्न तथा नयाँ पुस्ताका लेखकहरूलाई लेखनको साझा मञ्च प्रदान गर्न सन् २००९ मा Bhutaneseliterature.com को स्थापना गरिएको छ । हाल यो साइट सञ्चालनमा आएको १३ वर्ष पूरा भएको छ । यस अवधिमा उक्त वेबसाइट मार्फत झन्डै ४००० भन्दा बढी रचनाहरू प्रकाशित भइसकेका छन् । यस मञ्चनसँगै लेखक र रचनाहरूको सङ्ख्या मात्रै बढेको छैन, तिनको स्तर, गतिशीलता र ज्ञानको आयामको पनि विस्तार भएको छ ।

ओहायो राज्यमा गैर नाफा मुखी संस्थाको रूपमा दर्ता भएको परिषद्ले भाषा मान्यताका लागि विज्ञहरूको समिति बनाएर स्थानीय सरकारका विभिन्न सङ्घ-संस्थाहरूसँग पहलकदमी गर्ने योजना पनि बनाएको छ । परिषद्को पुनर्वास पछिको यो तेस्रो अधिवेशन हो । पहिलो अधिवेशन २०१५ मा पेन्सिलभेनिया पिटस्वर्गमा र दोस्रो सम्मेलन २०१८ मा ओहायो राज्यको सिन्सिनाटीमा सम्पन्न गरेको थियो । अधिवेशन 800 E 17th Ave,Ohio History Center,Columbus मा हुनेछ । अन्तमा आयोजक समिति भाषा, साहित्य प्रेमी महानुभावहरूलाई यस गरिमामय कार्यक्रममा उपस्थितिका लागि हार्दिक आह्वान समेत गर्दछ ।

आयोजक

साहित्य परिषद्,भुटान र सहयोगी संस्था भुटानी कम्युनिटी अव ओहायो (बिसिसीओ)

गङ्गा लामिटारे

अध्यक्ष

साहित्य परिषद्,भुटान
मिति: पन्ध्र जुन २०२२

Leave a Reply

Your email address will not be published. Required fields are marked *