फर्किएको छु

जनक पौडेल/ लखनपुर, झापा

म फर्किएर
फेरि
तिम्रै दलिनमा उभिएको छु
किन बदलिएका छन्
धेरै कुराहरू ?
खै कहाँ फुकाएर छोड्यौ-
तिमीले अनुहारमा पालेको
चन्द्रमा ?
किन कालो र खस्रो –
तिम्रो ओठमा फक्रिने
रातो गुलाफ
कसले चुँडेर लग्यो ?
छातीका गमलामा फुलेका
रङ्गीन फूलहरू
यसरी किन उदाङ्गो भएकी ?
मैले ढप्क्याएर गएको
ढोका, तिमी
चुकुलहरू भत्काएर
को पस्यो भित्र ?
कसले च्यात्यो ?
तिमीले ओढेको बर्को
तिम्रै आँगनमा उभिएको छ
परिस्थितिको घोडा चढेर भागेको
एउटा सिपाही,
शक्तिहीन तिमीलाई जितेर
फेरि तिम्रैसामु आत्मसमर्पण गर्दैछ
थकित, निरास एउटा सिपाही ।
एकफेर हेर मलाई
नफर्किने गरी आएको छु
उदाङ्गो ढोकामा
आग्लो हाल्न आएको छु

म तिमीले अनुहारमा पालेको चन्द्रमा छुन चाहन्छु
म तिमीमा फक्रिएको गुलाफ चुम्न चाहन्छु
एकफेर उठ तिमी
अँगालोभरि
एउटा मखमली बर्को ल्याएको छु
तिमीलाई नै ओढाइदिन ।

हाल: काठमाडौँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *