फुस्केको मास्टर

अजित रूपाबुङ
अमेरिका

उस्तै कथा बोकेको हजारौँ मानिसहरूको उस्तै देखिने क्रमबद्ध माटो, बाँस, काँस र प्लास्टिकले बनेको छाप्राहरू छन्।त्यही छाप्राहरूले उनीहरूलाई हिउँदमा शीत र वर्षा याममा घाम पानीबाट ओत दिन्छ।त्यो समकथा वेदना बोक्ने मान्छेहरूको आफ्नो नभएको आफ्नोपनको बस्ती हो जसलाई बाहिरबाट सम्बोधन गर्ने नाम हो शिविर।शिविर आसपास स्थानीयहरूको घरहरू छन्।शिविरको किनार तिर टीकाराम अधिकारीको छाप्रो छ।ऊ स्वास्नी रमिला र सात वर्षीय छोरो यादव सँगै छाप्रोमा बस्छ।टीकाराम शिविरकै विद्यालयमा पढाउछन्। टीआर मास्टर भनेर सबैले चिन्छन्।छोरा यादव पनि त्यही विद्यालयमा पढ्छ। स्वास्नी रमिला गृहिणी हुन।दिउँसो समय निकालेर तल खोला बगरमा गिट्टी कुट्छिन्। सप्ताहान्तमा कहिले कहीँ  स-परिवार गिट्टी कुट्न खोला  झर्छन्।भूटानमा नेपाली भाषी माथि अत्याचार बढे पछि उनीहरू पनि लाखौँ नेपाली भाषीभूटानीहरु सँगै नेपाल आएका हुन्।यादव त्यो समय काखे बालक थियो।उनीहरूको छाप्रो मास्तिरबाट अनपाभ्ड रोड तन्किएको छ।सुख्खा याममा बहुत धुलाम्मे र वर्षा याममा हिलाम्मे हुन्छ।रोडको पारी तर्फ टङ्क आचार्यको सदन छ।पक्की सदन, इँट र जस्ताले छाएको।उसको पनि एक छोरा छ यामे, उही सात वर्षको।यादव भन्दा ऊ मात्र तीन महिनाले जेठो छ। यादव र यामे हितैषी हुन।टङ्क आचार्य रमिलाको दाइ पर्छ, सगोत्री हुन।उनीहरूको सम्बन्ध सुमधुर छ। भाषा, धर्म, संस्कार भेष भूषा सबै उस्तै हो,मात्र राष्ट्रियता मिल्दैन।उनीहरूको आफ्नै जमिन छ, आफै उपार्जन गर्छन्, बस्तुभाउ पालेका छन्, ठ्याक्कै भूटानमा टीकारामको पनि त्यस्तै थियो।अहिले शिविरमा न बस्तुभाउ पाल्न मिल्छ न कुनै उपार्जन गर्ने जमिन छ। आश्रय लिन दिएको एक फाक्टो जमिनमा उसको कुनै अधिकार छैन। त्यहाँ चाहे जस्तो केही गर्न पाइँदैन।अब विगतका भोगाइहरू स्मृतिमा सीमित बन्यो टीकारामको निम्ति।

“बा हामी पनि यमेको जस्तै पक्की घर वनाम न।” छोरा यादवले एक शनिवारको बिहान टीकारामलाई भन्यो।
“माबिरे, कर्णे,साइँला, पेमा तेरा साथीहरूको पनि हाम्रै जस्तो घर छन्,उ हेर् त।” टीकारामले छोरालाई फकाउँदै सैनिकको तालिम झैँ लाग्ने लामबद्ध छाप्राहरू औल्याउदै भन्यो।
“ हैन बा, यामेको जस्तै पक्की घर बनाम न, न पानी चुहिन्छ, न धुलो भित्र छिर्छ।हेर्नु त पानी पर्दा हाम्रो घर कस्तरी चुहिन्छ? कच्ची सडकबाट गाडी गुड्दा कस्तरी घर भित्र धुलो छिर्छ?”

यादवले तर्कपूर्ण कुरो गऱ्यो।ऊ सानै थियो तर ठुलाले जती नै कठिनाइहरूको अनुभूति सँगालेको थियो।झरीबर्षिँदा छाप्रोको भूँई, खाट, चुल्हो आदि तिर भाँडा बटुका, प्लास्टिकका डिब्बहरू राख्नु पर्ने हुन्छ, चुहिएको पानी थाप्नलाई।चैत वैशाखमा चलेको हुरी र अन्य समय गुडेको गाडीले उडाएको धुलोले ओछ्यान ढाकिन्छ, खानाको स्वाद बिगारी दिन्छ।कति कष्ट छ तर टीकाराममा पक्की घर बनाउने सामर्थ्य छैन।भिखदयाको एक फाक्टो जमिनमा उसको कुनै अधिकार छैन।टीकारामले छोराको स्निग्ध मुहार हेरेर भन्यो।

“ हाम्रो पनि पक्की घर छ, हामी छिट्टै त्यहाँ जानेछौँ।
“ कहाँ छ बा?”
“भूटानमा”

“ अनि हामी किन यहाँ बसेको?”
“ बस्नु पर्ने भएर।”

“ कसले यहाँ बस्नु पर्ने बनाएको?”
“भूटान सरकारले।”

“ को हो भूटान सरकार बा?”
“ भूटान देश चलाउने मान्छे।”

छोरा अझै के के सोध्न खोज्दै थियो, टीकारामले खल्तीबाट दुई रुपियाँको हल्का हरियो रङ भएको नोट झिक्यो र भन्यो।

“ ला यो फिङ्गर चिप्स किनेर खा।”
यादव पगा फुकालेको बाछो झैँ बुरुक्क बुरुक्क उफ्रँदै पसल तर्फ दगुऱ्यो।टीकाराम मन मनै आफै सँग बोल्न थाल्यो” के के सोध्छ यो केटो पनि?कहिले त ठुलाले झैँ प्रश्न सोधेर हैरान पार्छ।आज त्यस्तै गऱ्यो। पैसो दिएर नमन्साउनु भने हत्तु हैरान पार्ने। ऊ पूर्ण रिल्याक्स हुन पाएकै थिएन यादव हात भरी फिङ्गर चिप्स बोकेर आई पुग्यो।

“ बा हामी कहिले भूटानको घर जाने?”
“छिट्टै।”

“त्यहाँ यामेको घरमा जस्तै बिजुली, चिम र सिलिङमा फ्यान छ हगी?”
“ छ सबै छ।”

“ भोलि नै जाऊँ न बा, यहाँ गर्मीमा हाते पङ्ख कति चलाउनु? चिम बालेर पढ्न पाए कस्तो राम्रो हुन्थ्यो।यहाँ हेर्नु त धिप्री बालेर पढ्दा सबै कालै हुन्छ धुवाँले, कति कष्ट छ।”
“ भोलि नै हुँदैन।”

“ कहिले जाने त बा?”
उताबाट हुन्छ,आइज भन्छ अनि।”

“आफ्नै घरमा जान पनि कसले आइज भन्नु पर्छ?”
“ भूटान सरकारले।”

“ हामी राम सीता जस्तै वनवास आएका हौ?”
“ त्यस्तै हो तर खेदेर।”

“ किन खेद्नु परेको?”
“ हामी उनीहरू जस्तो नभएर।”

“ के उनीहरू मान्छे हैनन्?”
“मान्छे नै हुन।”

“ मान्छे मान्छेमा के मिल्दैन र हामी उनीहरू जस्तो भएनौँ?”
“ जाती, धर्म, भेष भूषा, संस्कार आदि यस्तै नमिलेर नि।”

“उनीहरू भूटानमै उम्रिएका हुन?”
“हैन तिब्बतबाट आएका हुन।”

यादव केही सोध्न खोज्दै थियो, यामे टुप्लुक्क आई पुग्यो।उसले रातो र सेतो छिर्के मिर्के बुट्टा भएको जाँघे लगाएको थियो।आधा बहुला भएको कालो टिसर्ट, छालीमा फन्टुस क्यारियोक्रेचरको छाप र खुट्टामा लोतीविहीन स्वात्त छिराउने स्याण्डल लगाएको थियो।

“किन आइस्?” यादवले यामे तर्फ मुन्टो फर्काउँदै सोध्यो।
“ चुङ्गी खेल्छस्?” यामेले बगलीबाट साइकलको ट्युब मसिनो गोलाकार काटेर बनाएको चुङ्गीको झुत्ता निकालेर हातमा फुत्रुक्क फुत्रुक्क उफार्दै सोध्यो।

“ बा म चुङ्गी खेलम?” यादवले बा सँग स्वीकृति माग्यो।
“ खेल तर झगडा नपर्नु।” टीकारामले स्वीकृति सँगै उर्दी जारी गऱ्यो। यादव र यामे दुवै चुङ्गी खेल्न त्यहाँबाट अलप भए।

“के भन्दै थियो छोरो?” रमिलाले घर बाहिर निस्कँदै लोग्नेलाई सोधी।
“ए यामेको जस्तै घर बनाऊ भन्छ नि।” टीकारामले मुढामा बस्दै उपरखुट्टी लाएर भन्यो।

“ यसले के के माग्छ के के? यस्कै ढिपीले दूध चाहिँ खान पुग्दै छ, ठेक्का पनि अलिअलि लाउन पुग्दै छ।”
रमिलाले मुसुमुसु हाँस्दै भनिन।

वर्ष अघि यादवले मलाई पनि यामेको जस्तै पुँडी गाई चाहियो भनेर कोकोहोलो मच्चाए। हुँदैन पाल्न दिदैन भन्दा कुरो बुझे त के? दुई दिन भात नै नखाए पछि रमिलाले दाइ टङ्क आचार्य सँग भनसुन गरेर उसको घरमा पाल्ने चाँजो पाँजो मिलाईन। हुन  त शिविरको अन्यले पनि स्थानीयहरू सँग सहकार्य गरेर सुँगुर बङ्गुर पाल्थे।शिविर भित्रै चाहिँ पाल्न नदिने हो। अब टीकाराम र रमिलाले जमाएको अलि अलि रकम गाई खरिद गर्नमाखर्च भयो।गाई लक्षिण कि रहेछिन्,बाछी नै जन्माई। गाई ल्याएको दिन यादवले झन्डै गाई सँगै रात बितायो। स्कुल भरी हाम्रो गाई छ भनेर ढोल पिटेको थियो।

“सक्ने कुरो त सकिएला, नसक्ने त कसरी सक्नु? पक्की घर पो बनाऊ भन्छ त?” टीकाराम पनि रमिला तर्फ हेरेर मुसुमुसु हाँस्यो।
“भदा यामे र यादवको डाहाको रण चल्छ नि। यामे भदाले हाम्रो पक्की घर छ तेरो झुप्रो भनी दियो होला अनि। गाई पालौँ भन्नुको कारण पनि त्यही हो। यामे भदाले मेरो जे छ भन्छ, उसको पनि त्यो हुनु पर्छ। हार्न नमान्ने केटो छ।“
सारीको सप्को मिलाएर पिँडीमा बस्दै रमिलाले भनिन।
“ जन्माउने त तिमी हौ नि।” रमिला तर्फ हेरेर मन्द मुस्कान छाड्दै टीकारामले भन्यो।
“अनि जन्माऊ भनेर दिने त तपाई नै हैन?”

दुवै हेराहेर गरे अनि अट्टहास हाँसे।

००
बिहान दूध लिन गएकी रमिला न्याउरो मुख लाएर आईन्।टीकाराम बिहानको पूजापाठ सकेर कपडा फेर्दै थियो।यादव अझै निदाई रहेको थियो।रमिलाको हातमा खाली टेमी देखेर टीकारामले सोध्यो।

“के भयो?”
“दूध छैन, अब ठेक्का लिनेलाई के दिने नि?”
रमिलाले चिन्ता व्यक्त गरिन।

“यति छिट्टै गाई नथाक्नु पर्ने हो।” टीकारामले निहुरिएर कपडा मिलाउँदै भन्यो।
“ गाई थाकेको हैन नि।” रमिलाले भनिन।

“ अनि के त?” निहुरिएको शिर ठाडो पार्दै टीकारामले उत्सुकता देखायो।
“यामे भदाले राती नै बाछी फोएछ, दूध सबै बाछीले हाम। अलिकति मात्र दियो।”
रमिलाले कुरा खुलस्त पारिन।

“केटाकेटीको चकचक पनि खै।”टीकारामले दिक्दार मान्यो।
अघिल्लो दिन चुङ्गी खेल्दा यादव र यामेको झगडा परेको थियो। यामेले यादवलाई बगडे, शिविरे भनेर मुख छाडे पछि यादवले यामेको तिघ्रामा लात बजारेको थियो। त्यसकै बदला स्वारुप राती बाछी खोली दियो।यामेको रणनीति कडा साबित भयो।

दूध भात खान नपाएर यादव राँकिएको थियो। ऊ बालाई गाई शिविरमै पालौँ भनेर जिद्दी गर्दै थियो। कतिभन्दा पनि जिद्दी गरे पछि बाले उसको कन्सिरी चऱ्याक्क उखेली दिएको थियो। त्यस पछि झन् ऊ आँगनमा धुम्मिएर बसेको थियो। पर आँगन छेउ यामे झुल्कियो। उसले फुसफुसे बोलीमा भन्यो”खाइस् नि दूध भात?” अनि खिच्त हाँसी दियो। यादवलाई खपी सक्नु भएन। माटोको ढेला टिप्यो, यामेलाई लक्षित गरेर हान्यो तर लागेन। यामे पिलिक्क अल्पियो।

००

पहेँलो र कालो पाटे परेको अरिङ्गाल झैँ देखिने ट्याम्पो टुरुरुरुरु यादवको छाप्रो मास्तिरको अन्पाभ्ड रोड हुँदै यामेको घर अगाडी आएर टक्क अडियो।पहिला टङ्क आचार्य ओर्लियो।कालो तारको गुजुल्टा सहित बाख्राको टाट्नो झैँ लाग्ने हलुङेको पाइप निकाल्यो, त्यस पछि चौध इन्च स्क्रिन कालो र खरानी रङको पाटा भएको टिभी निकाल्यो।हेर्दा हेर्दै हेर्नलाई केटा केटी देखि ठुलै पनि झुम्मिए। यादव पनि हेर्दै थियो।यदाकदा बा सँग बजार जाँदा उसले टिभी हेरेको थियो। उसलाई टिभीमा क्रिकेट, शक्तिमान, क्याप्टेन व्योम, विराट जस्ता खेल र धारावाहिक हेर्न खुब मन पर्थ्यो।त्यो समय टिभी फाट्ट फुट्ट हुनेखानेले किन्थे। शिविरमा त कसैको थिएन। यामेको नाक फुलिएर स्याउलाले छेलिएर छिप्पिएको काँक्रो झैँ बनेको थियो।ऊ एउटा खुट्टा खोच्याउँदै नाच्दै थियो।टिभी घर भित्र लगियो, त्यो कालो तारको गुजुल्टा र बाख्रोको टाट्नो झैँ लाग्ने वस्तु एन्टेना रहेछ, छाना माथि राखियो।एकै क्षण पछि भित्र टिभी चलेको आवाज आउन थाल्यो। यादवसहित अन्य केटाकेटीहरू घर वरपर झुम्मिए। भित्रबाट यामेले ढोका लगायो, जस्केलोको पर्दा लगायो।यादवले हेर्न पाएन, बाहिरबाटै ध्वनि सुनेर चित्त बुझायो।

जब क्रिकेट, शक्तिमान, क्याप्टेन व्योम, विराट जस्ता उसको मन पर्ने खेल धारावाहिक आउने बेला हुन्थ्यो, यादव आमालाई किच किच गर्न थाल्थ्यो। हदै किच किच गरे पछि रमिलाले टिभी हेर्न यामेको घरमा लगेर जान्थी।आमा सँग जाँदा त यादवले निर्धक्क टिभी हेर्न पाउँथे। कहिले कहीँ यामेले नै बोलाएर पनि लान्थ्यो मिलेको बेला, नत्र ढिम्किन दिँदैन थिए।उनीहरू अड्डी गरी रहन्थे, अड्डी फुकुवा पनि गरी रहन्थे।केटाकेटीको जात। अड्डी गरेको समय आमालाई किच किच गरेर पनि ऊ चाहेको खेल धारावाहिक हेर्थ्यो। यादव निक्कै जिद्दी थियो।

“भाउजू टिभी निकै महँगो पऱ्यो होला हगी?” एक दिन रमिलाले यामेकी आमा सँग जिज्ञासा राखिन।
“ हाम्रो जस्तो रङ्गिन अलिक महँगै पर्छ। सादा त सस्तै हुन्छ” यामेकी आमाले भनिन।

“ सस्तो भएर के गर्नु र भाउजू, चलाउनलाई बिजुली छैन।” रमिलाले भनिन।
“ब्याट्रीबाट नि चल्छ नि। ब्याट्री चार्ज गऱ्यो चलायो।”

“ हो र भाउजू?”
“हो, के किन्ने बिचार गऱ्यौ ?”

“ यादवले हैरान पार्छ, कति तपाईँहरू कहाँ ल्याऊँ? तपाईँहरूलाई पनि दिक्दार लाग्ला?”
“ किन दिक्दार लाग्नु, आओस् हेरोस् न”

यामेकी आमाले त्यसो त भनिन तर यादव कहिले यामेले भकुऱ्यो भन्दै आउँथ्यो, कहिले यामेकी ममीले हकार्नुभयो भन्दै न्याउरो मुख लगाएर आउँथ्यो। त्यो समय रमिलाको मन कटक्क हुन्थ्यो। पती टीकाराम सँग टिभी किन्न सकिए ल्याऊ, छोरालाई के अरूको खप्की खुवाई राख्नु? हामीलाई पनि समाचार, सिरियल हेर्न चाहिन्छ भनेकी थिइन र टीकारामबाट स्वीकृति पनि भएको थियो। त्यो समय शिविरमा पनि फ्याट्ट फुट्टसादा टिभी भित्रिन थालेको थियो।सादा टिभी ल्याउनेहरूलाई सोध्दा उति खुलेर नबताए पछि रमिला यामेकी आमा कहाँ सोध्न गएकी थिइन।

यादवको छाप्रोमा पनि टिभी ल्याउने कुरा भयो। यादवले भए जति साथीहरूलाई कान फुक्यो। जो जसलाई यामेले टिभी हेर्न दिएको थिएन उनीहरू सबै जम्मा भएर एकै स्वरमा भने” हामीलाई पनि टिभी हेर्न दे ल यादव।”
“ सप्पैलाई दिन्छु, सप्पै हेर्न आउनु।” यादवले सबैलाई आश्वासन दियो। मसिना केटाकेटीहरू मात्र हैन, ठूलाहरू पनि यादवको घरमा टिभी ल्याउने कुराको चर्चा गर्थे। भन्थे” टिआर मास्टरले टिभी ल्याउने भएछ, मज्जा हुने भो।”

यादवको घरमा टिभी ल्यायो।एन्टेना थिएन, टिभी माथि नै राखिने शङ्खे किराको सिङ जस्तो तन्काउन मिल्ने दुई ओटा सुइरो थियो, एरियल। साथमा हेमानको चौबिस भोल्टको ब्याट्री पनि थियो। टिभी टेबुलमा राखियो। टिभी अन भयो। कन्डमको विज्ञापन आउँदै रहेछ, कोही हेर्न झुम्मेकाहरु फुस फुस हाँसे। यादवले टिभीको छेउ कुनो हेऱ्यो, सबै सादा, ब्याक एन्ड वाईट।यामेको त रङ्गिन टिभी थियो। उसको मन झुम्मियो। ऊ छाप्रोबाट फुत्त बाहिर निस्कियो।

“अघि टिभी किन हेरेनस्?” साँझ तिर धुम्मिएकै अनुहार लिएर यादव फर्के पछि टीकारामले हकार्दै सोध्यो।

“ हाम्रो छानामा राख्ने एन्टेना खै?” यादवले भन्यो। ऊ छानामा एन्टेना देखाएर यामे सँग कम्पिट गर्न चाहन्थ्यो।उसकोमा टिभी छ भनेर बटुवाहरूलाई  साङ्केतिक पारामा सूचित गर्न चाहन्थ्यो।

“ किन चाहियो तँलाई छानामा एन्टेना? एरियलले झन् राम्रो तान्छ, झरी हुरीमा हल्लँदैन।”
“ अनि हाम्रो टिभी किन सादा?”
“ त्यै जातको हो।”

“ यामेको जस्तै रङ्गिन बनाम न बा।”
“ हुँदैन।”
“ किन हुँदैन?”
“ रङ्गिन र सादा भिन्न भिन्नै टिभी हुन।”

“ उसो भए रङ्गिन ल्याऊँ न बा।”
“ हुँदैन।”

“किन हुँदैन?”
“ रङ्गिन टिभी चलाउनलाई बिजुली चाहिन्छ।”

“हामी पनि बिजुली तानौँ न।”
“दिँदैन”

“ कसले बा?”
“श्री ५ को सरकारले।”

“ यामेहरुले पाउने, हामीले नपाउने किन?”“
उनीहरूको सरकार हो,हाम्रो होइन।”

“ हाम्रो सरकार कहाँ छ?”
“ भूटानमा।”

“उसो भए भूटानबाटै बिजुली तानौँ न बा।”
टीकाराम खित्त हाँस्यो र भन्यो, “ मुला।”

००

सास नै रोकेला झैँ गरेर दौडँदै यामे यादवको छाप्रोमा आयो। उसले यादवलाई बाहिर डाक्यो। छाप्राहरूको पछाडि लस्करै लेट्रिनहरु ठडिएका थिए। दुई लेट्रिनको बिच भागमा पुगे पछि यामेले भन्यो।
“हाम्रो बाबाले भटभटे किन्नु भयो।” ऊ हर्षले रुँला रुँला झैँ भई रहेको थियो।
“ ओय! हो र? तँ चढिस्?” यादवले उत्सुक हुँदै सोध्यो।
“ चढेँ नि।”
“ कस्तो हुँदो रहेछ?”
“ साइकलमा चढे भन्दा सौ गुणा आनन्द।”
“ फिल्ममा जस्तो उड्छ पनि?”
“ उडायो भने उड्छ। हेर्छस्? आइज।”

यादव भटभटे हेर्न यामेको पछि पछि लाग्यो।यामेको आँगनमा चमकदार रातो रङको भटभटे थियो।भटभटेको ह्याण्डिलमा भएको दायाँ तर्फको ऐनामा रातै रङको हेलमेट  ख्वास्स घुसारिएको थियो।यादवले भटभटे घुमी घुमी हेऱ्यो। दायाँ हात लम्काएर भटभटेको सिट छुन खोज्यो।यामेले यादवको हात रोक्दै भन्यो “ हत्तेरी! छुनचाहिँ न छो न।”

“एक पटक छुन्छु नि। सिट कतिको नरम छ।” यादवले विनय गऱ्यो।
“ल तर एक पटक मात्रै नि फेरि।” यामेले उर्दी सहितको स्वीकृति दियो।

यादवले भट्भटेको सिट छोयो, नव दुलहीको शरीरमा दुलाहले हात सारे जसरी सुस्तरी हात सारेर पछाडीको बत्ती छोयो र पछाडिको बत्तीको दायाँ बायाँ जुम्ल्याहा जस्तै देखिने सुन्तले बत्तीहरू छुन खोज्यो। एक्कासी यामेले हात झट्कारेर हकाऱ्यो।

“तँलाई एक पटक मात्र छो भनेको हैन? किन बत्ती छुन्छस्?” यादव लुसुक्क पछि सऱ्यो।

भित्रबाट यामेको बा ख्वाक्क ख्वाक्क खोक्दै बाहिर निस्क्यो। उसको हातमा भट्भटेको चाबी थियो।केटाकेटी हुन वा ठुला, नूतन चिज प्राप्त हुँदा छोई रहूँ, चलाई रहूँ झैँ लाग्छ। यामेको बालाई पनि त्यस्तै लागिरहेको हुँदो हो।ऊ सरासर आएर भटभटेमा ख्वास्स चढ्यो पुड्को गधा माथि चढे झैँ। हेलमेट टाउकामा ख्वास्स घुसाऱ्यो। दुलामा चाबी छिरायो र भटभटे स्टार्ट गऱ्यो ब्रुम भटटटटटटटटटट ब्रुम ब्रुम।यामेले लाडे पल्टेर भन्यो,“ म नि चढ्ने बुबा।”
“आइज बस”

उसको बाले अनुमति दियो।त्यस पछि भटभटे गुडेर गयो। यामेले यादवलाई देखिस् भन्ने भावमा एक नहरहेऱ्यो र मुन्टो फर्कायो। भटभटे ओझेल परुन्जेल यादवले हेऱ्यो। भटभटे हुइँकिँदा प्रवाहित पवनले उसको धुस्रिएको सर्ट हल्लाई रह्यो, भट्भटेको पेट्रोलको गन्ध नाकमा थुरी रह्यो।

टीकाराम साँझ तिर गाईलाई खुवाउन साइकलमा भुस लिएर आयो। आउन साथ यादवले भन्यो।

“बा हामी पनि भटभटे किनम न।”
“ यो झ्याँक्नेलाई के के चाहिन्छ?” टीकाराम झर्क्यो। ऊ अलिक थकित पनि थियो।
“ किनम  न बा।”
“ पर्दैन हाम्रो साइकल छ।”
“ भटभटे राम्रो नि।”
“हैन साइकल राम्रो, तेल हाल्न पर्दैन। पेट घटाउने कसरत पनि हुन्छ।”
“ नाई भटभटे राम्रो।”
“ हाम्रो झन् गाडी छ।”
“खोइ कहाँ छ?”
“भूटानमा।”
“ कति ओटा छन्?”
“ माल बोक्ने ट्रक एउटा, मारुती कार एउटा।”
“ उसो भए भूटान जाऊ न त बा।”
“ अहिले हुँदैन।”
“कहिले त”?
“उता जाने सबै कुरा मिले पछि।”
“ कहिले मिल्छ?”
“छिट्टै।”
“ किन सप्पै भूटानमा राखेको?”
“हामी त्यहीका हौ।”
“ उता नगए सम्म चढ्नलाई भटभटे किनम न त बा।”
“ के गर्छस्? यहाँ किन्न दिन्छ चलाउन लाइसेन्स दिँदैन।”
“ कसले दिँदैन?”
“श्री ५ को सरकारले।”
“यामेको बालाई दिए त?”
“उसको सरकार हो।”
“हाम्रो होइन?”
“होइन।”
“को हो हाम्रो सरकार?”
“भूटान सरकार”
“भूटानमै गएर मागौँ न त उसो भए।”
“ माग्छु दिए अलिक पछि किन्नु पर्ला भटभटे।”

टीकारामलाई दिक्दार लाग्यो। यति भनेर ऊ साइकलमा हुत्त उग्लियो र लस्करै छाप्राहरू पार गर्दै ओझेलपऱ्यो। यादव घोसे मुन्टो लगाएर खुट्टाले भूँई कोदार्दै मुढामा बसी रह्यो।

दसैँ आउनै लागेको थियो। स्थानीयहरू घर रङ्गाउँदै थिए। बारीबाट अन्न भित्र्याउँदै थिए। भूटानमै हुँदो हो त टीकारामको पनि यही दिनचर्या चल्दै गरेको हुने थियो।शिविरका छाप्रोहरूमा पनि मक्किएको बाँसको खुट्टी निकालेर नयाँ लाउने, बर्सातले घाइते बनाएको छाना कस्कास् टालटुल पार्ने, माटोको भित्तालाई सेतो,रातो र कालो कमेरोले लिपपोत गर्ने आदि कार्य चल्दै थियो।शनिवार सबेरै खोला तिर गिट्टी  कुट्न गएकी रमिला केही कालमै रुँला रुँला झैँ मुहार बनाएर फर्किइन।टीकाराम पिँडीमा बसेर छिमेकीको निवेदन लेखी दिँदै थियो।छाना कामै नलाग्ने भए पछि प्लास्टिक झिकाउनको निम्ति ऊ निवेदन लेखि माग्न आएको थियो।रमिला चुपचाप छाप्रो भित्र छिरिन। टीकारामले हतार हतार निवेदन टुङ्ग्यायो र छिमेकीलाई दियो। ऊ अधैर्य मनको साथ भित्र छिऱ्यो।रमिला कोठामा सँक सुँक रुँदै थिइन।टीकारामले नजिक बस्दै सोध्यो।

“ के भयो?”
“गिट्टी सबै चोरेछ।” रमिलाले थर्मराएको स्वरमा भनिन।
“ कुन असतीले लामो हात गरेर मरेछ?” टीकारामको भृकुटी खुम्चियो।

“ के जान्नु? गाडाका गाडा लगेछन् खोला पारिको बस्ती तिर।ठाउँ ठाउँमा पोखाउँदै लगेछ। अलिक पर सम्म पछ्याएँ, तर डर लाग्यो र फर्केँ।” रमिलाको स्वर झनै चर्कियो।

“ भई गो, नगएरै राम्रो गऱ्यौ।जे आफ्नो हो त्यो आफै आउँछ, जे आफ्नो हैन त्यसलाई सय बाकस भित्र थुने पनि गई जान्छ। गिट्टी हाम्रो हैन र’छ र त चोरियो।”
टीकारामले स्वास्नीलाई सान्त्वना दियो।

“एक ट्रक पुग्नै लागेको थियो। आज कुट्दै पुग्थ्यो सायद। कुन हरामीले बितायो।गिट्टी बेचेर दसैँको गर्जो टारुँला भन्दै थिएँ, नापियो अब।”
रमिलाले मजेत्रोको सफा छेउले दुवै आँखाको आँसु पुछिन्।

“ हुन्देऊ, जसो तसो दसैँ मनाउला। अब गिट्टी नकुट्नु। अचेल ढाका टोपी बुन्ने काम धेरैले गर्दैछन्, तिमी पनि टोपी बुन।कमाई राम्रै हुन्छ रे।”
टीकारामले सम्झाउँदै भन्यो।

“मुमालाई के भयो बा?” कताबाट हुर्रिँदै आएर यादवले सोध्यो।
“ गिट्टी चोरेछ।”

टीकारामले हात बाँधेर छोराको विपरीत दिशा तर्फ फर्केर भन्यो। यादव ट्वाल्ल पऱ्यो। ऊ पनि छुट्टीमा आमा सँग खोला जान्थ्यो। गिट्टी कुट्न ढुङ्गा बटुली दिन्थ्यो। आमाले गिट्टी बेचेर उसलाई मिल्के घडी किनी दिने भनेकी थिइन। अब मिल्के घडी नपाउने भएर ऊ झन् टोलायो।साथीहरूलाई सो अप गर्ने कत्रो धोका थियो, सब तुहियो।

“ कसले चोरेछ बा?” यादवले अलिक छुच्चो स्वरमा भन्यो।
“हामी भन्दा गरिबले।”
“ हामी भन्दा गरिब पनि छन्?”
“ छन् र त हाम्रो गिट्टी चोऱ्यो त।”
“ पैसा बचाउनलाई होला नि।”

“ पैसामा सम्पन्नता मापन हुँदैन। अर्ब पतिले पनि चोर्छ भने ऊ कङ्गाल हो।धनीले किन्छ, स्वाभिमानीले माग्छ र गरिबले चोर्छ। याद राखेस्।”
टीकारामले छोरालाई अर्ती दिएको भावमा भन्यो।त्यस पछि सबै मौन रहे। सबैको मुहार भदौको आकाश झैँ धुम्मियो। बाहिर भने असोजको पारिलो घाम चहकाई रहेको थियो।

००
माओवादी जनयुद्ध चर्क्यो। पश्चिम देखि पूर्व सम्म रक्तिम क्रान्तिते छपक्कै छोप्यो। शिविरमा प्रभाव नपार्ने कुरै थिएन। कमर्सको प्लस टु सकेर बसेको यादवमा  धेरै परिवर्तन हुँदै थियो। बाल्यकाल देखि बाबाट आफ्नो हर थोक भूटानमै छ भन्ने सुन्दै आएको हुँदा ऊ भूटान देश हेर्न लालायित बन्दै गएको थियो।ऊ जस्तै साथीहरू भेला भएर भूटान हेर्न जाने छलफल गर्थे तर सहज नहुने देखे पछि खिस्रिक्क हुन्थे र विकल्पको नयाँ गोरेटो खन्थे।यादव सुस्तरी कम्युनिस्ट दर्शनबाट प्रभावित बन्दै गएको थियो । उसको कोठा भरि ग्वेभेरा, मार्क्स, लेनिन आदिका पुस्तकहरू छरपस्ट हुन्थे। एक बिहान टीकारामले यादवलाई हकार्दै भन्यो।

“वि वि एस् भर्ना गर भन्दा तँ किन टेर्दैनस्?”
“ मैले पी एच डी नै होल्ड गरेँ भने पनि यहाँ काम छैन बा।”
“ ए ग्वाँक! पढे पछि जिन्दगी भरिलाई काम लाग्छ, अरूलाई हैन तँलाई नै।”
“मैले पुग्ने पढी सकेँ बा।”
“ के भन्दै छस्? तँ किन फेरिँदै छस्?”

“ बा पढेर यो पराई देशमा के काम? मेरो पढाइको मूल्याङ्कन गर्न कसले जागिर दिन्छ? जागिर खानलाई नागरिकता कसले दिन्छ? विदेश जाऊँ त्यही नागरिकता भनिने कागजको खोस्टो चाहिन्छ।त्यही नागरिकता नभएर कति प्रतिभा सडेर गई रहेको छ र यही अवस्थामा रहने हो भने भविष्यमा प्रखर प्रतिभाहरू खेरजानेछन्।त्यो भद्रे मगरलाई हेर्नुस्,ऊ नामुद कराँते खेलाडी हो। उसको वेट क्लासमा कसैले जित्न सक्दैन, ओलम्पिक मेडल जित्ने क्षमता राख्दछ तर कुनै देशको नागरिक नभए पछि नागरिकता छैन, नागरिकता नभएपछि खेल्न जाओस् कसरी? ऊ विवश सड्दै जाँदै छ।अन्तर्राष्ट्रिय स्तरमा जम्न सक्ने यहाँ कलाकार, चित्रकार, गायक, सङ्गीतकार, साहित्यकार, खेलाडीहरू छन् तर देश नहुँदा चम्कन नपाएका हिरा झैँ गुमनाम छन्।म यी सब सहन सक्दिन बा।”

यादवको कुरा सुनेर टीकाराम अक्मकियो। उसले गलेको आँखाले यादवलाई हेऱ्यो, यादवको आँखा बलेको थियो।टीकारामलाई बोध हुँदै थियो छोरो उसको सोचाई विपरीत मोडिँदै छ। उसको मन बदल्न टीकाराम विवि एस् भर्ना गर भनेर समय समयमा कच कच गरी रहन्थ्यो तर यादवले वास्ता गरी रहेको थिएन।

“नागरिकता त कसैले नदेला तर पढेर सानो तिनो नोकरी गरेर हामीलाई सुख देलास् भन्ने कत्रो आसा छ।त्यसरी तँ हिँड्दा फ्याट्टै केही भए हाम्रो सहारा को हुन्छ? हाम्रो सन्तान भनेको तैँ मात्र त होस।”
टीकारामले चिन्ता व्यक्त गऱ्यो।

“ बा तपाई सहिद शुक्रराजको बाबा जस्तो हुनु पर्छ, छोरा सहिद हुँदा गर्व गर्ने।”
“ शुक्रराजको त दाइ भाइ, दिदी बहिनी थिए होलान् नि त।”
“ तपाईँहरूले मेरो भाइ बहिनी नजन्माउनु ठुलो गल्ती गर्नु भो।”
“ तैँले यो मति लिन्थिस् भन्ने थाहा हुँदो हो त तँलाई किन जन्माउँथेँ र? तिमेरु जस्ता एक दुई तातो खुनको पोको राँकिँदैमा हुन्छ?”

“ हामी राँकिने सुकेका दाउरा हौँ, अन्य चिसो काँचो दाउरा हुन। पहिला सुकेको दाउरा जल्नु पर्छ त्यस पछि चिसो काँचो दाउराहरू सेकिँदै जल्न थाल्नेछन् विशाल अग्नि कुण्ड बनेर।”
टीकाराम लत्रियो।

“मेरो बाबा,त्यस्तो मति नलिई।हाम्रो शरीर दिनका दिन गल्दै छ, मुहारमा चाउरीपन थपिन्दैछ, हड्डी भित्रकामासी सकिन्दैछ।मेरो छोरा तँ हाम्रो सहारा होलास् भन्ने कत्रो आसा गरेका छौँ। बिन्ती।”

टीकारामले यादव सामु हात जोड्यो। आँखामा आँसु भरिएर हाईनाको आँखा झैँ टिल्ल टल्कियो। यादवको मुहारमा कुनै फेर बदल आएन।ऊ दृढ थियो। हलचल नगरी उभिएको थियो।मन्द मन्द चलेको बतासले उसको कपाल फुर फुर ,फुर फुर उडाउँदै थियो तर आँखा झिम्किएको थिएन।

“छोरा तैँले सुनिस् नि मैले के भनेँ?”
टीकारामले थर्मराएको स्वरमा भन्यो अनि दायाँ हत्केला उल्टो पारेर आँखामा भरिएको आँसु पुछ्यो।

“बा म मर्छु भन्ने ग्यारेन्टी छैन, न बाँच्छु भन्ने नै तर म नरहे पनि मेरो कामको उच्च मूल्याङ्कन गर्दै म जस्ता हजारौँ छोराहरू तपाईँहरूको उद्धार गर्न आउनेछ।”
“ नापेर आउँछन् स्वार्थी मानवहरू। खुब तेरा शुभचिन्तक ठानेका होलास् तर तँलाई उनीहरूको स्वार्थमा प्रयोग गरेको भनेर समयमै बुझ्।बा आमा जस्तो शुभचिन्तक संसारमा कोही हुन्न हेक्का राखेस्।”

टीकारामको स्वर कठोर सुनियो।टीकाराम र यादवको संवाद सुनेर छाप्रो भित्र रमिला हिक् हिक् गर्दै थिइन।रमिलाले पनि यादवलाई धेरै पटक यसरी नै सम्झाएकी थिइन तर कुनै परिवर्तन नभए पछि ऊ थाकेकी थिई।अब छोरा सोचे विपरीत नहोस् भनेर छोरा सँग आग्रह गर्ने  ऊ सँग केवल आँसु थियो।
००

यादवले सपनाको गन्तव्य पछ्याएर गएको महिनौँ भएको थियो तर आज ऊ घर फर्कने कुराले टीकाराम र रमिला औधी खुसी थिए।त्यो साँझ टीकारामले खसीको मासु ल्यायो। बासमती चामल पहिल्यै पाँच केजी जति ल्याएको थियो, रमिलाले चौलेर पितलको भाँडामा भात बसाइन।टीकारामले मासु काटकुट पार्न थाले।रमिलाले लसुन,प्याज, दालचिनी, गरम मसला, जिरा, तेज पात आदिको मिश्रण मसला तयार पारिन। प्रेसरकुकरमा मुगाको दाल बसाइन। खाना तयार भए पछि टीकाराम र रमिला बाहिर पिँडीमा बसेर यादवको प्रतीक्षा गर्न थाले।झमक्क साँझ पऱ्यो, बत्तीहरू जल्न थाले, व्योममा शशीले आभा फिँजाउन थालिन, ताराहरू चम्कन थाले,टीकारामको पानासोनिक तीन बेण्डको रेडियोले आठ बजेको समाचार फलाक्यो,धिप्रीमा मट्टितेल सकेर सानो बल्न थाल्यो, रमिलाले मट्टितेल थपिन,रेडियोले नौ बजेको समाचार सक्यो तर अहँ यादव आएन। टीकाराम र रमिलाले एक दुई गाँस खाए तर स्वाद थाहा पाएनन्।

“कहाँ मरेछ यो?” टीकाराम भूत्भूतियो।
“ खै त्यसको साथी पेमाले भन्दा त आज घर जान्छु भन्दै थियो रे।”  रमिलाले गालामा दायाँ हात राख्दै भनिन।

“ आउला, सुतौँ अब।”

टीकारामले आफैँलाई र रमिलालाई सान्त्वना दियो। उनीहरूलाई रात भरि निन्द्रा परेन। हावाको झोक्काले दैलोमा आवाज सृजित हुँदा छोरा यादव आयो कि भनेर टीकाराम टर्च लाइट बालेर हेर्न जान्थ्यो।रमिला जुरुक्क उठेर खाटमा टुसुक्क बस्थिन।यही क्रम दोहोऱ्याउदा दोहोऱ्याउदै कता कता टाढा बस्ती तिर भाले बास्न थाल्यो।उषाले जुनको आलोकलाई लखेट्न थालिन।बिस्तारै ताराहरूलाई सूर्यले चमकहिन बनाउन थाल्यो तर यादव आएन।टीकाराम र रमिला निदाएनन्।

दिउसो यादव सँगै सपनाको गन्तव्य पछ्याएर गएको साइँला र कर्णे आयो। रमिलाले उनीहरूलाई   आत्तिएको स्वरमा सोधिन, “यादव खै?”
“भूटानको माटो चुम्न गए।” कर्णेले भन्यो।
“को को गए यादव सँग?”  टीकारामले सोध्यो।
“ माबिरे र अरू पाँच साथीहरू छन्। जम्मा सात जना गएका छन्।” साइँलाले भन्यो।

साइँलाको कुरा सुनेर रमिला पिपलको पात झैँ हल्लिइन, आँसु बर्ररररररररररर झारिन।टीकारामको आँखा टिलपिल टिलपिल भएको थियो। दुवैको गला अवरुद्ध बनेको थियो।उनीहरूको यो हालत देखेर साईलाले भन्यो, “नसुर्ताउनुस्,माटो चुमेर फर्की हाल्ने हो।केही परे ब्याक अपमा हामी छौँ उद्धार गर्ने।”

“ नापेर गर्छौ उद्धार।हे भगवान्, कसको बहकाउले यो यस्तो भयो?” टीकाराम निहुरियो।उसको आँसु बगेर नाकको टुप्पाबाट तप तप झर्दै केही दिन नधोएको सेतो पानी गन्जीको छाती र पेट बिचको भागमा सोसाउन थाल्यो।

००

झ्याम्म केराको गाछीहरू, बकैनाका रुखहरू, त्यो भन्दा अग्लो सालका रुखहरू, ती रुखहरूलाई आड लगाएर उभिएका आछामे, भाते, टाप्रे आदिका जङ्गल।बिच भागमा चुहिने छाप्रो, छाप्रोको वरिपरि लिपपोत नगरेर लागेको हरियो लेउ,त्यस माथि चिप्लिँदै हिँड्ने शङ्खे किराहरूको बथान।छाप्रोको बिचमा सानो ढोका,ढोकाको दायाँ पट्टी लाम्चो जस्केलो,जस्केलोमा मैलो घ्यू रङको पर्दा।बाँसका खुट्टी, दिवार ढुसीले मक्किएको, दिवारको पूर्व तर्फको कुनोमा ध्वाँसिएको भोटे चुल्हो, चुल्होको बायाँ तर्फ बाँसकै तीन तलेआल्मरी छ। आल्मरीमा केही भाँडा बर्तन र थाल बटुका गिलासहरू घोप्टाएको  छ। आल्मरीको दायाँ छेउमा तारको अङ्कुसे बनाएर डाडु पुन्यू झुन्ड्याइएको छ। टीकाराम अचेल पातलो शरीर लिएर यही छाप्रोमाबस्छ। पुनर्वासमा सबै गए पछि शिविर प्राय रित्तो छ। केही भूटान नै फिर्ने अडानका साथ रहेकाहरू मात्र यहाँछन्।भूटानै फिर्ने अडानको साथ बस्नेमा टीकाराम पनि एक हुन। छोरा यादव नफर्केको पनि १३ वर्ष भयो।अझै छोरो फर्केला भनेर हरेक साँझ उसले बाटो हेर्न छाडेको छैन।ऊ यो छाप्रोमा अचेल एक्लै छ।यादवकीमा रमिला बितेको पनि पाँच वर्ष भयो।छोरा नफर्के देखि रमिलालाई शोक लाग्यो। सुकेर स्याप्पै भइन।पचास वसन्त टेक्दा नटेक्दै बैसाखी टेक्नु पऱ्यो।एक बिहान झरी दर्केको थियो।रमिला प्रेसरले सिकिस्तथिईन। चर्पी गएर छाप्रो भित्र छिर्दै गर्दा रमिला लडिन र त्यस पछि कहिल्यै उठिनन्। टीकारामले गुहार मागे, पातलिएको छिमेकीहरू आए। टङ्क आचार्य र उसकी जाहन पनि आइन।अस्पताल लान कोही एम्बुलेन्सको जोहो गर्न दौडे, कोही रमिलालाई बोलाउने र पानी छम्किने गर्न थाले तर दैव घोर निष्ठुरी बनेर निस्क्यो।एम्बुलेन्सको साइरन बज्न अगावै टीकारामको छाप्रोमा शङ्खको एकोहोरो ध्वनि गुञ्जायमान भयो। टीकाराम त्यो बखत यति बिघ्न अभागी थियो कि उसको साथ रुने एकै जना आफन्त थिएनन्। सबै पुनर्वास भइसकेका थिए।

टीकाराम अचेल प्राय हात पछाडि लाएर कुप्रिएर हिँड्छ, बेसुरले।कहिले कहीँ अनपाभ्ड रोड मास्तिरको टङ्कको घर तिर निस्कन्छ। त्यो घर अझै उस्तै, इँट र जस्ताले छाएको तर त्यो घर भित्रको पारिवारिक माहोल बद्लिएको छ।यामेले विवाह गरेको छ, एक छोरा, एक छोरीको बा बनेको छ।टङ्क आचार्य हजुरबा बनेको छ।टीकारामले कहिले कहीँ देख्छ,टङ्क आचार्य बजारबाट फर्कँदा नातिनातिना हुरुरुरु दौडेर आँगनमा आउँछन् र हजुरबा भन्दै दुवै हात समातेर झ्याँईकुटी पार्छन्। टङ्क आचार्य मुसुमुसु हाँस्स्छन्। नातिनातिनाकोपुक्के सुकोमल गामामा सुम्सुम्याउछन्, चुम्छन् र बगलीबाट खोल नभएको सुन्तले मिठाई झिकेर खिलाउछन्। यस्तो दृश्य हेर्न टीकारामलाई बडो आनन्द लाग्छ। छोरो यादवले विवाह गरेको हुँदो हो त ऊ पनि यसरी नै  नातिनातिना सँग झु्मि रहेको हुन्थे। हेर्दा हेर्दै उसलाई डाहा पनि लाग्छ।कहिले ऊ त्यहाँ पुग्दा देख्छ, टङ्क आचार्य स्वास्नी सँग दलानमा चिया पिउँदै हाँसी मजाक गरी रहेका हुन्छन्। उसलाई त्यो बखत रमिलाको खुब झल्को आउँछ। अब रमिला छैनन्, तर हाँसी मजाक गर्न रमिला उसको सपनीमा कहिले कहीँ आउँछिन्  र बिदा हुन लाग्दा छोरो आए नआएको सोध्छिन्।ती सुन्दर रमिलाका हातहरू जस्तो चिया बनाएर उसलाई पिलाउँथ्यो, अब खरानी भई सक्यो। रमिलाले बनाएको चिया उसले अब कहिल्यै पिउन पाउने छैन।ऊ भक्कानिन्छ।जब टङ्क र उसकी स्वास्नी दिल्लगीमा निमग्न भई बुलन्द हाँस्छन्, टीकाराम पनि हाँसी दिन्छ तर उसको मुहार रोएको झैँ देखिन्छ।

टीकारामको उदासीपन देखेर एक पटक टङ्क आचार्यले भनेको थियो।
“ ज्वाँई साहेब तपाई पनि पुनर्वास गएको भए राम्रो हुने थियो होला?”  त्यो बेला टीकारामले भनेको थियो।
“जेठान जी, मेरो मुटु दुई फ्याँक्ला भयो,एक फ्याँक्ला रमिला सँगै चित्तामा जल्यो, एक फ्याँक्ला छोराले लिएर गयो। म मुटु बिनाको मान्छे कता जाऊँ?”

टीकारामले रमिलाको फोटो,कपडा, चुरा, बिन्दी आदि सबै जतन साथ राखेको थियो।रातमा सुत्दा ऊ रमिलाको कपडाको पोको अँगालेर सुत्थ्यो। त्यो कपडाको पोकोबाट रमिलाको गन्ध आउँदा उसलाई रमिला साथमै भएको आभास हुन्थ्यो तर अचेल त्यो कपडाको पोकोबाट रमिलाको गन्ध प्राय हराई सकेको छ। ऊ हरेक रात रमिलाको सग्लो फोटो सुम्सुम्याउछ। निधार, गाला, नाक, ओठ, गर्धन हुँदै हत्केला तल तल झार्छन् र दिललाई पौडाउँछ विगतका स्वर्णिम क्षणहरूको तलाउमा।त्यो क्षण ऊ एक्लै हाँस्छ।कहिले ऊ रमिला सँग भएको ठाकठुक सम्झन्छ र ग्लानि बोध गर्छ। त्यो क्षण ऊ एक्लै रुन्छ।ऊ टर्च लाइट लिएर अन्धकार रातमा निस्कन्छ। खोलाको बाटो तर्फ लाग्छ जहाँबाट रमिला गिट्टी कुटेर फर्किन्थी। कहिले कहीँ यही बाटो बनजाँचेको आँखा छलेर एक भारी सिटीसिटी दाउरा पोल्न यस्तै रातमा रमिलाले ल्याउँथिन र रमिलालाई सहयोग गर्न यस्तै टर्च लाइट बालेर ऊ खोज्न जान्थ्यो। अचेल ऊ यसरी रातमा निस्कँदा बाटो वरपरका काँसका पोथ्राहरू अचम्म मानेर हेरेको आभास हुन्छ र ऊ झस्किन्छ।ऊ रमिला छैन भन्ने बोध गर्छ र छाप्रो तर्फ फर्कन्छ।बेसुरले बर्बराउदै।

यादव फर्कन्छ भन्ने आशा टीकारामको मरेको छैन। उसले यादवको सोध खोज गर्न छाडेको छैन।कसैले भन्थे भूटानको जेल तिर छ, कसैले भन्थे आसामको जङ्गलमा औलोले मरी सक्यो। त्यो बेला अहिले जस्तो फोन, फेसबुक फेसबुक थिएन । अहिले छ,उसले अचेल यादवलाई सामाजिक सञ्जाल तिर पनि खोजी रहन्छ तर भेटेको छैन बरु हामी ब्याक अप गरेर उद्धार गर्छौ भन्ने उसका साथीहरू भेट्छन् जो पुनर्वास गएर धन प्रदर्शन गर्ने कम्पिटिसनमा मग्न छन्।उनीहरू कसैले उसलाई सम्झँदैन।ऊ सँग एउटा फेमेली फोटो छ। ऊ त्यो फोटो हेरे पछि मुस्कुराउँछ। हर रात रमिलाको फोटो सँगै ऊ त्यो फोटो पनि हेर्छ। फोटोमा पछाडि तर्फ रमिला र टीकाराम मुढामा बसेको छ, बिचमा चार वर्षीय यादव ठिङ्ग उभिएको छ। यादवले छोटो बहुलाएको कालो जाँघे र रातो टी-सर्ट लाएको छ। जाँघेको दायाँ बाहुला फिलाको फेद सम्म सुर्किएर उसको एउटा अण्डकोष र तुरी निस्किएको छ।त्यो बेला डिजिटल क्यामेरा थिएन। बिग्रिएको फोटो मेट्दै खिच्दै गर्ने जमाना थिएन।कुनै त्रुटि क्यामेरा म्यानले देखे सच्याउन भनिन्थ्यो, क्यामेरा म्यानले नदेखे फोटोमा उत्रिन्थ्यो। त्यो फोटो धुलाई पछि मात्र थाहा हुन्थ्यो। त्यस्तै त्रुटि भएको थियो त्यो फोटोमा। त्यो फोटो हेरेर टीकाराम हाँस्थ्यो र भन्थ्यो।

“जाँघे त मिलाउनु लाटा, तुरी नै देखाइस्।”
अब ऊ सँग दिनमा एक दुई साथी भाइ भए पनि रातमा कोही हुँदैन थियो। ऊ हरेक रात यी फोटोहरू सँग बोल्छ, स्मृतिका पानाहरू पल्टाउँछ,एक्लै हाँस्छ,एक्लै रुन्छ। अचेल चोक तिर उसको चर्चा हुन्छ ।  “ त्यो मास्टर रातमा एक्लै बरबराउँछ, एक्लै रुन्छ।”
“ हो हो टर्च बालेर रातमा एक्लै भौँतारी रहन्छ पनि।”
“ बिचरालाई प्रेसर परेको छ।”
“ कस्तो टीकाराम मास्टर भन्दा कसैले चिन्दैन अचेल।”
“हो त नि फुस्केको मास्टर भन्दा मात्र चिन्छन्।”
“हा हा हा हा”
“ हो हो फुस्केको मास्टर।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *