फूल र पुतलीहरु
प्रतिमान सिवा
ओहायो, अमेरिका
कविताले फूलका थुँगामाथि सल्बलाइरहेका उनका कलिला दुवै हातहरू टक्क उचालिन् अनि छेवैको कौसीमा बसेर उनको बालकृडा हेर्दै गरेका एक जोडी मायालु नयनतिर हेर्दै भनिन्, “कसले भन्यो बाबा फूलहरू सुन्दर हुन्छन् भनेर ?”
‘तिम्री आमाले’ भनौंकि जस्तो लागेता पनि कोसिस गरेनन् ।
“सबै कुरा भनिरहनु पर्दैन नानी । कति कुरा नभनी पनि सत्य हुन्छन्, स्पष्ट हुन्छन् । तिमी फूल भन्दापनि राम्री छौ ।” केशवले कवितातिर नजर नफर्काई धेरै टाढा क्षितिजतिर सम्मोहित दृष्टि फ्याँक्दै जवाफ दिए ।
“अनि फूल राम्रो कि पुतली ?” फेरि अर्को प्रश्न गरिन् ।
केशवका हरेक अङ्गहरु सिरिङ्ग भए। चिसो लहर शिरदेखि पाउसम्म सल्बलायो । अनि अप्ठ्यारो महसुस गरे । बिर्सन लाख प्रयास गर्दापनि फेरि समझना आयो । शीला यस्तै सुन्दर थिइन् । बैँसको बगैँचामा धपक्क फक्रिएकी अप्सरा जस्ती लाग्थिन् तर यस्तै सवाल जवाफ गर्न खप्पिस थिइन । प्रत्येक बोलीपिच्छे उनका तिखा तर मादक नजर केशवका नजरमा गाड्थिन र अक्सर सोध्ने गर्थिन्, ‘फूल राम्रो कि म राम्री ?’
“फूल र पुतली दुवै कुँदेर पाउ पाउमा अलङ्गकार कुँदेर रचिएकी कविता हौ तिमी, म कसलाई सुन्दर भनौँ ? नानी, फूल त त्यसै राम्रो छ । प्रकृतिले नै उसलाई सारा जगतका आभूषणहरू भरेर सुन्दर बनाएको छ । हामीले डाहा-ईर्ष्या गरेर उसको सौन्दर्य किन्चित घट्दैन । पुतलीपनि सुन्दर हुन् । प्रकृतिले दिएको सौन्दर्यको अर्को रूप हो पुतली । दुवै सुन्दर छन् ।”
धेरैबेर नियालेर हेरिरहे कवितालाई । सानी, कलिली अवश्य छिन् तर प्रत्येक कोणमा उनीभित्र शीलाकै छवि पाउँछन् केशव । कविताको अङ्गअङ्गमा शीलाको प्रतिरूप देख्छन् ।
जतिचोटी शीलाको नजरसँग उनको नजर जुझ्थ्यो, बिधुतीय तरङ्गले उनको शरीरका अङ्गअङ्गमा झट्का दिन्थे । यति हुँदाहुँदै पनि हरेकपल नजरमा नजर जुधाउन आतुर हुन्थे उनी ।
एकदिन साहस गरेर आफ्नो बाहुमा कसेका थिए शीलालाई, तातो श्वासमा श्वास, आँखाको नानीमा नानी अनि काँचो मासुमा मासु मिसाएर । छातीले हृदयको धड्कन थाम्न नसकेर फुट्ला जस्तै गरी ढुक् ढुक् गरिरहेको थियो ।
त्यो आलिङ्गनले कवितालाई सृजना गरेको थियो । दुवैको हर्षोल्लासको सीमा थिएन ।
अक्सर खुसीहरू क्षणिक हुने गर्छन् र पिडा व्यथाहरू दिघन्तर हुन्छन् । कवितामा अलङ्गकार फुर्न नपाउँदै, रसले सिञ्चन हुन नपाउँदै अँगालो छुट्यो, जीवनको आधा हिस्सा नियतिले खोसेपछि । बैराग्यमापनि कवितालाई फुटकर हुन दिएनन् र उसलाई सधैँ सङ्ग्रहमै उनिएको छु भन्ने आभास भई रह्यो; दिलाई रहे ।
कविताले रिसले अनुहार बिगार्दै फूललाई टपक्क चुँडिन् र भुँइमा फ्यात्त फ्याँकिन् । एकहुल रङ्गीबिरङ्गी पुतलीहरू भुरुरु उडे ।
“लु, म भन्दा फूल राम्रो रे ? म सबै चुँडी दिन्छु ।”
“तिमी फूल भन्दापनि राम्री अनि पुतली भन्दापनि राम्री छौ । तर कहिले कहीँ तिमी रिसाएको हेर्न खुब मन पर्छ ।” मुस्कुराउँदै भनेथे केशवले ।
छेवैका बृद्ध बा बोले, “जीवनको सत्य यही हो नानी । हामी सबैले यही बाटो तय गर्नु पर्छ । अघि पछि बेग्लै कुरा हो ।” अरूले पनि के के भनी रहेका थिए तर उनले केही सुनेनन् । फूलको एउटा डाली उसको छातीमा राखी दिए अनि दुई थोपा आँसु तप्प झारे । त्यति नै खेर एउटा रङ्गिन पुतली त्यो फूलको पत्रमा आएर थपक्क बस्यो; कविता जस्तै सुन्दर, चञ्चल र सजिब । उनले बिस्तारै भने, “हो छोरी, फूलपनि, पुतली पनि तिमी नै हौ ।” सोचे, उनकी छोरी अहिले उढ्ने पुतलीमा परिणत भएकी छिन् ।