फेसन

यतिराज अजनबी
एड्एलेड, अष्ट्रालिया

एक समय टाइट एक समय लुज
एक समय ब्यागी एक समय चुज
त एक समय प्यान्टमा
प्याराललको पाली आयो

कुनै बेला पुच्छर राख्ने
कुनै बेला बटुको राखी ताछ्ने
कुनै बेला अनुहारै ढाक्ने
कुनै बेला पछाडि कपाल
काट्दै नकाट्ने फेसन आयो

दशैँ छेक ब्याउने गाईलाई
कान्लाको घाँस साँचे झैँ
कैले जुँघा कैले दारी पाल्ने
कैले टुप्पोटुप्पो फाँड्ने
कैले राँटा राख्ने
कैले दुवैमा दाँदे हाल्ने चलन आयो

आउने र जाने क्रम चलिरहन्छ
चलन यस्तै हो
चलायमान हुन्छ जो
केही बेर चल्छ
अनि कैल्यै नफर्कने गरी चल्छ—
टाप ठोक्छ

स्टाइल मान्छेको टाउको, अनुहार र
भूषाचारमा मात्र आउँदैन
भाषाचारमा पनि आउँछ
फेसन लेखनमा, वाचनमा, वचनमा, बोलीचालीमा,
लबजमा र शब्दमा पनि आउँछ

कोरोनाभाइरस, कोभिड-नाइन्टिन,
पेन्डेमिक, सोसल डिस्ट्यान्सिङ्
लक्डाउन, क्वारेन्टाइन्, सेल्फ आइसोलेसन्
अहिले छ यस्तै शब्दहरूको चलेको नयाँ फेसन

मानव इतिहासमै सबभन्दा धेरै
प्रचलनमा आएका शब्दहरू यीनै हुन् सायद
संसारका सबै भाषीले प्रयोग गरेका शब्दहरू यीनै हुन् सायद
संसारमा यति छोटो अवधिमा अहिलेसम्मकै
अत्याधिक उच्चारित शब्दहरू पनि यीनै हुन् सायद
तर फेसन न हो कति दिन पो टिक्छ र?
स्मृतिको भूगोलबाट निष्कासित हुनेछन्
विस्थापित हुनेछन् केही दिनमा
समयको गङ्गामा बगेर पुग्नेछन्
शब्दहरूको सागरमा र बिलाउनेछन् त्यहीँ
वृद्ध बन्दै जानेछन् मान्छे र बिस्तारै बिर्सिनेछन्
कुनै बेला तिनको अर्थ खोज्नेछन् शब्दसागर— शब्दकोशमा
हराउँदै जानेछन्, भेटिने छैनन् मान्छेको जिनमा
अनि खोजिनेछन् ती सर्च इन्जिनमा

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *