बगलीमा छुरा

कुबेर कुईकेल भुवानेटारे
अमेरिका

उ गजराजको दाह्रा देखाउँदैछ देशमा
राम्रो देखिन्छ देखावा चपाउँदै छ दन्तमा
त्यो पहिचान हाम्रो लौ बिलुप्त पार्न लाउँदै
भाषा हाम्रो चपायो त्यो राष्ट्रबाद लदाउँदै

पुर्व पश्चिम पर्दामा उत्तर मात्र देख्दछन्
नयनमा विदेशीको त्यो खुसी राष्ट्र भन्दछन्
आवाज रोक्न रैतीको विजारोपण त्रासको
समाजमा विपक्षी छन् आवाज बन्द लोकको

लगाएको लगामीमा छ कठपुतली धरा
प्रजातन्त्र भयो नामी प्रजा भए कठै बरा
छ कठपुतली सत्ता देखावटी समानता
सत्ता शासन आफ्नैमा दरवारी स्वतन्त्रता

भूमि खोसाइ रैतीको थप्दै चम्चाहरू अझै
देश खोसाइ रैतीको खुसी प्रचारमा अझै
भाषा खोसाइ पुर्वको दक्षिणि शब्द खोस्दछन्
बश्र खोसाइ जातीको त्यो आफ्नै बश्र लाद्दछन्

ढिलो चाँडो प्रजाको लौ पहिचान सकिन्छ है
एक देश प्रजा एकै कालो कानुन बृक्ष भै
आफ्नो मौलिकतामा लौ घर बनोट खोसियो
मौलिकता कब्जा भो जनता बोल्नु दोष त्यो

त्यो भेदभाव भाषामा जात बर्ग समाजमा
पक्षपात सुरक्षामा शिक्षा दिक्षा र मानमा
हातमा दानको झोला देखाएर जरा काट्दै
राम राम मुखी राजा बगलीको छुरा धस्दै

अशिक्षा अन्त्य गर्दै त्यो जनता बोल्न सक्नु छ
त्यो दरवारको भित्तो लौ थर्काएर बोल्नु छ
मानव अधिकारै त्यो हक हाम्रो धरा भरी
देश स्वतन्त्र पक्का होस् सम्मान नादको गरी

अनुष्टुप छन्द

Leave a Reply

Your email address will not be published. Required fields are marked *