बद्लिएको कर्तव्य

कथाकार
कथाकार

गंगा लामिटारे
ओहायो, अमेरिका

एक दिनको कुरा हो । म स्वास्थ्य बिमाबारे बुझ्न काउण्टी अफिस गएको थिएँ । केस वर्करलाइ भेटेर माथिल्लो तलाको सिडीबाट तल ओर्लदै थिएँ । सिडीको बिच भागमा आइपुगेको थिएँ । त्यहीँ दुइजनाको सहारामा एक जना अर्धबैंसे मानिस माथिल्लो तलातिर चढ्दै थियो । ती मानिसको दाहिने हात एक युवकले र देब्रे हात एउटी युवतीले समाएका थिए । ती दुईका सहारामा अर्धबैंसे मानिस सिडीका स्टेभहरूमा घिस्रिरहेको थियो । पुलुक मेरो नजर त्यो घिस्रिरहेका मानिसमा पर्‍यो । साहेत उसको पनि नजर मेरा अनुहारमा परेछ । दुवैले एक अर्कालाई हेरियो । यतिकैमा’ छिट्टो हिँढ न हौ बाबा’ भनेर दाहिनेतर्फ रहेका युवकले अर्धबैंसेलाई घच्घच्यायो । तर पनि उसले कुनै वास्ता गरेन । तर ऊ भने मलाई नै हेरिरहेको थियो । उसको त्यस हेराइमा आक्रोश र आश्चर्य दुवै मिस्रित देखिन्थ्यो । सुरुमा उसले चिनेजस्तो गरेर मुसुक्क हाँस्न चाह्यो । तर त्यो उसको जबर्जस्तीको मुस्कान थियो । यतिकैमा पुनःती ठिटीले “बाबा अलिक छिट्टो पाइला सार न हो ? किन टोलाएको” भनेर हिँड्न जिद्दी गरी । ठिटीको जिद्दीसँगै ती अपाझ्ग मानिसको अनुहार बिस्तारै विषाद र बनावटी पीडाको आकारमा परिणत भयो । ऊ मलाई नै अविरल हेरिरहेको थियो । उसलाई मैले कतै देखे देखे जस्तो पनि लाग्यो । साहेत उसलाई पनि त्यस्तै लागेछ क्यार ! त्यसैले केही बोलौँ र केही भनौँ झैँ उसले गर्‍यो । ती केटा-केटी दुवै त्यही अर्धबैंसेका छोरा-छोरी रहेछन् भन्ने मलाइ विश्वास पनि भयो ।

यो क्षण भरीको परिदृश्य थियो । उसले केही भन्न चाहिइरहेको थियो । तर ती केटा र केटीले दुवै हात समाएर उचाल्ने प्रयास गरे । तर सकेनन् । तल र माथि गर्ने मानिसहरूको घुँचो बढ्न थाल्यो । ती अर्धबैसें मानिसको कारण मानिसहरूलाई तल-माथि गर्न अवरोध पनि भइरहेको थियो । त्यसैले उसलाई ती दुवै ठिटा-ठिटीले जवर्जस्ती घिसारेर सिडी माथि लगे। माथिल्लो तलासम्म पुग्दा पनि त्यस मानिसको अनुहार मेरा तर्फनै थियो र उसका निर्मिसे आँखाले मलाई नै हेरिरहेका थिए । मलाइ लाग्यो । यो मानिससँग थुप्रै समस्याहरू छन् र ती समस्याहरूको गाँठो खोल्न ऊ निकै हतारिएको छ । उसको त्यसकिसको व्यवहारले मलाइ सरासर घरफर्किन दिएन । त्यस अपरिचित मानिसका बारेमा बुझ्न मलाई झन् खुलदुली जागेर आयो । बिस्तारै माथिल्लो तलामा चढेँ । जहाँ मानिसहरूको घुइँचो थियो । तलामा बिछ्याएका सबै चौकीहरूमा मानिसहरू खचाखच थिए । त्यस भीडमा मेरा नजरले त्यो अर्धबैंसे मानिसलाई खोजिरहेका थिए । रेलिङ्गमा अडेस लागेर सर्सती नजर ढुँलाएँ । पछाडिको लाइनको एउटा कुर्सीमा बसेर त्यो मानिस पनि कसैलाई खोजिरहेको थियो । बिस्तारै नजान्दो प्रकारले उसका दाहिने तर्फरहेको खालि कुर्सीमा गएर बसेँ । मलाई छेउमा बसेको देखेर उसले भन्यो” सर नमस्कार !” मैले पनि नमस्कार भन्दै प्रत्युत्तर दिएँ । उसले चिने जस्तैगरी ‘सर’ भनेको सुन्दा मलाई उसप्रति जान्ने झन् उत्सुकता जागेर आयो । पक्कै पनि उसले मलाइ चिनेको हुनुपर्छ,भन्ने लाग्यो । यसपछि उसप्रति झन् उत्सुक हुँदै मैले भनेँ” माफ गर्नु होला, म अझ पनि स्पष्ट हुनसकिन ! अझै स्पष्ट पार्नु न”,। मरो प्रश्न सुनेर उसले खुय्या गर्‍यो र लामो सास तान्यो । शंकित हुँदै पल्याक पुलुक यता-उति आँखा घुमायो । उसले पुनः१५ फिट जति पर एउटा छुट्टै चौकीमा बसेर आइफन चलाइरहेकी आफूसँगै आएकी छोरीलाई हेर्‍यो । नजिकैको कोठामा कम्युटरमा गेम खेलिरहेको छोरा पट्टि नजर दौडायो । उसको यस परिस्थितिबाट के स्पष्ट हुन्थ्यो भने उसलाई कसैसँग बोल्ने अनुमति छैन । बोल्न,हाँस्न र रुन पनि उसले कसैको अनुमति वा आदेश लिनुपर्थ्यो । कसैको डर,त्रास र भयबाट ऊ व्याकुल झैँ देखिन्थ्यो । अज्ञात पीडाबाट ऊ निकै थिलथिलिएको थियो । ऊ केही भन्न र बोल्न पनि खोज्थ्यो तर त्यही अज्ञात त्रासका कारण खुल्ला हुनसकिरहेको थिएन । तर पनि हिम्मत गरेर उसले भन्यो” सर,साँच्चै मलाई चिन्नु भएन ? मैले भने ‘चिनिन’ । मलाई एउटा चिनजान मित्रको जस्तै व्यवहार गर्दै उसले भन्यो” सर म त्यही रञ्जित राई हुँ । सेतीखरेको दलबीर बुढाको जेठो छोरा रञ्जिते हो । २५ वर्षअघि सैनिकको अत्याचार खप्ननसकी गाउँवै शून्य बनाएर सातारात गाउँलेहरू आसामतिर झर्दै थिए । त्यही एउटा हुलमा म र सिकारी जेठो पनि देउसुरेमा झरेका थियौँ । भोलिपल्ट बिहान माथिमाबाट देउसुरे आएकाहरूलाई देश छाड्रनु हुँदैन । कुकुरले नपाएको दुखपाइन्छ । नानीहरूलाई बचाउन मुस्किल पर्छ । देशमा पनि यही स्थिति रहिरहँदैन । केही समयपछि अवस्थमामा सुधार हुन्छ । केही दिन अडिन सक्यो भने अवश्य पनि सुदिन फर्किनेछ । भनेर तपाँइले सम्झाउनु भयो । तपाँइले भनेको मानेर सिकारी जेठो र म केटा-केटी च्यापेर बेलुकी साँझतिर घरफर्कियौं । अरू भने कोही पनि फर्केनन्,त्यस समूहका मानिसहरू । मलाई सोद्धने अवसरै दिएन उसले निरन्तर बोल्दै गयो।सबैले देशछोडे पनि सिकारी जेठो र मैले चाहिँ नछोड्ने निर्णयमा पुगेका थियौँ । तर भने जस्तो कहाँ हुँदोरहेछ र सर ! तपाइलाई देउश्रीमा भेटेर गएको तेस्रो दिनको मध्य राति ! हजारभन्दा पनि बढी सङ्ख्यमा आएका सशस्त्र सेनाले हाम्रो झुप्रे गाउँलाई पुरै घेरा हालेको थियो । डरले मान्छे त के कुकुर पनि कुईं गर्दैन थियो । मध्य राति माइकबाट उर्दी जारी गर्दै सैनिक अफिसरले भन्दैथियो” जसले उज्यालो हुनुपूर्व देश छोड्दैना त्यसलाई घरसँगै आगो लगाउँछ।” आर्मीको आतङ्कित आदेश सुनेपछि बाल-बच्चाहरू च्यापेर मिरमरे नहुँदै सीमा काट्न विवश भएको त्रासदीपूर्ण घटनाको विवरण उसले सुनायो । उसका धाराप्रवाह बखानबाट म पनि प्रस्ट भएँ । त्यो मानिस त २५ वर्षअघि आसाम बंगाल बोडर-श्रीरामपुरमा भएको लात्तीकाण्डको प्रत्यक्षदर्शी पो रहेछ ! म त लाज र सङ्कोचले भुतुक्क भएँ ! रञ्जितेको परिवारसँगै अरू १० परिवारका ५५ सदस्यलाई स्कट गरेर टिमाइ पुर्‍याएको थिएँ । ढ्वाङ् ढुवाङ् उड्ने धुलो र धुवाँ आउने बगरमा छाडेर हिँढेको २५ वर्षअघिको तितो सम्झना झल्झल्ती आयो मेरा दिमाखमा । तिनीहरूलाई छाडेर त्यहाँबाट हिँढेको हिजो जस्तो लाग्थ्यो,तर २५ वर्ष भएछ आज ! २५ वर्ष अघि टिमाइको बगरमा छाडेको मानिसलाई अचानक कोलम्बसको काउण्टी अफिसमा भेट्न पुगेँ । त्यो पनि दुइदूइवटा बैसाखीका साथमा । भय,त्रास र गरिबीबाट चिथोरिको अनुहार ! नैसर्गिक रोगबाट भन्दा पनि बनावटी पीडा लाद्धिएबाट विक्षिप्त बनेको उसको कुरूपता ! कति खुल्दुलीपूर्ण वातावर थियो,त्यो । उमेरमा म भन्दा मात्र १५ वर्ष कान्छो रञ्जितेको यस्तो कुरूप हालत देखेर मलाई नरमाइले पनि लाग्यो । उसप्रति अझ् सहानुभूति बढेर आयो । हुन त समयको खेल कसले जान्दछ र ? रोग कति बेला लाग्छ र त्यसले कस्तो रूप लिन्छ ! आखिरमा रोग भनेको मृत्युको दाज्यु न हो ! कति खेर कहाँबाट आक्रमण गर्ने हो ! रोगका लागि नठूलो नसानो ! नधनी नगरिब ! नकालो नगोरो ! सबै समान ! उस्तै उस्तै ! आफ्ना दुवै पट्टी बैसाखी राखेर कुर्सीमा बसेको रञ्जिते कहिले पर्तिर कोठामा कम्युटरमा ग्याम खेल्दै गरेको छोरातिर त कहिले ५० फिटजति पररहेको एउटा कुर्सीमा बसेर आइफोन हेर्न व्यस्त रहेकी छोरीतर्फ हेर्नेगर्थ्यो । ती दुईको नजर चोरेर बेला बेला मलाई पनि हेर्नेगर्थ्यो । उसको यस सशंकित चालबाट के स्पष्ट हुन्थ्यो भने छोरा-छोरीको आज्ञविना उसलाई कसैसँग पनि बोल्ने अनुमति छैन । कुनै अज्ञात,त्रास, भय र दबाबबाट रञ्जिते आतङ्कित छ भन्ने उसको निन्याउरो अनुहार र चञ्चल आँखाबाट स्पष्ट हुन्थ्यो । तर पनि मैले हिम्मत गर्दै रञ्जितेलाई सोधेँ” भाइ, के भएर यस्तो हालत भयो?” मेरा प्रश्नले ऊ झन् सशंकित भयो ! यताउति आँखा घुमाउदै उसले भन्यो”सर के को रोग लाग्नु ,भत्ताको !” रञ्जितेको यस्तो छोटो तर अचम्मको उत्तर सुनेर मलाई झन् उसप्रति जान्न उत्सुकता जागेर आयो । रञ्जिते आफ्नो केस वर्करलाई भेट्ने पालो पर्खेर बसेको थियो । १ सय ५० जना मानिसको लाइनमा रञ्जिते १ सय १० नम्बरको कुपन हातमा लिएर बसेको थियो । यही किसिमको सुस्त गतिको चाल रहिरहेमा रञ्जिको त्यहाँ अझ् एक घण्टा लामो बसाइ हुने निश्चित देखिन्थ्यो । बिहानको ९ बजिसकेको थियो । मानिसहरूको चाप बढिरहेको थियो । बिहानै चिया र हल्का नास्ता खाएर आएकाले मलाई भने भोक-तिर्खा र हतारको झन्झट थिएन । परिस्थिति मेरा अनुकूल नै थियो ।

२०१२ मा दुई छोरा-छोरी र श्रीमतीका साथ रञ्जिते नेपालबाट सिधै टेक्सासको युस्टन भन्ने सहरमा आएको थियो । सुरुका केही महिना उसका लागि रमाइला नै रहे । आएकै महिनाबाट उसले ७ सय ५० डलर मासिक रूपममा भत्ता पाउन थाल्यो । एक दिन उसका दौँतरी खुलाल बाजेको छोरा रामप्रसाद पेन्सलभिन्याको पीट्सवर्गबाट र च्यादर घरे माइलाको जेठा छोरा सन्मान कोलम्बसबाट रञ्जितेको घरमा आए । उनीहरू रञ्जितेलाई नै भेट्न भनेर युष्टन आएका थिए । दिउँसो अन्यत्र घुम्न गए पनि बेलुकी उनीहरू रञ्जितेकै घरमा बसे । बसाइका क्रममा भलाकुरी भए । बेलुकी यसो चिसो पियपदार्थको नाममा एक दुई दर्जन हुस्कीका बोतलहरू पनि रितिने थाले । हल्का मुड बन्नेबित्तिकै दैनिक व्यवहारका सत्यकथाहरू उगेलिनु स्वाभाविक नै थियो। रामप्रसाद र सन्मानबीच महिनामा कसले कति कमाउने विषयमा अंकारी बहस चल्न थाल्यो । बहसकै क्रममा चुस्की लागाउँदै रामप्रसादले भन्यो”हेर सम्मान,पैसाको धक्कु लगाउनु पर्दैन?बाबु र आमा दुइजनाको क्यरगिबर गरेको दिनको जम्मा ८ घण्टा ! त्यसमा पनि ओहाइयोमा ! नाथे घण्टाको ११ डलर ! थापेर यत्रो फूटानी ! सुन सन्माने बाबु र आमाको मात्र ८ ८ गरी दिनको १६ घण्टाको १४ डलरले हिसाब गर ! त्यसमा जेठा बडा र जेठी बढ्यामाको पनि त्यही दरले जोडेर हिसाब गर । महिनाको ४ हजार ८ सय डलर थाप्छु । तैले कुनै पनि हिसाबमा मसँग प्रतिस्पर्धा गर्नसक्दैनस् बुझिस् ।” भनेर सन्मानलाई रामेले डलरको धाक लगायो । त्यति मात्र होइन,हाम्रो राज्यमा त एमर्जेन्सी कल गरेर बिरामीलाई अस्पाताल लग्नेबित्तिकै ४ घण्टा प्लस हुन्छ। बिरामभन्दा पनि आइडिया प्रयोग गर्नसक्नु पर्छ र पो डलरको वर्षा हुन्छ । मेरा घरमा कसैले कम्पनीमा काम गर्दैन । घरमै जागिरको छेलो खेलो छ,बुझिस्, सन्माने !” भन्दै धम्क्यायो । रित्तिएका ग्लासहरूमा हुस्की थप्दै रञ्जिते उत्सुक्ताका साथ यो बहस सुनिरहेको थियो र अतिथि मित्रहरूको घम्सा-घम्सी हुन्छकी भनेर बीचबीचमा सान्त्वना पनि दिँदै थियो । बेला बेला प्लेटमा सुकुटी र अचार थप्दै रञ्जितेकी छोरी बबी पनि कामै नगरी घरमा डलर मित्रिइने पेसाबारे चनाखो भएर दूइजनाको झगडा सुनिरहेकी थिई । त्यसै गरी सन्मानको छोरो बिर्खे पनि अतिथिहरूलाई सिग्रेट सल्काउन सघाउँदै चाख मानेर यो दृश्य अवलोकन गरिरहेको थियो । बाबुआमा हेरेकै पैसाले ० माइलका गाडीहरू किनेको, दुई अडाइ लाखका घरहरू किनेको र बैङ्कमा ५० हजारभन्दा बढी रकम डिफोजित गरेको रामप्रसादका कुराहरू सुनेर रञ्जितेलाई भन्दा पनि बढी उसका जवान छोरा-छोरीका मनमा पैसा कमाउने सजिलो जुक्ति फुरेर आयो । तीनदिन पछि रञ्जितेका घरमा सजिलैसँग डलर आर्जन गर्ने तृष्णाको बीउ रोपेर सन्मान र रामप्रसाद घर फर्के ।

रञ्जितेको उत्तर भित्रको महाउत्तर बुझ्न म एकदमै हतारिएको थिएँ । मैले अझ् उत्सुक हुँदै भनेँ, “भाइ,यो भत्ताको रोग भनेको कस्तो रोग हो ? मैले बुझ्न सकिन त ? मेरो प्रश्न सुनेर पहिला झस्कियो । फेरि हाँसे जस्तो गर्दै रञ्जितेले भन्यो” यहाँ मासिक ७सय५० डलर भत्ताका लागि ४५ को मान्छेलाई ६५ वर्षको बनायो । अवार बढाउने योजना बनायो । अब त भत्ताले मात्र पुगेन रे ! आवर पनि चाहियो रे । उनीहरू काम गर्न नसक्ने अरे । घर भाडा र बिल तिर्न साह्रो पर्‍यो रे ।” नरोकिइ रञ्जिते भन्दै गयो र म सुन्दै गएँ । बिचरा ! कति दिनदेखिको पीडाबाट थिचिएको रञ्जितेको दिमाग साँच्चिकै विस्फोट हुन मात्र बाँकी रहेछ, भन्ने मलाइ लाग्यो । सोध्नुभन्दा पनि मैले उसैलाई निरन्तर भन्ने अवसर दिइरहें । यहाँ भन्ने र सुन्ने कामलाई कतैबाट पनि बाधा थिएन ।

इच्छा लागेका दिन मात्र काममा जान्थे रञ्जितेका छोरा-छोरी । युष्टनमा ४ वर्ष रञ्जितेले दुःखका साथ बितायो । उनीहरूकै लहैलहैमा लागेर रञ्जिते दुइवर्षअघि कोलम्बस आएको थियो । जहिले घरभाडा र बिल तिर्न हम्हम्मे भइरह्यो उसलाई । नछोराले पढ्यो नछोरीले । केही भन्नै हुँदैन । उल्टै धम्की खानु पर्ने । रञ्जितेलाई कुनै दिन सञ्चले खाने र हर्षले हाँस्ने दिन आएन । दुई कोठे घरको मासिक ८ सय भाडा तिर्नुपर्थ्यो । पानी,बिजुली र ग्यासको लगभग २ सय गरी जम्मा १ हाजार डलर मासिक खर्च हुन्थ्यो । ऊसँग भत्ता सिबाय अर्को आय-आर्जनको स्रोत नै थिएन । उसले सुरुका दुई महिनाको भत्ता थाप्यो । तर त्यसपछि उसले डलरको मुखदेख्न पाएन । ‘मनको बह कसैलाई नकह’ भने झैँ यो विपत्ति कसैसँग बाँड्रन सकेन/ खोल्न सकेन । उसलाई लाग्थ्यो, ६५ वर्ष नबाइदिएको भए,म एकलै काम गरेर भाडा तिर्थेँ । र यति बेला सम्म १५/२० हजार डलर पनि कमाइसक्ने थिएँ । तर,दुर्भाग्य धेरै’खान जोगी भयो,जोगी भएकै भोलिदेखि भोकै भयो’ भने जस्तै भयो,रञ्जितेको जीवन पनि । भत्ताको यात्रा नेपालबाट सुरु भए पनि रञ्जितेको आवर बढाऊ यात्रा भने युष्टनदेखि थालनी भएको थियो । यसरी दुखले भरिएको कहानी सुनाउँदै रञ्जितेले थप्यो।” सर,कत्ति सहनु ! यस्तो लाचार जीवन बाँच्नुभन्दा मर्नु नै निको भन्ने लाग्यो । दिमागले कुन ठिक,कुन बेठिक निर्णय गर्नछोड्यो । सारै टेन्छेनमा परेँ । छोरा सुत्ने पलङको सिरानमा हेरेँ,केही भेटी न । के खोजेको हो त्यो पनि थाह छैन। रन्थनिदै छोरीको कोठामा पसेँ । छोरी थिइन । उसको ओछ्यान खोतल-खातल पारेँ । सारिने मुनि १० डलरको नोट फेला पर्‍यो । पैसा भेट्नेसाथ दिमागले पल्ट खायो । मलाई टनटन रक्सी पिउन मन लाग्यो । तर कहाँ पाइन्छ,त्यो थाह भएन । यतिकैमा छिमेकी धनबादुर भुजेलको छोरा-बुहारी सोपिङका लागि पार्किङ्मा निस्किएको देखेँ । भाइ,मलाई १० रूपियाको रक्सी किनेर ल्याइदेउन, भनेँ । अङ्कल रक्सी धेरै किसिमका हुन्छन् । तपाइलाई कुन चाहिएको हो ! बरु मसँग हिड्नुहोस् । आफैँ हेरेर ल्यानुहोस्”भन्यो । छोरा-छोरी पनि छिमेकी केटाहरूसँग सेनेमा हेर्न गएको मौका छोपेर दुई केस बियर किनेर ल्याएँ । घरमा आइपुग्दा ५ बजिसकेको थियो । दइलो थुनें । दुइवटै बियरका बक्सा खोलेर पिउन थालेँ । एक बक्सा बियर पिउन्जेल अलिलि थाह पाउँदै थिएँ । त्यसपछि – – – ।

सात दिनपछि अस्पतालमा होस् खुल्यो । होस् खुलेर हेर्दा दुवै खुट्टाको घुँडादेखि मुनिको भाग थिइन । त्यसपछि फेरि मरेँ । कयौँ घण्टा मरेर फेरि बिम्झिएँ । होस आएकोमा भन्दा बरु,होस गुमाएकामा म धेरै खुसी थिएँ । मेरा ती बिहोसीका सात दिन कति आनन्ददायक थिए ! जहाँ भोक तिर्खा थिएन । डर,त्रास,लोभ,माया-मोह थिएन ! अँध्यारो-ज्यालो थिएन । मरौँ कि बाँचौंको तनाव थिएन । थियो,त खालि शान्त,सुन्दर,खुसी र उमङ्गै उमङ्ग ! साहेद मेरो दुखको अन्त भएको रहेनछ र नै ईश्वरले मलाई फर्काएछ ! यो दुखदायी संसारतिर ! अब नमरून्जेलसम्मका मेरा सहयात्री हुन्,यी बैसाखीहरू भन्ने सोच्दै सात दिनपछि घर फर्केँ। छोरा-छोरीले गाली गर्लान्, भनेर म थुरथुर भएको थिएँ । तर गाली गर्नुको सट्टा उनीहरूले जीवन मै नगरेको सद्भाव देखाए । भोक-तिर्खा र सुत्न-उठ्नबारे धेरै नै चासो र चिन्ता गर्न थाले । मैले मेरा खुट्टा गुमाउँदा किन छोरा-छोरी उत्साहित भए मलाई थाह भएन।” अचानक यसरी छोरा-छोरीको व्यवहारमा परिवर्तन आएको देखेर रञ्जिते आश्चर्य चकित भयो । यो सपना हो कि बिपना उसलाई खुट्याउन निकै साह्रो पर्‍यो । एकदनि उसले घरमा आएका दोभासेलाई सोध्यो । दोभासेले”अङ्कल,भर्‍याङबाट लढेर तपाईँका दुवै खुट्टा भाँचिए । अब हिँडडुल गर्नसक्नु हुन्न । त्यसैले अस्पतालले तपाईँका छोरा-छोरीहरूका लागि दिनको चार चार घण्टाको जागिरको बन्दवस्त मिलाइदिएको छ।”

योग्य र दक्ष बन्ने सपना लिएर विश्वका हरेक देशहरूबाट विद्यार्थी अमेरिका छिर्नेगर्छन् । योग्य र दक्ष्यहरूका लागि अमेरिकाको श्रमबजार जहिले पनि खुला छ । अमेरिकामा दिनको ८ घण्टा काम नगरेर धरै छैन । पौरखी र पुरूषार्थीहरूका लागि अमेरिका एउटा अवसर हो । अवसरलाई चुम्न छोडेर आफ्नै परिवारका सदस्यहरूलाई अशक्त बनाउने व्यवसायमा कम्मर कस्दै छन्,अल्छे र दीर्घसुत्रीहरू । रञ्जितेको भत्ताको कागजी प्रबन्ध छोराले नेपाल मै गरेको थियो । यो कुरा रञ्जितेले अमेरिका आएपछि मात्र थाह पायो । आवरका लागि अझै कति राज्यहरूको यात्रा गर्नुपर्ने हो रञ्जितेले ! त्यो न रञ्जितेलाई न थाह छ न त रञ्जिते बाँचेको समाजलाई । यो कस्तो परिस्थिति ! सन्तानलाई उमेर दिनुपर्ने ! आफ्ना इच्छा र रहरहरू सबै तिलाञ्जलि गर्नुपर्ने ! उनीहरूको व्यापार र व्यवसाय बनिदिनुपर्ने ! यो कर्तव्य हो वा सेवा ! व्यापार हो कि व्यवसाय ! उपकार हो कि अपकार । बरा,रञ्जितेलाई छुट्ट्याउन निकै गाह्रो भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *