परिषद्का अध्यक्षको सन्देश
साहित्य विचार र अनुभवको कलात्मक सृजना मात्र होइन स्रष्टाको नितान्त स्वैर्कल्पिक अनुभूति पनि हो । समाजलाई नैतिकता, अनुशासित गर्दै गौरवशाली अतीततर्फ उन्मुख गराउनु साहित्य-सृजनाको महान् उद्देश्य हुनुपर्छ । आज हामी आफ्नो गौरवशाली सभ्यता र महान् आदर्श बिर्सिएर अर्कैतिर बगिरहेका छौँ । हामी यति लाचार भएका छौ कि अब हामीलाई आफ्नो संस्कार, संस्कृति र सभ्यता पनि अर्कैले सिकाइदिनु पर्ने भएको छ । विश्वकै उत्कृष्ट सभ्यताका अनुगामी हामीहरू आज सभ्यताविहीन बन्दैछौं र सन्ततिलाई अझ पहिचान विहीन पनि बनाइरहेका छौँ । हामी आफ्नै सभ्यता र परम्परालाई घृणा र अविश्वास गर्दैछौं र हाम्रा पुर्खाले स्थापना गरेका मूल्य र मान्यताहरू माथि जानेर हो वा अनजानमै पनि आक्रमण गर्दैछौं । संसारकै वैभवशाली सभ्यता र संस्कृतिका धनी हामी आधुनिकताको खोक्रो शिक्षाको अभिमान र घमन्डबाट तहस नहस बन्दैछौं । पुनर्वासपछि हामी एउटा अप्ठ्यारो मोडमा उभिएका छौँ । हाम्रा स्थापित मान्यता र अभ्यासहरू क्रमभङ्ग भएका छन् । त्यसै गरी पर्याप्त शिक्षा, ज्ञान र चिन्तनको अभावमा पनि हामी रुमलिइरहेका छौँ । ढुकुटीको धान बेचेर झोलामा राशन थाप्न लाइनमा उभिएका छौँ र यसैलाई आधुनिकता र वैज्ञानिकताको चरम उपलब्धि मानिरहेका छौँ । हाम्रा चिन्तन र दृष्टिकोणहरूलाई बेलैमा बदल्न सकिएन भने हाम्रा मूल्य र मान्यताहरू मात्र धराशायी हुने छैनन्, अपितु सन्ततिहरू पनि स्वाभिमान र पहिचानविहीन हुने निश्चित छ । त्यसैले सभ्यताको धरातलमा टेकेर लेखिएको सृजना नै उत्कृष्ट र कालजयी हुन्छ भन्ने कुरा बिर्सनुहुँदैन । विचार र सभ्यताका कुरामा कहिले पनि पराधीनता स्वीकार्य हुँदैन । हामो सभ्यता, संस्कृति, आत्मसम्मान र प्रतिष्ठामाथि यदि कसैले दबाब र घृणा गर्छ, भने त्यसको प्रतिकारका लागि पनि हामी तयार हुनुपर्छ ।
अब कुरो रह्यो, साहित्य परिषद्, भूटान अन्तर्गतको साहित्यको साझा मञ्चको पाक्षिक प्रकाशन Bhutaneseliterature.com को । यो मञ्च २००९ मा स्थापना भएको हो । प्रवासी भूटानीहरूले स्थापना गरेको विशुद्ध साहित्यिक प्रकाशन हो यो। विशेष गरेर प्रवासी भूटानीहरूले प्रारम्भ गरेको उक्त विद्युतीय प्रकाशन आजसम्म कै पहिलो र निरन्तर पनि हो । ७ मई २०२० देखि ११ वर्ष पुगेर १२ वर्षमा प्रवेश गरेको शुभ खबरबाट म धेरै उत्साहित भएको छु । यस मञ्चले संसारभरि रहेका स्रष्टाहरूका सृजनाहरू सङ्कलन र प्रकाशन गर्ने जुन कार्य गरेको छ, त्यो स्तुत्य र प्रशंसनीय त छँदै, त्यसमा पनि सृजनाहरूलाई विद्युतीय साइटमा प्रकाशित गर्ने र त्यसलाई सुरक्षित र संरक्षित समेत गर्ने ऐतिहासिक काम गरेको छ भन्नेमा दुईमत छैन । प्रवासी भूटानीहरूका लागि यो अभूतपूर्व छ र भूटानीहरूका सन्दर्भमा पहिलो पनि हो । आजसम्म ३ हजारभन्दा बढी लेख-रचनाहरू प्रकाशित भएका छन् र ती सृजनाहरू विद्युतीय संसारमा अभिलेखीकरण भएका छन् । अहिले यसको त्यति महत्त्व नहोला तर भविष्यका हाम्रा सन्तानहरूलाई आफ्नो इतिहास बुझ्न र जान्नका लागि एउटा महत्त्वपूर्ण स्रोत र साधन भने अवश्य साबित हुनेछ । यसका परिकल्पनाकार, योजनाकार, युगीन चेनताका संवाहक र निर्माताहरूलाई सलाम छ जसले चेतनाको बिउ रोप्ने एउटा साझा मञ्चको स्थापना गरे । संसारभरि छरिएका हामीलाई जोड्ने, नजिक्याउने र सृजना र चेतनाको क्षेत्रमा एककृत गर्ने योभन्दा माध्यम अर्को छैन वर्तमान परिप्रेक्ष्यमा । समय र प्रविधिसँग सँगसँगै जान सकिएन भने हाम्रो यात्रा निश्चित गन्तव्यमा पुग्न सक्दैन। प्रकाशन मञ्चले स्थापनाको ११ पुगेर १२ वर्षमा प्रवेश गर्दै गरेको यस सुखद उपलक्ष्यमा सबै स्रष्टा, लेखक र संस्थाका अभियन्ताहरूलाई हार्दिक बधाई दिँदै प्रकाशनको निरन्तरता र उत्तरोत्तर प्रगति र समुन्नतिको कामना गर्दछु ।
गङ्गा लामिटारे
अध्यक्ष
साहित्य परिषद् भूटान