बन्द ढोका
जे एन दाहाल
पेन्सिल्भिन्या, अमेरिका
पूर्णिमाको एउटा रात
ऊ घर अघिको बलेँसीमा उभिएर
आकाशमा मध्यरातको जुन हेर्छ र भन्छ,
एउटा ढोका पूर्वमा सधैँको लागि
बन्द भएको छ
सम्भवतः खुल्दैन फेरि कहिले
म उसको भावको गहिराइमा डुब्दै
उसकै सामुन्ने उभिन्छु र जुनको प्रकाशमा ठिक विपरीत दिशा लक्षित गरेर हेर्छु
त्यस्तै अर्को ढोका खुली सकेको देख्छु
खोइ कुन्नि किन ऊ बन्द ढोका मात्र देख्छ !
००
ढोका त्यो ढोका..
ऊ बर्वराउँदै गर्दा म सोच्न लाग्छु
सायद यस्तो दृश्य
उसको आँखाले नदेख्दो रहेछ,
मनले नटिप्दो रहेछ
ऊ अझ छट्पटाउनु अघि
बेचैन भई थप तड्पनु अघि
त्यहाँको परिवेश बदल्दै
म उसको आँखाको चस्मा फुकाली दिन्छु
र त्यही आकाशमा इसारा गर्छु
हँ ऽऽ, ऊ त्यो दृश्य हेर्दै आँखा मिच्छ ,र
भन्छ,यो परिवेशबाट निक्लन
युगौँ सम्मको लागि जिउन
पश्चिममा अर्को ढोका खुली सकेको रहेछ तर
किन म पूर्वकै ढोका मात्र पछ्याउँदो रहेछु
किन म एक ढोका मात्र देख्दो रहेछु
म भर्खर बिउँझदै छु!