बली चढेको एउटा अबोध गुलाफ
प्रतिमान सिवा
ओहायो, अमेरिका
सुवासको मग्मगाहटमा रक्तिम आभा फैलाएर
निर्धक्क मुस्कुराइरहेको त्यो अबोधलाई
झिनो शङ्कासम्म छैन आजको यो सुनौलो बिहानी
कसैको प्रेम इजहार गर्न आफू चटक्कै चुँडिएर
उसको हृदयमा थुनिएको प्रेम? को कोसेली बनेर
यसरी अप्रत्याशित बलि चढ्नु पर्छ भनेर।
सायद गुलाफ हुनुको अभिशाप
ऊ जस्तै अन्य हजारौँ हजार कोपिलाहरू
अभिशप्त बनेका हुँदा हुन् ‘ह्याप्पी भ्यालेन्टाइन्स डे’को बिगो बनेर
जसरी हजारौँ हजार अबोध पशुहरू बलि चढाइन्छ
नाथे एउटा निर्जीव ढुङ्गालाई सजाएर
अदृश्य देवतालाई खुसी पार्नलाई ।
केवल आजको दिन प्रेमको ओझ बोकेर
एक हातबाट अर्को हात, एक व्यक्तिबाट अर्को व्यक्ति हुँदै
एउटा हृदयबाट अर्को हृदयसम्म प्रेमको तरङ्ग साटेको
एउटा मिठो मुस्कान अनि एक च्वाँक चुम्बन र
केही उरन्ठेउला अभिव्यक्ति पछि हुत्त्याइएका
निर्जीव, निरस गुलाबका डालीहरू
ओइलाएर एकएक गर्दै पत्रपत्र छरपस्ट हुन्छन्
र अलपत्र जताततै फ्याँकिन्छन्
जसरी एउटालाई उपभोग गरिसके पछि
अर्को भ्यालेन्टाइन खोज्न तल्लिन् हुन्छन्
यो एक दिवसीय प्रेमको चाडमा
हाम्रा आजका अति-आधुनिक र टिपिकल प्रेमका वीराङ्गनाहरू।
टाढाबाट सुन्दर र चम्किलो देखिएका हरेक पत्थरहरू
केही दिन सुन्दर अवश्य लाग्छन् र जब
बिस्तारै अवयवहरू स्पष्ट हुँदै जान्छन्
तब ऋतु फेरिएझैँ स्वाद फेरिन सक्छ, दृष्टिकोणहरू बद्लिन सक्छन्
अनि ओइलिन सक्छन् अनजानमै उपहार चढेका ती
अबोध र रक्तिम गुलाफका डालीहरू
र लाग्न थाल्छन् गुलाफमा त काँडा पो हुँदा रहेछन्।
तर आगोमा खारिएर नम्बरी बनेका सुन हुन्छन्
ती हरेक जोडीहरू जसलाई आफ्नो प्रेम दर्साउन
न त रातो गुलाफको सहारा लिनु पर्यो
न त सार्वजनिक स्थलमा ट्वाक्क चुम्बन दिनु नै पर्यो।
हरेक पल हरेक क्षण भ्यालेन्टाइन्स डे नमानेर
यसरी एउटा गुलाफ पिठ्युँमा लुकाएर किन ढोङी बनिरहनु पर्यो?
मलाई लाग्छ, यसरी हरेक फर्वारी चौधका दिन
सन्त भ्यालाईन्टाइनको बलिदानलाई खिल्ली उडाउँदै
खुलेआम प्रेमको सामूहिक हत्या गरिँदै छ
र श्रद्धाञ्जली स्वरूप रातो गुलाफ
श्रद्धा सुमन चढाएर सबै प्रेमिल बन्न खोज्दैछन्।