बले जेल पऱ्यो
“उफ्…”, आधारातमा असिन पसिन हुँदै ओछ्यानबाट उठेर रत्नेले पसिना पुछ्यो । अप्रिल महिना टुंगिदासम्म हिउँ नबिलाउने ठाउँ । यस्तो ठण्डीमा रत्नेलाई रातिबीच किन यसरी पसिना आयो ! अमेरिकामा घरभित्र तातो राख्ने प्रविधि जोडिएको हुन्छ । तर रत्नेलाई पसिना आउनुको कारण त्यो पनि थिएन । पल्लो कोठामा दिदीलाई बोलाउँदै रत्नेले भन्यो,“मलाई त भित्रभित्रै काम छुटे जस्तो भयो । चिसो पानी देउ न सुमन दिदी ।” सुमन अत्तालिँदै उठेर रत्ने छेउ पुगिन् । “के भयो तँलाई ?” ऊ बोलेन । सुमनले विस्तारै भान्सा कोठाको फ्रिज खोलिन् र बरफ् झिकेर पानीको ग्लासमा हालिन् । त्यसैमा पानी भरेर दिइन् । लामो ग्लासको भरी पानी पिएर रत्नेले सुस्केरा लियो ।
मादकपदार्थ धोकेर गाडी चलाएको अभियोगमा हिँजैमात्र ‘डीयूआई’ पाएको थियो रत्नेले । गाडी जफत गरेर पुलिसले लगेपछि ऊ रित्तै घर फर्कियो । घरमा आइपुगेर ढोकाबाट भित्र पस्दा पस्दै घरकाहरुबाट उसलाई सामूहिक प्रश्नको झटारोले लाग्यो,“गाडी खै?”, उसले नजर भुइँतिर घोप्ट्याएर भन्यो, “साथीले जरुरी परेर कलम्बस लगेको छ ।” यति भनेर सबैलाई शान्त गरायो उसले तर, उसको मनभित्र ठूलै भुइँचालो गइरहेको थियो । साथी-भाइसँग मोजमस्तीमा घुम्दा घुम्दै धेरै दिन जागिरमा हाँजिर नभएर अनुशासन भंग गरेको अभियोगमा उसको कम्पनीले स्थायी भइसकेको उसको रोजगारीबाट पनि खुस्काइसकेको थियो ।
‘एक पैसाको कमाइ छैन, पुलिसलाई तिर्ने पैसा कसलाई माग्ने, घरमा मागौं भने हिँजै ढाँटियो’, आफूलाई फसाद परेको कुरो रत्नेले मनमनै गुन्यो । बिस्तारै पल्याक पुलुक वरपर हेऱ्यो र रत्नेले सिरानबाट फोन टिप्यो । रत्नेलाई पानी दिएर ढोकानेर कुइनेटोमा उभिइरहेकी सुमनले देखिन् ! रत्नेले कसलाई कल गऱ्यो भन्ने ठम्याउन त सुमनले सकिनन् तर, उसका सबै कुरा सुनिन् । “ओइ बले, हेर न, मेरो त गाडी पनि पुलिसले लगेर डीयूआईमा पारेको छ । कोर्ट केश त जेसुकै हुन्थ्यो तर, गाडी नै ल्याउन पो सारो पऱ्यो त, अलिकति पैसा सापटी दे न”, रत्ने भन्दै’थ्यो । बेलेले के भन्यो- ऊ बोलेको सुमनले राम्ररी सुन्न पाइनन् !
बिहान घरका सबै उठेर आ-आफ्नै कामधन्दामा लागे । सुमनले चिया लिएर कोठामा पुग्दा भाइ रत्नेलाई त्यहाँ देखिनन् । टी टेबलमा चियाको प्याला राखेर सुमन फर्किन् र भान्सातिर लागिन् ।
रामहरि काका आज किन हो कामबाट बेलैमा घर फिरे । “छिट्टै आउनु भो त, काम भएन आज बुवा?”, सुमनले सोधिन् । “हैन, सारै बिसञ्चो भएर आ’को… यसपाली त कम्पनी बन्द नभई चल्ने कुरो छ, यो वर्ष त ‘ले-अफ्’ बस्नु पर्दैन होला ”, काकाले खुई काड्दै यति भनेर छोरीको प्रश्नमा बिर्को लगाए ।
करीब एक घण्टा गाडी दौडाइको दूरीमा रहेको उनको कम्पनी बिहान छ बजे काममा लाग्नलाई पाँच बजे नै हिँड्नुपुर्ने ! “बिहान भोकै काममा जानु भो अनि, त्यही भएर पेट दुख्या होला, खाजा खाइहाल्नुस बुवा”, सुमनले डाइनिङ टेबलमा सुक्खा रोटी र सब्जी-दाल तयार पार्दै रामहरि काकालाई आग्रह गरिन् । बाबु रामहरिको भनाइ गमेर सुमनले पनि मनमनै भनिन्,“पोहोर जस्तो पाँच महिना ले-अफ् बस्नुपरेन भने त यो वर्षको अन्तिममा म पनि गाडी किन्न सक्छु । निजी गाडी नभए वरको सिन्का पर सार्न सकिन्न अमेरिकामा !”
बाबु-छोरीबीचको यस्तै गफाष्ट चलिरहेको थियो, दिलमान दाइले हुइयाँ गाडी ल्याएर घरै अगाडि रोक्नु भो । बाहिरी ढोका छेउमा जुत्ता खोलेर दिलमान दाइ भित्र पसेपछि सहज अभिवादनको आदान-प्रदान भयो । घर-परिवारमा सञ्चो बिसञ्चोको सामान्य भलाकुसारी सकेपछि दिलमान दाइले कुराको पोको खोल्नु भो, “हैन, रत्नेलाई के भएको छ यतिबेला ? तपाईंहरुले उसको ख्याल गर्नु हुँदैछ के ? बले पनि बिहानैदेखि घर छैन अरे !”
दिलमान दाइको प्रश्नले रामहरि काकाको हृदयमा भुइँचालो गयो । कुरो के हो भन्नेसम्म अनुमान गर्न नसकेर ट्वाल ट्वाल्ती दिलमान दाइको अनुहारमा हेरिरहे । सुमन हतार हतार रत्नेको कोठा पसेर हेरिन्-उनले बिहान टी टेबलमा राखेको चियाको कप त्यतिकै थियो । दिलमान दाइको कुरा अनुसार रत्ने र बले दुवैलाई पुलिसले छिमेकी स्माइलको घरबाट आज बिहानै गाँजा-चरेससहित समातेर लगेको रहेछ । नजाँनिदो संकेतमा रत्नेले दिलमान दाइलाई भन्यो रे… पुलिसबाट गाडी झिक्न स्माइलको सहायता लिने सोच लिएर बले र रत्ने त्यहाँ पुगेका थिए । स्माइलबाट उनीहरुले सधैं लागुपदार्थको खरिद-बिक्री समेत गर्ने गरेकाले पुलिसले स्माइलको घर छापा मारेकै बेला उनीहरु पनि परेछन् । स्थानीय अदालतमा प्रशासनले उनीहरुलाई उपस्थित गराउँदा संयोगवश आफ्नै कामले पुगेका दिलमान दाइले देख्नुभएछ र घरमा खबर गरिदिन आउनुभएको रहेछ । दिलमान दाइबाट यति सन्देश सुनेपछि रामहरि काकाले पनि कुरोको चुरो खोल्ने मनसुबा गरे ।
“दिलमान भतिज, भनिन्छ दुःख र पीडा अर्कालाई सुनाउन पाउँदा पनि अलिकति घट्छ । यस्तै अनेक कष्ट र व्यथा भोगेपछि मैले मेरील्याण्डको बाल्टीमोर भन्ने ठाम छोडेको हुँ । मेरील्याण्ड भन्ने ठाम खास गरी असुरक्षित छ भनेर मैले भतिजलाई पहिले पनि भनेकै हुँ । त्यहाँ जहिले पनि दंगाफसाद भई नै रहन्छ । तर, बाहिर भन्नलाई जे जे भने पनि म बसाईं सर्नुको खास कारण चैं यही रत्नेको कर्तुत हो । मैले नेपालबाट संस्थाले ल्याएर राखिदिएको ठाम यसैको कारण छोड्नुपऱ्यो ।” यति भनेपछि लामो सुस्केरा लिँदै काका फेरि बोले, “नेपालबाट आएको कति समय भा’ थे’न । अंग्रेजी पनि राम्रो सिक्न भ्या’ थिइनँ । स्थानीय अवारा ठिटाहरुसँग लागेर रत्नेले एकदिन छिमेकीमा एउटी किशोरीलाई जिस्क्याएछ । ती किशोरीका अभिभावकहरुले ९११ कल गरेर पठाइहाले ।”
दिलमान दाइले आँखा ठूला पार्दै काकालाई हेरे अवाक् प्रश्नहरु नजरमा उनेर । काकाले संकेत बुझेछन् क्यार सहज उत्तर दिँदै भने,“किशोरीलाई गलत दृष्टिले हेरेको र बलात्कारको प्रयास गरेको अभियोग लाग्यो रत्नेमाथि ।” छेवैको वाटर फिल्टरबाट एक गिलास पानी सारेर पिए अनि फेरि गथासो खोल्न थाले काका,“भूटानी र नेपाली साथीहरुको सद्भाव र सहयोग पाएर त्यहाँबाट त निकालें तर, सँगै पक्राउ परेका अरुलाई फँसाएर आफ्नो छोरोमात्र निकालेको भन्दै केही अपचिरित मान्छेहरुले घरमै आएर मलाई अतेरे । मेरील्याण्डमा यसै पनि नेपालीहरु असुरक्षित छन् भन्ने सबैले सुनेकै थिए । आफू पनि अनपढ मान्छे, डर लाग्न थाल्यो ।” काकाको गुनासो सिद्धिएकै थिएन, दिलमान दाइ आफू अलिकति हतारमा रहेको बताउँदै निस्केर हिँड्नु भो । संकटको बेला आफ्नै छोराछोरीले आड-अडेसो गर्नुपर्ने ठाउँमा तिनीहरुकै कारण यो बिरानो मुलुकमा आफूले दुःख झेल्नु परेको काकालाई ठ्याम्मै चित्त बुझेको थिएन । छोराछोरीकै आशा र भरोसामा, उनीहरुको उज्वल भविष्य हेर्ने उत्कट चाहनाले अमेरिका आइदिएका थिए रामहरि काका, आज यो अवस्थाले साह्रै विचलित भए ।
यो मन भाँडिएको बेला मान्छेलाई भावनाको आड-अडेसो चाहिन्छ भन्ने लागेर म कुनै अनुमतिको प्रतिक्षा नगरीकन काकाकै छेउको कुर्सीमा गएर बसें । काका मलाई छेउमा देखेपछि त्यतिकै बर्बराउन थाले,“अलिकति पढेको जेठो छोरो, उसैले हेरविचार गर्ला भनेर ढुक्कले अमेरिका आ’को थिएँ । कसको भनाइमा लागेर हो खै, छुट्टिएर बेग्लै बस्ने भो । सानोमा शरणार्थी जीवनको पीडा भुलेर दुःख गर्दै उसलाई पढाएको गुण फर्कायो अहिले ।” काका रोकिँदै बोल्दै गरेकाले बीचमा मैले प्रश्नका छेस्का हाल्न चाहिनँ । काका फेरि भन्दै थिए,“के गर्नु, उता हुँदा त मेरो पौरख चल्थ्यो । शिविरमै बसेर पनि उसलाई निकै खर्च गरेर पढाएँ । दमकको सिद्धार्थ बोर्डिङ जाँदादेखि नै उसले मलाई निकै खर्च गरायो । पछि काठमाडौं पढ्न जान्छु भन्यो, त्यसकी आमाले माखो-मुन्द्रो बेची, मैले पनि कमाएको सारा जोरजाम गरी पठाइदिएँ । पढेर आयो, दमकमै ‘लुथरुङ’ आपिस (लुथरन वर्ल्ड फेडरेशन) मा काम गर्थ्यो । हामी सबै खुशी थियौं । खै क-कसले हो अमेरिका पुगेपछि केटाको बिहे गर्न गारो हुन्छ, शिविरमै बिहे गरेर जानु भन्दियो रे, आमा चैं पनि कराउन थाली, उसैले हेरेकी केटी बिहे गरिदियौं । सबैको तयारी पहिलेदेखि चलेकोले उसको बिहे भएको तीन महिनामै अमेरिका आइपुगियो । तर, आज छोरा-बुहारीले यसरी ऋण फर्काए काइँला ।”
‘छोरा-बुहारीलाई राम्ररी सम्झाइ-बुझाइ गर्न सके राम्रो हुन्थ्यो काका’, मैले सुझाव पेश गरें । मेरो यस्तो कुरा सुनेर काकाले अनुहार अझ अँध्यारो बनाएर भने,“बुहारीलाई पनि क-कसले उचालेका हुन् ? यसै गर्लान् भनेर जान्या भए अमेरिका आउने पनि थिइनँ । हेर न; आएको केही महिनापछि सबै मिलेर किनेको एउटा गाडी पनि उतै लगे । तरक्क आँसु आयो तिनको व्यवहार देखेर तर, इखले गरी खान्छु भनेर म उनीहरु भएको ठाउँबाटै बसाईं सरेको हुँ काइँला, सत्य कुरो ! यस्तै धेरै कारणहरु छन् म यहाँ आउनुमा ।” काकाको गुनासोको ठेली सिद्धिएकै थिएन । उनी बोल्दै गए,“तँलाई थाहा छँदैछ, ठूलेपछिको ठूलो भनेको यही रत्ने हो । अरु भाइ-बहिनी सानै छन् स्कूले उमेरका ! ठूलेले त्यसै गऱ्यो, यता रत्नेको पनि ताल यस्तो छ ।” बोल्न छोडेनन् काका, भनिरहे,“दाजुचाहिंले त कमसे कम पढुञ्जेल राम्रै पढेको थियो अहिले जसो गरे पनि ! यसले त मलाई सञ्चले बाँच्नै पो नदिने भो, हैन तिमेरु समाजका लागि के के गर्छौं भन्छौ; यस्ता ठिटाहरु तह लाउने कार्यक्रम ल्याओ न हौ काइँला । हामी भने यिनीहरुकै चिन्ताले समाज, संस्कृति, भाषा केही नमिल्ने ठाममा आयौं । यिनीहरुकै भविष्य सपारेर हमीलाई हेर्लान् भनेर मन बुझायौं । अहिले हेर त ! अब पनि केही नसोचे समाजका लागि के के गर्छौं भन्नेहरुको कुरो कसरी खाइयो र खै !”
काकाले मलाई यसरी अठ्याङ पार्लान् भन्ने अड्कल नै थिएन मलाई । उनले आफ्नो कैरन अझै सकेनन्, बढिरहे, “तेरी काकी पनि काम गर्न नसक्ने रोगी छे । म एक्लैले घर धान्नुपर्दा म अनपढ मान्छेलाई कति गाह्रो भो होला ! धन्न यो छोरी सुमन मेरो लागि भावी भएर आइपुगी !”
शिविरमा हुँदाताका नेपालकै बस्तीतिर विवाह गरी गएकी थिइन् सुमनले । सुमनका बारे विस्तार गर्दै काकाले भने,“नेपालको द्वन्द्वकालमा ज्वाइँ बेपत्ता भए । शायद बुहारीलाई अंश दिनुपर्ला भनेर हुनुपर्छ सासू-ससुराले उसलाई देखी सहेनन्, धेरै वर्ष त सहेरै बसी तर, हद भएपछि फर्केर शिविरमै आएकी थिई । उसको प्रक्रिया हामीसँगै हुनसकेन । अहिले मात्रै आइपुगी, हामी आएको करीब दुईवर्षपछि ।”
ओहायोमा रोगीलाई अशक्त भत्ता दिन्छ, स्वास्थ्य विमा पनि दिन्छ भनेको सुनेपछि रत्ने पनि नयाँ ठाउँमा सप्रिएला कि भन्ने आशाले आफ्नो परिवार लिई मेरील्याण्डबाट झिटी-गुण्टा टिपेर एक्रोनतिर हानिएका थिए काका । “तिमीहरु छौ जान्ने-बुझ्ने अब के गरिदिन्छौ है । हेर न, एउटाले मेरो पीडा बुझेन अर्को छोरोले त बुझ्ला भनेको, यो मोरोले झन् पीर्ने भो ”, यसरी रामहरि काका ‘सामाजिक काम गर्छौं’, ‘भाषा-संस्कृति र सभ्यताको रक्षा गर्छौं’ भनेर हिँड्ने केही मानिसहरुको जिम्मेवारी बढाउँदै अमेरिका आएपछिका अधिकांश भूटानीहरुको वास्तविक शब्दचित्र खिचिरहेका थिए ।
सुमन बहिनीले पनि पढेकी छन्, किन चिन्ता गर्नुहुन्छ काका, उनले तपाईंको घर सम्हाल्ने छिन् । सबै काम ढाक्ने क्षमता छ सुमनमा । मैले सुझाव वा सान्त्वना जे भने पनि यति भन्दैमात्र थिएँ अलिकति ओठ टोकेर खिन्नता दर्शाउँदै काका बोले, “हेर काइँला, भोलि मेरो बसी सुख न उठी सुख हुन्छ । समाजका आफ्नै मान्छेहरु मतिर धारे हात लाउन थाल्छन् । छोरीको कमाइ खाने नपुंषक, हुतिहारा भन्छन् ।” यति भनिसक्दा काकाका आँखा पनि रसाएका थिए । हुन पनि हो, हाम्रो समाज पत्रु भइसकेको संस्कार बोकेर चलेको छ, भोलि छोरीको नामबाट जात र धर्मका कुरा जखेर गाउँमा मुख देखाइ नसक्नु बनाउने ठेकादारहरु आफ्नै मान्छेहरु हुनसक्छन् ! काकाको कुरा सकिएको थिएन; “फेरि यसको विहे गरेर पठाउनु पनि पऱ्यो होला नि हामीले…यसको पनि त जीवन छ, ‘छोरीको जात, अर्काकै भित्ता पोत्ने हात’ भन्ने त बुढापाकाको आहानै छ । बढेका छोरीचेली अलिक दिन घरमा बस्दैमा आफ्नो काम छोडेर कुरा काट्ने समाज छ हाम्रो । कुरा काट्नेहरुलाई के छ, रन-वन सबै घुमेर अर्काका पिँध पखाल्दै हिँड्न भ्याउँछन् ।” साँच्चै काकाले भनेजस्तै हाम्रो समाजमा खास गरी काम नगरी खान पाइरहेका मान्छेहरु बढी मात्रामा अर्काको चियो-चर्चो, खिसी-ट्यूरी गरी हिँडेका देखिएको छ । अनुमानका ‘पहाड भत्काएर’ सम्याउँदै हिँडेका पाइएको छ ।
“आशेबारो है पुत्ने छोरा, हन के गर्दैछौ को, सञ्चै आनन्दै ?” रामहरि काका र मबीच गनथन भइरहेको ठाउँमा दिलपाली फुपा पनि आइपुगेर यति भन्न भ्याइहाले । हत्त न पत्त मैले उठेरै ढोगें उनलाई । “हौ यो भदै पनि पो यतै थ्यो को, देखेन पो मैले त । कता कुनातिर पो बसिगोएछ… यो भदै त, मैले त पुत्ने छोरामात्रै पो देखें । माफ गर है भदै ।” दिलपाली फुपा बोल्न थालेपछि हम्मेसी नरोक्किने । भरसक उनीसँग कुराको सिलसिला नबढाउन नै भलो ठान्थे सबै किनकि उनका कुरामा सार मिलाउन कतिबेला ‘अँ’ वा ‘हजूर’ भन्नुपर्ने हो भनेर जोसुकैलाई अनुमान नै हुँदैन’थ्यो । फुपा बोल्दै गए अगाडि,“हन उमेरसँगै आँखा पनि भित्रै पोसीगोयो, के पो देख्नु र आबो, उहिले लाहुरा हुँदा त चारकोश टाढाको शत्रु पनि ठिंग्रिङ्गै अगाडि देख्थ्यो निः हौ भदै, उ हु हु हु !” एकपटक कल्पनामै तुरुणो उमेर भरेर फुपाले बुढो शरीर तनक्क तन्काउँदै सैनिक ढाँचाको काशन गरे र तमाखुको हुक्का फत्फताएझैं हाँसे मज्जाले ।
जति धेरै बोले पनि सारै दिलदार, मिजासिला र हितकारी, सारै सभ्य, भलाद्मी र उच्चस्तरको चेतना भएका मान्छे दिलपाली फुपा । दिलपाली फुपा यनिकि कर्णबहादुर राई, उहिले नै वाङ्दीफोड्राङको बाटो खन्ने बेगार तिर्न घरबाट गएका उनी भागेर लखनऊ पुगी भारतीय ‘लाहुरे’ भएका थिए रे ! उनको थर दिलपाली भएकोले सेनामा पनि उनलाई सबैले दिलपाली भनी बोलाउँथे रे । हवलदारसम्म पद पाएर अवकाश लिएकाले उनलाई ‘हलदार माइलो’ पनि भन्थे । तर, सम्मान साथ बोलाउनेहरु धेरैले उनलाई मितबाउ, अलिक अधवैंशेले दिलपाली फुपा र ससानाहरु उनलाई राई बाजे भनेर चिन्थे । शायद यही आशयमा रामहरि काकालाई पुत्ने छोरा सम्बोधन गर्दै उनी भित्र पसेका थिए !
सर्भाङको तिरखोलामा पुर्खौंदेखिको रासोबासो भएका दिलपाली फुपा भारतबाट सैनिक जीवनको अवकाश लिएर आउँदा न्याउली भूटानको नयाँ भस्मेमा धमाधम बस्ती बसाइँदै थियो । उनी पनि बाबु-दाजुबाट सल्लाह लिएर न्याउलीमै घरजम गरी बसे । त्यहाँ पूर्वी भूटानका सरदार न्याउली बाबू थिए । प्रशासन, लेखा, अर्थ सबै विभागहरु उनकै अधिन चल्थ्यो । उनको असली नाम झुलेन्द्र प्रधान, तर ठूलो मान्छेलाई सोझो नामले नबोलाएर बाबू वा बाबूसाहेब भनी बोलाउने चलन थियो । उनलाई बाबू भन्ने सवालमा थाहा छैन न्याउली उपसर्ग कसरी जोडियो । शायद न्याउली कोठी बनाएर उनले त्यसैमा आफ्नो उपमा पाएका थिए । गाउँका मुखिया र सरकारी हकवालाहरुलाई बाबू र बाबूसाहेब भन्ने चलन पछिसम्म चलेको थियो भूटानमा । बाबू, साहेब, मालिक जस्ता शब्दहरु आदर, माया दर्शाउन वा ठूलो र शक्तिमान बुझाउनै प्रयोग गरिन्छ । यस्ता शब्दहरु खास गरी भारतीय क्षेत्रीय भाषाबाट संक्रमित थिए भूटानको नेपाली भाषामा । त्यसो त तेस्रो पुस्तासम्म आउञ्जेल भूटानको वाङचुक राजखलकमा पनि राजालाई ‘ग्याल्पो’ वा ‘किङ’ नभनेर ‘महाराजा’ नै भनिन्थ्यो । यो भाषाको प्रभाव र क्षेत्रीय राजतीतिक प्रभूत्वको गन्ध आउने सन्दर्भ थियो । भारतीय क्षेत्रीयताको प्रभाव र दयादानमा बिस्तारै विकासको गति समातेको भूटानमा त्यहाँका हरेक गतिविधिको प्रभाव पर्नु सामान्य कुरो थियो, यो ‘बाबूगिरि’ पनि त्यहीँबाट आयो ।
यहाँनेर एउटा रोचकिलो प्रसंग छ; न्याउली बाबू राजघरानाको दर्जा अनुसार भूटानका तीन सरकारसरह हकवाला थिए । त्यतिबेला भूटान र भारतबीच कुनै तोकिएको सीमा थिएन । उनले सारा पूर्वी भूटानको क्षेत्रलाई अधीन गर्थे । तर, निकै पछि भारतसँग देशको सिमाना छुट्याउँदा उनको जमीन भूटान र घर भारततिर परेको थियो । त्यसपछि पनि प्रशासकसरह नै उनी भारत-भूटान दुवैतिरका जनताको हेरचाह गरेर बसेका थिए । सन् १९९० ताका थिम्पूमा ओम प्रधानको नाममा एकजना व्यक्तिले निकै ख्याति कमाएको थियो । संयुक्त राष्ट्रसंघका लागि कूटनीतिक प्रतिनिधि र भूटानको तत्कालीन शाही मन्त्रीमण्डलमा व्यापार तथा वाणिज्य विभागको मन्त्रीसमेत बनेका थिए ओम प्रधान । हो, यिनै ओम प्रधानका बाबु थिए झुलेन्द्र प्रधान अर्थात न्याउली बाबू !
यी माथिका सबै कुरा दिलपाली फुपाले गाउँभरिका मान्छेलाई पढाएका थिए । तर, कतिले दिलदिमागमा लिए र कतिले फुङ्ङ सुर्तीको धुवाँ उडाएझैं उडाए भन्नेचाहिं कसैलाई पनि थाहा भएन । संक्षेपमा उनको निर्वासन कथा यस्तो थियो । दिलपाली फुपा सन् १९५८ तिर भारतीय सेनामै थिए । यसो हुँदा सन् १९५८ मा तिरो तिरेको रसिद उनको नाममा थिएन, बाउ-बाजेकै नाममा थियो । यही कारण उनी भूटान फिरेर आउँदा उनलाई पहिलो दर्जाको नागरिक ठानेन सरकारले । लामो समय भारतमा रहँदा उनले आसामबाट बिहे गरेका थिए चमेली फुपूलाई । गाउँका बाबु-काका उमेरकाहरुलाई माइती मानेका कारण हाम्रो दमाले उमेरकाहरु सबैले आदरसाथ उनलाई ‘चमेली फुपू’ भन्थ्यौं । उनलाई सरकारले नागरिक ठानेन र तिनका छोराछोरीसमेत सरकारी तजबीज अनुसार विदेशी घोषित भए, भूटानले लखेट्यो । आफ्नो सारा बलवैंश खर्चेर सेवा पुऱ्याएको भारतले पनि दिलपाली फुपाको आँसु पुछेन; बरु घाउमाथि नून छर्किँदै नेपालको सिमाना कटाइदियो !
दिलपाली फुपा यसरी राजनीतिक विज्ञानको प्रोफेसरझैं भाका मिलाइ मिलाइ लेक्चर दिइरहेका थिए, भित्तामा फुलेको सुनाखरी झैं मन्दभरि मुस्कान छर्दै सुमन चिया लिएर आइपुगिन् । टी टेबलमा टक् टक् जनही कप राखेर उनी नबोली फर्किइन् । ‘चिया पिउँ है मितबाउ’ रामहरि काकाले आग्रह गर्दागर्दै दिलपाली फुपाको रौसे उत्सुकता शब्द बनेर फुटिहाल्यो, “यो बाहुनहरु खाली तातो निलेर चिसो हुने चिया खान्छ, यो राई बुढोले त चिसो निलेर तातो हुने चिया पो खान्छ को भनेर बुझ्दैन पो; उ हु हु हु…!” थकाइ र सोचाइले क्लान्त, मलिन अनुहारमा रामहरि काकाले फुपाको कुरामा फिस्स हाँसेर फिक्का जवाफ फर्काउनेबाहेक अरु उपाय भेटेनन् ।
धेरैबेरसम्म रामहरि काकाको अनुहारमा फिक्कापन देखेर हो क्यारे दिलपाली फुपा उठेर छेउमा जाँदै सोधे,“हैन हौ पुत्ने छोरा कुरा के छ भन्न, के भएको छ, सञ्च पो छैन कि ? तिम्रो अनुहारले नै भन्दैछ को !”
“हैन मितबाउ, मलाई केही भएको छैन । तर हामी सबैलाई दुःख लाग्ने केही कुरा भएको छ । तपाईंको नाति बले र मेरो छोरो रत्नेलाई के भयो भन्नुस न, बले कहाँ छ थाहा छ तपाईंलाई ? केटा पुलिसको हातमा पुगे भन्ने सुन्दैछु”, रामहरि काकाले एकैचोटि पीडाको रन्को ओकलिदिए टर्रो शैलीमा ।
काकाको कुराले दिलपाली फुपाका आँखीभौं उचालिएर निधारमा खुम्चिए ! गान्धी चश्मा खोलेर चियाकै टेबलमा राख्दै फुपाले पनि खुई काडे । “हैन के भन्छ यो पुत्ने छोरा, हाम्रो बले त अनि स्कूलमा पो छिट्टै बोलाको छ भनेर झिस्मिसेमै हिनेको थियो को”, फुपाले यति भनेर सुस्केरा लिए । कुरा कुरैमा दिलपाली फुपालाई पनि रत्ने र बले दुवै जेलमा पुगिसकेको कुरा पक्का भयो ।
“सक्यो …सक्यो, हामीले कमाको इज्जेत, इमान सबै माटोमै मिलायो यो बजियाहरुले, आफ्नै सन्तानले मोसो दलिदिएपछि कसलाई के भन्नु”, गन्गनाउँदै दिलपाली फुपा पनि उठेर आफ्नै घरतिर लागे । घर पुगेर सोफामा टस्स बसी फुपाले आफैंलाई गाली गरे,“बलेलाई माया गरेर आफूले पाउने भत्ता चुँड्दै खर्च दिएको फलिफाप, लु खा दिलपाली ! बलेलाई जेलबाट उकास्ने खर्च पनि मैले नै त जुटाउनुपर्ने होला निः अब, त्यसको बाबु र आमालाई त कामभन्दा अरु कुरा सोच्ने फुर्सदै छैन । फेरि पैसा पनि कहाँ छ र उनेरुसँग, कमाएको पैसा घरको भाडा, खानाखर्च, पानी, बिजुली, ग्यास सबै यस्तैमा सकिन्छ । बाबु-आमाले दुःख गरेर घर चलाको कुरा त बुझिदिनु नि हौ यो भुराहरुले पनि…खै हाम्रो जमानामा त यस्तो मोज थिएन को, लाहुरे हुँदा बाबूसाहेबको छोराछोरीले पनि यो बलेले जति सुख पाको त देखेकै पो थिएन हौ मैले त गाँठे, तर के गर्ने आज कुन गल्लीमा गाँजा फुकेर हिँड्छ भनेको सुन्छु, आबो भने यसलाई मो पैसा किन दिन्थें र, एक पैसा छिराउँदैन तेरो बाजेले …”, एक्लै यसरी फत्फताइरहे फुपा धेरैबेरसम्म !
फुपा गन्गनाइरहेका थिए, विष्णु र गंगा नेपालमा भरखरै गएको विनाशकारी भूकम्पमा परी घाइते भएकाहरुको उपचारार्थ जुटाइने सहयोगको रकम उठाउँदै आइपुगे । ठूलो दिल भएका दिलपाली फुपाले एकपटक विवरण सुन्नासाथ एक शब्द नबोलीकन कोटको भित्रीबाट झिकेर बिस डलरे नोट थमाइदिए । गंगा र विष्णु गएपछि सोफामा झोक्रिएर अनुमान गरे फुपाले ‘सन् १९९० ताका हामीले सडकको धुलो टक्टक्याएर माई खोलाको किनारमा बास बसेको बेला धेरै नेपालीले हामीलाई बाँच्न सघाएका थिए । अहिले हाम्रो पालो आएको छ उनीहरुलाई बाँच्न सघाउने ।’ नेपालीहरुको नाममा बिस डलरमात्र दिनसकेकोमा अलकति खिन्नता थियो फुपाको मनमा । तर, त्यो बेला उनको खल्तीमा त्यति नै थियो । फुपालाई सोच्न कसैको अनुमति चाहिएको थिएन, सोच्दै हिसाबमा लागिहाले,‘बिसको दरले यसरी पैसा छुट्याएर राख्ने हो भने एक्रोनमा हुने महिनाको सरदर एउटा आत्महत्या, तीनवटा कालगति मृत्यु, विद्यार्थी र सामाजिक काममा चन्दा उठाउनेलाई भाग गरी महिनामा करीब डेढ सय डलरभन्दा बढी नै तिर्दैछु म । नेपालको पैसा हिसाब गर्ने हो भने करीब पन्ध्र हजार ! मनमा जति जे होस्, घर जसरी चलेको होस्, म जसरी बाँचे पनि महिनामा पन्ध्र हजार अर्कालाई दान गरेर बाँच्न पाएको छु, मैले यहाँभन्दा गौरव गर्ने अरु के कुरा खोजिरहनु !’ दिलपाली फुपा आफूलाई आफैं सन्तुष्टि भरिरहेका थिए । “तर बुढेसकालमा सजिलो बाँच्नु भनेर सरकारले दिएको पैसा फटाइँ गरेर जेल पसेका बले र रत्नेजस्तोहरुलाई उकास्नुको लागि…अहँ ! दिन्नँ म, दिन्नँ । अस्ति भरखरै बलेले गाडी किन्छु भनेर लगेको मेरो पाँच हजार डलर कता लग्यो कता …गाडी किनेको पनि देखिनँ को ! अहँ ! अब म किन पैसा यसरी पोखाउँछु र घुऱ्यानमा ! बरु म त अब सुनाउँदै हिँड्छु, गाउँ गाउँमा, गाँजाभाङ खाँदै, अमेरिकी कानूनले वर्जित गरेको काम गर्दै अवारा भएर हिँड्दा, रत्ने थुनामा छ, बले जेल पऱ्यो ।”