बाँच्ने आधार

कथाकार
कथाकार

रूप पोखरेल
पिट्सबर्ग, अमेरिका

मेरो मोबाइलमा एउटा सन्देश आएको सङ्केत पाएँ | यसो हेरेँ, मित्र टि.पि मिश्रको रहेछ ।

‘समय कस्तो छ?, एक छिन् गफ गर्न मन लागेको थियो’ भनेका रहेछन् ।  मित्र फेरि एक प्रकारका छन्, अरूको सन्देशको जबाफ दिन भ्याउँदा एकछिन ढिला गर्दैनन् रअरूको ढिलो भो भने अलिक अप्ठ्यारा छन् ।  उनको यो बानी भने मलाई मन पर्छ ।

‘म अहिले गफ गर्ने अवस्थामा छुइँन, केही साथीहरूसँग फेब्रुअरी २८ का दिन ‘मानसिक स्वास्थ्य प्राथमिक उपचार’ विषयक तालिम आयोजना गरेका छौं र, त्यसैविषयमा छलफल गर्दैछौँ केही बेरपछि फोन गरौँला’ भन्ने जबाफ दिएँ ।

फेरि एकै छिनमा अर्को सन्देशको सङ्केत आयो ।  ‘मैले तपाईँको इमेलमा एउटा कथाको लिङ्क पठाएको छु पढ्नु होला’ भनेका रहेछन् ।

बैठक सकेर सरासर घर गएँ ।  घरपुग्दा हर्कमान र कृष्ण दाइ केहीबेर अघिदेखि केही कागजात देखाउन भनी पर्खिरहेका रहेछन् ।  धेरैबेर पर्खाउन चाहिनँ ।

हर्कमान दाइको आफ्नै गुनासो रहेछ – एक महिनाअघि ओहायोको एक्रोन सहर गएको बखत बिरामी परेर आकस्मिक उपचार गरेबापत ठुलो रकमको बिल आएको रहेछ ।

‘यहाँको इन्सुरेन्सले अर्को राज्यमा उपचार गरेको नतिर्दोरहेछ ।  म बिरामी हुँदा-हुँदै गएको थिएँ ।  यस्तो हुन्छ भनेर जानेको भए म जाने नै थिइनँ ।  लौ न केही गरिदिनुपर्यो ।  कमाएकाले घरको भाडा, ग्यास, बिजुली र ‘आईओएम्’को लोन तेर्दै ठिक्क हुन्छ।  मेरो केही उपाय छैन । कोही बेला त किन आइएछ जस्तो लाग्छ ।  अबदेखि म सबैलाई- यदि बिरामी हुनुहुन्छ भने अति आवश्यक बाहेक अरू राज्यमा नजानु भन्छु ।  मेरै हालत हुन्छ भन्दिन्छु’, भनेँ ।

‘हो तपाईँले ठिक भन्नु भो, गल्तीबाटै हामीले पाठ सिक्ने हो ।  आज शनिवार, सोमवार म एक चोटि फोन गरिदिन्छु ।  तपाईँको सबै समस्या बताइदिन्छु अनि त्यसपछि हेरुँ केही उपाय निकालौँला ।  तपाईँ चिन्ता नलिनुहोस्’ भनिदिएँ ।

कृष्ण दाइको ग्यासको बिल धेरै आएको रहेछ ।  न्यून आम्दानी भएका परिवारका लागि राहत कार्यक्रमको फारम भरिदिएँ र आवश्यक कागजात जुटाउन भनिदिएँ । सानो खुशी बोकेर बाहिर निक्लिनु भो । मनमनै भनेँ, ‘हर्कमान र कृष्ण दाइहरु जस्ता अरू हाम्रा दाजुभाइहरु अन्जानमा कति मारमा परेका होलान् ।’

अब बल्ल मिश्रजीको लिङ्क हेर्ने अलिकति समय मिल्यो ।  कम्प्युटर छेउमा गएँ ।  सानी छोरी ‘क’बाट-कछुवा, ‘ख’-खरायो, ‘ग’बाट-गमला भन्दै बालगीत हेर्दै रमाइरहेकी रहिछन् ।  नचहाँदा-नचहाँदै पनि उठाउने प्रयास गरें ।  मन खल्लो भो ।  मिश्रजीको लिंक हेर्नुमेरो एकमात्र इच्छा रह्यो ।

‘नानी उठन ल, म एउटा इमेल हेर्छु’ भनेँ ।

‘बाबा, एकछिन न ।  तपाईँको मोबाइलमा हेर्नु नि बाबा, ‘ह’बाट-हनुमानमा पुगेकी छु म’ भनिन् ।

‘हो त साँची, त्यति पनि होश नआएको मलाई,’ मनमनै भनेँ, ‘म भूटानको डम्फू बजारमुनि बोक्रेका पाखामा चार-पाँच वर्षको हुँदा कस्तो थिएँ होला’? मेरो त्यो अवस्था र  सानी नानीको आजको यो अवस्थाले मलाई धेरै सोचमग्न बनायो ।

मेरी बुढी आमा छेवैमा बसेर मुसुमुसु हाँस्तै-‘कस्ता होलान् यी केटाकेटी, धेरै बाँच्न पाए हेर्न पाइने थ्यो’ भन्दै हुनुहुन्थ्यो ।

सानी छोरीका अनुहारमा हेरेर म भित्र-भित्रै गुन्गुनाएँ-‘म यसै भन्न सक्तिन म एक असल बाबु बन्न सक्छु कि सक्तिनँ, सबै थोक सोचेजस्तो भए र यसलाई सही शिक्षा दिनपाए आफ्नो माटो गुमाएको थोरै भए नि अर्थ लाग्ने थियो ।’

मोबाइलमा इमेल खोलेँ- एउटा लिङ्क रहेछ क्लिक गरेँ ।

सरर एउटा लामो लेख खुल्यो ।  ठुला अक्षरमा भएको शीर्षकमा आँखा पुगे – ‘सुसाइड नोट’ रहेछ ।

एक चोटि त झसंग भएँ ।  आज दिनभरि त्यस्तै-त्यस्तै विषयमा छलफल गरेर घर फर्केको, शीर्षक नै त्यस्तै छ ! सरर लेख पढें ।  धित मरेन,  अनि फेरि पढें ।

पढ्दै जाँदा मिश्रजीको मित्र गुमाने ठुलेलाई झल्झली आँखा अघि देखेँ झैँ भो ।  अझ भन्नु पर्दा गुमानेकी आमा र दिदीको प्रसङ्गले मलाई पच्चीस वर्ष अघि गाउँकै पारीपाखे ठुलीको दर्दनाक घटना स्मरण गरायो ।  महिनौँसम्म गाउलेका आँखा रसाएको त्यो क्षणको याद भो ।  त्यहीबेला मेरी सानी छोरी कम्प्युटरबाट उठिछन् र मेरा छेउमा आइछन् ।

‘बाबा, तपाईँ मोबाइल हेर्दै रुनु भको’ ?

“मैँले गीत हेरिसकेँ कम्प्युटरमा अब बस्नुहोस्’ भनिन् । म झसंग भएँ ।

‘होइन नानी, मेरो आँखामा के परेछ आज हेर-हेर’, भनेँ ।

नानीले मेरो आँखा नजिकै आएर आँखा वरिपरि साना हातले पुछिन् र भनिन्-
‘बाबा आँखामा केही पसेको छैन ।’

मनमनै भनेँ-‘हो छोरी तिमी सही हौ, मेरो आँखामा केही परेको छैन ।’

कम्प्युटरमा बसें र कथा पढें ।  मलाई गुमाने ठुलेलाई एक चोटि भेट गर्ने चाहना बढ्यो ।  अझ उसकी दिदी जसले गुमानेलाई आत्महत्या गर्नबाट बचाइन् र नयाँ जन्म दिइन् उनलाई भेट्न पाए धेरै कुरा सापटी लिएर अरू धेरै गुमानेहरुलाई एक बारको जीवन सही अर्थमा जिउने, जीवन जिउनका लागि हो, अर्काका लागि समेत हामीले बाँच्न किन पर्छ भन्ने सन्देश बाँड्न म पनि लाग्ने थिएँ ।  ती दिदीले दिएको सन्देश वा कति मननीय छ ! कुनै मानव निर्मित महँगा ओखती भन्दा कहीँ गुणा महँगो छ । दिदीको सही बेलाको सन्देश गुमानेका लागि संजीवनी नै साबित भएको पाउँदा खुसीको सीमा रहेन । दिदीको विगतले मलाई भने धेरै छोयो-

१९९२ अप्रिल २५ को दिन, मेरो जीवनको एक कालो दिनको याद आयो ।  एका बिहानै आफू जन्मेको थलो बोक्रे गाउँ छोडेर एक गन्तव्यहीन यात्रा सुरु गर्दाबखत छिमेकी लछ्छी दिदीले रुँदै मेरो हातमा सय रुपयाँ रखिदिँदै- ‘भाइ कस्तो भाग्य लिएर जन्मेको रहेछस् नि ! नचहाँदा-नचहाँदै यो देवीथानको डाँडो, त्यो बरपीपल पाखो,  माथिको चुचे ढुङ्गो, पारीखोलो सबैलाई निस्तो पारेर कहाँ जाँदैछस् ?  तँ यो मेरो आगनको बाटो हुँदै बाख्रा चराउन जाँदैनस् नि? हामीसँग गाम्चाको पटुका बाँधेर पोल्टामा भुटेका मकै र भटमास हालेर भैंसीलाई उनिउँको सोत्तर काट्न पनि जाँदैनस् नि ? हाम्रो गति के हुने हो ।  दाजुहरु थिम्फुमा  पहिलेदेखि नै हुनाले बस्नपाइन्छ कि भन्ने सानो आस छ ।  जा भाइ, बाबा-आमाको राम्रो ख्याल गर्नू’ भनेको याद आयो ।

एक दिन दर्लामी दाइले एउटा बाख्राको बोको दिनुहुँदैन, देउतालाई पानी हालेको छ भन्दा दर्लामिनी भाउजूलाई नाङ्गो झार पारेर भूटानका आर्मीले ‘तिमी मान्दैन हामीको माथिको आडर छ ल’ भन्दै घिसारेको अहिले जस्तो लाग्यो ।

धर्मनन्द दाइ र राधाकृष्ण बालाई गाउँका जानेमानेका पुरोहित भएकै निउँमा मध्यराती पक्राउ गरेर अमानवीय यातना दिँदै जबर्जस्ती देशनिकालाको पुर्जी थमाएको सम्झें  ।

मनभित्र कति चर्चर चर्किने पुराना घाउ बोकेर सयौँ धार्मनन्द दाइ र राधाकृष्ण बाहरु हरेक दिन दबाईका भरमा रहल जीवनको भोगाई भोगिरहेका छन्- अनेक थरी कुरासम्झिँदै धेरै समय बिताएँछु ।  कम्प्युटर बन्ध गरें ।

‘अन्तरे, यो बिहेको निम्तो आ’को छ है’ भन्दै भोलिपल्ट म कामबाट आउने बित्तिकै आमाले एउटा निमन्त्रणा कार्ड दिनु भो ।  ‘कसको बिहे रहेछ?’ भने । ‘तेरो मित भाइको बिहेको निम्तो, आफ्नालाई कहिले पनि बिर्सिनु हुँदैन जसरी पनि जानुनी ।’

हुनत मितको नाम नकाट्नु भन्छन् ! (थोरै संकोच मान्दै)

तँलाई चिनाउनु नै पर्छ ।  दागानाको बाटो खन्न जाँदा तेरा बा’ले नैनासिङ मितसँग मित लगाउनुभको थ्यो ।  मित नेपालमा आएर मरे ।  मितामा बुढी छन्, पछि देवर-देउरानी पनि मरे ।  मितामाले दुईजना केटा आफ्नै छोरा जस्तो गरी पालेको छ ।  यो बिहे चाहीँ आफ्नै छोराको हो’ भन्नु भो ।

बिहेको अघिल्लो दिन नै गएर यसो केही सहयोग गर्नु पर्‍यो, चिनजान पनि हुन्छ भनेर गएँ ।  चिनजान पश्चात् मितामा धेरै खुसी हुनुभो ।  बिहेको राम्रो तयारी गरेको रहेछ ।  ‘भोलिको हाम्रो बेहुलो खोइ नि’? मैले सोधें ।

‘हाम्रामा आज दसो लागो, मनेले दाजुको गाडी लेर गएछ ।  मातेर कुदायो रे ।  अर्काको गाडीलाई हिर्कायो पनि अरे अनि पुलिसले समातो रे ।  त्यो गाडी कहाँ लाने हो भनेर गोमे गको छ’ मितामाले भन्नुभो ।

‘गोमे अरे बेहुलाको नाम, अनि निम्तो कार्डमा त गोकुल छ त’? मैले जिज्ञासा राखें ।  सानामा गाउँमा सबैले ‘गुमाने’ भन्थे ।  पछि हुँदा-हुँदै यसका बाउले ‘गोमे’ भन्न थाले।  ऊ पनि त्यही मन पराउँछ’ मितामाले भन्नुभो ।

‘गुमाने’ अनि बिहे भन्दा आश्चर्यचकित भएँ ।  मिश्रजीको कथा मनमा फरर्र आयो ।  मेरी आमाले भन्नुभएका सबै कुरा कथासँग मिले जस्तो लाग्यो । मित्र मिश्रजीको गुमाने मेरो मितभाइ रहेछ ।  यो कस्तो संयोग ? तिनै दुई भाइ केटामध्ये एउटाले ‘डीयूआई’ बिहान पाएको रहेछ ।

भित्र एउटा कोठामा नयाँ सोफा हालेको रहेछ । कोठो झिलिमिली सझाएको रहेछ ।  सायद त्यो सोफा भोलि बेहुला-बेहुलीलाई भित्र्याएपछि बसाएर टिका लगाउनलाई सजाएको हो ।

त्यही सोफाको छेउमा एउटा कुर्सीमा नन्दलाल खड्का बा’ बस्नु भएकोरहेछ ।  धेरै भएको थियो वहाँलाई नभेटेको ।

‘नमस्कार बा, आरामै हुनुहुन्छ’, मैँले भनेँ- ‘नमस्कार नानी, धेरै-धेरै वर्ष बाँचेस्’, भन्नु भो |

‘कति वर्ष पुग्नु भो बा’?, सोधेँ ।

‘सतासी साले असारको हुँ, खोइ कति हुन्छ’? भन्नुभो  ।  ‘आउँदो असारमा पचासी वर्ष’ मैँले भनेँ ।

‘यहाँ सुन, आज बिध्येको भाउ बुझेनन् ठिटाले ।  म ठिटो हुँदा मौका थेन, मन थ्यो- स्कुल पढ्न पाइन ।  आजका ठिटालाई मौका छ, मन छैन- स्कुल जान छोडे ।  लु तँभन् त, अब बीस वर्षमा न यहाँ बारी, न गोठ यी मौकामा नपढ्ने ठिटाको गति के हुन्छ ?’

उहिले गोठमा बस्ता सिकेको यी ‘गुणरत्न मालाका’ गुप्ती कुरा राम्ररी सुन् नानी-

“विद्या यै नरको छ रूप भरिलो यै सम्झ गुप्ती धन
विद्याले सुख भोग मिल्छ सहजै सुध्रीन्छ भित्री मन
विद्या हो पर देशमा हित सखा दरबारमा पुजिने
यस्तो उत्तम रत्न लौ बटुल है ! पैसै बिना पाइने ।”

भोलि दाजुको बिहे, आज भाइले चाहीँ मातेर गाडी चलायो अरे, पुलिसले समातो भन्छन् ।

कोनी के हो ‘डोई हो कि डुई’ भन्न पनि जान्दिन भको अरे । अब खुट्टामा काँजो बाँधेर छाड्छ अरे अनि जिन्दगीमा गाडी कुदाउन पाउँदैन अरे ।  अस्ति हाम्रो छिमेकीको छोराले कहाँ हो तीन डलरको मात्रै रक्सी खाको अनि गाडी कुदाउँदा कल्लाई हिर्कायो अरे ।  सबै गरी जरिमाना तीस हजार डलर अरे ।  मेरो बोली लाग्ने भए यो सिलोक सुनेर स्कुल पढून्, यी सबै ठिटाहरुलाई वुद्धि आवस भनेर मर्ने थिएँ’।  खड्का बा’को कुराले मलाई वारपार घोच्यो- हाम्रा कलिला युवाका खुट्टामा खड्काबा’ले भने जस्ता कल्ली कति होलान्? कल्पना मात्र गर्न सक्छु ।

केही छिनपछि एउटा गाडी घर अगाडी आएर रोकियो ।  एउटी महिला हातमा केही सामान बोकेर भित्र पसिन् ।  ‘आमा यो बेहुलीको सामान ल्याएँ’ भनिन् । मेरो मनलेभन्यो ‘त्यसो भए यिनै हुन् गुमानेकी दिदी’ ।  झल्यास्स सम्झें धेरै अघिदेखि गुमानेले पाल्दै-मार्दै गरेको भनेको एउटा ईच्छा ।  कोनी मिश्रजीले कहीँबाट सुनेर लेखे किउनको कल्पनाले नै त्यसो भन्यो ।  दिदीका काखमा कोही खेलेको देख्ने रहर-दिदीले पुरा गरिदिने जस्तो लग्यो ।  मिश्रजीका मुखमा दूध-भात नै जावस् ।

दिदीसँग चिनजान गरें ।  मेरी दिदी नै पर्दिरहिछिन् ।  ‘हिजो आज गुमानेलाई कस्तो छ, दिदी ?’, मैले सोधें ।   ‘यो कुरा कसरी थाहा भो ? सबैले थाहा पाएछन् नि ? तर, कसले कसरी सुन्यो थाहा छैन ।  अहिले राम्रो छ, अरूलाई पो प्रगति गर्नु पर्छ, मेहेनत गरो भने सुख मिल्छ भन्ने भा’छ ।’

त्यतिकैमा मेरो फोन बज्यो । फेब्रुअरी २८ का लागि केही कागजात तयार गर्न भन्ने रहेछ ।

गुमानेलाई भेट्ने मेरो इच्छा आज पुरा भएन ।  दिदी तपाईँसँग धेरै गफ गर्नुछ । म फेरि आउँछु । भाइलाई पनि भेटेर गफ गर्छु । भोलि त नहोला सबै व्यस्त ।  आज म गएँ भोलि भेट्ने है’ भनी म हिडें ।

भोलिपल्ट जन्त जान पाइनँ ।  अलिक भरे बेहुला-बेहुलीलाई आशीर्वाद दिने बेलामा मात्र पुगें ।  यस बिहेमा मिश्रजी अवश्य आएको हुनु पर्छ ।  मिश्रजीका आज आँखाछोपेर उनलाई आश्चर्यचकित पार्नुपर्छ भन्दै मौका हेर्दै रहें ।  निकै बेर आँखा यताउती घुमाएँ अहँ देखिन।  एक्कासि उनकी सानीलाई पो देखेँ । सानीलाई यस अघिएकचोटी २०१३ को सुरुतिर उनकै घरमा भेटेको थिएँ ।  उनीले घरमै बनाएको सुपको स्वाद अझै जिब्रामा ताजै छ ।  मिश्रजीको बारेमा सोधेँ ।  उनी विशेष कामले हतारमा भएको बताईइन् । म पनि हतारमा थिएँ, हतार-हतार एउटा सानो नोट लेखेर खाममा हालें र यो पत्र मिश्रजीलाई दिनुहोस् ल भनी दिएँ ।  ‘गोप्य होला, म नखोलीदिन्छु’ मुसुमुसु हाँस्तै सानीले ब्यागमा हालिन् ।

मेरो पालो आएछ बेहुला-बेहुलीलाई आशीर्वाद दिने ।

‘दाम्पत्य जीवन सुखी अनि खुसी रहोस् ।  नयाँ र पुनर्जन्म अर्थपूर्ण रहोस् ।  तिम्रो जीवन जियाई धेरैका लागि प्रेरणा बनोस्’ भनी शुभकामना दिएँ ।  सानो उपहार लगेको थिएँ, हातमा थमाइ दिएँ ।

हर्कमान दाइको आकस्मिक उपचारको बिलका बारे ओहायोको एउटा अस्पतालसंग फोन कन्फरेन्समा बस्नुपर्ने थियो म हिँडिहालें ।

मलाई अहिले कस्तो कस्तो लागिरहेको छ । त्यस उपहारसँगै मैँले मिश्रजीले लेखेको कथाको एउटा प्रिन्ट कपी ‘उपहार आफ्नै कथाको’ दिने सोचेर गुमानेलाई उपहारको बट्टासँगै दिएर आएको थिएँ ।

कुन्नि मैँले ठिक गरेँ कि बेठिक ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *