बाँदरलाई लिस्नु

कथाकार
कथाकार

गङ्गा लामिटारे
ओहाईयो, अमेरिका

 

चाँमे वास्तवमा चमेरो जस्तै थियो । उसको खास नाम चन्द्रबहादुर हो । तर सबैले उसलाई चामे भनेर बोलाउँथे । गुमानेका ३ भाइ छोराहरूमा चामे जेठो थियो । चामे कसैले भनेको मान्दैन थियो । अरूले भनेको नसुन्नु र नमान्नु उसको जबर्जस्तीको बानी थियो । स्कुल जान्थ्यो । स्कुलमा पनि कहिले केटी समात्थ्यो त कहिले शिक्षकमाथि नै जाइलाग्थ्यो । जाँदै निस्कँदै गर्दा गर्दै पनि ९ कक्षासम्म स्कुल उसले टेक्न भ्यायो । भूटानमै ३ कक्षासम्म पढेको थियो चामेले । १२ वर्षसम्म ग्रीन्भेल एकाडेमीमा पढ्दै गर्दा चामेले विभिन्न अपराधका १० वटा मुद्धाहरू झेलिरहेको थियो। छोराको चर्तिकलाबाट गुमाने असाध्ये पिरोलिन्थ्यो । रातभरि रुन्थ्यो र छोरालाई सपार्ने योजनाहरू बुन्दै कहियौं रात नसुती बिताउँथ्यो । बिहे गर्दा पो सुद्रिन्छ कि भनेर केटी माग्न पनि गयो । तर चामे भन्ने बित्तिकै कुटुम्बहरू कानेखुसी गर्थे र छोरीको बिहेनै नगर्ने भनेर तर्किन्थे ।

गुमानेकै युनिटमा  मिजार कान्छो  बस्थ्यो । उध्रिएका जुत्ता-चप्पल सिलाउँथ्यो, मिजार कान्छो इमानदारीपूर्वक आफ्नो परिवारको भरणपोषण गर्थ्यो ।  मिजारका दुई भाइ छोरा र एउटी अद्बेस्री लाटी छोरी थिई । १५ वर्ष पुगेकी भए पनि यताको भन्दा उत्ताकै संसारमा बढी रम्ने गर्थी । हराउँछे भनेर दिउँसो घरभित्रै थुनेर पनि राख्ने गरे मिजार कान्छाले ।

छटपट गरेर सधैँ यता र उता कुद्न चाहने लाटीले अचानक खाना खान छोडी । दुब्लीपत्ली देखिन थाली । छोरीको दिनदिनै गिर्दो अवस्था देखेर एक दिन मिजार्नी कान्छीले लोग्नेसँग भनी “हन, चमेलीलाई सञ्च भएजस्तो छैन । पेट पनि सुनिएजस्तो छ । खाना पनि पहिलाको जस्तो खाँदिन । बिचरा ! मलाई यहाँ दुख्यो भन्न पनि सक्दिन । एक चोटि आम्डामा लगेर जचाउनु होइन ?” मिजारले नसुनेझैँ गर्‍यो । “लु भोलि बिहान ६ बजेको बसमा चचाउन जानुहोस्” भनेर श्रीमतीले हुट्हुटी लगाई । बिहानै लाटीलाई जचाउन मिजार आम्दा पुग्यो ।

बिहा ७ बज्दै आम्दा पुगेका मिजारकी छोरी चमेलीको जाँच सुरु भयो । एक घण्टाको जाँचपछि डाक्टरले भन्यो ‘बाजे तपाईँकी छोरीको पेटमा ४ महिनाको बच्चा छ । सुर्ताउनु पर्दैन बच्चा स्वास्थ्य र सुरक्षित छ ।” बिहेनै नगरी चमेलीको पेटमा ४ महिनाको गर्भको कुरा सुनेर मिजार कान्छालाई छाँगाबाट खसेजस्तो भयो । अकासले थिचेको र भुइभित्र पस्दै गएजस्तो भयो । चारैतिर अन्धकार छायो । लढिहाल्छु कि भन्ने डरले अस्पतालको भित्तामा अढेस लागेर मिजार थर्थर कामिरह्रयो ।
मिजारको होस खुल्दा डाक्टर कोठाबाट निस्किसकेको थियो । त्यही अभागी लाटी मात्र बाबुलाई हेरेर आँखाबाट आँसु झारिरहेकी थिई । मेरै कारण बाबुले यस्तो स्थितिको सामना गर्नुपरेको  भनेझैँ चमेली पनि सुक्क सुक्क गर्दै माफीको याचना गरिरहेकी थिई ! लाटो होस् वा बाठो । राम्रो होस् वा नराम्रो । सन्तान भनेको सन्तानै हो । बाबु आमाका लागि सन्तान जतिनै भए पनि धेर हुँदैन, सानु ठुलो हुँदैन । त्यसमा पनि अशक्त र अपाङ्ग सन्तानहरूका लागि स्नेह, सहानुभूति र श्रद्धा जाग्नु स्वाभाविक नै हो । चमेलीको अवस्था देखेर मिजार कान्छाको मनमा स्नेह र श्रद्धाको बाढी आयो । त्यसलाई मिजारले न रोक्न सक्यो न थाम्न  नै । बिचरा चमेलीको के दोष ! बरा नबोल्न सक्छे न कुनै इसारा र सङ्केत नै ! मिजार कान्छो जुरुक्क उठ्यो । हतार हतार गएर चेमेलीको आँसु पुछ्यो । अँगालोमा कसेर रुन थाल्यो । स्नेहको कुनै भाषा हुँदैन ! श्रद्धा र प्रेमलाई नाप्ने र जोख्ने यन्त्र पनि हुँदैन ! त्यसैले अव्यक्त स्नेहको मापन काख र छात्तीले मात्र गर्नसक्दो रहेछ ! बाबु छोरी स्नेह र सहानुभूतिको सागरमा डुबिरहेका बेला दैलो ढक् ढक् गर्दै नर्सभित्र पसी । हातमा दुईवटा औषधिका पुडिया देखाउँदै नर्सले मिजारलाई भनी, “बाबै यो दुइटा पुडिया छ । पहिलो पुडियाको एक चच्की बिहान र दोस्रो पुडियाको साँझ एउटा चक्की गरेर महिना दिनसम्म नियमित दूधसँग ख्वाउनुहोस् ।” हुन्छ, भन्दै मिजार कान्छो दुइजिउकी छोरी लिएर अस्पतालबाट हिँड्यो ।

एक कान, दुई कान हुँदै चमेलीको कुरा शिविर भरि डढेलो झैँ फैलियो । छिमेकी, रासीन गोधाम, पानी पँधेरोमा मिजारकी लाटीलेले अवैध पेट बोकेको चर्चा हुनथाल्यो । पानी थाप्न लाइनमा बसेकी धुन्धुली बजै भन्दैथिन्,
“यी कस्ता लोग्ने मान्छे ! मुखबाट ह्राल झारिरहने ओथारे लाटी पनि छाड्दैनन्, छि !”
“यो लोग्ने मान्छेको जात चाहिँ मापाको हुन्छ।”  भन्दै चमेलीप्रति सहानुभूति प्रकट गर्दै रिजाल्नी बजै भन्दै थिन्, “कठै बरा ! यो लाटीलाई अब कसले जिम्मा लेलान् नि नारन् ! मिजार कान्छालाई बेज्जतीको पहाडले थिचो ! कसैले पनि यस्तो स्थिति भोग्नुनपरोस् !”

सेक्टर हेडलाई साथमा लिएर मिजार कान्छो पुलिस क्याम्पमा गयो । मिजारको समस्या समाधानका लागि पुलिस अफिसरले आइतबार बिहान १० बजे बैठक बस्ने निर्णय गर्‍यो । सेक्टर भरिका युवा र प्रौढहरूलाई बैठकमा अनिवार्य उपस्थितिका लागि पुलिसले कडा उर्दी गरेको थियो । बैठकमा उपस्थित नहुनेहरूको रासीन कटौती गर्ने पुलिसको चेतावनी थियो । त्यसैले बैठकमा सेक्टरै उपस्थित थियो । क्याम्पकै नजिक शिशौघारीमा बैठक चल्दैथियो । उपस्थित युवाहरूले चमेलीको गर्भ मेरो होइन भन्दै अकर्नाम गर्दैथिए । तर त्यहाँ पहिलेदेखि सबैले शङ्का गरेको चामेको उपस्थिति थिएन । चमेलीलाई भुँडी बोकाउने चामे नै हो भन्ने शङ्का मिजार कान्छालाई पनि थियो । सभामा चामेको अनुपस्थितिले कान्छाको शङ्का झन् दरिदै गयो । पुलिसको असइलाई लिएर मिजार कान्छो गुमानेका घरमा गयो । चामेका बारेमा सोध खोज भयो । चामे ३ दिनदेखि घरमा नआएको पुलिसले थाह पायो । योभन्दा अघिदेखि  नै चामे ३ वटा बलात्कार सम्मबन्धी मुद्धा  खेपिइरहेको थियो । त्यसदिनको बैठकले जतिनै शङ्का गरे पनि चामेलाई दोषी नै भने प्रमाणित गर्न सकेन । दुई महिनापछि चामे गुजरातमा छरे भन्ने खबर गुमानेले सुन्यो । त्यहाँ पनि चामेले सँगै काम गर्ने महिला सकर्मीलाई हात-पात गरेको अभियोगमा ३ महिनाका लागि झेल परेको हल्ला गुमानेले सुन्यो ।  गुमाने छोराको कुकर्म सम्झेर जहिलै रुन्थ्यो । जीवनमा सुख  र  शान्तिको अनुभूत नगरी गुमानेका ५० शिशिरहरू बिते ।

उता ९ महिनापछि चमेलीले छोरो पाई । मिजार कान्छो बाजे बन्यो । बाजे बनेकोमा मिजारलाई हर्ष पनि लाग्यो । अब यही बच्चाले उसको बाबु खोज्नेछ । लाटी आमालाई राम्ररी पाल्नेछ । मिजार कान्छो भित्रभित्रै खुसी पनि हुन्थ्यो । तर उसको खुसी पनि बतासे नातिको बाजे भन्नेसाथ विष्मातमा परिणत हुन्थ्यो । समाजले झन् गिज्याउनेछ, चिथोर्ने छ । बार बार अपमान गर्नेछ, भनेर मिजार भित्रभित्रै कुडिन्थ्यो पनि । तर पनि मिजारले दह्ररो मन बनायो । उसले मनमनै भन्यो, “आखिर समाजको काम भनेको कुरा काट्नु मात्र न हो ! भाँडामा चामल हाल्ने होइन ! समाजले जेसुकै भनिरहोस्, म कुनै पर्बाह गर्दिन । जसरी पनि यो बच्चालाई हुर्काउँछु र शिक्षा दीक्षा दिएर सबल बनाउँछु,” भन्ने निश्चय गर्‍यो उसले । क्याम्पमा अमेरिका जाने प्रोसेस चलिरहेको थियो । ७ वर्षभित्रमा ३ भागभन्दा बढी भूटानीहरू तेस्रो देश पुनर्वासका लागि उढिसकेका थिए । मिजारलाई दूर देशको यात्रा गर्न मन थिएन । शिविरमै बसिरह्रे संस्थाले केही न केही खाइजीविकाको उपाय गर्छ, भन्ने आस थियो । तर त्यो झिनू आशा पनि त्यति बेला टुट्यो जतिबेला चमेली दुइजिउकी भन्ने हल्ला चल्यो । समाजले सहयोग गर्नुपर्नेमा उल्टै उछितो गर्न थालेपछि मिजारको मन भाँचियो । यस्तो समाजको भर परेर जीवनभरि शिर झुकाएर बस्नु भन्दा बरु विदेशै निको भन्ने निष्कर्ष निकाल्यो । मिजारले हठात् पुनर्वासमा जाने मन बनायो । प्रोसेस सुरु गरेकै तीन महिनामा चमेली, नाति र एक जना छोरालाई च्यापेर मिजार कान्छो पनि अमेरिका उढ्यो ।

——————- — — – – — – – – – – — —- – – – – – – — – – – –

छिमेकीहरू सबै तेस्रो देश उढिसके । छोरा चामेकै कारण गुमानले प्रोसेस सुरु गरेको थिएन । क्याम्प खालिहुँदै गयो । हात्ती, जनावर र चोरहरूको बिबिगीका कारण क्याम्पमा बसिनसक्नुको स्थिति बन्दैथ्यो । जस्तै भए पनि सन्तान न हो । माया त लागिहाल्छ नि ! गुमानेका माइलो र कान्छो छोरा ९ महिना अघि नै अमेरिका उढिसकेका थिए । चामेलाई बात लागेकी मिजारकी लाटी पनि केही महिना अघि अमेरिका उढिसकेकी थिई । गुमाने अब चामे आए हुन्थ्यो भन्ने सोच्थ्यो । गुमानेलाई पनि विदेश जानु ठिक होइन भन्ने लाग्थ्यो । तर अब छिमेकी नै नरहेपछि कसकालागि बस्ने ! गाँस छोड्नु तर साथ नछोड्नु भन्ने संझ्यो उसले । अन्य सबै सहन सक्थ्यो गुमाने तर छोरा चामेलाई लागेको सार्कीकी लाटीको बात भने सहन सकेन । त्यसैले गुमानेले क्याम्प छाड्ने मनस्थिति बनायो । यहाँ बसिरहे जीवनभर गनाइरहनेछ । तर विदेश पसियो भने यो दुर्गन्ध यही रहनेछ भन्ने उसले सोच्यो ।

यस्तै कुराहरू सोचेर बेलुकी सुतिरहेका गुमानेका छाप्राको दैलो कसैले बाहिरबाट हल्लायो । को हो ? भित्रै आउनुहोस् न, भन्दै गुमानेकी श्रीमतीले भाटाको दैइलो खोली । ” म हुँ मम्मी” भन्दै हातमा रातो ब्याग बोकेर चामे छाप्राभित्र पस्यो । हठात् चामेलाई देखेर गुमानेलाई हर्ष पनि लाग्यो र मिष्मत पनि । बिहानै उठेर गुमाने दमक गयो । आइ ओ एम अफिसमा गएर तेस्रो देश जाने प्रोसेसका लागि आवेदन गर्‍यो । निवेदन हालेकै २ महिनामा श्रीमती, छोरो चामे र गुमाने अमेरिकाका लागि उढे । क्याम्पबाट हिँडेको दशदिनपछि गुमानेको परिवार इलिनोइसको अल्बेर्टा सहरमा उत्रियो । गुमानेका माइलो र कान्छो छोरो भने एक वर्षअघिनै अमेरिकाको जर्जियामा पुनर्वास भएका थिए । उनीहरू भित्रभित्रे चामे जर्जिया नआवोस भन्ने चाहन्थे । त्यसैले उनीहरूले नेपालमा बाबुलाई सम्पर्कको प्रयाससमेत गरेनन् ।

छोराहरूले नतानेकै कारण गुमानेले अल्बेर्टा पुग्नुपर्यो । अल्बेर्टामा नेपाली भाषीहरू थिएनन् । गुमाने पनि त्यस्तै चाहन्थ्यो । गुमानेका ६ महिना रमाइलो नै रहे । गुमानेले पनि अरू छोराहरूको खोजखबर गरेरन । १८ वर्षसँगै सुखदुख बिताएका छिमेकी र आफन्ताहरूको चासो र चिन्ता पनि गरेन । किन भने पहिला छोरो चामेलाई सुधार्नु थियो । छोरालाई सपार्नैका लागि गुमाने आफन्ताहरूदेखि टाढा रहन चाहन्थ्यो। अमेरिका टेकेकै तेस्रो दिन चामेले ३ सय पैतीस डलरको चेक पायो । चेक पाएर चामे झन् भुइमा न भाँडामा भयो । चामे बोक्रे अङ्ग्रेजी पनि बोल्थ्यो । अरूले बुझे नबुझे मत्लव छैन । तर जोसँग पनि हाइ हल्लो गर्थ्यो र नाम पनि सोधिहाल्थ्यो । महिलाहरूलाई प्रभावमा पार्न चामे धेरै खप्पिस थियो । हाइ हल्लोगर्ने, हात मिलाउने र अझ गहिरो सद्भाव दर्साउन अँगालो मार्ने र चुम्मा खाने अङ्ग्रेजी शैलीलाई समेत चामेले हार्दिकताका साथ अपनायो ।  यो अमेरिकी शिष्टाचार चामेका लागि बाँदरलाई लिस्नु भनेझैँ साबित हुँदैगयो । अमेरिकामा सेक्स फ्री हुन्छ भन्ने भ्रम चामेमा थियो । फेरि उसकी केस वर्कर डाइना पनि महिला थिई । त्यो पनि २२ वर्षकी मस्त तरुनी ! डाइनाका सागरजस्ता आँखा! कसिलो जीउ । बाटुला पाखुरा । पोटिला पिँडुला । नम्र बोली। भद्र हिँडाइ । जन्मँदै ओठमा मुस्कान टाँसिएजस्तो । मुसुक्क हँसाइबाट चामे मुर्छित झैँ हुँदैथियो । डाइना काम विशेषले अपार्टमेण्टमा आउँदा चामे सुरुमा हाइ भन्दै हात मिलाउने गर्थ्यो । डाइना पनि खिस्स हाँस्थी र आँखा पनि कर्के पार्दै भन्थी, “हाय चामे हावार यु?” चामे पनि बनाउटी लज्जा प्रकट गर्दै “नाइस् डाइना, ह्वाट एबाउट यु?” भन्दै दुइहातले डाइनाको हात मुठ्याउँथ्यो ।

महिनौँसम्म चामेको यो लीला निर्धक्क चलिरह्यो । अब हात समातेर मात्र चामेलाई पुगेन । बिस्तारै डाइनालाई अँगालोमा पनि बेर्न थाल्यो । डाइनाले पनि चामेको यो नयाँ खेललाई हार्दिकताका साथ स्वीकार्दै गई ।  डाइनाले चामेलाई सिकागोका रमाइला स्थान र दृश्यहरूको अवलोकन गराई । नयाँ आगन्तुकहरूलाई बस चढ्नदेखि सौदापात र सरकारी कार्यालयसम्मको जानकारी गराउनु केश वर्करको दायित्व हो । डाइना पनि त्यही दायित्व पुरा गरिरहेकी थिई । डाइना नआएका दिन चामे हिँडेरै डाइनाको अफिसमा पुग्न थाल्यो । चामेको यस हर्कतलाई डाइना जहिले पनि स्मार्ट सम्झन्थी । आएकै दूइमहिनामा चामेको साहस र प्रगति देखेर डाइना, “वा ! मिस्टर चामे बा !” भनेर हौसाला बढाउँथी । डाइनाको सेवा र कर्तव्यलाई चामे यौन तिर्खासँग साट्न चाहन्थ्यो । यस्तै मौकाको पर्खाइमा आतुर थियो चामे ।  डाइनाका व्यवहार र सेवाले पनि चामेको सेक्सफ्री अम्रेरिका भन्ने सन्देह थप उच्चाइमा पुग्यो ।

एक दिन सिकागोको ट्रम्पटावर होटेलमा नयाँ अमेरिकीहरूको सांस्कृतिक कार्यक्रम हुने निश्चित गरिएको थियो । कार्यक्रमको सबै कार्यभार डाइना माथि थियो । डाइना त्यस कार्यक्रमकी संयोजक थिई । चामे डाइनाको सबैभन्दा स्मार्ट र चतुर क्लाइण्ट थियो । डाइना कार्यक्रममा चामेलाई एउटा नमुनाका रूपमा उभ्याउन चाहन्थी । त्यसैले डाइनाले फोन मार्फत राति  १० बजे कन्सर्टमा जानका लागि चामेलाई तैयार रहन आग्रह गरी । चामेले पनि उत्साहित हुँदै डाइनाको आग्रहलाई स्वागत गर्‍यो । कन्सर्टमा जानका लागि चामे कोट-प्याण्ट र टाइसुटमा सजिएर डाइनाको प्रतीक्षा गर्दैथियो । राती ९ बजेर ४५ मिनेट भएको थियो । चामेका आमा-बुबा दुवै निदाइसकेका थिए । अपार्टमेण्ट सुनासान थियो । अपार्टमेण्टमा पुगेर डाइनाले चामेको दैलो ढकढक्याई । चामेले दैलो खोल्यो र, “हाय, डाइना!” भन्दै हातमा समाएर कोठाभित्र तान्यो । अँगालोमा बेस्सरी कस्यो र ओठमा चुम्मा खायो । चामेको सोधैको जस्तो व्यवहार र सद्भाव थिएन । त्यस मिलनमा उग्र यौन चाहनाको आग्रह थियो । चामेको यो व्यवहार डाइनालाई पटक्कै ठिक लागेन । चामेको अँगालोबाट उम्किन चाही तर डाइनाले सकिन । फुत्किने कोसिस गर्दै डाइनाले भनी, “ह्वाट आर यु डुइङ्ग चामे ?” चामेबाट कुनै जबाव आएन। उन्मादको पराकाष्टामा पुगेको चामेले डाइनालाई सिटिङ्गरूमको सोफामा लडायो । भित्तामा रहेको बटम थिच्यो र बलिरहेको बत्ती झ्याप्प निभायो । डाइनाले, “नो! चामे, नो ! नो!”  भनेर चिच्याइ । तर चामेले सुनेन ।

  • — – – – – — – – – — – – — – – – – — – – – – – – –

गुमानेले बिहान उठेर चामेका कोठामा हेर्‍यो त्यहाँ चामे थिएन । बिहानै उठेर केशवर्करलाई भेट्न गएको होला भनेर मन बुझायो । गुमानेकी श्रमती उठेर बिहानको चिया नास्ता बनाई । चियाको चुस्की लिँदै गुमानेलाई श्रीमतीले भनी, “मलाई यहाँ आएपछि चामे निकै  सुद्रिएजस्तो लाग्दै छ । तपाईँलाई कस्तो लाग्दै छ ?” स्वास्नीको कुरा सुनेर झ्वाँकिदै गुमानले भन्यो, “सप्रन्छ,तेरो बाबु ! कामदेवको अवतार हो । नेपालमा कस्ता मैहूँ भन्नेहरूलाई त छोडेन । बिचरा डाइना जस्ती भोलि केटीलाई छोड्यो होला र  तेरो छोराले ? मलाई त सप्रिएको भन्नेमा एक रतिपनि विश्वास छैन  । मलाई त डर लागि रहेको छ । नेपाल जस्तै जसलाई पायो त्यसलाई डस्तै हिँड्ने होइन अमेरिका ! अमेरिकामा अर्काका छोरी-बुहारीलाई हातपात गर्रनुजस्तो ठुलो अपराध अर्को मानिँदैन । अस्ति ओरेण्टेसनमा भनेको बिर्सिएकै छुइन ।” यसरी लोग्नेस्वास्नी कुरा गरिरहेका बेला कसैले बाहिरबाट दैलो ढक्ढक्यायो । गुमानेले, “को हो ?” भन्दै दैलो खोल्यो । दूइजना मानिसलाई देखेर गुमानेले नमस्कार गर्दै भित्र पस्न आग्रह गर्‍यो । नेपाली दो भाषेका माध्यमबाट एक जना गोरे मानिसले नमस्कार गर्दै गुमानेलाई भन्यो, “क्षमा गर्नु होला । मेरो नाम जस्टिन हो । आजदेखि तपाईँका परिवारको केश वर्कर म हुँ ।” जस्टिनका कुराले गुमानेको सन्देहलाई अझ् सशक्त बनायो । पुनः अप्ठ्यारो महसुस गर्दै जस्टिनले  भन्यो, “तपाईँको छोरा चामेले हिजो राती डाइनाको बलात्कार गरेछन् । अहिले उनी पुलिसको हिरासतमा छन् ।”

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *