बाबा काहाँ छौ?

के .सी ‘ सान्दाइ ‘
साउथ अष्ट्रेलिया, एडिलेड

हाहाकार ठुलो भयो जगतमा बाबा कहाँछौ कहाँ
हिड्नैहुन्न भुलेर बस्छ दुनिया आफ्नै कुटीमा यहाँ
यो भाईरसदेखि बाँच्न अहिले गाह्रोछ काहीँ पनि
चिच्च्याईकन खोजिगर्छु अहिले बाबा कहाँछौ भनि॥

कैयौँका घर आँगनीहरु यहाँ रित्ताभये शोकले
खालीभो घर कौशि आट खटिया लग्यो सबै रोगले।
यैबेला दुखले रुदै धुरुधुरू डाक्तैछ घर्ले पनि
झार्दै आँसु वियोगका तरतरी बाबा कहाँछौ भनि॥

शुन्यैभो घरका वरीपरि सबै पौवा अटालीहरूँ
रूँदैछन् दुखले ति फूल कलिला सन्तान तिम्रा अरू।
फर्कीआउ छिटो खुलाछ घरको ढोका र खिड्की पनि
खोज्दै थाकिसको शरीर अहिले बाबा कहाँछौ भनि॥

तिम्रै खातिर ती अटालि खटिया कौसी र ढोकामहाँ
हेर्दै मार्ग सदैव आज दुखले रोई रहेछौँ यहाँ।
यस्तो सङ्कट कालमा धरु-धुरू रूँदै कताछौ अनि
बाटो हेरि यहाँ रुदैछु दुखले बाबा कहाँछौ भनि ॥

सोद्दै हिड्छु लता र बृक्ष्यहरुहो देख्यौकि तिम्ले कतै
पाऊदीन जवाफ रुन्छु दुखले हा दैव! भन्दै यसै।
त्यो हैँजा तिर गै पस्यौर दुखले रोई रह्यौ की अनि
सोच्तै मुर्छित हुन्छु पल्पलयहाँ बाबा कहाँछौ भनि॥

मेरो स्वास प्रस्वास नै तिमिथियौ आधार आस्था भर
छुट्यो साथ कठै! गयौ कुन दिशा काहाँछ तिम्रो घर।
यस्तै धेर अनेक शोक मनमा बोकी हिडेँ तै पनि
पाईदैन कतै पुकारुँ कसरी बाबा कहाँछौ भनि॥

प्रातै काल उठेर कर्म विधिले पूजा म तिम्रै गरौँ
सारा धर्म र कर्म तीर्थ तिमिनै तिम्रै चरण्मा परौँ।
नाना फूल र धूप दीप जलले गर्दैछु पूजा पनि
मन्मा खै अझ शान्ति हुन्न पिरले बाबा कहाँछौ भनि॥

 

छन्द :- शार्दूलविक्रीडित

Leave a Reply

Your email address will not be published. Required fields are marked *