विधाताले कोरेका दुई धर्साभित्र
बि. बि. भूटानी पौडेल
टेक्सास, अमेरिका
हरियाली वातावरणले युक्त पहाडको काखमा एउटा सानो अति नै सुन्दर गाउँ जहाँ चराचुरुङ्गीको चिरबिर, झरनाहरुको छङ्छङ् र कलकलको गुन्जायमान आवाज प्रत्येक मानिसहरूको कर्णमा ठोकिन पुग्थ्यो| त्यो गाउँ अति रमणीय थियो| कतिले भन्ने गर्थे “स्वर्गको एक टुक्रा”| साँचै त्यो गाउँ स्वर्गको कुनै टुक्रा नै थियो| त्यहाँका अधिकांश मानिसहरू शिक्षाबाट वन्चित थिए| के बुढा-बुढी, के केटा-केटी सबै किसान!! तर एक अर्कामा असल भाव र सद्भाव राख्नु पर्छ भन्ने उनीहरूको मूल सूत्र थियो| यसै मूल सूत्रलाई अंगाल्दै त्यो हरियाली वातावरणमा रुमलिँदै कहिले उकाली त कहिले ओराली गर्दै लोक भाका र लोक सुसेलीहरुमा रमाउँदै ती किसानहरूले दिन बिताउँदै गए| यसै गाउँको बीच भूभागमा एउटा सानो सुखी तीन सदस्यको परिवारको घर पर्दथ्यो जसमा आमा-बाबा अनि उनीहरूको एक मात्र सन्तान बस्दथे|
राकेश मात्र दुइ वर्ष भएको हुँदो हो| उसको मिठो तोते बोलीमा लठ्ठ पर्दै ती आमा-बाबा स्वर्गीय आनन्दमा लुकामारी खेल्दै जीवन गुजारा गर्दै थिए| तर विधिको विडम्बना भनौं या ईश्वरीय खेल राकेशकी आमाको सर्प डसाईमा परि मृत्यु भयो|त्यहाँ वियोगको वातावरण सिर्जना हुनपुग्यो| राकेशको आमाले सदाको लागि नयन बन्द गरिन्|त्यो दुधे बालक अब माया र ममताको संसारबाट सदाको निम्ति बन्चित भयो| जब काजक्रियापछि राकेशको बाबालाई मानसिक पीडाले सताउन थाल्यो उसले विभिन्न कष्ट र कठिनाईहरु सहनु पर्न थाल्यो| गाई-बस्तुलाई, घाँसपात, खेती-पाती, खाने पिउनेको व्यवस्था आदिको प्रबन्ध मिलाउनु पर्ने समय आउँदै गयो| उनी कहिले आफ्नी अर्धांगिनीको सम्झना र कल्पनामा घन्टौं सम्म हराउने गर्थे त कहिले भने बेहोश हुन पुग्थे|कहिले आफ्नो एक मात्र सन्तानको भविष्यमा डुबुल्की खेल्ने गर्थे| हुँदाहुँदै यी विभिन्न कार्यका बाबजुद उनी पनि अर्धपागल हुन पुगे| छर छिमेकिहरुले धामी-झाँक्री, डाक्टर, वैद्य आदि सबै लगाए तर सबैको प्रयास बालुवाको पुल बन्न पुग्यो| अतीतबाट चिप्लिएर वर्तमानमा गुम्सिएकाको विराम झन् बढ्दै गयो| यसै क्रममा एक दिन बेलुकी उनले आफ्नो एक मात्र सन्तान राकेशलाई एक्लै सुनसान घरमा छोडी जङ्गलमा गई आत्महत्या गर्न पछि परेनन् |
राकेश मात्र तीन वर्षको थियो| हिउँदको एक रात मात्र तीन वर्षे अबोध निश्चल बालक अनि जाडो शिवाय अरू कसैको प्रवेश थिएन अर्थात् त्यो घर सुनसान देखिन्थ्यो । बालक रातभरिको रूवाई तथा जाडोले गर्दा उसका अंगप्रत्यंग हरिया र नीला भएका देखिन्थे । बाबाको न्यानो काखमा रमाई रमाई निदाउने बालक चिसो जाडोसँग मुकाबिला गर्दै सानो आवाज निकाली रोहिरहेको थियो| निरन्तर रोइरहेको थियो। जाडोले कुनै धामी-झाँक्री कामे झैँ कामिरहेको थियो| मरुभूमिमा पानीको अभावमा छटपटाइरहेको प्राणी झैँ छटपटी रहेको थियो| यतिकैमा गाउँ घरका मानिसहरुले त्यो घरबाट निस्किएको नौलो आवाज सुन्न पुग्छन् र “के भयो?” भन्दै सबै त्यो घरमा प्रवेश गर्छन् | अनि पाउँछन् राकेशलाई जिउनु र मर्नुको दोसाँधमा| सबै चकित हुन्छन्| सबैका आँखादेखि कुनै झरनाबाट झरेको पानी झैँ आँसुका धारा बग्छन्।
ती मध्ये एक छिमेकीले त्यो नानीलाई (राकेश) आफ्नो घरमा लान्छन् अनि मीठो मसिनो साथै सेकताप गर्छन् र नानीलाई मृत्युशैयाबाट बचाउन सफल हुन्छन्। अरुहरुले उसको बाबाको खोजी गर्छन् र पाउँछन् कुनै रुखमा कटहर फले झैँ फलेको| यो दृश्य देखेर सबैका आँखा रसाउँछन् | अनि त्यो निर्दोष निश्चल अबोध बालकको भविष्य कल्पना गर्छन् | कतिले टुहुरो भयो भन्छन् त कति ले यसले आमा बाबा दुवैलाई खायो…..आदि भन्छन् |
त्यो समाजले राकेशका बाबाको पनि दाहसंस्कार गरिदिन्छन्| राकेशलाई त्यही छिमेकीले पालनपोषण गर्न थाल्छ | मानै त्यो सम्पन्न परिवर थियो| राकेश पनि दिन दिनै चन्द्रमा बढे झैँ बढ्दै जान थाल्छ| केही समय पछि त्यो परिवारले उसमाथि स्वार्थी नयनले अवलोकन गर्न थाल्छन्| अब त राकेश पनि पाँच छ वर्षको हुँदो हो| यस अवधिमा उसले सरल शब्द र आदरका कुराहरू जान्नु आवश्यक हुन्थ्यो|माया र ममता पाउनु पर्ने अवस्था थियो | मिठो-मिठो चिज बीज खानु पाउनु पर्थ्यो तर बिचरा सबै कुराहरू देखि टाढा छ..धेरै टाढा | क्षितिज भन्दा पनि टाढा छ | उसले त दिन रात त्यो धनी परिवारको कमारो सरह कम गर्नु पर्छ | छ वर्ष को कलिलो राकेश गाई-बस्तु हेर्नु,थलो-भकारो सोर्नु, घाँस काट्नु, बाछो लगाउनु,दूध तताउनु,मोही पार्नु जस्ता काम उस्का निम्ति दिनचर्या भयो | मिठो खाउँ राम्रो लगाउँ भन्ने भावना त सबैलाई नै हुन्छ |तर राकेशले यो भन्न त के सोच्न पनि पाएको थिएन| उसले त खालि कोदाको ढिंडो त्यो पनि आधा पेट मात्र नुनसँग खानु पर्थ्यो | चाहे हिउँद होस् या वर्षा उसको लगाउने पोसाक भनेको एउटा सट त्यो पनि चार पाँच ठाउँमा फाटेको अनि एउटै मात्र हाफ्पेंट सबै तिर टालेको | ओढ्ने या ओछ्यौउने भनेको एउटै मात्र बोरा थियो भने उ त्यही बोरामा हिउँद र वर्षा कटाउने गर्थ्यो | उ माथि घरका सदस्यले राम्रो वचन कहिल्यै बोलेनन्| सधैँ टुहुरो, आमा खाने, बाबा खाने……आदि…आदि भन्ने गर्न थाले| तर पनि उसले यी सबै भनाइहरु सहनु र खप्नु पर्थ्यो| यो उसको बाध्याता र विवशता हो | यसरी नै त्यो घरको अन्याय र अत्याचार तथा कटकटखाने जाडो, आधा पेटको खान्की त्यो पनि पशु सरहको नमिठो खानेकुरा सँग सङ्घर्ष गर्दै जीवन बिताउन बाध्य थियो |
एकदिनको कुरा हो| बस्तु लिई गाउँ छेवैको वनमा पुग्छ । गाई-बस्तुलाई वनमा छाडी घाँस काट्न थाल्छ | त्यसपछि एउटा विशाल ढुङ्गामा बस्छ र घामको न्यानोको आनन्द लिंदै अतीत देखि वर्तमान सम्मका कहाली लाग्दा पानाहरू पलटाउन थाल्छ | हुन पनि हो सूर्यको किरणबाट पाएको न्यानो आभास मात्र उसले पाएको छ | माया, ममता र सहानुभूति भन्ने कुरा ती सूर्यका किरण बाहेक अरू कसैदेखि पाएको थिएन | किन भने आज सम्म पनि उ माथि अमानवीय व्यवहार देखाइन्थ्यो| मानव नभई दानवको व्यवहार प्रस्तुत गरी गालीगलौज गर्न पनि पछि परेनन् | त्यसैले आज उ त्यो ढुङ्गामा बसी कल्पना गर्न थाल्छ | “म सानो थिएँ कसरी मैले मेरा बाबा आमालाई खाएँ ? कसरी भतुवा भएँ, ताकी उनीहरूले नै मलाई ल्याएका रहेछन् ? अहिले मेरा पनि आमा-बाबा भएको भए ..आज मेरो यो गति हुने थिएन होला भन्दै बेहोस हुन्छ | केहिसमय पछि ऊ पुन होसमा आउँछ|
अनि आँसु सरिका निन्याउरा नयनहरु यताउता डुलाउछ अनि पाउँछ केही कोस पर चार प्राणीहरु मानै तिनीहरू विद्यार्थी थिए, पुरा विद्यार्थी थिए…पुरा विद्यार्थी प्रोसाकमा सजिसजाउट थिए | तिनीहरूको सुखमय जीवन देखी ऊ कल्पना र परिकल्पनाको एउटा गहिरो समुद्रमा हाम फाल्छ र पानी बिनाको माछा सरह छटपटाउन थाल्छा | सायद उसको मनले भन्दै थियो होला “मेरा पनि आमा-बाबा भएको भए तिनीहरू जस्तै म पनि राम्रा-राम्रा पोसाकमा कहिले चौतारी र भन्झ्यांग अनि कहिले सहर र बस्ती गर्न पाउने थिएँ होला| यस्तो खुट्टा चिसो भएको बेलामा जुत्ता र मोजामा म पनि त रम्न पाउने थिएँ होला नि | आमा र बाबा को मायामा लुकामारी खेल्न पाउने थिएँ होला आदि भन्दै शुन्कोस नजिकै रहेको श्रीमाहादेब थानलाई सम्झना गर्न थाल्ल्छ| राकेश चिच्याउँछ, कराउँछ तर उसको चित्कार त्यो घनघोर जङ्गलमा भएक रुख बिरुवा बाहेक अरू कसैले पनि सुन्दैनन् | केवल राकेश ईश्वरलाई पुकार्न थाल्छ र भन्छ “हे ईश्वर! तिम्रो मैले के विराएँ र मेरा आमा-बाबालाई सदाको निम्ति मदेखि टाढा पारिदियौ? किन मलाई सानैमा टुहुरो बनायौ?……आदि …..|
यसै क्रममा पुन आगन्तुकहरु प्रति अवलोकन गर्छ | केही पल पछि उनीहरूलाई एक- दुई जुवा माथि देख्छ |
अनि तिनीहरू प्रति केही प्रश्नको पोको बोकी आँट र सहास समेटी अघि बढ्छ र मूल सडकमा उभिन्छ | ती विद्यार्थीहरु पनि आइ पुग्छन् | राकेशले तुरन्तै प्रश्न सोध्न थाल्छ, तपाईहरू को हुनु हुन्छ? झोला बोकी कहाँ जानु भएको….आदि सोध्छ |प्रति उत्तर मा ती चार व्यक्तिहरुले हामी विद्यार्थी हौँ, विद्यालय गएका भनी उत्तर दिन्छन्| राकेश झसङ्ग हुन्छ अनि पुन प्रश्न सोध्छ| विद्यालय भनेको के गाई गोठ हो? कति छन् वस्तुहरू चैँ? विद्यार्थीहरूले भने “विद्यालय भनेको गाई गोठ नभई एउटा विद्या आर्जन गर्ने ठाउँ हो ,थलो हो त्यहाँ गुरुहरु हुनु हुन्छ, वहाहरुले शिक्षा दिनुहुन्छ अनि त्यो शिक्षा हाँसिल गरिसके पछि हामीहरु पनि शिक्षित हुन्छौं र समाजमा घट्ने सामाजिक घटना तोड्न सफल बन्न सक्छौँ , साथै देशमा घटेका अन्याय र अत्याचार मुल्याङकन गर्न पनि पछि परिदैन आदि भनी स्पष्ट पारिदिए |यो कुराहरू सुनिसके पछि उसलाई पनि ठुलो मान्छे बनी समाज र देशका प्रतिक्रियाबादी सामन्ती शोषक र पुँजिबादीहरू निर्मूल पार्ने साथै देशका निम्ति केहि गर्छु भन्ने भावनामा डुबी उसले पनि ती विद्यार्थीहरूलाई अन्तिम प्रश्न राख्यो “मलाई पनि तपाईहरूको विद्यालयमा लैजानसक्नु हुन्छ ?
“म पनि तपाईहरू जस्तै शिक्षित बनेर देशको निम्ति केही गर्न अवश्य पनि सक्ने छु तर त्यस कुराको प्रति उत्तरमा चार मध्ये एक विद्यार्थीले भने टुहुरा तेरो नत कलम छ, नत कापीहरु नै छन्| तलाई लिएर गई हामी बेइज्जत हुनु छैन भनी न्वारनदेखिको बल प्रयोग गरी हुत्याइ दिन्छ | त्यस विद्यार्थी प्रतिको नराम्रो व्यवहारले उसको मुटु कुनै सिसा फुटे झैँ टुक्रा टुक्रा भएर फुटेको भान हुन पुग्छ | अनि ती चार विद्यार्थीहरूले उसलाई त्येही ठाँउमा छाडी कुलेलाम ठोक्छन् | केही बेर पछि ऊ पनि गाई-बस्तुलाई वास्तै नगरी ती विद्यार्थीहरूको बाटो पछ्याउँदै बाटो लाग्छ | दुई तिन घण्टाको रफ्तार पछिको हिडाइमा एउटा सानो घर देख्छ | ती चार व्यक्तिहरू पनि त्यो घर भित्र पसेको देख्छ ।
जोमोलरीमा ठिग्ड़ उभिरहेको रुख झैँ ऊ पनि त्यही उभिन्छ र मन मनै के-के कल्पना गर्न थाल्छ “सायद त्यो घर भनौं या विद्यालय देख्न पाउँदा उसलाई मन्दिर देख्न पाएको भान भए झैँ हुन पुग्यो र त्यस पछि पुन आफ्ना पाइलाहरू अघि बढायो| त्यो कक्षा कोठामा एक महिलाले पाठ पढाई रहेकी हुन्छिन्| उनी भनिरहेकी हुन्छिन् “ल नानीहरू आज मतिमीहरुलाई एउटा कुरा भन्दै छु| जुन कुरा तिमीहरुले राम्रोसँग जानी बुझी प्रयोगमा ल्याउनु पर्ने छ | यो संसार यस्तै छ| सबैका बाबा-आमा नहुन सक्छन्| कति टुहुरा भई बेसहारा जीवन बिताउन बाध्य भएका हुन्छन्| त्यस्ता व्यक्तिहरुलाई तिमीहरुले कहिल्यै नराम्रो कुरा नभन्नु| उनीहरूलाई कहिले नहेप्नु किन भने उनीहरूलाई मद्दत गर्ने कोही पनि हुँदैनन् त्यसकारण हामीले त्यसरी नराम्रो कुरा भन्यौं भने त उनीहरूको चित्त दुख्छ | बुझयौ? “तिमीहरुले त्यसरी कसैलाई हेप्ने गरेको छकि छैन? ” कतिले छैन को आवाज निकाल्थे भने. …..एउटा चैँ अन्धो मुन्टो फर्काएर बसेको थियो| यसै समयमा गुरुआमाले सोधिन, “मोहन, तिमि किन अँध्यारो मुख पार्छौ?” मोहन केही बोलेको थिएन तर रमेशले हतार हतार गुरुआमालाई भन्यो,”गुरुआमा मोहनले त अघि मात्र बाटोमा एउटा टुहुरो केटालाई यसरी नै नराम्रो भनेर हप्काएको, हेपेको थियो| अनि ऊअहिले लाजले नबोलेको होला नि|” “को हो त्यो केटा?” शिक्षिका को प्रश्न थियो| यसै क्रममा रमेशले गुरुआमालाई त्यो केटा देखाई दिन्छ साथै विद्यार्थीले कक्षा कोठा वाहिर अवलोकन गरेको पाउँदा उनी निकै रिसाउछिन्| सिकार नपाएको बाघ गर्जे झैँ गर्जिनछिन्| त्यस पछि ती गुरुआमाले पनि अवलोकन गर्छिन् र पाउँछिन् एउटा केटो जसका शरीरमा धुजा र बाती भएका अनि चार-पाँच ठाउँमा टालेका कपडा लगाएको, खाली खुट्टा,चिसो जाडोले हरिया भई सकेका ओठ,कापिरहेको राकेश देखिन्छन् कक्ष कोठा नजीकमा
ती गुरुआमा पनि एक छोरा-छोरी रहित विधवा थिइन् तर उनी धेरै ज्ञानी र कलाकी खानी पनि थिइन्| त्यो गाउँका सबै वासिन्दाहरुले उनको कला ज्ञानको प्रशंसा गर्थे| यसै सिलसिलामा उनी कक्षाकोठाबाट बाहिर आइन् र राकेशको मनस्थिति बुझ्नको निम्ति हप्काउन थाल्छिन्|
“ए केटा तिमि यहाँ विद्यार्थी भाइ-बहिनीलाई जिस्काउन आएका हौ? ”
भनी मन चोर्दै सोध्छिन्| प्रति उत्तरमा ठिटोले सानो स्वोरमा भन्छ, “म कुनै पनि विध्यर्थिहरुलाई चलाउन आएको नभई म त तपाइंले सिकाउनु भएको कुरा मात्र सुनि रहेको छु।
शिक्षिका पुन झम्टिन्छिन् र भन्छिन “ल भन मैले के के सिकाए त ? प्रति उत्तरमा उसले कक्षा भित्र उनीले के के भनिन् अनि के के सिकाईन ती सबै भन्छ| यो सुनेर शिक्षिका खुसीले विभोर भईन् र त्यस पछि केटाको पुरा नाम र ठेगाना लिने जमर्को गरिन्| ठिटाले पनि आफ्नो कथा र कहाली लाग्दो व्यथा सबै भन्दै गयो| गुरुआमाको मुटु फुटेर आयो, आँखारसाए, संसार उथलपुथल भएको भान भयो| पुन राकेशलाई राम्रोसंगले नियालिन् र खै के सोचिन् उनीले एकासी त्यो वालकलाई काखको आश्रय दिन पुग्छिन्| राकेशले गुरुआमाको आश्रय पाए पछि “मलाई पढ्ने मन छ,म पढेर ठुलो मान्छे बनी देशको सेवा गर्ने छु| अन्य असल काम गर्ने छु|” भन्दै रुन थाल्छ | यो देखी शिक्षिका भन्छिन्, “हुन्छ, तिमी मसंग बस म तिमीलाई कापी कलम सबै चिजबीजको व्यवस्था गरिदिन्छु| ल अहिल्यॆ देखि नै तिमी कक्षामा साथीहरूसँग बस|
यसैगरि राकेश पनि शिक्षिकाको भनाइका आधारमा कक्षामा बस्न थाल्छ र भविष्यमा डाकटर बनी समाज र देशबासीहरुको सेवा गर्ने ठुलो सोच लिएर पढाई सुरु गर्छ| पढाइमा कहिले पनि दोश्रो भएनन् मात्र प्रथम। जसले उसलाई आज आमा-बाबाको अनि आफन्तबाट पाउने माया र मोह दिएर त्यो स्थितिमा पुर्याइन् उनी पनि हर्षले विभोर भईन् र भनिन् “तिमीले मेरो सपना पुरा गर्ने छौ| अब तिमीले विज्ञान पढी डाक्टर हुनु पर्छ|”
राकेशले “हुन्छ आमा, म तपाइको सपना पुरा गरिदिने छु| तपाईँले दिनु भएको हरेक आदेश र उपदेश म हरेक पाइला पाइलामा पालन गर्ने छु| मेरो संकल्प पनि यही हो भनी राकेश डाक्टर पढ्नको निम्ति सहरको कुनै कलेजमा पठाई दिन्छिन्| ऊ पनि ठुलो लक्ष लिएर त्यस कलेज तर्फ प्रस्तान गर्छ र कलेजमा पढाई सुरु गर्छ| नभन्दै, दिन, महिना, वर्ष हुँदै समय बित्छ|
राकेशले पनि निरन्तररुपमा आफ्नो पढाईलाइ अघि बढाउँछ र केही बसन्तहरु पार गरिसके पछि ऊ एक विशाल चिकित्सक बन्छ| अनि सरकारले एउटा विकट गाउँमा खटाइ पठाउँछ| त्यो समयमा गुरुआमा र उसको भेटघाट नभएको पनि झन्डै एक दुई वर्ष भएको हुँदो हो| त्यो खुसीको खबर दिन पाएको थिएन, कारण उनी व्यस्त रहन्थ्यो तर पनि कोसिसभने गरिरहेको थियो | दुई दिन पछि आमालाई भेट्ने जमर्को गरिरहेको थियो | यतिकैमा भोलि पल्टको बिहानी पखको समय भएको थियो|डाक्टर नुवाइधुवाई गरिरहेका थिए| एक जना मानिस हतारिदै आएर डाक्टरको कोठामा प्रवेश गरि भन्न थाल्यो, “डाक्टर साहेब हामीले एक बिरामी महिला लिएर आएका छौँ, एकदमै सिकिस्त हुनुहुन्छ, हेरी दिनुहोस न”डाक्टरले “हुन्छ” भन्दै लगाउंदै गरेको कपडा बोकी आकस्मिक कक्षा तर्फ दौडिन्छन्| जब ऊ त्यहाँ पुग्छन्, उसले बिरामीको अनुहार देख्दा थाहा पाऊँछन कि उनी अरू कोही नभएर उसकै गुरुआमा हुन्| ती गुरुआमा जसले आज उसलाई त्यो परिवेशमा पुर्याएकी थिइन्| आमा समान गुरुआमाको यो मर्नु र बाँच्नुको अवस्था देखि राकेश “आमा” भभनी बेहोस हुन पुग्छन्| केही क्षण पछि होसमा आउँछन् र जाँच गर्न सुरु गर्छन् तर शिक्षिकाका दुवै मृगौलाले काम गर्न छोडीसकेको पाउँछन्| तुरन्तै अरू डाक्टरहरुलाई निम्त्याई शिक्षिकाको शल्यक्रिया गर्नमा सफल हुन्छन्|
तिन दिन पछि शिक्षिका होसमा आउँछिन् र पाउँछिन् डाक्टर राकेश नजिकैको टेबलमा बसिरहेको| यो दृश्य देखेर गुरुआमाका आँखा आँसुले भरिन पुग्छन् | मोतिका दानाहरु बर्षे झैँ ती चौरी परेका गालामा झर्छन्| डाक्टर आँसु पुछ्दै भन्छन्, “आमा! आमा तपाईँलाई केही हुँदैन, हरेस नखानुस, न आतिनु होस्, चाडै ठिक हुनुहुन्छ| म यो ठाउँमा आएको दस दिन मात्र भयो| त्यो खुसी तपाइलाई भन्न या सुनाउन चैँ पाइरहेको थिइँन व्यस्तताले गर्दा” भन्दै आँसु पुछी दिन पनि पछि परेनन्| त्यस पछि शिक्षिकाले भनिन् “डाक्टरको काम नै यस्तो| अब त मेरो स्वास्थ्य पनि राम्रो हुँदै जान थालेको छ| जति विद्यार्थीहरुलाई मैले शिक्षा दिए, ती सबैलाई ठुला-ठुला पदमा रहेको अवलोकन गर्न चाहें तर कति जनाबाट असफलताको किनारलाइ चुम्न पनि पछि परिन तर जेहोस तिमिले म एक विधुवाको लक्ष्य, चाहना र कल्पनाहरुलाइ साकार पारिदिएकाछौ| तिमीलाई धेरै धेरै बधाई छ भन्दै आँसुका धारा बगाउँछिन्|
यस्तै कोही दिनको अस्पतालको बसाइ पछि डाक्टर ती शिथिल भएकी गुरुआमालाइ साथैमा लिएर आफ्नो कोठामा पुग्छन्र र भन्छन् “आमा यो अब हाम्रो घर हो| हामी यही बस्नु पर्छ, दु:खसुख यसै घरमा बाँडनु पर्छ….आदि| कहिले सासुको पालो त कहिले बुहारीको पालो भने झैँ विधातले कोरेका दुई धर्षा भित्र दुई प्राणी त्यही घरमा सुखी र खुसीका साथ रमणीय जीवन विताउन थाले| डाक्टरले त्यो विकट गाउँमा निमुखा जनताहरुको सेवा गर्ने काम कहिले छोडेनन्|अकाल मृत्युबाट निरन्तर मानिसहरूलाई बचाई रहे….बचाई रहे|