बिरालो ब्याएको गुन्द्रुक

कथाकार
कथाकार

गङ्गा लामिटारे
ओहायो, अमेरिका

मैले एम० ए० दोस्रो वर्षको परीक्षा दिनु थियो । त्यसैले जुन महिनाको ७ तारिख, १९९७ का दिन अपराह्न म विराटनगर जानका लागि घरबाट हिँडे । बेलडाँगीबाट धरानसम्म जाने एउटा बसमा चढेँ । बसमा त्यति भीड थिएन । अगाडिका सिटहरूमा केही मानिसहरू बसेका थिए। प्राय पछाडितिरका सिटहरू खालिनै थिए । म पछाडिदेखि दोस्रो लाइनको झ्यालपटिको सिटमा बसेको थिएँ । सायद यो पहिलो पल्ट थियो, बेलडाँगीबाट छुट्ने बसमा सिट प्राप्त गरेको । तर सिटमा बसेको भन्नु मात्र थियो । सिटमा बसेकालाई गाडीले बोक्थ्यो । उभिएका जतिलाई बस्नेहरूले बोक्नुपर्थ्यो । सिटमै बसे पनि मानिसहरूको बोझ बोक्नु त्यहाँको परम्परा नै थियो । तर आज भने त्यस्तो थिएन । मनमनै भने, आजको यात्रा रमाइलो हुने भो ! म सिटमा बसेको ३ मिनेटपछि धरान, इटहरी भनेर खलासी कराउन थाल्यो । यात्रुहरूलाई बसभित्र बस्न आग्रह गर्दैथियो । बस पनि हिँड्नलाई घार-घुर गर्न थाल्यो । बसभित्र प्रवेश गर्नेहरूको घुइँचो बढ्नथाल्यो । त्यो घुइँचो र भीडलाई चिर्दै दुइजना अर्धबैंसे महिलाहरू भित्र पसे । पसिनै पसिना भएका ती महिलाहरू मेरा अघाडिपट्टिको खाली सिटमा आएर बसे । एउटी महिलाले ठेकी भरि चामल बोकेकी थिइन् । उनी सँगैकी अर्की महिलाले चामलले भरिएको एउटा प्लास्टिकको बोरा साथमा ल्याएकी थिइन् । चामलको बोरा र ठेकी सिटको छेउमा राखेर उनीहरू सिटमा सन्तोष मान्दै बसे । यतिकैमा बसले अन्तिम हर्न बजायो । बेलडाँगीबाट बस छुट्यो । असारको महिना । सिमसिम पानी पर्दै थियो । पानीले निथ्रुक्क भिजेका यात्रुहरू बसमा चढ्दै थिए । केही उत्रिँदै थिए । बस ढुकुर पानीमा पुगेर रोकियो । उत्रिने भन्दा बढी चढ्नेहरू भएकोले ढुकुरपानीदेखि बस पुन खचाखच भयो ।
मेरा अगाडि बस्ने ती महिलाहरू आपसमा कुरा गर्दैथिए । भरसक कसैले नसुनून भनेर नै ती महिलाहरू कानमा मुखजोडेर खास खुस गर्दैथिए । बेला बेला खित्का छाडेर हाँस्थे पनि । उनीहरू अडेसा लाग्ने सिटको भित्तोमाथि टाउको राखेर म उँगिरहेको थिएँ । तर कान चनाखै थिए । उनीहरूका खास्खुस कुराहरू पनि सुन्दैथिएँ । आँखा रमरम भए पनि पनि कान भने तिनीहरूकै सम्वादतिर आकर्षित हुँदैथिए । दुइजनाको सम्वादका क्रममा तेस्रो व्यक्तिले कन्सुत्ली गर्नु नियम र सिद्धान्तकै विरुद्ध हो भन्ने पनि मैले सोंचें । तर त्यहाँ उनीहरूको कुरा सुन्न म गएको थिइनँ । बरु, उनीहरू नै मलाई सुनाउन आएका हुन् भन्ने लाग्यो । मेरो कानैमा आएर उनीहरूले बोले पछि मैले कान थुन्न मनासिप पनि ठानिनँ । मनले नचाहे पनि कानले सुन्दै गए ।
त्यहाँ ठेकीसँग आएकी महिलाले चामलको बोरा बोक्ने महिलालाई भन्दैथिइन्‘दिदी,आज के लिएर आउनु भएको थियो शिविर ?’ उत्तर दिँदै बोरावाल्नीले भन्निन्’ के हुन्थ्यो बहिनी ! एक बोरा गुद्रुक लिएर आएकी थिएँ । दुई घण्टामै पुरै बिक्यो ! भूइमा बिसाउनै पो पाइएन, उनको कुरा सुनेर उत्सुक हुँदै फेरि ठेकीवाल्नीले सोधिन्‘ अनि अहिले त गुन्द्रुकको सिजन पनि हैन,कसरी जोगाड गर्नु भो ?’ दिदी, के को सिजन चाहिन्छ,यी भोटागेंहरूलाई ! यिनीहरूलाई जहिले सिजनै सिजन ! उनी नरोकिइ भन्दै गइन् । पण्डितले पुराण भने झैँ । समयमा पानी परेकाले पोहोर साल साग-पात राम्रै फष्टाएको थियो र गुन्द्रुक सिन्की राम्रै बनाएको थिएँ । राम्रो सुकाएर सिलिङमाथि एउटा डालामा राखेकी थिएँ । अस्ति रोपाइँमा गुन्द्रुक साँध्नुपर्यो भनेर सिलिङमा चढेर गुन्द्रुक राखेको डालामा यसो हेरेँ ! तपाईँको साँडें बिरालो पो ङ्याउ गर्दै करायो ! नर्केले सकेछ नि भनेर मजेत्रोले हिर्काएँ र त्यहाँबाट खेदाएँ । तर त्यहाँ मर्न नसकेका साँढेले ३ वटा न्याउरा ओथारेर बसेको पो रहेछ । म त रिसले भुतुक्क भएँ । बहिनी, त्यत्रो दुख गरेर बनाएको गुन्द्रुक नर्केले सत्यानाश गरेछ ! बिरालोदेखि सारै रिस उठेर आयो ! रिसले आँखै देखिन ! ती न्याउरालाई पनि टिपेर आँगनमा फेकिदिएँ ! अब यो गुन्द्रुकको काम छैन,भनेर फ्याकिदिने बिचार पनि गरेँ ! तर बहिनी फ्याक्ने आँटै आएन ! के गरौँ कसो गरौँ भनेर अल्योल भइरहेका बेला शिविर संझें ! फ्याक्नुभन्दा बरु शिविरमै लगेर बेच्नु ठिक लाग्यो ! किन भने शिविरेलाई सब्जीको अभाव पनि टर्ने ! आफ्नू श्रम पनि व्यर्थमा नजाने ! फेरि तल्ला घरे खरेल्नी साइँलीले भनेको झल्यास संझें ! उनले शिविरमा लगेर हरिया मकै,आँप,साग-सब्जी र गुन्द्रुक सिन्की बेचेको सम्झना आयो ! अनि मैले पनि त्यही पुरानो गुन्द्रुकमा यसपालिको पनि अलिकति मिसाएँ ! आज त्यही गुन्द्रुक बेचेर फर्किँदै गरेकी।’बोरावाल्नी विजयको पुराण सुनाउँदै जान्थिन् । ठेकीवाल्नी हँमा हँ मिलाउँदै जान्थिन्। दुवैमा हर्ष र खुसी छचल्किथ्यो । त्यस खुसीमा वरिपरि अरू पनि मानिसहरू छन् भन्ने उनीहरूले बिर्सिए । हाम्रो गोप्य सम्वाद अरूले सुन्दै छ,भन्ने पनि उनीहरूलाई हेक्का भएन । कसैले चामल दिए । कसैले नगद दिए । कसैले दिनै आउने सल्लाह पनि दिए,भन्दै बखान गरिन् ।
आफनु दुहुनु सोज्याउन खप्पिस ती बोरावाल्नीले सहानुभूति दर्शाउदै भनिन्’कति सोझा नि बहिनी,ती भोटाङेहरू !’ फ्याँकेको भा सकिइ जान्थ्यो ! धन्न फ्याँकिएनछ, भन्दै हर्षको लामो सास फेरिन्,कुनै ठुलो युद्ध जितेको सैनिक झैँ ।
बोरावाल्नीको बठ्याइ र बहादुरी सुनेर ठेकीवाल्नीको अनुहारमा विजय र खुसी छ्छ्ल्कदै थियो । आफ्नो सफलता व्यक्त गर्न हतारिदै गरेको उनको हाउभावले पस्ट देखाउँथ्यो । उनी धेरै खुसी र उत्साहित देखिन्थिन् । संसारै जितेको भाव प्रष्ट अभिव्यक्त हुँदैथियो उनको अनुहारमा । युद्ध जितेको राजा जस्तै उत्साहित हुँदै बोरावाल्नीले ठेकीवाल्नीलाई एकै सासमा भनिन्‘हेर्नु न बहिनी,यो एक जर्कीन तेल,२० केजी चामल र ३० रूपिया नगद पनि भयो आज । उनको खुसीमा व्यक्त उमङ्ग सुनेर ठेकीवाल्नीले भनिन्,बहिनी के त्यस्तो वस्तु ल्याउनु भाथ्यौ आज ? निकै घुमाएर ठेकीवाल्नीले भनिन्-‘म त ६ महिनादेखि शिविर आउनै भ्याकी थिइन । फेरी शिविर जाने कोसेली पनि हुनुपर्यो नि बहिनी,होइनर ? हो नि दिदी भनेर ठेकीवाल्नी बोरावाल्नीको प्रश्नमा हँमा हँ मिलाउँदै गइन् । तपाइको साँढे हिजो साँझ मोही पार्नुपर्यो भनेर ठेकीमा दही खन्याउदै थिएँ । आरीमा जमाएको दहीमा मुसो जस्तो फुत्रु,फुत्रुक उफ्रिदै गरेको देखेँ । हताहतार डाडुले बाहिर निकालेँ । ढाडिएको मात्र रहेछ ! धन्न मरिहालेको रहेनछ ! उज्यालोमा राम्रो हेरेको त तपाईँको साडें मुसो होइन,त्यो त छुचुन्द्रो पो रहेछ, दिदी ! साँढेलाई मार्नुपर्यो भनेर डाडुले हिर्काउन खोजेको बुरुक्क बुरुक्क उफ्रिदै छुचुन्द्रो किचनभित्र पस्यो । नखाइ नखाइ मिहेनत गरेर जमाएको दही ! ‘दिन भरिको सिकार कान्छा बाबुको अनुहार’ भने जस्तै खान पनि सकिएन,फेंक्न पनि सकिएन । आखिरी छुचुन्द्रो परेको न हो,मरेको त होइन नि, भन्ने लाग्यो । अनि त्यही दही लिएर आज शिविर आएकी । ए…….हारालुछ दिदी ! कहीँ बिसाउनै नपाई एक ठेकी दही एकै घण्टामा सिनक्क !
त्यतिकैमा कृष्ण मन्दिर ! कृष्ण मन्दिर! भन्दै खलासी करायो । बस रोकियो । ठेकी भरि खुसी र बोरा भरी तृप्ती अनि विजयको उमङ्ग बोकेर ती महिलाहरू बसबाट ओर्लिए । उनीहरूको सभ्यताविरूद्धको सङ्घर्ष सुनेर म विचलित भएँ ! छक्क परेर त्यो मानवता मरेको सुनिरहेँ । सभ्यताको उपहास देखेर किं कर्तव्यमूढ बनिरहेँ, बनिरहेँ ।
– — – – – – – — – – – – – – — –
कृष्ण मन्दिरबाट अरू नयाँ यात्रुहरू पनि थपिँदै थिए । थपिनेहरू मध्ये एक जना भलाद्मी मेरा अगाडि भर्खरै खालि भएको सिटमा आएर बसे । त्यसै गरी भद्र देखिने अर्का एक जना पुरुष पनि बसभित्र पसे । हतार हतार गर्दै त्यो भर्खरै सिटमा बसेका भलाद्मीका छेउको खालि सिटमा आएर बसे । उनीहरू बिच शिष्टाचारको आदान-प्रदान भयो । सम्वादबाट प्रष्ट हुन्थ्यो कि उनीहरू दुवै चिरपरिचित हुन् । गाडी हिँड्यो । उनीहरूबिच भएका संवाद र व्यवहारबाट पनि स्पष्ट हुन्थ्यो,एक जना घर निर्माण व्यवसायी र अर्का ओडाध्यक्ष रहेछन् । घर निर्माणकै बारेमा कुरा गर्दै ती व्यवसायीले ओडाध्यक्षसँग भन्दै थिए” अध्यक्षज्यु, घर बनाउने हो भने यो अवसर नचुकाउनु होला । यस्तो मौका पटक पटक आउँदैन । मौकामा चौका हान्न सकिएन भने पछुतो सिवाय केही हुनेछैन।” उनले नबिसाइ भन्दै गए । अध्यक्षले पनि मुन्टो हल्लाउदै सहमति जनाउँदै गए । म भने उनीहरूबिचको सम्वाद नचाहेर पनि सुन्न विवश बनिरहेको थिएँ । भर्खरै महिलाहरूको तीरबाट मुर्छित भएको मेरो स्वाभिमान अब यिनीहरूको आक्रमणबाट ठहरै त हुँदैन भन्ने त्रासबाट पिरोलिइरहेको थिएँ । अध्यक्षलाई हौस्याउदै ती व्यवसायीले भन्दै थिए “यति सरल र सस्तो मज्दुर पाएको बेलाँ घर नबनाएर कहिले बनाउने ? घर बनाउँदा सरसामानलाई भन्दा पनि बढी खर्च मज्दुर जुटाउनमा लाग्छ । अरूतिर एउटा घरनिर्माण गर्ने खर्चले दमकमा दुइतले दुईवटा पक्की घर बन्नसक्छन्, म त्यसरी नै बनाइरहेको छु । गत वर्ष नै ८ लाखमा दुइतले ३ वटा घर सिध्याएर जिम्मा दिइसकेको छु । त्यही देखेर त सुन्दर लाउती, पाख्रिङ कान्छा र अरू तीन जना ब्रिटिस लाहुरेहरूले पनि घर निर्माणको ठेका मलाई नै दिएका छन् । अर्को सातादेखि निर्माण कार्य सुरूहुँदैछ र त्यसैका लागि आज मज्दुर खोज्न पथरी क्याम्प जाँदै गरेको” उनले भने । त्यतिकैमा बस पथरी क्याम्पका छेउमा रोकियो । ल क्याम्प आइपुगेछ । म गएँ है हजुर भन्दै ती निर्माण व्यवसायी बसबाट ओर्लिए । हुन्छ नि भन्दै वडाध्यक्षले पनि बिदाइको सङ्केत दिए ।
बिरालो ब्याएको गुन्द्रुकले रन्थनिइरहेको टाउको फेरि सस्ता मज्दुर भन्ने शब्दले चट्चट चर्कियो ! तर पनि मैले बोल्न सकिनँ ! राज्य नहुने र माटो विहीनहरूले जस्तै पनि सहनै पर्छ ! आखिर म पनि राज्य र माटो गुमाएकाहरू मध्यकै एक थिएँ ! मुख भएर पनि लाटो, भात खाए पनि घाँस खाने जस्तै, दुई खुट्टा टेकेर पनि चार खुट्टे जस्तै भएँ ! सुटेट बुटेट भएर पनि असभ्य ! सहन सिवाय अरू विकल्पनै थिएन मसँग ! त्यसैले सहँदै गएँ ! दुई खुट्टाले उभिएको एउटा बुख्याँचा जस्तो मात्र ! मानवभन्दा पृथक् पहिचान र अस्तित्व पाएको एउटा शरणार्थी ! शरणार्थी दयाको पात्र मात्र होइन ! घृणा र तिरस्कारको पनि पात्र रहेछ भन्ने मैले जीवनमा पहिलो पटक अनुभव गरेँ ! २० वर्षे राज्यबिहीन अवस्थाबाट मैले जबर्जस्त सिकेको र अनुभूत ज्ञान पनि यही थियो । जुन किताबहरूमा पढेको ज्ञान जो भन्दा पृथक्, महत्त्वपूर्ण र व्यवहारिक साबित भैसकेको थियो ।
जानका लागि म विराट्नगर जाँदै थिएँ । तर त्यो भन्दा पनि महत्त्वको, अध्ययनै बिना, क्षण भरमै हासिल गरेको , बिर्सिनै नसक्ने ज्ञान थियो। त्यो हो सहनशीलता र धैर्यता ! अब यश विराटनगरसम्मको यात्रामा मैले अझ कस्ता कस्ता ज्ञानहरूसँग साक्षतकार गर्नुपर्ने हो ! त्यो सम्भावित खत्राबाट म तर्छिरहेको थिएँ । मन एकदमै विचलित भइरहेको थियो । तर पनि मनलाई अझ बलियो र स्थिर बनाउने प्रयास गर्दै यात्रामा अघिबढिरहे बढिरहेँ……… ।

One Reply to “बिरालो ब्याएको गुन्द्रुक”

Leave a Reply

Your email address will not be published. Required fields are marked *