बिरालो र म
डा० लक्ष्मीनारायाण ढकाल्
केन्टकी, अमेरिका
(बाल कविता)
मुसो गर्छ च्वाँ च्वाँ बिरालो गर्छ म्याउँ
भात छोडी मुसो खान दगुर्छ म्याउँ म्याउँ ।
मुसो भाग्छ जता जता बिरालो उता उता
बाहिर भित्र तल माथि अनि जता ताता ।।
म भन्छु आऊ आऊ बिरालो भन्छ जाऊ
मैले भने खेल्न मन छ लुकामारी म्याउँ ।
बिरालो भन्छ खेल्दिन म, मुसा मारी ल्याऊ
म खोज्छु बचाउनलाई उ खोज्छ भाउ..।।
तिमी बस मेरै घरमा हाँसी खेली आऊ,
भात दिन्छु दूध सँग मुसा अब नखाऊ ।
खान्न भात मीठो हुन्न मुसा मारी ल्याऊ,
होइन भने रिसाउँछु म, तिमी पर जाऊ ।।
मार्नु हुन्न कसैलाई कुट्नु पिट्नु हुन्न
ढाँट्नु छल्नु रिसाउनु सताउनु हुन्न ।
सकेसम्म रक्षा गर सेवा सत्कार गर
मुसा खान अब छोडी शाकाहारी बन।।
तिमी मेरो घरमा बस स्कुल सँगै जाऊँ,
नेपालीमा लेख्दै पढ्दै हाँसी खुसी रमाऊँ।
लेख्नु पढ्नु बोल्नु पर्छ नेपालीमै सब ,
अनि मात्र बच्ला भाषा जानिलेऊ अब ।।