बीज चाहियो
जीवनहरि शर्मा
इलाम
आत्मबाट त्यो उब्जियोस् अरे
सोच सर्वथा सत्य होस् भरे
देश प्रेमको मूल मन्त्र यो
राष्ट्र भक्तिको बीज चाहियो।।१
व्यर्थमा चुके अर्थमा बिके
नक्कली कुरा गर्न झन् सिके
स्वार्थले धरा छिन्नभिन्न यो
राष्ट्र भक्तिको बीज चाहियो।।२
फर्क हे युवा देशमा अब
मातृभूमिमा जे छ वैभव
खोज आज नै न्यायको मियो
राष्ट्र भक्तिको बीज चाहियो।।३
मूर्ख जन्मिए धूर्त हुर्किए
भ्रष्ट पल्किए कष्ट झन् दिए
के गरी सुधा प्याउने अहो
राष्ट्र भक्तिको बीज चाहियो।।४
ध्वंस गर्नमा कंसझैँ भए
वंश मास्नमा लागिपर्दथे
मातृ स्नेहको बाल रे दियो
राष्ट्र भक्तिको बीज चाहियो।।५
छन्द-द्रुता(सुन्दरी)