बुढी आमा
बैरागी माइलो
पेन्सिल्भिनिया, अमेरिका
हाम्रो भेट नभएको पनि दुई दशक भएको रहेछ, भेट हुनसाथ पुरानै शैलीमा गफिन थाल्यौँ ।
कुन सालको हौ बाबु भनेर कसैले सोध्यो भने कोरोनाले संसार भर रडाको मच्चाउँदै थियो। ठुला- ठुला महाराजा मन्त्रीहरूको पनि सातो गएको बेला जन्मेको हो भन्लान् है, यस्तै ठट्यौली गर्दै थियौँ । यतिकैमा नेपथ्यबाट “ऐया आमा….. ऐया बा…… जीउ पनि के साह्रो थलियो!” मधुर आवाज आइरहेको थियो ।
हामी आफ्नै सुरमा कोरोना भाइरस भनेको त उबेलाको दैत्य नै रहेछ नि …संसारका मान्छेलाई घर भित्र थुनेर राखी रहेछ । कतिको मानो घोप्टाउने हो कुन्नि यस्तै कुरा भइरहेको थियो । फेरि उही आवाज अलि मलिन स्वरमा पुनः मेरा कानमा गुन्जियो । यता हामी दुईको गफ भन्दा उताको आवाजले मेरो मन तानिरहेको थियो । गफिएर बस्नै सकिनँ। को रहेछ भनेर मेरा आँखाले खोज्न थाल्यो ..साँझ झपक्कै परेको थियो, बत्ती भने कतै बलेको थिएन । त्यही आवाज गुन्जिरहेको थियो ।
गफाडी मित्रलाई बत्ती बाल्न सङ्केत गरेँ । मन भित्र खुल्दुली सुरु भयो, त्यो आवाज कसको हो भनेर साथीलाई सोधौँ कि नसोधौँ भएँ । फेरि साथी रिसाई पो हाल्ने हुन् कि भन्ने डर लाग्यो । जे पर्ला पर्ला भनेर आँट गरेर सोधेँ ।
“को हुनुहुन्छ बिरामीको जस्तो आवाज आयो नि ?”
जवाफमा, “मेरो जागिर हो उहाँ ।”
यति भनी सकेपछि कुरा बुझ्न गार्हो भएन मलाई । बुढी आमाको हेरचाह गरे बापत पैसा पाउने रहेछन् साथीले ।
उनले थपे, “साइनोले मेरी श्रीमतीकी आमा हुन्; गनगने छन् बुढी । अलिकति केही हुनुहुन्न रातभरि कराएर सुत्न समेत दिनन्न बुढी । छोराले हेरविचार गरेनन्; छोरीसँगै बस्छु भनेर मरिहत्ते गरिन् । आफ्नो पनि जागिर थिएन, त्यसैले हामीसँग छन् । हुन त यिनै बुढी हामीसँग बस्न थाले देखि नै म पनि मालामाल भएको हुँ ।”
बुढी- आमाका बारेमा साथी फलाकी रहेको थियो । मलाई भने बुढी आमाको अनुहार हेर्न मन लाग्यो, केही कुरा गर्न मन लाग्यो । आमाको नजिकै गएँ, आमालाई ठुली गरेँ । आमा कान पनि कम सुन्नु हुँदो रहेछ । सानो चेडा ,आँखा पनि भासिएका थिए , निधारमा बाह्र मुजा परेको, गोरो र पातलो छाला । चिउँडोमा बुढो छाला लत्रिएको, टाउकोमा थोरै कपाल , कानका लोति पनि लत्रिएका, दाँतले बिदा लिइसकेका रहेछ । धेरै बेर आमालाई नियालेर हेरेँ ।
अनि फेरि अलि जोडले बोलाएँ । आमाले मधुर स्वरमा ठिकै छु बाबु भनेर जवाफ दिनु भयो । अब मलाई अरू कुरा गर्ने हौसला मिल्यो । आमाको बारेमा धेरै कुरा आमाकै आवाजमा सुनिरहेँ । गहभरि आँसु भयो, आमा पनि खुब रुनु भयो ।
छोरीले नै दाजुभाइ बिचमा आगो लगाएको रहेछ र आमा धेरै भएकी रहिछन् । आमा त्यहाँ बस्न थालेदेखि त्यो घर नै संसार भएको रहेछ । आफ्नो उमेर छदा करेसाबारीमा काम गरेको, खेतबारीमा पसिना बगाएको, घाँस दाउरा गरेको अतीतलाई खुबै सम्झनु भयो । अहिले भनी पिँजडाको सुगा जस्तै थुनिनु परेकोमा आमालाई त्यो घर घर होइन मसानघाट जस्तो लाग्दो रहेछ । न कोही आउँछन् न गफ नै गर्छन् । आमाका बिलौना धेरै सुनेँ र लाग्यो बुढेसकालमा मेरो पनि यस्तै हाल हुने रहेछ । उता साथी पनि हाम्रो कुरा सुनी रहेको रहेछ । उसलाई हेरेँ ,उसका पनि आँखा रसाएका थिए । त्यसपछि मैले हातैले जाने सङ्केत गरेँ उसले पनि प्रति उत्तर हातैले दियो ।
हिजोआज सुन्छु आमा करेसाबारीसम्म निस्कनु हुन्छ अरे ।