बुढो रूख

तेजमान रायका

कवि

 

मेरो पुर्ख्यौली पाखा- र खेतबारीबीचमा एउटा बुढो रूख उभिएको छ । त्यो रूखको सेपले मेरो पुरै जमिन भरि कहिल्यै कुनै बाली सप्रन सकेन । यो रूखले न कहिल्यै शीतल दियो न यसका पात गाई-वस्तुलाई घाँसै दिन सकियो । यो विषादियुक्त रूख साँझपहर र रातमा संशानघाटको भूत भएर उभिन्छ । म कैयौँ पटक वेहोश भएर तर्सिएको छु तर, म आज होशमा निर्णय गर्दैछु । यो रूखलाई काट्नै पर्छ अब यो रूखलाई ढाल्नै पर्छ ।

यो रूखलाई वरको बोट सम्झेर मानिसहरूले पिपलसँग विवाह गरिदिए । यो रूखले मेरा बाउ-बाजेलाई„ “म देउता हुँ” भन्यो । सबै गाउँलेहरू मिलेर फूल, पाती, र अक्षता चढाएर पूजा गरे पान, सुपारी र भेटी चढाए । अझ बलि माग्यो, भोग दिए । रगतले मातेर मान्छे नै खान खोज्दैछ । त्यसैले हाम्रो धैर्यता भङ्ग भयो । अब हाम्रो चेतनालाई कुनै अन्धविश्वासको जादुले छल्न सक्दैन । कुनै कसरतले हाम्रो पुस्तालाई रूढीग्रस्त बनाई राख्न सक्दैन । म दृढतापूर्वक भन्दैछु अब साँच्चै यो रूखलाई जरैबाट उखेलेर ढाल्न चाहन्छौँ, उखेलेर फ्याँक्न चाहन्छौँ ।

यो रूखले सधैँ हाम्रा खेत र पाखाबारी सिञ्चन गर्न कुलो खनेर ल्याएको पानी चुसी रह्यो, चुस्दैछ । यो रूख रहन्जेल पसिना बगाएर रोपेको बालीले कहिल्यै राम्रो फसल दिने छैन । यो रूखका हाँगाका कापमा भलायो र मरंगे परजिवी भएर उम्रिए । गिध्द र सर्पले गुँड लगाए तर, मान्छेलाई कहिल्यै शीतलु छहारी दिएन । पुरै माटोलाई सेप मात्र दिने रूख अब हामीलाई चाहिँदैन । अब यो रूखलाई ढाल्नै पर्छ, उखेलेर फ्याँक्नै पर्छ अनि मात्र हाम्रा आकांक्षाका आँकुरा पलाउने छन् । सपनाका फूलहरू फुल्ने छन्, फक्रने छन् । आज म होशमा निर्णय गर्दैछु । यो बुढो रूखलाई काट्नै पर्छ । यो रूखलाई ढाल्नै पर्छ जरैबाट उखेलेर फ्याँक्नै पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *