बेनामी एस.एम.एसहरू

प्रतिमान सिवा
ओहायो, अमेरिका

 

अलिकति विविधतामा, अलिकति अराजकतामा
अल्झिएर बल्झी रहने हाम्रा सम्बन्धहरूमा
बिस्मृतीका चोक चोकदेखि
सम्झनाका आकाशगङ्गाभरि
कावा खाँदै
बयेली खेल्दै
मेरो चिर निद्रा भङ्ग गर्दै
किन घरीघरी तर्साउन आउँछन्
ती पायलको झङ्कार अनि मदहोसी यादहरू ?
अनि किन घरीघरी
अतृप्तिका तलवारहरू घोप्छौ ?
प्रेमको युद्धभूमिमा पराजित भएर
मर्माहत त्यो बिचरा हृदयमा
‘के गर्दै छौ अचेल’ भन्दै
किन घरीघरी
बेनामी एस.एम.एसको घण्टी
ट्वाङ ट्वाङ्ती ठोक्छौ बडेमानको घन;
चार्ज सिद्धिनै लागेको हाम्रो
सहयात्राको थोत्रो सेलफोनमा ।

…………………………………………….

जब जब बहकिन्छु म
त्यही घण्टीको तालमा
लाग्छ कहिले कहीँ
ती नजरभित्र नजर गाडेर
आफैलाई तीनै नानीभित्र ढालेर
माया र मायाको सहवास गराइरहूँ,
कोसौँ टाढाको दुरीलाई
आफ्नै अगाडी छातीमा छाती टाँसेर भोगी रहूँ
एस.एम.एसभित्र वासनाका लहर छाडी रहूँ ।

…………………………………………………

बैँसमा, उमेरमा,
तरेली तरेली भएर
कहाँकहाँ चिप्लिरहयौ, भागीरहयौ ?
मनदेखि तन,
तनदेखि धन हुँदै
बाइपङ्खी सपनाहरू रोज्दै हिँड्यौ ।
आधा बाटो यात्रा गरिसकेपछि
आफ्नो गन्तव्यलाई बिर्सेर
किन घरीघरी मार्न खोज्छौ
‘मलाई बिर्सेऊ कि चिन्छौ अझै’ भन्दै
बेनामी एस.एम.एसको घण्टी
किन ट्वाङ ट्वाङ्ती ठोक्छौ, बडेमानको घन ?

…………………………………………………

हुँदो हुँ त म एक किमियागर,
त्यो आघाती हृदयका खनिजहरुलाई
पग्रेल्थेँ हुँला सुनौला प्रेमलहरहरुमा
र बन्थे होलान् ती बेनामी एस.एम.एसहरु
प्रेमालयका जीवन्त दलिल करारहरू ।
तर अफ्सोच यो छ कि
बिर्सने हजार दम्भहरुले नै
सम्झनाका झिना तारहरू गाँसी रहन्छन् ।
वेदनाका तडपहरु नकार्दा नकार्दै मीठा लाग्छन् कैयौँ चोटि ।
हृदय छेदन गर्ने ती एस.एम.एसका प्रत्येक आघातहरू
आघाती छन् तथापि प्रिय लाग्छन् सयौँ चोटि ।
त्यसैले त निर्बिकार भनिरहन्छु
किन गर्छौ बेनामी एस.एम.एसका प्रहारहरू घरीघरी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *