बेलडाँगीमा २१० औँ भानु जयन्ती मनाइयो
विश्वभर छरिन पुगेका नेपाली भाषीका भाषिक र सांस्कृतिक एकताका प्रतीक आदि कवि भानुभक्तको २१० औँ जन्म जयन्ती तथा रचना वाचन कार्यक्रम आज बेलडाँगीमा सम्पन्न भएको छ । कार्यक्रम झापाको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा साहित्य परिषद् भुटानको नेपाल च्याप्टरले आयोजना गरेको हो ।
तस्विर श्रोतः आयोजक
परिषद्को नेपाल च्याप्टरका निर्देशक दिल भुटानीले अध्यक्षता गर्नु भएको सो कार्यक्रममा शरणार्थी विभिन्न संघ सस्थाका प्रतिनिधि, कलाकार साथै साहित्यानुरागीहरूको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि शनिश्चरे शिविरका सचिव चम्पासिङ राई र विशेष अतिथि पूर्ण गुरुङले आदिकवि भानुभक्तलाई सम्झन शरणार्थी शिविरमा यस्ता कार्यक्रमहरू भइरहनु पर्ने बताउनु भयो ।
तस्विर श्रोतः आयोजक
तिलक राईले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा नरबहादुर गुरुङ, तुलसीराम अधिकारी र पदमबहादुर मगरले रामायणका अंश वाचन गरेर सुनाउनु भयो । साथै विरेन मगरले आदिकविको संक्षिप्त जीवनी साथै भाषा, साहित्य र संस्कृतिमा उहाँको योगदानको चर्चा गर्नु भयो । यसै गरी कार्यक्रमका विशेष अतिथि याम थुलुङले कविता र गजल सुनाउनु भएको थियो ।
तस्विर श्रोतः आयोजक
कार्यक्रममा रिफ्युजी आइडलका विजेता दावा तामाङ र आइडलकै उत्कृष्ट आठमा पर्न सफल जङ्गबहादुर दर्जीले गायन प्रस्तुति दिनु भयो । यसै गरी रितु वर्देवा, अभिलाल साङपाङ्ग, थिरु घिमिरे’विकल्प’ र केवल क्षेत्रीले कविता सुनाउनु भएको थियो । कार्यक्रममा सञ्चालक तिलक राईले साहित्य परिषद् भुटानका अध्यक्ष गङ्गा लामिटारेको लिखित मन्तव्य पनि वाचन गर्नु भएको छ ।