बेहुली घाम
-तारा पराजुली/नेपाल
अँध्यारोको आदिम जङ्गलबाट
निस्कनै लागेको छ घाम
अब एकै छिनपछि म्याद सकिनेछ सदस्यतापत्रको
काटिने फाइलको एउटा अङ्क
झिकिनेछ सधैँका लागि त्यहाँबाट मेरो नाम ।
बेफुर्सद छ समय यस बेला
उज्यालाको काखमा खोलिरहेछन् घरका अवयव
कौसी, आँगन र बार्दली सिँगारिएका छन्
कागजका नाटकीय लवजले
मौन छन् मैले रोपेका अजम्बरी फूलहरू
फूलका घडासँगै प्रवेश–मार्गमा विराजमान छ डेकोरेटर गेट
अनाम हावासँगै फरफराइरहेको छ रहस्यम ब्यानर
‘लेखिएको छ शुभविवाह–२०५७’
सहरको कुनै डिपार्टमेन्ट स्टोरमा
विज्ञापनका लागि राखिएको जिनिसझैँ
अनावश्यक सिंगारिएका छन् तमाम अवयवहरू
शृङ्गारको सगरमाथाले किचिएकी छु म
आरोग्य अनुष्ठान भइरेको छ मेरा सामु ।
यस अनुष्ठानमा मूर्खहरूले पनि पढाइरहेछन् मलाई
इतिहासै नहुनेले इतिहास घोकाए
घरभित्र चुलाका नित्य गीत सुनाए
घरबाहिरको त्रासदी सुनाए
सियोका टुप्पामा निदाएर
ढुक्कसँग सपना देख्न भने
संस्कारको मैलो मजेत्रो ओढाएर
उद्गारका पृष्ठपृष्ठ घोकाएर
तर्नैपर्ने जीवनको साँघुरी देखाए
मैले ताप्दै गरेको करेसाको शीतल
ममताले जोगाएका गुलाबका पत्रहरू
रहरले छरेका प्रेमका गीत
दुःखले जिलाएको सपनाको बारी
मैले छाडेका मधुर वाणी
सबै सबै बिर्सन विस्मृतिको भूगोल दिए ।
बिदाको बेला मन दह्रो बनाउन सापटी शब्दहरू दिए
हेरेँ बाबुको अनुहार
आँखाबाट बग्दै बग्दै झरेको आँसुको कुलेसो
आमाका अनुहारमा लस्करै हिँडेको देखेँ
हुलका हुल स्नेहका बरियाँत
चिसा हातले आँखाका किनारबाट झरेका बलेँसी पुछ्दै थिए बहिनीहरू ।
यी सबै दृश्यहरू घाँटीमै अड्किएर रोइरहेँ म ।
मेरा ओठबाट
झरेका दुःखका गीत सुनेर
न चराहरू चिरबिराउन छाडे
तालमा खसेका आँसुका थोपाहरूले
न त कुनै तरङ्ग उठाए
फेरिएन पानीको रङ्ग
निर्वासित पैतालाले बालुवामा कुनै पनि सङ्गीत सुनाएनन्
हतारले आफ्नै सुरमा बगिरह्यो लाटो हावा
नजानिँदो गरी हल्लिरहेका थिए पराइ फूलका पातहरू ।
हिँडिरह्यो घाम आफ्नै छाया खेलाउँदै
जव पुगेँ जीवनको दोस्रो बन्दरगाह
छाडियो पा….रि….. कतै सनातन पृथ्वी
छाडियो भर्खरै बनेको एउटा अतीत ।
अब म निर्देशित लवजमा हुनेछु
मलाई केही क्षण सहरीकरण गरेर
आफू निर्वासित भएको छ
भर्खरै एउटा बेहुली घाम ।