भगवान् (भाग २)
आईपी अधिकारी
एड्लेड, अष्ट्रेलिया
रमन गर फर्कदा झमक्क साँझ ढल्केको थियो । चराहरु वचेरालाई चारो लिएर वाशस्थानतिर लाग्दै थिए । घर सुनसान थियो । घरका आमा बाहेक सबै काममा गएछन् । आमा बेलुकाको खानाको तयारीमा लागेकि थिइन् । बाबु पहिल्यै बितेका, आमाले नै दु:ख ज्यालो गरेर सबै केटाकेटी हुर्काकी हुन् । पाको उमेरमा पनि छोराछोरी कामबाट भोकाएर आउलान भनेर खाना बनाएर राखिदिन्छिन् सधैँ ।
रमन आमाको छेवैमा बस्यो र केही बेर तरकारी काट्न सघायो ।
‘खाना म बनाउँछु, गएर बारीमा पानी हाल,’ आमाले भनिन् ।
केही नबोली रमन जुरुक्क उठेर बारीमा पानी हाल्न गयो । भाडामा लिएको थोरै करेसाबारी भएको घर भए पनि, यो परिवारले त्यस ठाउँलाई निकै राम्ररी सदुपयोग गरेको छ । अलिकति करेसाबारीमा निकै मेहनत गरेर लगाएका तरकारी खानलाई ठीक्क छन् । परिवारको अधिकांश छाक यही करेसाबारीले धानेको छ ।
‘कुकुकुकु कुकुकुकु कोइली करायो । सोर्ह वर्षे जोबनले मनै उडायो,’ रमन गीत गुनगुनाउँदै बारीमा पानी हाल्न थाल्यो । एउटा निकै ठुलो युवायुवतीको समूह उसलाई खोज्दै भित्र पसे ।
‘रमन दाज्यु, नमस्ते,’ प्रेमाले मान्छे देख्ने बित्तिकै परैबाट कराई ।
‘नमस्ते हजुर । पुरै ग्याङ बाधेर छ नि आज । मैले केही विगार गरेको छु र भन्या,’ रमनले ठट्यौली गर्दै भन्यो ।
‘अँ आज तपाईँको ढाड नसेकि भ’को छैन,’ कैलाशले उस्तै जवाफ दियो ।
सामाजिक काममा चासो राख्ने युवाहरूको एउटा समूह हो यो । उनीहरूले समूहलाई ‘पोजिटिभ’ नाम दिएका छन् । समाजमा सकरात्मक परिवर्तनका लागि काम गर्ने उनीहरूको धेय हो, उद्देश्य हो । छरछिमेकमा आईपर्ने साना-मसिना समस्याहरुलाई सुल्झाउँन सहयोग गर्नु उनीहरूको अहिलोको मूल कार्य हो । रमनले नै उनीहरूलाई यस्तो सकरात्मक कामका लागि प्रेरित गरेको हो, बाटो देखाउँने काम गरेको हो । उनीहरूको हरेक काममा सहयोग पुर्याउनु रमन आफ्नो कर्तव्य ठान्छ । आजका युवाले कलिलै उमेरदेखि समाजको विकास र समृद्धिका लागि काम गरे भने कालान्तरमा त्यसले समाज र ती युवाहरूको उज्ज्वल भविष्को परिकल्पना साकार पार्न सकिन्छ भन्ने ठान्छ रमन ।
पोजिटिभ समूह अहिले एउटा खेल प्रतियोगिता आयोजना गर्न जुटेको छ । युवापुस्तालाई खेलकुदमा व्यास्त गराउन पाए उनीहरूले फुर्सदको समयमा गर्ने असामाजिक काममा कमी आउँछ भन्ने उनीहरूलाई लागेको छ ।
‘कार्यक्रम सानो गरे पनि ठुलो गरे पनि, आखिर सल्लाह माग्न त तपाईकैमा आउनु पर्छ । कार्यक्रम कसरी गर्ने र कार्यक्रमका लागि आवश्यक खर्चको व्यवस्था कसरी मिलाउनु भनेर हामी तपाईबाहेक अरू कसलाई पत्याऊँ,’ पुष्करले समूहमै भेट्न आउनुको कारण खोल्यो ।
‘कस्तो के गर्न लागेको हो,’ रमनले सोध्यो ।
‘खेलकुद प्रतियोगिता आयोजना गर्ने सुर कसेको । युवा साथीहरूको फुर्सदको समयलाई सदुपयोग गरौँ भन्ने मनसाय हो,’ प्रेमाले थपी ।
‘मैले के गरिदिनु पर्यो त?,’ रमनले मन चोर्यो ।
‘कहाँ गर्ने, कसरी गर्ने, खर्च कसरी जुटाउने, खेल व्यावस्थापन कसरी गर्ने, सबै कुरामा हामीलाई सहयोग गर्नु पर्यो अब । तपाईँले नगरे अरू कसले गर्छ?‘ कैलाशले रमनलाई आफै संलग्न भइदिन सङ्केत गर्यो ।
प्रतियोगिता आयोजना गर्ने बारे निकै बेर छलफल गर्यो रमनले पोजिटिभका सदस्यहरू सित । तयारीका लागि गर्नु पर्ने कार्यक्रमको सूची नै बन्यो । प्रतियोगिताको संयोजन कैलाशले गर्ने निर्णय भयो भने सबै काममा सहयोग पुर्याउने वचन दियो रमनले ।
खेलाडीहरुको सहभागिता सुनिश्चित गर्ने, कार्यक्रम स्थल खोज्ने र बुकिङ गर्ने अनि खर्च जुटाउने जिम्मा कैलाश र रमन संयुक्त रूपमा लिए ।
करिब तीन घण्टाको छलफल पछि सबै घर लागे । निकै अबेर राती भैसकेको थियो। केही पछि जाने भन्दै कैलाश भने बस्यो । सबै गए पछि कैलाशले रमनलाई भन्यो, ‘दाज्यु, अरू सबै गफ गर्ने मात्र हुन् । लागी परेर काम गर्ने कोही छैन । कार्यक्रम गर्ने निधो गरे पछि यसको सबै काम तपाईँ र मेरो टाउकोमा आउँछ । तपाईँले गरिदिनु भएन भने हाम्रो त नाकै जान्छ ।‘
रमनले कुनै चिन्ता नलिन र सबै काम तालिका अनुसार राम्रो हुने आश्वासन दिएर कैलाशलाई घर पठायो ।
***************
प्रेमा, रमा र शरण अध्यारोमा गफ गर्दै घर लागे । गफको धुनमा निस्केको तिनीहरूको निकै कडा आवाजले अध्यारोलाई चिर्दै बाटो वरीपरीका घरमा पुग्थ्यो । प्रेमा बाहिरी रूपमा काम फत्ते गर्न मात्र रमनलाई प्रयोग गर्नु पर्छ भन्थी । श्रेय भने आफूले लिनु पर्छ भन्थी ।
‘हामी आफै गर्न सक्दैनौ र हरेक पटक केही कार्यक्रम गर्नु पर्यो भने रमनकोमा जानु पर्छ? रमन बाहेक अरू कोही छैन हामीले सोध्ने,‘ प्रेमाले भनी ।
रमाले त्यसमा सही थपी, ‘मलाई पनि मन पर्दैन घरी घरी बिन्ती विसाउन रमनकोमा ग‘को । मैले त भनेको कैलाशलाई नजौं भनेर ।‘
शरण केही बोलेन । सुनी मात्र रह्यो । उनीहरूको विरोध गरौँ, आफ्नै साथीहरूको कुरा कसरी नकारौं, सही थपौ त रमन जस्तो सहयोगी मान्छे विरुद्ध बोल्नु उचित हैन । कैलाश निकै ठुलो द्वीविधामा पर्यो ।
‘कस्तो लाग्छ शरण तिमीलाई,‘ प्रेमाको प्रश्नले कैलाशको द्वीविधामा अन्योलता थप्यो ।
‘नो कमेन्ट,‘ शरणले त्यत्ति मात्र बोल्न सक्यो ।
रमनको भक्त होला अनि हाम्रो कुरालाई किन ओके भन्थ्यो त,‘ रमाले व्याङ्ग्य कसी ।
‘आफू भन्दा सिनियरबाट कुनै कामका लागि सहयोग लिने कुनै अनुचित काम हुँदै हैन । जसले बढी सहयोग गर्छ, दत्त चित्त भएर कार्यक्रम फत्ते गर्न सहयोग गर्छ, जो सँग विविध विषयमा ज्ञान छ उसैसित सहयोग माग्ने हो । रमन बाहेक अरू त्यस्तो कोही छ भने त्यहाँ पनि जौं,‘ शरणले बोल्नै पर्ने बाध्यता देख्यो । उसले कसैको विरोध वा समर्थन गर्नु पर्ने आवश्यकता ठानेन ।
‘उमेरले सिनियर हुँदैमा सबै थोक जान्ने हुन्छ र? सिनियरले गर्नु पर्ने व्यावहार पनि त हुन पर्यो नि । हामी चैँ ऊ भन्दा केमा कम छौँ?‘ प्रेमाले रिस पोखी ।
‘मैले चैँ अहिले सम्म रमन दाज्युले कुनै नराम्रो काम गरेको वा कसैको कुभलो गरेको सुनेको वा देखेको छैन ।‘
‘संसारमा म जति जान्ने कोही छैन जस्तो गर्छ । हामी पनि त केही जान्दछौं होला नि । हामीलाई त्यसले कहिल्यै गन्ती लगाएको छ?‘
शरणले रमन प्रति देखाएको सकरात्मक सोचलाई लिएर तीन जनाविच निकैबेर ठाकठूक पर्यो । भनाभन भयो । रमा र प्रेमा कुनै पनि प्रकारको सहयोग लिन रमनकोमा नजाने भन्न थाले । शरणले त्यसमा कुनै आपत्ति प्रकट गरेन ।
‘त्यो तिमीहरुको विचार हो । म यसो गर वा उसो गर भन्न सक्दिन। तिमेरको विचारमा जे गर्न उचित लाग्छ, त्यो गर्ने तिमीहरुको अधिकार छ । स्वतन्त्रता छ ।‘
*****************
भोलिपल्ट कैलाश बजार जादै गर्दा किरणसित भेट भयो । किरण परिवारै लिएर बजार भर्न ग‘को रहेछ ।
‘किरण दाज्यु, हामीले एउटा खेलकुद कार्यकम गर्न लागेको छौँ । तपाईँले पनि सहयोग गर्नु पर्यो नि ।‘
‘मैले सकेको सहयोग म गरिहाल्छु नि । तर कस्तो कार्यक्रम गर्ने, कहिले गर्ने कसरी खर्च जुटाउने?‘
‘खर्च जसरी पनि जुटाईदिन्छु भनेर रमन दाज्युले वचन दिइसक्नु भ‘को छ,‘ कैलाशले अघिल्लो दिन रमन सित तयारी बारे भएको छलफल र गरिएको निर्णय बारे विस्तारमा किरणलाई जानकारी दियो ।
कैलाशसित छुट्टिएपछि श्रीमतीले किरणलाई रमन बारे सोधिन । घरबाहिर त्यत्ति नजाने किरणकी श्रीमतीलाई रमनबारे खासै जानकारी छैन ।
‘बुढा निकै जान्ने हुन् । हरेक क्षेत्रमा बुढा अगाडी छन् । समाजका हरेक कार्यक्रममा उनी पुग्छन नै । उनी नपुगेको कार्यक्रममा के पुगेन जस्तो हुन्छ । तर बुढा अलि घमण्डी छन् जस्तो लाग्छ मलाई । अर्को दुर्गुण भनेको बुढा अलि आरिसे छन्,‘ किरणले श्रीमतीलाई रमनबारे विस्तार लगायो ।
‘जान्ने र सफल मानिसहरू सबैका लागि घमण्डी जस्तो लाग्छन् । म त्यसलाई घमण्ड भन्दिन । त्यो उनीहरूको कामप्रतिको निष्ठा हो । उनीहरूको विश्वास हो । अरूले जसो भन्यो उसै गर्ने मानिस कहाँ सफल भएको उदाहरण छ र,‘ किरण श्रीमतीका कुरा सुनेर अलमल्ल पर्यो ।
‘सक्षम मानिसहरू सिधा कुरा गर्छन् । खस्रा कुरा गर्छन् । मेरो बोलीले कसैलाई पिर्छ कि भन्ने डर नै हुन्न किनभने कुनै काम गर्न उनीहरू कसैको भर पर्नै पर्दैन । असक्षमहरु गुलिया कुरा गर्छन् किनकि आफ्नो काम बनाउन उनीहरूलाई अरूको सहारा लिनु पर्छ । मिठा र गुलिया कुरा नगरे सहयोग गर्ने कोही हुन्न भन्ने डर हुन्छ उनीहरूमा,‘ किरणकी श्रीमतीले निकै दमदार भाषण गरी श्रीमानका अघि ।
‘अँ होला । सबै आफ्ना आफन्त बोलीकै कारण टाढिन थालेपछि सफलताले के नाप्छ? अनि सफलता भनेको धेरैको समर्थन प्राप्त गर्नु, सबैले गुनगान गाउनु हैन र?‘ किरणले श्रीमतीलाई च्याँखे थाप्यो ।
‘धेरैको समर्थन खोज्नु वा गुनगानको आस गर्नु राजनीतिमा मात्र हुन्छ, अरूतिर त्यति आवश्यक छैन । लगाव, कर्तब्यनिष्ठा र आत्माविश्वास मुख्य हुन । भानु भक्त र लक्ष्मी प्रसाद पनि त्यो बेला कम घमण्डी थिए र।‘
‘भगवानले पनि भनेका छन् नि, सत्य मिठो हुँदैन । मेहनत मिठो हुँदैन । तर तिनले दिने फल मात्र मिठो हुन्छ । हामी सक्षम र सफल व्यक्तिका व्यक्तिगत व्यवहार मन पराउँदैनौ तर तिनको सफलताको कथाले हामीलाई प्रेरणा प्रदान गर्छ ।”
(यो कथा कथाकार अधिकारीको मार्च १३ मा प्रकाशित कथा भगवान् (भाग १) को दोस्रो भाग हो। भगवान् (भाग १) यहाँ पढ्नुहोस्। – सम्पादक )
क्रमश:……………….