भाग्यको खोजी
गङ्गा लामिटारे
ओहायो, अमेरिका
म १२ पुगेर १३ वर्षमा मात्र प्रवेश गरेको थिएँ । स्कूलको औपचारिक शिक्षा छाडेर वेद-रुद्री र कर्मकाण्डको पठन-पाठनतिर प्रोत्साहित भएको थिएँ । फेरि मलाई जोङ्खा र गणित विषय भनेपछि काँडा उम्रेर आउँथ्यो । जोङ्खा र गणितको शिक्षक भने पछि मेरा लागि यमराज जस्तै लाग्थ्यिो । गणित र जोङ्खा लोपेनको बार बारको कुटाइ र आतङ्कले स्कूल नै यमपुरी झैँ लाग्थ्यो । स्कूलनै जान नपरे हुन्थ्यो जस्तो भइरहेको थियो मनमा पनि । कता कता नरमाइलो र नमिठो लागिरहेको बेला घरमै गुरु राखेर कर्मकाण्ड पढाउने भन्ने हल्ला सुने । खुसी पनि लाग्यो । मनमनै यो हल्ला वास्तविक होस् भनेर भगवानसँग प्रार्थना पनि गरेँ । स्कूलबाट निकालेर हामीलाई संस्कृत पढाउने भन्ने घटनाको पृष्ठभूमि पछि मात्र थाह भयो । २ महिना अघिको कुरा थियो । एकदिन मालदिदीलाई माग्न घरमा कन्यार्थु आएका थिए । दिदीलाई माग्ने केटो चाहिँ आसामबाट आएको अरे । उनीसँग अरू दुइजना मानिस पनि आएका थिए । विवाहको अन्तिम निर्णय गर्नु पर्ने भएकाले बाबाले मावलका हजुरबा टिकाराम ढकाल र भट्टराई पुरोहितलाई पनि बोलाउनु भएको रहेछ । बेलुकाको गाईबस्तुको घाँस पानी सकेर घरमा आउँदा सिकुवामा धेरै मानिसहरू जम्मा भएका थिए । घरमा अभूतपूर्व वातावरण थियो । दिदी पनि डराइ रहनु भएको थियो । कसैसँग पनि बोल्नु भएको थिएन । आमा भने पाहुनाहरूका लागि भोजन बनाउन चुह्लामा व्यस्त हुनुहुन्थ्यो । स्कूलमा अर्धवार्षिक परीक्षा भइरहेकाले दाजु र म उत्तरहरू रटिरहेका थियौँ । सिकुवाका दुईपट्टी ठूल्ठूला खाटहरू थिए । दुवै खाटमा राडी बिछ्याएका थिए । एउटा खाटमा कन्यार्थुहरू बसेका थिए भने अर्कोमा मावलका हजुरबा,भट्टराई पुरोहित, ज्योतिषी दधिराम बज्गाइं र बाबा बस्नुभएको थियो । दुइटा खाटको बीचभागको खालि भुइँमा बिछ्याएको गुन्द्रीमा बसेर दाजु र म कुरा सुन्दै पढिरहेका थियौँ । प्रश्न सोध्ने र उत्तर भन्ने क्रम चलिरहेको थियो । दाजुले एग भनेको के हो ? भनेर सोध्नु भयो । मैले कुखुराको फुल भनेर जवाब दिएँ । अङ्ग्रेजीमा एगको हिज्जे के हुन्छ ? भनेर दोस्रो प्रश्न सोध्नु भयो । मैले एगको अङ्ग्रेजीमा हिज्जे गर्न जानिन । दाजुले नै हिज्जे गर्न सिकाइदिनु भयो । इ जी जी एक हो । एग भनेको अण्डा हो भनेर जोड्जोडले रट्न थालेँ । मैले रटेको हजुरबाले सुन्नु भएछ । उच्च स्वरमा गर्जँदै भन्नुभयो “ज्वाइँ नारायण, पुरोहितका छोराहरूको मुखबाट के सुन्दै छु ? वेद पढ्ने मुखबाट कुखुराको फुल ! राम राम ! लु भएन ! पुरेतका छोराहरूले यस्तो पढेपछि धर्म सकिगो नि हजुर ! यो गाई खाने विद्या हो । अब गाई खाने भाषा होइन आफ्नै संस्कार र संस्कृति सिकाउने विद्या पढाउने प्रयत्न गर्नुहोस् । र मात्र समाजको कल्याण हुनसक्छ । भोलि देखिनै स्कूलबाट निकालेर संस्कृत पाठशाला पठाउनुहोस्” । हजुरबाको खरो उपदेश सुनेर बाबाले भन्नु भयो, “म पनि त्यही विचार गर्दैछु ।
अर्को हप्तादेखि वेद-रुद्री र कर्मकाण्ड पढाउनका लागि एक जना गुरुजीलाई पनि घरमै बोलाएको छु ।” बाबाको कुरा सुनेर हजुरबाले उत्साहित हुँदै भन्नुभयो, ” कपाल काटेर नुहाइ-धुवाइ गराएर मात्र नानीहरूलाई बेदारम्भ गर्नुहोला ।” बाबाले पनि ‘हुन्छ त्यसै गर्छु’ भनेर स्वीकृति जनाउनु भयो । बाबाले हामीलाई “भोलिदेखि स्कूल जानुपर्दैन । अब गएर सुत” भन्नुभयो । हामी पनि खुसीले गद्गद भयौँ । संस्कृत पढ्न पाइयो भनेर होइन,अब लोपेन र गणित शिक्षकको प्रताडनाबाट बचियो भनेर खुसीको सीमा नै रहेन । फुरूङ हुँदै गएर भक्ल्याक भुक्लुक्क सुतियौँ । केही दिनपछि घरमा गुरु पनि आए । गीताबाट हाम्रो पढाइ प्रारम्भ भयो । अक्षर चिने पनि शब्दको स्पष्ट उच्चारण गर्न भने मलाई आउँदैन थियो । म भन्दा दुई कक्षामाथि भएकाले दाजुले नेपाली लेख्न र पढ्न केही कठिनाइको सामना गर्नुपरेन । दाजु वेद पढ्ने समूहमा पर्नु भो । म गीता पढ्ने समूहमा । गुरुले आज दिएको पाठ भोलि मुखस्त सुनाउनु पर्थ्यो । पुस्तक नहेरी । गणित र जोङ्खाभन्दा गीता पढ्न धेरै सजिलो । कुटाइको पनि किञ्चित डर थिएन । लेख्नु पनि नपर्ने । परीक्षा पनि दिनु नपर्ने । कति सजिलो र उत्साह वर्धक भयो मलाई । स्कूलको जस्तो पास फेल र श्रेणीहरूको शृङ्खला नै न त्यहाँ थियो । न फेल भएर रूदै घरमा जानु पर्थ्यो । न शिक्षकले कुटेका निलडाम र दागहरूमा आमाले मलमपट्टि नै गर्नुपर्थ्यो । यहाँ त कण्ठस्थ गरेर घोकेकै आधारमा गीता र वेदका कक्षाहरू पार गर्दै कर्मकाण्डसम्म पुगिन्थ्यो । सबै विद्यार्थीको एउटै लक्ष्य र सपना हुन्थ्यो । कसले पहिला श्राद्ध र न्वारन गराउन जान्ने ! घरको आर्थिक समस्या टार्न त्यति लामो समय पनि नलाग्ने । सबैले सम्मान र इज्जत पनि गर्ने । कति राम्रो हाम्रो कर्मरकाण्ड पद्धति भनेर खुशी लाग्यो !
त्यति बेला भूटानमा कक्षा ८ उत्तीर्ण गर्नेहरूले पुलिस र वनविभागमा मरेर जागिर पाउँथिए । त्यसमा पनि कठोर प्रशिक्षण र तालिमहरूका फलामेबारहरू पार गर्नुपर्थ्यो । चुनौती नै चुनौती । स्कूले शिक्षा परिपाटी भन्दा कर्मकाण्ड पद्धति धेरै उपयोगी रहेछ भन्ने लाग्यो । गीता प्रारम्भ गरेकै ३ महिनामा म वेदको अध्ययनका लागि योग्य भएको गुरुले बताउनु भयो । एक पछि अर्को उत्साह र हौसला थपिँदै गयो । वेदका ऋचाहरूका साथसाथै गुरुजीले श्राद्ध र न्वारान गराउने विधि र प्रक्रिया पनि सिकाउँदै लानुभयो । श्रद्धा,न्वारान र अन्य कर्मकाण्डको व्यावहारिक प्रशिक्षणका लागि जजमानका घरैमा लानुहुन्थ्यो गुरुजीले । यसरी केही महिनाको प्रशिक्षणपछि एकलै कर्मकाण्ड गर्ने सिप र क्षमता ममा बढ्दै गयो । दान र दक्षिणाबाट आय आर्जनमा निकै सहयोग पुग्दै गयो एकातिर भने अर्को तिर चामल, फलफूलका साथै प्रसादीस्वरूप जजमानले दिएका मिष्ठान्न र खाद्य पदार्थहरूले घरायसी अभावहरू टार्दै लग्यो । स्कूल जाने साथीहरू भन्दा आफू धेरै माथि पुगे झैँ लाग्थ्यो मलाई । जस्तै जेहेन्दारलाई पनि स्कूलमा एउटा कक्षाबाट अर्को कक्षामा पुग्न एक वर्ष कुर्नै पर्ने । एक रुपियाँका लागि आमा बाबुसँग हात पसार्नु पर्ने । कहिलेदेखि कमाउन थाल्ने हो त्यसको कुनै ग्यारेन्टी पनि थिएन । लगातार उत्तीर्ण हुने विद्यार्थीहरूले १७ वा १८ वर्षको उमेरमा मात्र कक्षा ८ उत्तीर्ण गर्न सफल हुन्थे । कर्मकाण्डमा लाग्नेहरूका लागि त्यो बाध्यता थिएन । उनीहरू ६ महिनामै नाम र दाम दुवै कमाउन सफल ठहरिन्थे । म पनि कर्मकाण्डी शिक्षाप्रति धेरै उत्साहित र अभिप्रेरित हुँदै गएँ । जे होस स्कूल छोडेकोमा मलाई कुनै विषमता र पश्चात्ताप थिएन । ग्लानि र अपसोच पनि भएन ।
– – – — – – — – – – — – – — – – — – – – — – – – — – – – – –
एक वर्षमै म र दाजु एउटा कुशल कर्मकाण्डी भएर समाजमा उदायौँ । बाबुका धेरै जजमान । बाबालाई भ्याइ नभ्याइ हुन्थ्यो । एकलै नभ्याए पछि बाबाले अन्य गाउँहरूबाट पुरोहित बोलाउनु पर्थ्यो । अब हामी पनि तयार भएर निस्किएपछि बाबाको पुरोहित खोज्ने समस्या हल भयो । मरु मराउको कार्यबाहेक म अन्य सामान्य तिथि, श्राद्ध, न्वारान,पूर्णिमा, एकादशी र सत्यनारायणको पूजा गर्न सक्षम हुँदै गएको थिएँ । दाइको र मेरो यस कर्मकाण्डी सफलतासँगै नाम र यश पनि चुलिँदै र फैलिँदै गयो । मानिसबाट प्रशंसा र शुभेच्छाहरू बर्सिन थाले । सानै उमेरमा ठूलो जिम्मेवारी समालेको हल्ला र चर्चा चारैतिर फैलियो । बाबालाई छोराको विवाह गर्न भनेर कुटुम्बहरूले दबाब ढाल्न थाले । सानै छन् अहिले विवाह नगर्ने भनेर टार्नुहुन्थ्यिो । तर दिनौ जसो दबाब आउन थालेपछि बाबाले पनि आनाकानी गर्न सक्नु भएन । म भरखर १४ वर्ष दुइ महिनामा हिँड्दै थिएँ। दाजु मभन्दा ३ वर्ष जेठो हुन्थ्यिो। दाइको विवाह गर्ने समय बितिसक्यो भनेर चर्चा गर्थे मानिसहरू । तर मेरो चाहिँ विवाह गर्ने ठिक उमेर हो भनेर हौस्याइरहन्थे गाउँलेहरू । पुरोहितका छोराहरूको धूमधामका साथ विवाह गर्नुपर्छ भनेर मुख्तियर, मण्डल र गाउँका ठालुहरू बाबालाई उक्सावट गर्थे ! विवाहको मिति मात्र निकाल्नुहोस् अन्य कामका लागि हामी छदैछौं नि ! के के गर्नुपर्छ ! डराउनु पर्दैन ! छाती ठूलो पार्नु होस र मुठी खुलाउनु होस भनेर हौस्याउँथे ! एउटै खर्चमा दुवैको बिहे हुने भयो । एउटै लगनमा दुवैको विवाह हुने लगभग निश्चित नै भयो । हरेक बाबुको एउटा सपना हुन्छ । छोरा पढाउने र असल बुहारी भित्र्याउने । त्यस बेला छोराको पढाइलाई भन्दा पनि बढी बिहेलाई महत्त्व दिने प्रचलन थियो । त्यही चलन र प्रथालाई नै आफ्नो दायित्व र कर्तव्य ठान्थे अभिभावकहरू । त्यही समसामयिक प्रचलन र सामाजिक उक्साहटले हाम्रो विवाह सम्पन्न गरायो । दाइको १८ वर्ष र मेरो १४ वर्षको उमेरमा बिहे भइसकेको थियो । १६ वर्षकी मस्त जवानी केटीसँग म वैवाहिक बन्धनमा बाँधिइसकेको थिएँ । यसरी किशोर अवस्थामै म एक साँच्चो गृहस्थी किसान भइसकेको थिएँ । आफूभन्दा दुई वर्ष जेठी केटीलाई के भनेर सम्बोधन गर्ने ? नाम भन्ने चलनै थिएन त्यति बेला । बुढी, श्रीमती स्वास्नी यी कुनै पनि शब्दको प्रयोग गर्न मलाई लाज र सरमले भुतुक्कै पार्थ्यो । झुकिएर एक दिन त दिदी भनेछु, सबैले उल्याएर मर्नु न बाँच्नु बनाए । मलाई राती एकलै सुत्न सारै ढरलाग्थ्यो । त्यसैले म कहिले दाजु र कहिले दिदीसँग सुत्ने गर्थेँ । एक वर्षपछि मैतालु ल्याइयो । अब मैतालुसँगै सुत्नुपर्ने भयो, मैले । उनी घरको काम धन्दा सकेर कोठामा पस्ता म मस्त निदाइरहेको हुन्थेँ । र बिहान बिम्झदा उनी उठेर कोठा बाहिर गइसकेकी हुन्थिन् । म सुत्दा पनि एकलै र उठ्दा पनि एकलै हुन्थेँ । यसरी नै एक अर्कामा नबोली हाम्रो वैवाहिक जीवनका ३ वसन्त थाहै नपाई बितेछन् ।
– – — – – – – — – – – — – – — – – — – – — – – — – – – —
चिराङभन्दा बाहिर पनि अर्को संसार छ भन्ने मलाई कुनै हेक्का थिएन त्यति बेलासम्म । मेरा लागि चिराङ मात्र एउटा संसार थियो । त्यो भन्दा बाहिर अरू केही छ जस्तो लाग्दैन थियो । म आफ्नै पनमा रमिरहेको थिएँ । शिक्षा र चेतनाको अभावमा त्यही वातावरणलाई जीवनको अकाट्य सत्य ठानिरहेको थिएँ । जति बेला पहिला सँगै पढेका साथीहरू हाइ स्कूल सकेर छुट्टीमा घरमा आउन थाले । कोही दार्जिलिङ कालिम्पोङ पढेर छुट्टी मनाउन घरमा आउन थाले । कक्षा ७ पढेर आर्मी-पुलिसको ट्रेनिङमा गएका साथीहरू छुट्टीमा घरमा आउन थाले । अनि मात्र म निद्राबाट बिम्झेझैं भएँ । बिम्झन त बिम्झें । तर धेरै ढिलो । समयले कति लामू फड्को मारिसकेछ । त्यो मलाई पत्तै भएन । त्यति बेला म १८ वर्षे युवकका रूपमा उदयमान हुँदै थिएँ । जुन जीवनलाई असल र उपयोगी ठानेर त्यसैमा लागिरहेको थिएँ । ठिक र बेठिक छुट्याउन नसक्ने जीवनको तन्द्रामा अलमलिएको रहेछु । जुन अवस्थालाई म उत्तम र सर्वोपरि ठानिरहेको थिएँ । वास्तवमा त्यो एउटा भ्रम मात्र रहेछ । त्यो त एउटा दलदल रहेछ । त्यसमा फँसेपछि निस्कन हम्मे पर्दो रहेछ । उठ्नै नसक्ने गरी परिस्थिले मलाई पछारी सकेछ । सुनौलो भविष्य निर्माण गर्ने समय आत्मरतीमै गुमेछ । तर पनि स्कूल छोडेको पछुतो भएन । जीवनलाई सहज, उन्तशील र वैज्ञानिक बनाउन स्कुले शिक्षा मात्र सबै थोक होइन । संस्कृत पढेर भएपनि जीवनलाई सहज योग्य र आधुनिक बाउन सकिन्छ, भन्ने लाग्यो । अब आफ्नू भाग्य आफैँ खोज्नुपर्छ । असल जीवन जीउँने सपना पनि आफैँले पुरा गर्नुपर्छ भन्ने लाग्यो । परिस्थितिले मलाई संस्कृत अध्ययनतर्फ अभिप्रेरित गर्दै लग्यो । त्यही अभिप्रेरणाले १८ वर्षकै उमेरमा मलाई घर छोड्न विवश बनायो । र त्यही विवशताले मलाई पुनः भाग्य खोज्न संसारकै ठूलो शैक्षिक नगरी काशी प्रस्थानका लागि बाध्य बनायो ।