भानु, आऊ फेरि
तेजमान रायका-जर्मनी
भानु, आज तिम्रो जन्मजयन्तीले
मेरो खोसिएको देश सम्झायो
लुटिएको गाँस सम्झायो
खाटा बस्न लागेको घाउ
फेरि बल्झाई दियो
शायद फाटो परिसकेका मनहरू
अब एक बनाउनलाई होला
दुखेको मनमा अझ प्रसवपीडा थपिदियो ।
तर भानु; तिम्रो जन्मजयन्तीमा
श्रध्दासुमन अर्पण गर्दै
म विन्ति गर्दछु-
त्यो स्वर्गबाट झरेर
एक जुनीको लागि आऊ फेरि एकपटक
यो मर्तेलोकमा
भानु, जन्मेर फेरि आऊ त्यो रम्घाचुँदी गाउँमा ।
हजारौ रावणहरू
हाम्रो सभ्यताको विरोधमा धावा बोल्दैछन्
हाम्रो मान्यताको विरोधमा डुक्रँदैछन्
त्यसैले हामीलाई एक युगपुरुष चाहिएको छ,
एक वीर पुरुष चाहिएको छ
भानु, लेखी देऊ फेरि अर्को रामायण
खडा गरी देऊ फेरि हाम्रासामू एउटा रोल मोडल
म सम्झीरहेछु
भानु, आज तिम्रो जन्मजयन्तीमा
राजकीय उर्दी भएर
मेरो विद्यालयको परिसरमा
मेरा यी आँखाका सामू
नेपाली पाठ्यपुस्तक जलाइएको सम्झीरहेछु
साँच्चै म मेरो खोसिएको देश सम्झीरहेछु
हो, म त्यही देश सम्झीरहेछु
जहाँ राष्ट्रीय कूल खुशीयालीको मापन हुन्छ
एक राष्ट्र एक जाती नामको नीतिअन्तर्गत
आफ्नै मातृभाषा पढ्न पाइँदैन
र त्यहाँ, त्यस्तो पुस्ताको तयारी हुँदैछ
जो आफ्नै भाषा बिर्सँदैछ
यो क्षण म साँच्चै भावुक भएको छु-
साँच्चै सम्झीरहेछु
नाबालक छँदै अनुहारमा लागेको बादल,
राज्यबाट देशद्रोही घोषित भएर
देशबाट लखेटिइनेहरूको लाममा
प्रशासकको बन्दुक र गोलीदिख त्रसित त्रसित हुँदै
जङ्गल र खोला किनारको बाटो भएर
मातृभूमिको सिमाना पार गर्दै
शरणार्थी भएको क्षण सम्झीरहेछु
भोकै-प्यासै बस्न वाध्य भएको दिन सम्झीरहेछु ।
त्यसैले आज म भावुक भएको छु, भानु
यो केवल तिम्रो सम्झनामा लेखिएको पोट्रेट कविता होइन भानु
यो कुनै अमूर्त गद्य पनि होइन-
तर भानु, हामीलाई एउटा युगपुरूष चाहिएको छ
हामीलाई एउटा वीरपुरूष चाहिएको छ-
त्यो स्वर्गबाट झरेर
एक जुनीको लागि आई देऊ फेरि यो मर्तेलोकमा
भानु, जन्मेर फेरि आऊ त्यो रम्घाचुँदी गाउँमा
लेखि देऊ फेरि अर्को रामायण-
कलियुगका रावणहरूको विरुद्धको लडाइँ त हामी आफैँ लड्ने छौँ
हाम्रो अटल विश्वास हो,
सत्यकै पक्षमा विजय प्राप्त हुनेछ
यो लडाईँ हामी जितेरै छोड्ने छौँ-
तर एक जुनीको लागि आई देऊ फेरि यो मर्तेलोकमा
भानु, जन्मेर फेरि आऊ त्यो रम्घाचुँदी गाउँमा !