भाषाका खुट्किलाहरू

कवि
कवि

डा. लक्ष्मिनारायण ढकाल
केन्टकी, अमेरिका

भावना  व्यक्त  गर्दामा  जो  वाणी  ध्वनि बन्दछ
त्यो भाषा  भनि  जानिन्छचेतना  जसले  भर्दछ,
पहिलो हो बोलिनु भाषा, लेख्दा दोश्रो उ बन्दछ
यी हुन दुइरुप भाषाका, विद्वत्  जग यो  भन्दछ।

आफ्नो   रगतमा  मिल्ने  पिता  पूर्खा  प्रदत्त  जो
आमाले  बोलेको बोली  मातृ – भाषा  यही त हो,
प्यारो  छ, जसरी  आमा हुन्छिन् प्यारीत्यसै गरी
“ जननी      जन्मभूमिश्च     स्वर्गादपि   गरियसी ”।

भाषा, संस्कारजातिमा  भयो   लूटपाट देशमा
जहाँ  जसरी  बस्दैछौं    स्वदेश   या    विदेशमा
भाषा   हराउनु   हुन्न,   जाति  बाँच्दैन  यो  विना
भाषामै    बाँच्दछ   सत्व  ‘सारा   उदय   उन्नति’।

भाषा    सिकाउँन   पूर्व    भाषामै    बोल्नुपर्दछ
हामीले   बोलेको  बोली  सुन्दछन्  शिशुले जब
सुनेर  आजको भाषा, भोली पर्सी ती बोल्दछन्
थिरी, ताते, नानि  हाम्म, चाचा, पापा  भनिकन। 

घरका    बाबा  –  आमाले  जागरुक   हुनुपर्दछ
भाषा   सिकाउँन    भन्दै    सदैव     बोल्नुपर्दछ,
मातृभाषा   छोडी  अर्कै   बोलीमा  नबोलौं  अब
घरभित्र    हुँदा  हामी   भाषा  –  ब्रत   धरौं   सब ! ।

भाषा   भवनमा   पुग्न    खुड्किला   चढ्नुपर्दछ
एकपछि   अर्को   पाईलोमा   चढेर  जानु पर्दछ
क्रमभंग     गरे    माथी    पुगिन्न    तल    झर्दछौं
क्रमले    गरेको   कर्म   फलदायी   त्यो   बन्दछ।

पहिलो   सोपान  भाषाको  बोली  सुन्नु  सुनाउनु
जसले  दिन्छ  संस्कार  ग्रहण  गर्ने  ती  शब्दको
बाल्य  मस्तिष्क  हो  शुद्ध सेतो पाटी त्यो निर्मल
जस्तो  लेखिदियो   त्यस्तै   रेखा  बन्दछ  झर्रझर।

भाषाको    बीज     राखेर    अंकुरित    बनाउनु
रोपिदिनु  तुलसी   झैँ    कलिलो   मोठमा  त्यहाँ
हावा, प्रकाश, जल-मलको हेर-बिचार पुर्याउनु
परिवारको  यो   धर्म  हो, मातृ   भाषा  बचाउनु।

भाषाको   दोश्रो  खुड्किलो   सुनेपछि  बोलाउनु
बोल्न     सिकाउँन    धेरै     बार्तालाप    गराउनु
साना   छोटा   मीठा  गीत, खेल, नाटक, भाषण
खोजी   सुनाउनु   पर्छ,   धेरै    बोली   बोलाउन।

अब  चाहिन्छ  पाठशाला  साथी -संगी मिलाउँन
गए  पाठशाला   पढ्नेछन्   भाषा  दृढ   बनाउँन
खेल   खेल्दै  ती  भाषामा  रम्दछन्  भिन्न पाठमा
तेश्रो  सोपान  भाषाको  चढ्दछन् साथ-साथामा।

चौथो    सोपानमा   चढ्न     पढेपछी    लेखाउनु
लेख्न   सिकाउनु   पर्छ   व्यंजन    स्वर – वर्णलाई
लेख्नाले   लिपी   सिक्नेछन्   भाषा   पुष्ट   गराउँन
वर्ण,  शब्द   र   वाक्यैका   भाव   व्यक्त  गराउँन।

भाषा   सिकाइका   विन्दु   यीहुन्   चार  मनोरम
मनोवैज्ञानिक   रुपमा   राखिएका  यीहुन्    क्रम
गर्भमा   छँदा   आमाले   धरेका  गुण  पाउँदछन्
जस्तो रहन्छ संस्कार टपक्क  टिपी   आउँदछन्।

त्यसैले     गर्भको    रक्षा  खान – पान  र   भाषण
सौहार्द    रुपमा     गर्नु    भ्रूण    पालन – शिक्षण
बिरुवा   उम्रन    पूर्व    बीज    शुद्ध    भयो   भने
हुर्कन   छैन   काठिन्य   भाषामै   सब   भयो भने।

अव्यक्त   रुप    गर्भैमा  शुद्ध    संस्कार   भर्दिनु
फुट्छ  बोली  जब  शुद्ध  भाषा -जल त्यो छर्दिनु
पढ्न    सिकाउनु    घरमा   विद्यालय   पठाउँनु
लेख्न   र   खोज्न   खप्पीस   वातावरण   बनाउँनु।

चढ्दै सोपान  एक एकमा पुगौं भाषिक लक्ष्यमा
बोली  वर्ण  र  शब्दैको  अनि वाक्य र  पंक्तिको
बोले   पढेर  लेखेमा   फुल्ला   कमल   त्यो  जब
निरन्तर   गरे   कर्म   फल्ला   स्वादु   फल  तब ! ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *