भाषा शिक्षणका लागि केही आवश्यक प्रमुख तत्वहरू
डा. लक्ष्मीनारायण ढकाल
केन्टकी ,अमेरीका
डायस्पोरामा नेपाली भाषालाई बचाउने अभियानमा हामी काम गर्दैगरेका अभियन्ताहरूले भाषा शिक्षणमा आवश्यक पर्ने विषय र तत्वहरूको जानकारी राख्न आवश्यक भएको छ I त्यसमा पनि यस अभियानमा शिक्षण गर्ने शिक्षकहरूका लागि त झनै यो महत्वपूर्ण विषय हुनजान्छ I किनकि एउटा सफल शिक्षक त्यही हुन्छ ,जो आवश्यक सम्पूर्ण विषयहरूको सामान्य जानकारी राख्दछ I यद्यपि शीर्षकमा भाषा शिक्षण राखिएता पनि सम्पूर्ण विषय शिक्षण गर्दा शिक्षा शास्त्रका सम्पूर्ण नियमलाई जान्नैपर्दछ I
यस आलेखको शीर्षकमा मुख्यत: भाषा र शिक्षण गरी दुइवटा शब्दहरू देखिन्छन् ,तर भाषा र शिक्षणसँग सरोकार राख्ने अन्य थुप्रै विषयहरू हुन्छन् I जस्तै-
१. भाषाको ज्ञान , व्याकरणको ज्ञान ,भाषा विज्ञानको ज्ञान
२ .शिक्षा दर्शन र सिद्धान्तहरूको ज्ञान ,शिक्षाको पद्धति
३. विषय शिक्षण र भाषा शिक्षणका आयामहरू
४. मनोविज्ञानको ज्ञान ,बालमनोविज्ञानको जानकारी, मनोविज्ञान र शिक्षाको सम्बन्ध
५. पाठ्यक्रमको अवधारणा ,पाठ्यक्रमका भेद, पाठ्यक्रमको भूमिका ,पाठ्य पुस्तक,पाठ्य विषय,पाठ्य शैली,पाठ्य सामग्री आदि
६. विद्यार्थीको अध्ययन ,विद्यार्थीका मानसिक अवस्थाहरूको जानकारी
७.शिक्षकको भूमिका ,गुण र दायित्व
८. मूल्याङ्कनको अर्थ,प्रकार,तरिका र उपलब्धि आदिको जानकारी
१४. अध्ययन ,अनुसन्धान ,समाजको अध्ययन र सम्बन्ध
१५.प्रशिक्षण र पुनश्चर्या पाठ्यक्रमको अभ्यास
एउटा शिक्षकले कम्तिमा पनि यी उपर्युक्त विषयहरूमा सामान्य हेक्का राख्नैपर्दछ I शिक्षाशास्त्र विषय लिएर बीएड ,एम एड गरेका र कुनै शिक्षण तालिम लिएका शिक्षकहरूले यी विषयहरूको जानकारी राखेका हुन्छन् ,तर आजको परिस्थितिमा भनौं डायस्पोराको परिप्रेक्ष्यमा सबै शिक्षकहरू प्रशिक्षितनै छन् भन्ने अवस्था छैन I अर्को कुरो आज शिक्षा विषय लिएर पढ्ने युवा पुस्ता कमै देखिन्छ I किनकि आज सबै डाक्टर इंजिनीयर ,कम्प्यूटर इंजिनीयर र अधिक अर्थ उपार्जन हुने खालका विषयहरू पढ्न थालेका छन् I यो एउटा चिन्ताको विषय त हुँदै हो भविष्यमा योग्य शिक्षक पाउने कम सम्भावना देखिन्छ I
अत: हाम्रा स्वयंसेवक भाषा शिक्षकहरूलाई सम्बन्धित विषयहरूको अध्ययन र खोजी गर्न सहयोग मिलोस् भन्ने ध्येयले यहाँ संक्षेपमा केही प्रमुख उपर्युक्त विषयहरूको सामान्य परिचय प्रस्तुत गरिन्छ I
भाषाको ज्ञान-
एउटा भाषा शिक्षकलाई सम्बन्धित भाषाको नालीबेली जान्न आवश्यक छ I नालीबेली भन्नाले भाषाको इतिहास ,व्याकरण,सम्बन्धित लिपि र उनीहरूको बनावट ,उच्चारण स्थान र उच्चारणका तरिका ,शब्द भण्डार,शब्द निर्माणको विज्ञान,आगन्तुक शब्द, तत्सम शब्द, तद्भव शब्द, वर्ण विन्यास, शैली विज्ञान, सम्बन्धित भाषाको साहित्य र साहित्यकारहरूको जानकारी आदि सामान्य ज्ञान हुन आवश्यक हुन्छ I साथै नेपाली भाषाका स्वम्बन्धमा कुरा गरिँदैछ त्यसैले अनिवार्य नभएता पनि नेपाली भाषा शिक्षकले यदि संस्कृत भाषा र व्याकरणको सामान्य ज्ञान राख्दछ भने सुनमा सुगन्धनै थपिन्छ ,किनकि नेपाली भाषा र व्याकरणको स्रोत वा मूल भनेको संस्कृत भाषा र व्याकरणनै हो I
भाषा विज्ञानको जानकारी
भाषा विज्ञान भनेको भाषाको विज्ञान वा भाषा सम्बन्धित विज्ञान भन्ने बुझिन्छ I जसरी व्याकरण शास्त्रले शब्द निर्माण र वाक्यविन्यासलाई व्यवस्थापन गरेको हुन्छ I त्यसरीनै भाषाका बारेमा अध्ययन गर्ने शास्त्रलाई भाषाविज्ञान भनिन्छ I वस्तुत: भाषा-विज्ञानले भाषाको उत्पत्ति, बनावट, विकास तथा ह्रास आदिका कारणहरूको तात्विक तथा वैज्ञानिक व्याख्यान गर्दछ । भाषा-विज्ञान भनेको त्यो विज्ञान हो जहाँ (क) सामान्य रूपमा मानवीय भाषा (ख) कुनै विशेष भाषाको रचना स्वरूप, इतिहास र समग्र भाषाहरूको उत्पत्ति, स्थिति, विकास, ह्रास, एक भाषाको अर्को भाषासंगको सम्बन्ध र भाषा परिवार आदि तत्वहरूको निर्धारण र व्याख्या गर्ने शास्त्र हो I
यो भाषा विज्ञान पनि तात्विक भाषा विज्ञान र व्यवहारिक भाषा विज्ञान गरी मुख्य रुपमा दुई प्रकारको हुन्छ I भाषा शिक्षणका क्षेत्रलाई समेट्ने भनेको व्यावहारिक भाषा विज्ञान हो ,तरपनि सैद्धान्तिक वा तात्विक भाषा विज्ञान नजानि व्यवहारिक विज्ञानलाई जान्न सहज हुँदैन I
तात्त्विक भाषा विज्ञानको अर्थ र क्षेत्र
तात्विक भाषा विज्ञानले भाषाका तत्वहरू, सिद्धान्त र दर्शनलाई सिकाउँछ I तात्त्विक भाषा विज्ञानमा ध्वनिसम्भार (स्वरविज्ञान र ध्वनिविज्ञान (फ़ोनेटिक्स) व्याकरण (वाक्यविन्यास व आकृति विज्ञान) एवं शब्दार्थ (अर्थविज्ञान) आदिको अध्ययन गरिन्छ I अर्थात् भाषाका तत्व, नियम र नियन्त्रण सम्बन्धित निर्देश र अध्ययननै तात्विक भाषा विज्ञानको क्षेत्र हो I सार्थक शब्दको उत्पत्ति र उद्देश्यमूलक अर्थको सम्बन्धलाई नियमन गर्न तर्क र प्रमाण प्रस्तुत गर्ने विधा हो तात्विक भाषा विज्ञान I
व्यावहारिक भाषाविज्ञान
व्यावहारिक भाषाविज्ञान भनेको अनुवाद,भाषा शिक्षण, वाक्-रोग निर्णय र वाक्-चिकित्सा, इत्यादिको अध्ययन क्षेत्र हो । व्यवहारिक भाषा विज्ञान अन्तर्गत अनुप्रयुक्त भाषा विज्ञानको व्याख्या गरिएको छ I मातृभाषा शिक्षणविधि पनि यही अनुप्रयुक्त भाषा विज्ञानकै अन्तरंग भएकाले भाषा विज्ञानको सामान्य ज्ञान नगरिकन भाषा शिक्षण सफल हुँदैन I अर्को कुरो समाजको र संस्कृतिको संवाहक पनि भाषानै भएकाले समग्र व्यवहारलाई वुझाउन भाषाको मर्मलाई जान्न आवश्यक छ I
भाषाको अध्यापन गर्न भाषाका सामान्य स्वरूप र त्यसको विज्ञानलाई बुझिसकेपछि शिक्षा र शिक्षण के हो ? शिक्षण कसरी गर्ने र यिनीहरूमा कस्तो अन्तरसम्बन्ध रहन्छ भन्ने कुराको हेक्का राख्न र शिक्षणलाई सफल बनाउँन शिक्षा दर्शनको अध्ययन गरिन्छ I
शिक्षा दर्शन –
शिक्षा भनेको मानवको जीवनभर निरन्तर चल्ने प्रक्रिया भएकाले शिक्षालाई ज्ञान ,विद्या ,योग्याता ,बोध र अंग्रेजीमा एजुकेशन आदि शब्दले बुझाउँछ I शिक्षाशास्त्रीहरूले शिक्षालाई जीवनभर चल्ने प्रक्रिया र बाल्यकालदेखि उच्च शिक्षासम्म ज्ञान हाशील गर्ने औपचारिक प्रक्रिया गरी दुई भागमा व्याख्या गरेका छन् I त्यसैले शिक्षाको अर्थ, उद्देश्य, तरिका,भाषा र शिक्षाको सम्बन्ध,शिक्षाका पद्धति ,समाजको परिस्थिति अनुरुपको शिक्षा योजना आदि तय गर्नु पर्ने हुनाले शिक्षाको तात्पर्य, प्रभाव र समाजसंग सम्धित तौरतरिकाको ज्ञान गर्न शिक्षा शास्त्र ,शिक्षा दर्शन या शिक्षा सिद्धान्तहरूको सामान्य ज्ञान राख्नैपर्दछ I साथै यस क्षेत्रमा हुँदैगरेका नवीन खोज र प्रयोगलाई पनि जान्न आवश्यक हुन्छ I
वस्तुत:शिक्षा भनेको बुद्धि विकासको एक निरत्न्तर प्रक्रिया हो I साथै शिक्षा चिन्तन, कार्य र जीवनको एक गतिशील प्रक्रिया पनि हो I त्यसैले शिक्षाले व्यक्तिको सामाजिक, शारिरीक, संवेगात्मक, बौद्धिक र सर्वाङ्गीण विकास गराउने कार्य गर्दछ I
पूर्वीय दार्शनिकहरू शिक्षालाई अध्यात्मसँग जोडेर हेर्दछन् I “सा विद्या या विमुक्तये’ आदि भनाइहरूले
दुखरुपी बान्धनबाट मुक्त गराउने ज्ञाननै विद्या हो र त्यही विद्यानै शिक्षाको पर्याय पनि हो I अंग्रेजीमा शिक्षालाई Education भनिन्छ I यो अंग्रेजीको “Education’ शब्द ल्याटिन भाषाको ‘E+DUCO’ शब्द मिलेर बनेको छ I जसलाई शब्दशिल्पीहरू ‘E’ को अर्थ अन्तर्निहित प्रकाश र ‘DUCO’ को अर्थ बाहिर निकाल्नु अर्थात् अभिव्यक्त गर्नु मान्दछन् I त्यसैले व्यक्तिको अन्तरनिहीत ज्ञानलाई बाहिर ल्याउनुनै शिक्षाको मुख्य कार्य हो I
महाभारतमा पनि शिक्षालाई वर्णन गर्दै वेदव्यासजी लेख्दछन् “नास्ति विद्यासमं चक्षु: नास्ति सत्यसमं तप:” I पाश्चात्य शिक्षाविद् अरस्तु (Aristotle) ले “स्वस्थ शरीरमा स्वस्थ मस्तिष्कको निर्माण गर्नुनै शिक्षा हो” भनेकाछन् I अर्का शिक्षाशास्त्री प्लेटो भन्दछन्-‘ शरीर र आत्मालाई पूर्णता प्रदान गर्नुनै शिक्षाको कार्य हो” I त्यस्तै प्रख्यात शिक्षाविद् पेस्तोलोजीले (pestolozzi) अझ सान्दर्भिक अर्थ गर्दै भने ‘शिक्षाले मानवका जन्मजात सम्पूर्ण स्वभावगत शक्तिहरूलाई प्रगतिशील बनाउँदै विकास गराउँछ” I
पूर्वीय दृष्टिमा होस् या पाश्चात्य दृष्टिमा सबै चिन्तकहरूका समस्त विचारहरूलाई मूल्यांकन गर्दा के भन्न सकिन्छ भने मानवको बाह्य तथा आन्तरिक सुसुप्त शक्तिलाई जागृत गराउनु शिक्षाको कार्य हो र यो कार्य मुख्यरूपले शिक्षकका सहयोगद्वारा मिल्दछ I मातृ भाषाका शिक्षणका परिप्रेक्षमा पनि भाषाका सिकाइका अवस्था र प्रकृतिलाई विचार्दा इनै नियम लागु हुन्छन् I
शिक्षाको प्रदाता भनेको शिक्षक भएकाले शिक्षाका मूल्य ,उपलब्धिहरू र शिक्षणका सम्पूर्ण कलाहरुलाई नजानिकन सफल शिक्षक बन्न सकिन्न I किनकि शिक्षाले शिक्षकलाई निम्न तत्वहरू प्रदान गर्न योग्य बनाउँछ र सहयोग गर्दछ –
१. मानवको सम्पूर्ण जीवननै शिक्षाशाला हो र अनुभवबाट भविष्य निर्माण गर्न सिकाउँछ !
२. शिक्षाले जीवनका समस्याहरूको निराकरण गर्न सक्षम बनाउछ !
३. शिक्षाले इमान्दार हुँदै कर्तव्यको पालन गर्न सक्षम बनाउँछ !
४. शिक्षा पाएर समाज,राष्ट्र र मानवीय सम्पदाको रक्षा गर्न सक्षम हुनु पर्दछ !
५. शिक्षाले लोभ,इर्श्या,घमण्ड र स्वार्थ जस्ता दुर्गुणहरूलाई निर्मुल बनाउँन सक्नु पर्छ !
६. मानवको सर्वाङ्गीण विकास शिक्षाले गर्दछ !
७. पुस्तक पढ्नुमात्र नभएर त्यसमा भएको व्यवहारिक कुरालाई जीवनमा उतार्नु वास्तविक शिक्षाको उद्देश्य हो !
अत: एउटा शिक्षाको भूमिका भनेकै विद्यार्थीको समग्र जीवनलाई नयाँ उचाइमा पुर्याउन सहयोग गर्ने सहयोगी भएकाले बालकेन्द्रीत शिक्षाको स्वरूपलाई आत्मसात गर्न उसले यावत् विषयहरूमा प्रशिक्षित हुन अनिवार्य मानिन्छ I
मनोविज्ञान
मनोविज्ञान नपढीकन कोइपनि योग्य शिक्षक बन्न सक्दैन I यद्यपि सैधान्तिक रूपमा मनोविज्ञान नपढेका शिक्षकहरूले विस्तारै प्रयोग र अनुभवका आधारमा परोक्ष रूपमा मनोविज्ञान सिक्न थाल्दछ ,तर यदि शिक्षा प्रदानगर्नु भन्दा पहिलानै मनोविज्ञानका सिद्धान्त र प्रयोग जानेमा शिक्षण सहज र सरल बन्दछ I
किनकि मनोविज्ञान भनेको मनको या मस्तिष्कको विज्ञान हो I मनोविज्ञानका सहयोगले बालबालिकाहरूको मानसिक स्तरलाई बुझ्न सकिन्छ र तदनुरूप शिक्षा पस्किन सकिन्छ I वस्तुत: मनोविज्ञानले –
१. आवश्यक पाठ्यक्रम र पाठ्य सामाग्री निर्माण गर्न सहयोग पुर्याउँछ I
२. विद्यार्थीहरूको व्यक्तिगत रुचि थाहा पाउन सघाउ पुर्याउँछ I
३. अध्येताको विकासको अवस्थालाई थाहा पाउन सघाउँछ I
४.आवश्यक शैक्षिक उद्देश्य, विधि,र क्रियाकलापको निर्णय गर्दछ I
५.आवश्यक अनुशासनको विकास गर्न सघाउँछ I
६.कक्षा या विद्यालय प्रशासन संचालन गर्न मद्दत गर्दछ I
७.नयाँ अनुसन्धानद्वारा विषयको विकास र कार्यान्वयन गर्न सघाउँछ I
८.शिक्षामा विषयानुकूल प्रविधिलाई समावेश गर्न मार्ग प्रसस्त गर्दछ I
यसरी हेर्दा मनोविज्ञानलाई निम्न तीनवटा क्षेत्रमा बाँटेर हेर्न सकिन्छ –
१.मानव मस्तिष्क र व्यवहारको अध्ययन गर्ने मनोविज्ञान
२. शिक्षाका क्षेत्रमा प्रयोग हुने शैक्षिक मनोविज्ञान र
३.बाल मस्तिष्क र व्यवहारको अध्ययन गर्ने “बाल मनोविज्ञान”
यद्यपि यी तीन भेदहरूमा स्थूल रूपमा धेरै अन्तर नभएपनि प्रयोगका दृष्टिले सूक्ष्म भेद परिलक्षित हुन्छन् I त्यसैले सफल शिक्षक बन्न मनोविज्ञान पढ्नु लाभदायक हुनजान्छ I
पाठ्यक्रम
एउटा भाषा शिक्षकले पाठ्यक्रमको स्वरूप ,पाठ्यक्रमका प्रकार ,पाठ्यक्रमका तत्व र देश,काल र परिस्थिति अनुसारको पाठ्यक्रमको चयन गर्न सक्नुपर्दछ ,त्यसैले यस विषयमा समग्र ज्ञान आवश्यक देखिन्छ I त्यसैले संक्षेपमा निम्न विषयहरूलाई बुझौं –
पाठ्यक्रमका विषय क्षेत्र :- भाषा, साहित्य,दर्शन, कला, विज्ञान, गणित, इतिहास, भूगोल,
योग, शारिरीक शिक्षा आदि हुनसक्छन् I
पाठ्यक्रमका विधाहरू :- गद्य, पद्य (छन्द), मिश्रित, नाटक, संवाद, आकडा (अंकात्मक) श्रव्य ,दृश्य आदि अपनाइने विधाहरू I
पाठ्य पुस्तक :- विषय क्षेत्रलाई विधात्मक संयोजनद्वारा विद्यार्थीको स्तर अनुसार तयार पारिएको पुस्तकलाई पाठ्य पुस्तक भनिन्छ I
पाठ्य विषय :- पाठ्य पुस्तकभित्र निर्धारित एक विषयलाई पाठ्य विषय भनिन्छ I
पाठ्य अंश :- पाठ्य विषय भित्रको एक अंश या अनुच्च्छेदलाई पाठ्य अंश भन्न सकिन्छ I
पाठ्य योजना:– पाठ्य अंशलाई पढाउँन शिक्षकद्वारा तयार पारिएको उद्देश्य विधेय र समय समायोजनको पाठ्य योजना वा प्रारूपलाई बुझिन्छ ! जसमा कति पढाउने / के पठाउने र कसरी पढाउने भन्ने कुराको पूर्व तयारी गरिन्छ I
पाठ्य विधि :- सूचनात्मक, वस्तुनिष्ठात्मक ,व्याख्यानात्मक र संवादात्मक आदि तरिकालाई विधि भन्न सकिन्छ I
पाठ्य सामग्री :- पुस्तक, इन्टनेट, फलक (बोर्ड) कलम, कपी, डस्टर, चार्ट, शब्द पत्ति, चित्र, भिडियो आदि जुन जुन प्रयोग गरिन्छन् सबै पर्दछन् I
शिक्षक निर्देशिका :- निर्धारित पाठ्यक्रममा आधारित पाठ्य पुस्तकलाई कसरी प्रयोग गर्ने र कुन विधि अपनाएर शिक्षण गरिनु पर्दछ आदि विषयलाई समेटेको शिक्षकका लागि निर्देशिका हो I
यसरी संक्षेपमा पाठ्यक्रमका सम्पूर्ण तत्वहरूलाई हेर्न सकिन्छ I हामीहारू मध्ये थुप्रैलाई पाठ्यक्रमका बारेमा स्पष्टता नभएको हुनसक्छ I त्यसैले पनि यी विषयप्रति लेख्ने,खोज्ने र पढ्ने प्रवृत्ति हामीमा हुन आवश्यक देखिन्छ I
मूल्यांकन
शिक्षकले नजानी नहुने विषयहरूमा मूल्यांक पनि पर्दछ I मूल्याङ्कन भनेको व्यक्तिको ज्ञानस्तर नाप्ने एक पद्धति हो,जसलाई सामान्य बोलचालको भाषामा हामी परीक्षा भन्ने गर्दछौं I तर, मूल्याङ्कन शब्दले यति मात्र बुझाउँदैन I यसले वस्तुको नाप-तौल,व्यक्तिको योग्यता र उसमा भएको कला, सीप, व्यक्तित्व, लगनशीलता, गुरुता र चेतना स्तरको परिधिलाई निर्धारण गर्न वा जान्न जेजति पद्धति र तरिकाहरू अपनाइन्छन् ,ती सबै मूल्यांकनकै अर्थमा प्रयोग र व्यवहार हुनेगर्दछन् I यद्यपि व्यवहारमा वस्तुको आकार प्रकार या उसको स्वरूप अनुगुण परिमाण (मापन/तौल) आदि शब्दहरूको प्रयोग भएको पाइन्छ I जस्तै अन्न, साग-शब्जी र ठोस पदार्थ किलोमा वा पाउण्डमा नापिन्छ I कपडा, जमीन,सडक र काठपातका लागि गज, मीटर,एकड ,किलो मीटर वा माइल, फिट आदि प्रयोग गरिन्छ I पानी र अन्य तरल वस्तुलाई लिटर, मिलिलिटर, ग्यालन आदिको प्रयोग गरिन्छ I त्यसरीनै ज्ञान, योग्यता र चेतना जस्ता विषयहरूको मापन गर्दा परीक्षा, प्रदर्शन, मूल्याँकन जस्ता पद्धतिहरू अपनाइन्छन् I शिक्षाको क्षेत्रमा नापतौल गर्दा विशेषत: मूल्याँकन शब्दकोनै प्रयोग गरिन्छ I
मूल्यांकनका उद्देश्यहरू
• मूल्याँकनले शिक्षाको उद्देश्य प्राप्तिमा सहयोग गर्छ I
• मूल्याँकनले शिक्षाको उद्देश्यलाई प्रदर्शन गर्छ I
• मूल्याँकनले विषयवस्तुलाई परिमार्जन गर्न सघाउँछ I
• मूल्याँकनले शिक्षण प्रक्रियालाई प्रभावी बनाउने अवसर प्रदान गर्छ र प्रेरणा दिन्छ I
• मूल्याँकनले शिक्षण प्रक्रियाको मूल्याँकन र परिमार्जन गर्ने अवसर प्रदान गर्दछ I
• मूल्याँकनले शिक्षणका लागि अभिप्रेरणा दिन्छ I
• मूल्याँकन निर्णय लिन सहायक बन्दछ I
• मूल्याँकनले छात्रहरूमा तुलना र वर्गीकरण गर्न सघाउँछ I
• मूल्याँकनले शैक्षिक समस्याहरूको निराकरण गर्न सहयोग गर्छ I
• मूल्याँकनले शिक्षण विधिमा परिमार्जन गर्न प्रेरित गर्छ I
• मूल्याँकनले मानदण्ड Scales निर्धारण गर्न सहयोग गर्छ I
शिक्षण सामग्री
शिक्षामा शिक्षण सामग्रीको ठूलो भूमिका हुन्छ I शिक्षकले पाठ्य विषय अनुरुपको शिक्षण सामग्री चयन गरेर प्रयोग गर्न सक्नुपर्दछ I
शिक्षण सामग्रीहरूमा पाठ्य पुस्तक,चार्ट,शब्द पत्ति,वर्ण पत्ति,फलक,काष्ठ कलाद्वारा निर्मित वर्णहरू कलम, पेन्सील, वर्णकलम, डस्टर, भिडीयो, एनिमेशन भिडियो र इन्टरनेटमा उपलब्ध सामग्री आदि प्रमुख र अनिवार्य वस्तुहरू पर्दछन् I शिक्षण सामग्री देश, काल र परिस्थिति अनुसारनै प्रयोग गरिन्छन् I नेपाल,भारत र भूटान आदि देशहरूमा र पश्चिमा मुलुकहरूमा स्थानभेदका कारण भिन्न सामग्री हुनसक्छन् I उतातिर पहिलाका जमानामा लौरो पनि प्रयोग गरिन्थ्यो ,अझैपनि गरिन्दैन भन्न सकिन्न , तर यता (पश्चिमी देशहरूमा) विद्यार्थीलाई छुन पनि पाइंदैन र लौराको प्रयोग गरिंदैन I त्यसोत टेबल, कुर्सी, विद्यालय भवन आदि पनि पाठ्य वस्तुमानै गन्न सकिन्छ ,तर यी अनिवार्य भने होइनन् I किनकि रूख मुनि बसेर पनि शिक्षा आर्जन गरेका उदाहरणहारू हामीसंगै छन् I जे होस् एउटा शिक्षकले आवश्यक सम्पूर्ण शिक्षक सामग्रीहरूको जानकारी राख्नु र व्यवस्था गर्नुनै पर्ने हुन्छ I
शिक्षण प्रविधि
प्रविधि भनेको शिक्षण कला पनि हो र टेक्नोलोजी पनि हो I शिक्षण गर्दा अपनाइने तौर तरिका र कला अभौतिक हुन्छन् भने कम्प्यूटर ,प्रोजेक्टर ,जूम ,यूट्यूब, आदि जति पनि प्रयोग गर्न सकिन्छन् ,ती सबै भौतिक उपकरण वा प्रविधि हुन् I
आजको युगमा त झन एउटा शिक्षकले सबै आधुनिक यन्त्र, संसाधनहरूलाई नजानिकन शिक्षण गर्ननै असम्भव हुनलागेको छ ,त्यसैले प्रविधिको राम्रो ज्ञान हुन परम आवश्यक भएको छ I भाषा शिक्षणमा पनि प्रविधिको प्रयोग अनिवार्य भएको छ I प्रविधिले संसारलाई साँगुर्याइदिएको छ र संसारको कुनैपनि कुनामा बसेर संसारभरका विद्यार्थीहरूले एकसाथ अध्ययन गर्न सम्भव भएको छ I आजका बालबालिकाहरू विना प्रविधि कुनैपनि विषयलाई अध्ययन गर्न नसक्ने स्थितिमा भएकाले शिक्षकले सर्वप्रथम प्रविधिमा सिद्धहस्त हुन अनिवार्य छ I
चाहे विषय शिक्षणमा होस् या भाषा शिक्षणमा यी सबै विषयहरू उत्तिकै अपरिहार्य हुन् I यहाँ छोटो आलेखमा सारांशरूपमा केही विषयमा मात्र चर्चा गरियो I शिक्षणमा चाहिने यतिनै मात्र विषयहरू अवश्य होइनन् I यीनका थुप्रै आनुसांगिक सूक्ष्म विषयहरू हुन्छन् I समयले साथ दिएमा केही समयपछि यी सम्बन्धित सम्पूर्ण विषयहरूको विस्तृत कृतिनै तयार पार्नु पर्ने देखिन्छ I केही कार्य प्रगतिमा भएकाले आशा गरौँ केही महिना पछि भाषा शिक्षणका सम्पूर्ण तत्वहरूको विवेचनात्मक संगालो पाठक समक्ष प्रस्तुत गर्ने प्रयास रहने छ I