भाषा संरक्षणमा अभिभावकको भूमिका

डा.लक्ष्मीनारायण ढकाल
केन्टकी, अमेरिका

पुनर्वासमा नयाँ पुस्तामा उत्पन्न मातृ भाषाको समस्यालाई समाधान गर्न कुनै एक व्यक्ति,संस्था,निकाय या कुनै वर्गका प्रयासले मात्र सम्भव छैन I यो सबै पीडित नेपाली भाषी समुदायको साझा समस्या भएकाले सबैको आ-आफ्नै भूमिका र दायित्व छ र रहनुपर्छ I हाम्रा बालबालिकाहरू अधिक समय परिवारसँग बिताउने भएकाले र भाषाको मुहान पनि परिवार नै भएकाले अभिभावकको सबैभन्दा ठुलो भूमिका यस समग्र अभियानमा रहन आवश्यक छ I त्यसैले यस अभियानमा अभिभावकको लगानी हुन परम आवश्यक छ I

विगत दुई-चार वर्षदेखि साप्ताहिक रूपमा केही कक्षाहरू आरम्भ भएका भएता पनि उपस्थित हुने र लाभान्वित भएका बालबालिकाहरूको सङ्ख्या अत्यन्तै कम रहेको छ I हाम्रा धेरैजसो अभिभावकहरू भाषाप्रति सचेत नरहेकाले र समय र अर्थको लगानी गर्न नसकेका हुनाले पनि यस अभियानलाई व्यापक स्तरमा अघि बढाउन न सकिएको देखिन्छ I

स्थानीय रूपमा केही पाठ्यपुस्तक प्रकाशित भएका भएता पनि यी कक्षाहरूमा निर्धारित मानक पाठ्यक्रमको अभाव अर्को प्रमुख विषय हो I नेपालमा नेपालकै परिवेश र मानकमा निर्धारित पाठ्यक्रमले यी विकसित मुलुकहरूमा अत्याधुनिक प्रविधिको प्रयोग र भिन्न शिक्षण प्रविधिले गर्दा स्थानीय परिवेशमा आधारित पाठ्यक्रम हुन आवश्यक छ I अर्को कुरो वहाँको पाठ्य भार यहाँको साप्ताहिक दुई घण्टे कक्षाका लागि उपयुक्त हुनै सक्दैन I यिनै समस्याहरूको समाधान गर्न ‘साहित्य परिषद्,भूटानले’ विगत केही वर्षदेखि मानक पाठ्यक्रमको अवधारणालाई अघि सार्दै आएको थियो I गत वर्ष परिषद्ले विज्ञहरू समावेश गरेर ‘पाठ्यक्रम अनुसन्धान तथा निर्माण समिति’पनि बनाएको छ I उक्त समितिले भविष्यमा स्थानीय शिक्षण व्यवस्थामा पनि मानक सिद्ध हुने गरी केन्द्रीकृत पाठ्यक्रमको खाका तैयार गर्न आरम्भ गरेको छ I

पाठ्यक्रम अनुसन्धान समितिले आरम्भिक स्तरमा जहाँ जहाँ कक्षाहरू चल्दै छन् त्यहाँ भ्रमण गर्दै त्यहाँका शिक्षक,बुद्धिजीवी,स्वयंसेवक र अभिभावकहरूसँग व्यापक अन्तरक्रिया,छलफल र परामर्श गर्दै समस्याहरूको अध्ययन गर्दैछ I साथै सर्वेक्षण पत्र तैयार गरेर उनीहरूका सुझावहरूको सङ्कलन पनि गर्दैछ I अनुसन्धानको मानकलाई पुरा गर्न र समस्याहरूको नजिकबाट अध्ययन गर्न यसो गरिएको हो I

अहिले सम्मको यस सर्वेक्षणद्वारा के हात लागेको छ भने हाम्रा अभिभावकहरू नै सचेत नरहेको प्रमुख समस्या देखिएको छ I पाठ्यक्रमको अभाव दोस्रो ठुलो समस्या हो I थालेका कक्षाहरूमा चेतना,समर्पण र लगानीको कमीले व्यवस्थापनमा थुप्रै समस्याहरू देखा पर्नु तेस्रो समस्या देखिन्छ I भाषा,शिक्षा,बाल मनोविज्ञान,र शिक्षण प्रविधिको प्रशिक्षण नहुनाले शिक्षकहरूमा अन्योलता अर्को समस्या छ I मूल्याङ्कन र वर्ग विभाजन जस्ता परिणामका खाका तैयार नभएका कारण पनि बालबालिकाले के कति परिणाम हासिल गरे भन्ने दस्ताबेज आधार नभएता पनि नानीहरूले वातावरण पाउदैछन् ,केही सिक्दै छन् र यसलाई अघि बढाउन लागिपरेका स्वयंसेवीहरू नमन योग्य पनि छन् I स्वयंसेवीहरूमा आएको असमझदारी,असहयोग र व्यक्तिगत,स्वार्थ र पूर्वाग्रहका कारण केही स्थानमा थालिएका भाषा कक्षाहरू बन्द भएको दुखद परिस्थिति पनि देखा परेका छन् I

तर, जति बालबालिकाहरू निरन्तर कक्षामा आउँदै छन् उनीहरूमा आशाजनक प्रगति पनि देखिन्छ I यी कक्षाहरू स्थानीय स्तरमा भिन्न-भिन्नै संस्थाहरूले आ-आफ्नै तरिकाले चलाइएका छन् I पाठ्यक्रम र व्यवस्थापनका आधारमा एकरुपता भने छैन,किनकि एउटा तय,एकमुष्ट संयन्त्र र मानक पाठ्यक्रम छैन I

कक्षा सञ्चालकहरूलाई अभिभावकको पूर्ण सहयोग नमिलेको गुनासाहरू थुप्रै आएका छन् I जस्तै २ घण्टे कक्षामा नानीहरूलाई ल्याएर आफू छोडेर फर्किने,व्यवस्थापनमा सहयोग नगर्ने र भरे नानीहरू टिप्न बोलाउनु पर्ने जस्ता समस्या पनि प्रशस्तै छन् I अधिकतर अभिभावकहरू सिमानामा सुरक्षाका निम्ति युद्ध जित्न पनि चाहन्छन् ,तर सेनामा भर्ती हुनचैं पल्लाघरको व्यक्ति नै जाओस् भन्ने पनि प्रशस्तै छन् I

समग्र रूपमा भन्नुपर्दा केही नगरहरूमा १० प्रतिशत र केही नगरहरूमा ६-७ प्रतिशत मात्र अभिभावकहरू भाषाप्रति जागरुक देखिन्छन् I यिनीहरू यथासम्भव घरमा र भाषाकक्षामा पनि लगनशील छन् I यही परिणामलाई हेर्ने हो भने भाषाका लागि प्रयास गरेमा हाम्रो भाषा मर्नेछैन भन्ने अनुमान सहजै गर्न सकिन्छ I

तर दुखको कुरो अर्को सबैभन्दा ठुलो समूह ५० प्रतिशतको हाराहारीमा भाषा बचाउनुपर्छ,भाषा चाहिन्छ त भन्छ,तर समयको लगानी भने अर्कैले गरिदिइयोस् भन्ने सोच राख्दछ I यो वर्ग सुतेको छ ,घण्टी बजाएर जगाउन आवश्यक छ I यो वर्ग समग्ररुपमा लागि परेका खण्डमा हाम्रो अभियानको तागत निकै बढ्ने छ I समयको सामान्जस्य बनाउन र लगानी गर्न यस वर्गले सिक्नै छ I

तेस्रो वर्गमा पर्ने अभिभावकहरू भाषा प्रति भिन्न मत राख्दछन् I यो वर्ग ४०% को हाराहारीमा छ I यो वर्ग कालो छालालाई बलपूर्वक पाउडर घसेर गोरो बनाउने अप्राकृतिक अभिनय गर्दछ I यस वर्गलाई मातृभाषा नेपाली र त्यसले बोकेको संस्कृति चाहिएको छैन I यस वर्गमा पर्ने केही व्यक्तिहरू अशिक्षाका कारणले भाषा र संस्कृतिको महत्त्व नजान्ने पनि हुन सक्छन् ,तर धेर जसो कानमा तेल हालेर सुतेको अभिनय गर्दै छन् I

अतः: समग्रमा भन्नुपर्दा अब सबैले आ-आफ्ना दायित्व क्षेत्रमा रहेर भाषा संरक्षणका लागि लगानी गर्न आवश्यक देखिन्छ I समय,परिश्रम र अर्थको लगानी हुनै पर्छ I यो कार्य कुनै सरकारी लगानीले हुनेवाला छैन I भाषा,संस्कृति र जातीय पहिचानको रक्षा गर्नु हाम्रो पहिलो धर्म हो I पुनर्वासमा एक दशक बितिसकेको हुनाले अब उसो पनि गाँस,बास र कपासमा मात्र अल्झिरहनु हुँदैन I हप्ताको पाँच दिन कामलाई दिएर बचेका दुई दिन नै मात्र पनि यस कार्यलाई र हाम्रा भविष्यका कर्णधारहरूलाई दिन सकेमा हाम्रो यो अभियान सहजै सफल हुनेछ I

साहित्य परिषद् मानक पाठ्यक्रमको अनुसन्धान गरेर यस अभियानमा तपाईँहरूलाई सहयोग गर्न लागि परेको छ,र सदैव तत्पर रहनेछ I हामी अब बाल बालिकाहरूको वर्ग छुट्ट्याउने आधार तय गर्न र तदनुरूप पाठ्यक्रमको खाका तैयार गर्न अघि बढ्ने छौँ I आगामी केही महिनामा के पढाउने र कति पढाउने भन्ने कुराको टुङ्गो लगाउन प्रयास गर्नेछौ I तर यसका निम्ति हामी सबैको सहयोग,सुझाव र लगानी आवश्यक छ I

आउनुहोस् आफ्ना व्यक्तिगत आवश्यकताहरू, मोजमस्तिहरू र लापरबाहीलाई कम गरौँ र भाषा र संस्कृतिको संरक्षण गर्न तँ,मन र धनले अघि बढौँ I

[डा. ढकाल साहित्य परिषद्,भूटानको पाठ्यक्रम विकास समिति सदस्य हुन् – सम्पादक ]

Leave a Reply

Your email address will not be published. Required fields are marked *