भाषा संरक्षण अभियान :- एक समीक्षा

 

डा०  लक्ष्मीनारायण ढकाल
केन्टकी, अमेरिका

समस्या :-
विश्वमा छरिएका नेपाली मातृभाषी समुदायमा उत्पन्न भएको भाषिक समस्या चाहे त्यो भूटानबाट आएका नेपालीहरूमा होस् या नेपालबाट आएका नेपालीहरूमा होस् एउटै प्रकृतिको छ I संस्कृति, संस्कार र नेपाली जातीय पहिचानका लागि एक मात्र सबल र सार्वभौमिक आधार भाषा नै हो, त्यसैले भाषाको संरक्षण र विकासको कुनै अर्को विकल्प नै छैन I अर्थात् भाषाको संरक्षणका लागि सबैले आ-आफ्ना बालबालिकाहरूलाई मातृभाषाको हस्तान्तरण नगरी कुनै अर्को विकल्प नै रहँदैन I किनकि जस्ता प्रकारले पानी विना माछो बाँच्दैन, प्राण विना शरीर चल्दैन, त्यस्तै नै भाषा विना संस्कृति जीवित सहँदैन र संस्कृति त्यस जातिको सभ्यता र रगतसँग घुलमिल भएको हुन्छ I
भाषा यस्तो वस्तु रहेछ जसलाई सुनी नरहँदा, बोलिन नरहँदा, लेखि नरहँदा र पढी नरहँदा नयाँले सिक्नै नसकिने र पुरानाको पनि अभ्यास हराएर तोतलाउने र क्रमशः भुल्दै जाने हुन्छ I नयाँ बालबालिकाहरूमा मात्र यो भाषाको समस्या छ भनेर ढुक्क पर्नु हुँदैन I नेपाली भाषी वातावरणबाट अलग्गै रहेका किशोर, युवा, अभिभावक र वृद्धवर्गमै पनि यो समस्या आइपर्न सक्छ I पुनर्वासका यी दश वर्षमै उक्त समस्याहरू देखा पर्न थालेका छन् I अतः: पुरानाले गरिनु पर्ने स्वध्याय र नयाँलाई सिकाइनु पर्ने भाषाका आ-आफ्नै स्वरूप स्तर हुन्छन् I बालबच्चाहरूका लागि पनि पुराना (अभिभावक)ले नै जिम्मेवारी नलिएसम्म नयाँको केही लाग्नेवाला छैन I अतः: बालबच्चाका बाबु आमाका काँधमा ठुलो जिम्मेवारी आइपरेको छ I

वस्तुस्थिति :-
विश्वका यी विभिन्न देशहरूका कुना कुनामा रहेका नेपाली भाषी समुदायमा आफ्ना बालबालिकाहरूले भाषा भुल्दै गएको पीडादायी समस्या दिनानुदिन बढ्दै गएको छ I धेरैको नेपाली भाषा दोस्रो भाषा हुन पुगेको दयनीय अवस्था देखिन थालेको छ भने कम्ती मात्रमा नानीहरूले मातृभाषा बोल्न सकेको पाइन्छ I यद्यपि वर्तमानमा विगत तीन-चार वर्ष अघिको तुलनामा हेर्ने हो भने केही सचेत परिवारमा उनीहरूका नानीहरूले नेपाली भाषा धारा प्रवाह बोल्न थालेका छन्, तर यो सङ्ख्या अत्यन्त कम रहेको छ I थुप्रै स्थानहरूमा साप्ताहिक भाषा कक्षाहरू पनि चलिरहेका छन् र बिस्तारै गतिमान हुँदैछन् भने कतिपय स्थानमा चल्दै गरेका कक्षाहरू पनि बन्द भएका अवस्थामा छन्, तर यो सङ्ख्या आशाजनक छैन I प्रतिशतमा हेर्ने हो भने भाषाप्रति जागरुक वर्गको सङ्ख्या मात्र ४० प्रतिशत छ I सर्वेक्षण गर्दा साठी प्रतिशत परिवारका बालबालिकाहरू प्रभावित देखिन्छन् I यसमा केही बोल्दै नबोल्ने, केही छिटपुट बोल्ने र केही नेपाली भाषा सुन्दै नसुन्ने पनि हुन सक्छन् I यो अवस्था अभिभावकहरूको हेल्चेक्र्याँइले उब्जिएको हो भन्दा तितो हुँदैन I यस्तै रही रह्यो भने अबका १०-१५ वर्षमा नेपाली भाषा यी स्थानहरूमा निमिट्यान्न हुने खतरा देखिन्छ I

आवश्यकता :-
भाषा संरक्षणका निम्ति कुनै एउटा मात्र पक्षलाई कोट्याएर वा सम्हालेर पार लाग्ने वाला छैन I त्यसमा पनि हाम्रो समाजको बसाई र आ-आफ्नै तरिकाले कक्षाहरू चलेका हुनाले पनि एकरुपता नहुन्जेल सतर्क रहन जरुरी छ I किनकि यो समस्यासँग जोडिएका कारणहरूलाई अध्ययन गर्दा विभिन्न निम्न कारणहरू फेला पर्दछन् –

१.
अभिभावकको नेपाली भाषा प्रतिको चेतना नरहनु र आफ्ना नानीहरूसँग स्थानीय (अङ्ग्रेजी) भाषा मै बोलिदिनु प्रमुख कारण देखिन्छ I किनकि भाषा सिकाइको पहिलो खुड्किलो सुनाइ हो I आफैँले बोलेर नसुनाएसम्म बच्चाले सुन्न पाउँदैन, नसुनेसम्म उसले बोल्न कसरी सक्छ ? जन्मदेखि बारम्बार एउटै शब्द सुनिरहँदा मात्र त्यस शब्दको उच्चारण र अर्थको भाव बोध हुँदै जान्छ, अनि निरन्तर गरिएको अभ्यासले त्यो भाषाको सहजीकरण हुन्छ र धाराप्रवाहिता प्रति अग्रसर हुन्छ, तर प्रयोग बिना भाषा निर्जीव बन्दछ I अतः भाषालाई बार बार बोलेर सुनाइरहनु पर्ने हुन्छ I साथै बोल्न थालेपछि पनि शब्द भण्डार बढाउँन भाषाको औपचारिक शिक्षण गराउनु पर्ने हुन्छ I

२.
यस उपर्युक्त विश्लेषणले के देखाउँछ भने सर्वप्रथम अभिभावकहरूलाई आफ्नो मातृभाषाको महत्त्व र अपरिहार्यताको बोध गराउन आवश्यक छ I जबसम्म भाषा संस्कृतिको आधार स्तम्भ हो र मेरो पुर्खाले दिएको विरासत जो मेरा रगतमा बगिरहेको छ र यसको हस्तान्तरण मेरा सन्ततिमा मैलेनै गर्नु पर्छ भन्ने चेतनाको बोध हुँदैन तब सम्म मातृभाषाको पृष्ठभूमि नै तैयार हुँदैन I अतः: भाषाका संरक्षणमा लागेका हामी अभियन्ताहरूले, भाषाविद्हरूले चिन्तकहरूले, लेखकहरू, पत्रकारहरू र संस्थाहरूले अभिभावकलाई जगाउन छुट्टै योजना बनाउन र उनीहरूमा चेतना भर्ने काम गर्न परम आवश्यक छ I

३.
कक्षा सञ्चालन- भाषाका सुनाइ र बोलाइ पक्षलाई दृढीकरण गराउन पढाइ र लेखाइ अनिवार्य हुन्छ I यो प्रक्रिया पाठ्यक्रम या पाठ्य पुस्तक अथवा अन्यान्य पाठ्य सामग्रीको प्रयोग बिना सम्भव छैन I अतः यस अभावलाई पूरा गर्न सामूहिक कक्षा सञ्चालन नै सबै भन्दा उत्तम पक्ष हुन जान्छ I यस औपचारिक कक्षाले ती बालबालिकाहरूलाई वातावरण निर्माण गर्ने अवसर प्रदान गर्दछ, साथै भाषाका अग्रिम सोपान तिर जान प्रेरित गर्दछ I अतः हामीले सहरका साना साना टोलहरूमा भाषा कक्षाहरूको आयोजन र त्यसलाई सुव्यवस्थित सञ्चालन गर्दै त्यसको निरन्तरता प्रति मेहनत गर्नै पर्ने हुन्छ I
अमेरिका कै हकमा कुरा गर्दा विगतमा भन्दा आज निकै भाषा कक्षाहरू थपिएका देखिन्छन् I तर, यी भाषा कक्षाहरू आ-आफ्नै तरिकाले चलेका छन् I सिङ्गो समाजलाई भाषा शिक्षणकालागि नेतृत्व प्रदान गर्ने कुनै केन्द्रीकृत पाठ्यक्रम र योजना आजसम्म तयार भएको छैन, यो निकै जटिल समस्या देखिन्छ I चल्दै गरेका ती स्वतःस्फूर्त कक्षाहरू पनि धेरै कुराको अभावमा अव्यवस्थित, अनियन्त्रित र खिचातानीमा अल्झिएका देखिन्छन् I मूल्याङ्कन र प्रगतिको पद्धतिगत कुनै योजना विनै पनि कतिपय कक्षाहरू चलाइएका पाइन्छन् I योजना र कक्षा प्रशासनको तालमेल न भएसम्म यी विषयहरूमा प्रगति हुन कठिन हुनेछ I अतः केन्द्रीय योजनामा एकरुपता कायम गर्न बितेको देखिन्छ I

४.
पाठ्यक्रम निर्माण- भाषाको अध्यापन र वातावरण निर्माण मात्र नभएर ती कक्षाका माध्यमद्वारा यी बालबालिकाहरूलाई नैतिक शिक्षा प्रदान गरिनु पर्ने आवश्यकतालाई आजको परिस्थितिले जन्माएको छ, किनकि बालबालिकाहरूलाई नैतिक शिक्षा प्रदान गर्ने अन्य कुनै विकल्प हामीसँग छैन I सबै परिवारमा नैतिक शिक्षाको, व्यवहारको समुचित वातावरण र प्रभावकारी अभ्यास हुन्छ नै भन्न सकिन्न I अर्को कुरो स्थानीय शिक्षण पद्धतिमा उक्त विषयको कमिरहेकाले हाम्रा आफ्नै पाठशालाहरू न चलाइकन हामीसँग अर्को विकल्प नै बच्दैन I यो शिक्षण समुचित, योजनाबद्ध र समस्यामूलक अनुसन्धानबाट निर्मित भएको स्थानीय पाठ्यक्रमले मात्र प्रदान गर्न सम्भव हुनेछ I अतः हामीलाई अब त्यस्तो सबै आवश्यकताहरूको परिपूर्ति गर्न सक्षम केन्द्रीकृत पाठ्यक्रमको कमी खट्किएको छ I आउनुहोस् हामी सबै जुटेर यस महायज्ञलाई सफल बनाऊ !
विभिन्न स्थानहरूमा चलाइँदै ल्याइएका भाषा कक्षाहरूमा अझैसम्म पनि आ-आफ्नै तरिकाले पढाइँदै गरिएको छ I समाजका छिटपुट लेखकहरू द्वारा लिखित पाठ्यपुस्तक जे जस्ता भएपनि त्यही समाजलाई लक्षित गरेर तैयार पारेका छन् र सबैतिर उक्त पाठ्यपुस्तकहरूलाई प्रयोग गरिएको पाइँदैन, यसका विभिन्न कारणहरू हुन सक्छन् I अतः वर्तमानको आवश्यकता के हो भने हामीले यस समाजका निम्ति एकै प्रकारको समाजानुकूल र समस्यानुकूल केन्द्रीकृत पाठ्यक्रमको विकास र त्यसको प्रयोग गर्न अत्यावश्यक देखिन्छ I यसका निम्ति संयोजन गर्न कुनै एक सम्बन्धित संस्थाले काँध हाल्नु पर्ने या सम्बन्धित विशेषज्ञहरूको कुनै स्वतन्त्र निकाय गठन गर्न ढिलो भएको छ I

अतः सबैले यी विषयहरूलाई ध्यानमा राखेर भाषा शिक्षण अभियानलाई टेवा दिने र आवश्यकताहरूको परिपूर्ति गर्न एक मञ्चमा उभिन जरुरी छ I

५.
स्वयं सेवा- भाषा संस्कृतिको संरक्षणका अभियानहरूमा जबसम्म कुनै आर्थिक अनुदान जुटाउन सकिँदैन या कुनै संयन्त्रको विकास हुँदैन, तबसम्म स्वयंसेवा मै चल्ने कुरा हुन् I त्यसै पनि आफ्नो भाषा संस्कृतिको रक्षा गर्न हामीलाई खुसी हुनु पर्ने कुरा हो र यो कार्य स्वतःस्फूर्त हुनुपर्दछ, स्वान्त सुखाय हुनु पर्दछ I आजको व्यस्त युगमा एउटै व्यक्तिले सबै प्रकारका कार्यहरू सम्हाल्न भ्याउँदैन, तसर्थ सबैले आ-आफ्नो भूमिका निर्वहण गर्दै समग्रमा पुरै अभियानलाई टेवा दिनु पर्ने हुन्छ I यस कार्यलाई मेरो आफ्नो कार्य हो र मैले दैनिक रूपमा केही समय दिनै पर्छ भन्ने अठोट लिन जरुरी हुन्छ I

यस अभियानमा चिन्तकहरूको, लेखकहरूको, भाषाविद् र शिक्षाविद्हरूको आ-आफ्नै भूमिका हुन्छन् I उनीहरूले कक्षामा गएर पढाउन नभ्याउँन सक्छन्, भ्याउनै पर्छ भन्ने पनि हुँदैन, किनकि उनीहरूले लेख्न र चिन्तनका माध्यमबाट आफ्नो योगदान गरिराखेका हुन्छन्, समय खर्चिरहेका हुन्छन् I शिक्षकको भूमिका भिन्नै हुन्छ I शिक्षकले अनुसन्धान गर्ने, प्रशिक्षण लिने र नयाँ नयाँ शिक्षाका तौरतरिकालाई सिकिरहनुपर्ने हुन्छ र प्रयोग गरिरहनु पर्छ I अतः शिक्षकले अन्य कार्यहरूमा समय दिन भ्याउँदैन र उसलाई व्यवधान पनि गरिनु हुँदैन I त्यसरी नै व्यवस्थापनमा सहयोग गर्ने कार्कर्ताहरूको आफ्नै भूमिका हुन्छ I कक्षा  व्यवस्थापन, नानीहरूको रेखदेख, अभिभावकहरू सँग सम्बन्ध र आवश्यकता अनुरूप अन्यान्य सहकार्यहरू हुन्छन् I एउटा सिङ्गो अभियानमा कति प्रकारका व्यक्ति या भूमिकाहरू हुन्छन् भन्ने कुरालाई यहाँ चिन्तन गरौँ –

१. अभिभावकको भूमिका –
*  आफ्ना बालबालिकाहरूसँग नेपाली मै बोल्ने !
* घरमा नेपालीमय वातावरण निर्माण गर्न विभिन्न तरिकाहरू सोच्ने !
*  बालबच्चाहरूलाई स्थानीय नेपाली कक्षाहरूमा लिएर जाने I
*  गृहकार्य गर्न सघाउने र उनीहरूलाई सदैव प्रोत्सातित गर्ने !
*  नेपालीमा भएका शिक्षण सामग्रीहरूको खोजी गर्ने र उनीहरूलाई प्रयोग गराउने I
*  नेपाली भिडियो, गीत सङ्गीतहरू खोजेर सुनाउने, देखाउने !
*  नयाँ वा पुराना पत्र पत्रिका र बालसाहित्यको खोजी गर्ने र उपलब्ध गराउने !
*  इन्टरनेटबाट सान्दर्भिक सामग्री खोज्न सघाउने र पढ्न प्रेरित गर्ने !
*  अभियानमा लग्ने आर्थिक परिपूर्तिका लागि दान गर्ने !

२. शिक्षकहरूको भूमिका-
*  कक्षामा निर्धारित पाठ्यक्रमलाई, पाठ्यपुस्तकलाई आधार बनाएर सान्दर्भिक र सरल पाठ्यसामग्री तैयार गर्ने !
*  आरम्भिक स्तरमा कक्षामा भाषाको अधिक प्रयोग गराउन व्याकरण पक्षलाई त्यति जोड नदिने I
*  विद्यार्थीलाई अधिकाधिक सरल तरिकाले सम्वाद गराउने या गर्न सघाउने I
*  अनलाइन हुने सहायक सामग्रीलाई खोज्न नानीहरूलाई प्रोत्साहित गर्ने !
*  पढ्न र लेख्न पनि अभ्यास उत्तिकै गराउने !
*  विद्यार्थीलाई अभिव्यक्ति गर्ने अधिकाधिक अवसर प्रदान गर्ने !
*  बाल गीत, कथा, सम्वाद, निबन्ध, कविता आदि विधाका साहित्यको खोजी गर्ने र पढ्न बानी बसाल्न प्रेरित गर्ने !
*  कक्षामा नेपाली मात्र बोल्न अनुमति दिने र अन्य भाषालाई प्रतिबन्धित गराउने !
* न बुझेको विषयलाई यथाशक्य अभिनयद्वारा, वस्तुप्रदर्शंद्वारा बुझाउने प्रयत्न गर्ने

३. अनुवादलाई प्रोत्साहित नगर्ने !
* सदैव भाषा विशेषज्ञ र शिक्षा विशेषज्ञसँग परामर्श गर्ने र सहयोग लिने !
* नानीहरूलाई जानिनस्, भएन भन्ने खलका नकारात्मक शब्द प्रयोग नगर्ने I उनीहरूले दिएका उत्तरका लागि प्रोत्साहन वाक्य  “स्याबास” भन्न नछोड्ने !
* जान्ने बालकलाई उठाएर उत्तर दिन लगाउने नजान्नेलाई सिक्न अवसर दिने ! कम क्षमता भएकाहरूलाई स्तर अनुसार प्रश्न गर्ने र उत्तर दिन प्रेरित गर्ने !
* अभिभावकसँग सम्बन्ध राख्ने र बालकको बानी व्योहोराको चर्चा गर्ने अनि सुधार्न सहयोग दिने र उनीहरूलाई निर्देश गर्ने !
* शिक्षकले सदैव छात्रहरूसँग साथीको झैँ व्यवहार गर्ने, रुष्ट र कठोर व्यवहार कदापि नगर्ने !
* कक्षाको अनुशासनलाई कायम राख्न हप्काई दप्काई होइन, अपितु त्यस नानीलाई व्यस्त राख्ने खालका काम दिने !
* कसैले गल्ती गरेमा, हल्ला गरेमा ठुलो स्वरले हप्काउनु भन्दा गम्भीर भएर उ तिर एक छिन निरन्तर हेरिरहने I त्यो दृश्यलाई अन्य बालबालिकाले पनि देखुन् I
* यसो गर्नाले  कक्षालाई नियन्त्रण गर्न सजिलो हुन्छ र मनोवैज्ञानिक तरिकाले कक्षाको नियन्त्रण हुने सम्भावना रहन्छ !

अतः हामी फुटेर होइन जुटेर अघि बढौँ I

४. लेखकहरूको भूमिका-
एउटा लेखकले चाहे त्यो भाषामय वातावरण निर्माणार्थ गरिने कार्य होस् या पाठ्यपुस्तक तैयार गर्ने कार्य होस् उसको सुझबुझ र क्षमता अनुसार समग्र अभियानलाई ध्यानमा राखेर कार्य गरेको हुन्छ र हुनुपनि पर्दछ I अनुसन्धान कार्य संवेदनशील र समयसापेक्ष हुनुपर्ने हुनाले उसले सदैव चिन्तन र लेख्न अनि परिष्कार गरिनै रहनु पर्ने हुन्छ, त्यसैले लेखक या अनुसन्धाताहरूलाई सहज रूपमा कार्य सम्पादन गर्न सहयोग गर्नु पर्दछ I लेखकहरूले समाजलाई जगाउन, सूचना प्रदान गर्न र योजनालाई सफल बनाउने उद्देश्यले समग्र अभियानको निष्पक्ष समीक्षा गर्न जरुरी हुन्छ I साथै विशेषज्ञहरूको समूहले शिक्षण पद्धति, शिक्षा मनोविज्ञान र देश, काल र परिस्थिति अनुसारको बौद्धिक खुराक पस्कँदै समाजलाई, शिक्षकहरूलाई र समग्र योजनालाई नेतृत्व गर्न सकेको हुनुपर्दछ I

यी उपर्युक्त सम्पूर्ण विषयहरूलाई ध्यान राखेर हामीले हाम्रा योजनाहरू अघि बढाउन आवश्यक देखिन्छ I यहाँ सबै भन्दा जटिल र खटिएको विषय हो पाठ्यक्रम र केन्द्रीय शिक्षण बोर्डको निर्माण I अतः सबैले यी विषयहरूलाई ध्यानमा राखेर भाषा शिक्षण अभियानलाई टेवा दिने र आवश्यकताहरूको परिपूर्ति गर्न एक मञ्चमा उभिन जरुरी छ I
यसो गर्नाले हामी हाम्रो ऊर्जा, समय र अर्थलाई समायोजन र बचत गर्न सक्नेछौ भने अर्कातिर हार्मो शक्ति बढ्ने छ I हुन ता हातका प्रत्येक औँलाहरूको उत्तिकै महत्त्व छ तर पनि आकार प्रकारमा भिन्नता पनि छ र एक्लै औँलाको शक्ति पनि कम हुन्छ र अर्थहीन पनि हुन सक्छ, तर तिनै औँलाहरूलाई मुट्ठी बाँध्नाले त्यस मुट्ठीमा शक्ति उत्पन्न हुन्छ I अतः हामी फुटेर होइन जुटेर अघि बढौँ I

Leave a Reply

Your email address will not be published. Required fields are marked *