भाषा संरक्षण अभियान र हाम्रो तयारी
सम्पादकीय
हामी पुनार्वासित भूटानी मूलका नेपालीहरूमा आएको मातृ भाषाको समस्या दिनानुदिन बढेको देखिन्छ I केही स्थानहरूमा भाषा शिक्षणका साप्ताहिक कक्षाहरू आरम्भ भएका पनि कोरोना महामारीका कारण अझसम्म ठप्प नै छन् I खोप लगाइसकेपछि यी स्थानहरूमा महामारी नियन्त्रित हुँदै आएको भएता पनि कक्षाहरू स्थलगत रूपमा पुनः सञ्चालित हुन सकेका छैनन् I कोरोना महामारीले ल्याएको प्रविधिको विकास र प्रयोगले कतै कतै व्यावसायिक ढाँचामा अनलाइन भाषा शिक्षण हुन थालेको पनि देखिएको छ तर यस प्रकारको व्यावसायिक शिक्षणले कतिको गति लिन्छ भन्न सकिन्न। अर्को कुरा समग्र समाजलाई समेट्न र गुणवत्ता मूलक प्रगति होला नै भन्न अहिले नै सकिँदैन I तर मूल प्रश्न के छ भने भाषा शिक्षण र भाषा संरक्षणको समग्र अभियानलाई गति र प्रगति दिन आवश्यक परियोजनाहरूको निर्माण र प्रयोग गर्न हामी कतिको तयार छौँ I
यस भाषा संरक्षण महाअभियानमा सबैभन्दा आवश्यक भएको विषय हो पाठ्यक्रम र पाठ्य सामग्री I त्यसपछि दोस्रो मूलभूत आवश्यक कार्य हो केन्द्रीकृत शिक्षण योजनाको विकास र परिचालन I तेस्रो कार्य छ अभिभावकहरूलाई र बालबालिकाहरूलाई उक्त परियोजनासँग आबद्ध गराउनु I यी सम्पूर्ण आवश्यक मूलभूत परियोजनाहरूलाई ध्यानमा राखेर साहित्य परिषद् भूटानको शिक्षा विभागले भाषा शिक्षणका लागि पहिलो तहको पाठ्यक्रम प्रकाशन गरिसकेको छ I तर यसलाई प्रयोग गर्न बाँकी नै छ, किनकि कोरोना महामारीको बन्दले सञ्चालित कक्षाहरूमा प्रयोग हुन पाएको छैन I यो पाठ्यक्रमलाई अब पुनः भौतिक रूपमा भाषा कक्षाहरू आरम्भ भएपछि हामीले प्रयोग गर्न आवश्यक देखिन्छ I त्यसका लागि जहाँ जहाँ भाषा कक्षाहरू सञ्चालित हुन्छन् त्यहाँसम्म यो पाठ्यक्रमलाई उपलब्ध गराउन परिषद्ले तयारी गर्दै गरेको जानकारी मिलेको छ I साथै कक्षा सञ्चालकहरू र शिक्षकहरूले पनि परिषद्सँग सम्पर्क गरेर उक्त पहिलो तहको पाठ्यक्रम प्राप्त गर्न सकिने छ I यो सबैका लागि हो र सबैले प्रयोग गरेमा मात्र यसमा गरिनु पर्ने थप घट र परिष्कार गर्न सकिने छ I
परिषद्ले एउटा अर्को महत्त्वपूर्ण परियोजनालाई समेकित रूपमा विकसित गर्न पहल गरिरहेको छ I परिषद्को जिम्मेवारी र धारणा अनुरूप एउटा केन्द्रीय स्तरको भाषा शिक्षा आयोगको गठन गरेर शिक्षा नीतिको विकास र परिचालन गर्नु पर्नेमा जोड दिएको छ I परिषद्को भाषा शिक्षा विभागले अन्य भाषा साहित्यसँग आबद्ध संस्थाहरू र समाजका स्वतन्त्र विद्वानहरूको सहभागिता हुने गरी एउटा शिक्षा आयोगको गठनको प्रक्रियालाई अघि बढाउँदै गरेको छ I तर यस कार्यमा कतिको कर्मठ व्यक्तिहरू आउँछन् र कार्यले परिणाम मूलक योजना ल्याउने हो यस कुराको निर्णय गरिने कार्यले नै गर्नेछन् ,अहिले नै यसै भन्न सकिने अवस्था छैन I
भाषा संरक्षणको कार्य हामी सबैको साझा समस्या भएकाले र यो अभियानको केन्द्रीय शिक्षा नीति नबनेसम्म हाम्रो ऊर्जा,समय र अर्थको सदुपयोग नहुने भएकाले पनि बनिन लागेको केन्द्रीय शिक्षा आयोगको अपरिहार्यता र उपयोगिता स्पष्ट परिलक्षित हुन्छ I तर यस कार्यमा जिम्मेवारी लिने व्यक्तिहरू विषयमा सक्षम, स्वाभिमानी,लगनशील,स्पष्ट विचारधारा भएको, पर्याप्त समय निकाल्न सक्ने र जुझारु हुन पनि आवश्यक देखिन्छ I किनकि यो कार्यको प्रकृति,गरिमा,जिम्मेवारी र महत्त्व अवश्य पनि गहकिलो हुन्छ र रहने छ I
यी माथिका विषयवस्तुहरूलाई ध्यानमा राखेर हाम्रा समस्या र गन्तव्यको पूर्वानुमान गर्दै त्यसको परिहारका लागि हामी कतिको तयार छौँ ? यो आजको मूल प्रश्न हो I