भाषिक अतिक्रमणविरूद्ध
सन् १९९२ मा सदाका लागि नेपाल आउनु ठीक चार वर्षअघि म ६ वर्षको थिएँ । हामी परिवारका पाँचजना सदस्य अन्य गाउँलेका साथ पशुपति तीर्थाटनका लागि आएका थियौं । त्यसक्रममा जनकपुरको पनि यात्रा गरिएछ । रामजानकी विवाहमण्डपमा पुग्दा अरूले नभनी नै मैले रामसीताको विवाह हो भन्ने थाहा पाएँ । त्यसको खास कारण थियो सानै उमेरमा मैले पढेको रामायण । भुटानको दक्षिणी सहर गेलेफु नजिक मेरो गाउँमा रामायणको खुब सम्मान थियो, निकै चर्चित थियो मलाई थाहा छैन, कहिले मैले नेपाली लेख्नपढ्न सिकेँ, तर मैले सम्झनसक्ने मेरो बाल्यकालमा म रामायण, स्वस्थानी र महाभारत पढ्थेँ । सानो बच्चो भएकाले गाउँले रमाइलो मानेर मलाई पढ्न बोलाउँथे । म फुरुङ्ग परेर जान्थेँ ।
त्यसको २० वर्षपछि भुटानमा संविधान आयो, राजाले बनाएर नासोस्वरूप सुम्पिदिए । भारतीयहरूले त्यसलाई अंग्रेजीमा बनाइदिए । राष्ट्रिय भाषा जोङ्खामा कसै गरे पनि जस्ताको तस्तै संविधान उल्था भएन । नेपाली भाषामा यसलाई उल्था गर्ने काम सरकारले गरेन । मैले आँट गरेँ र यसलाई नेपालीमा उल्था गरेँ । काठमाडौंका संविधानविद भीमार्जुन आचार्यले केही सहयोग गरे । संविधान तयार भयो नेपालीमा । मैले गर्व गरेँ, भुटान सरकारले गर्न नसकेको वा नचाहेको काम मैले गरेँ । प्रवासका भुटानीलाई त भुटानको संविधानको त्यति वास्ता थिएन । यसमा चासो थोरैले मात्र राखे । नेपालीमा तयार संविधानलाई मैले भित्रै बस्ने नेपालीभाषीकहाँ पुर्याउने जमर्को गरेँ । थिम्पुमा बस्ने एक नेपालीभाषी पत्रकारसित ‘च्याट’मा परिचय भो । मैले उनलाई संविधानको नेपाली प्रति पठाइदिएँ, पढ्न भनेर । अचम्म के भयो भने उनले नेपाली पढ्न जानेनन् ।
घरमा बुबा-आमाले पढ्लान् पि्रन्ट गरेर लैजाउ भनेँ । के गरे, थाहा भएन । यी दुई सन्दर्भ काफी छन्, नेपाली भाषा पूर्वी हिमालमा कसरी मासिँदैछ भन्ने प्रमाणका लागि । दुई दसकभित्र भानुभक्तको रामायणमात्र मरेन भुटानमा, उनको भाषा पनि मर्यो । तपाईं र ममात्र होइन, भुटानमा एउटा सिंगै सभ्यता मर्यो, इतिहास मर्यो । हामी फगत रमिते बन्यौं । भुटानको नेपालीभाषी नयाँ पुस्ता नेपाली लिपि चिन्दैन, पढ्न जान्दैन । यस अर्थमा त्यो देशमा एउटा लिपि मर्दैछ । हिमाली क्षेत्रका भाषाको जगेर्नामा लागेका मार्क ट्युरिन काठमाडौंमा बसेर के गर्दैछन््, म भन्न सक्दिन । तर व्यापक बनिसकेको भाषा कुनै ठाउँमा मर्दैछ भन्ने सुन्दा भाषाप्रेमीको चित्त दुख्नुपर्ने हो ।
सन् १९६९ सम्म सरकारी कागजपत्र तयार हुने भाषा त्यसपछि तयार पारिएको जोङ्खा भाषाको पेलानमा नाशिँदैछ, मासिँदैछ । त्यो देशमा नेपाली भाषामा सिर्जना तयार नभएको धेरै भइसक्यो भने नेपाली लेखन सपनाजस्तै बन्दैछ । नेपाली भाषामा पनि कविता र कथा हुन्छ र ? भन्ने जमाना आएको छ, त्यहाँ । औपचारिक कार्यक्रममा समेत नेपाली भाषा हराउँदैछ । त्यससँगै बालकृष्ण समले भनेझैं नेपाली सभ्यता र संस्कृति हराउँदैछ । नेपाली भएर पनि धेरैले त्यहाँ आपmनो भाषा बोल्न नपाउने परिस्थिति थियो, गत वर्षसम्म । नेपाली भाषा बोल्नु त्यहाँ बस्ने नेपालीभाषीका लागि ‘बृहत नेपालको जासुस’ तक्मा भिर्नु थियो । भुटानी नेपालीको अब आउने पुस्ताले नेपाली बोल्न जान्दिन भन्यो भने त्यसलाई अन्यथा नसम्झे हुन्छ । त्यसपछि भुटानका हामीलाई नेपालीभाषी नभने राम्रो । हामी त्यो उपाधिको हैसियत राख्ने छैनौं ।
नेपाली भाषा साहित्य आन्दोलनमा लागेका पुस्तक विमोचन, टिप्पणी र भाषण गर्नमै व्यस्त छन् । भानु र लक्ष्मी जयन्ती मनाउनमै व्यस्त छन् । रामायणको व्याख्या गरेरमात्र नेपाली भाषाको विकास हुने होइन । रानीपोखरी अघिको भानुभक्तको मूर्ति पुजेर वा कतै फोटो राखेर पुज्दैमा वास्तवमा भानुभक्तको सम्मान हुँदैन । उनको सम्मानका खातिर नेपाली भाषा साहित्य भण्डार बृहत बनाउनुमात्र होइन, यस भाषाले जग बसालेको माटोमा फक्रनसक्ने परिस्थिति सिर्जना गर्नुपर्छ ।
गत महिना पूर्वी नेपालका साहित्यकार प्रकाश आङ्देम्बेसित दमकमा भेट भयो । नेपाली साहित्यमा उनले गरेको योगदानको बारे म अनभिज्ञ छैन । तिनले अन्तर्राष्ट्रिय स्रष्टा मञ्च गठन गरेछन् । नेपाली भाषाको विश्वव्यापी आन्दोलनमा लाग्ने आफ्नो योजना बताए र मलाई सहभागी हुन भने । मैले नाइँ भन्ने कुरै भएन, एउटा साहित्यप्रेमीका हिसाबले । मैले कार्यक्षेत्र सोधेँ, उनले पश्चिमा मुलुकतिर औंला तेस्र्याए, भुटानीहरू पुनर्वास अन्तर्गत गएका र तिनले आन्दोलनमा सहयोग गर्ने आशाका साथ । मलाई दुःख लाग्यो, भुटान जहाँ नेपाली भाषा मरेको छ, त्यहाँ साहित्यमा पागल हुनेहरूको दृष्टि पुग्नसकेको रहेनछ । भुटान नि ? भन्ने मेरो जिज्ञासा त्यसै खेर गयो ।
कालेबुङ र सिक्किमका साहित्यप्रेमी, भाषा सम्मेलन र छलफलका लागि नेपाल ताक्छन्, नेपालका अमेरिका ताक्छन् । के साँच्चै नेपाली भाषाको आन्दोलन पश्चिमी सभ्यतामुखी बनेको हो, उपभोक्तावाद र पुँजीवादको लङ्गौटी बनेको हो ? लाग्छ, भाषा आन्दोलनका हिमायतीहरू दुई कविका जयन्ती मनाएर आफ्नो कर्तव्य पूरा गरेको ठानी निदाएका छन् ।
यस वर्ष लक्ष्मीप्रसादको शतवाषिर्की खुब प्रचार-प्रसारका साथ मनाइयो । आज भानु जयन्तीको त्यस्तै चर्चा छ । खुब तडक-भडक छ । तर यी सबै रमझममा नेपाली भाषा मर्दै गरेको मुलुक भुटानका बारे दुई शब्द बोल्ने कोही छैन । भाषा आन्दोलन दोसल्ला ओड्नमा गर्व गर्छ कि मर्न लागेको भाषालाई बचाउनुमा, यसमा लागिपरेका हस्तीहरू नै जानुन् । गर्वका साथ दिइने भाषिक तक्माहरू किताबी पन्नाहरू गन्ती गरेर होइन, साँच्चिकै भाषालाई जीवन्त राख्ने प्रयासमा लागेकालाई दिनु उचित ठान्छु । त्यस्ता तक्मा भिर्नेहरू भुटानभित्र छिरेर हेरुन् र आफ्नो तक्माको सार्थकता बुझुन् । तक्मा दिनेहरू पनि भुटान पसुन्, हेरुन् ।
अन्य मुलुकमा भानुभक्तको गुणगान गाइरहँदा भुटानका नेपालीहरू अरू नै कुनै भाषाका श्लोक घोक्दै होलान् । भानुको सालिक र तस्वीरमा माल्यार्पण हुँदै गर्दा भुटानका नेपालीहरू आफैंलाई नेपाली हुनुमा धिक्कार्दै होलान् । अरू ठाउँ रामायण पढिँदै गर्दा भुटानका नेपालीहरू गुरु रिम्पोछे र शेक्सपियरका नाटक कल्पँदै होलान् । जन्मदिनमा आज उनको भाषा साँघुरिँदैछ भन्ने भानुभक्तले सुन्ने भए भन्दिने थिएँ- भानु, तिम्रा सन्तान तिम्रो बखान गर्नमा यति व्यस्त छन्, तिनले तिम्रो भाषामाथि कहाँ-कहाँ आक्रमण भयो, सोच्न भ्याएका छैनन् ।
भुटानमात्र विश्वको यस्तो देश हो, जहाँ नेपाली भाषा, भानुको भाषामाथि थिचोमिचो भएको छ । तिनका अनुयायीहरूमाथि दमन, अत्याचार भएको छ । तिनीहरूसँगै भानुको भाषा शरणार्थी बनेको छ । पुनःस्थापना अन्तर्गत पश्चिम जाँदैछ । भविष्य झन् अन्धकार बन्दैछ । प्रवासमा बसेर थोरै कलम चलाउन जान्नेहरू, अंग्रेज शासनमा बाँच्न जाने दौडमा छन् । भुटानमा भाषा एक्लो बन्दैछ । भुटानले न शरणार्थी फर्काउने आश छ, नत नेपाली भाषाको पुनःस्थापनमा सघाउने । त्यसैले नेपाली भाषा आन्दोलनका अग्रजहरूको दृष्टि वासिङ्टन र लन्डन होइन, थिम्पु हुन नसके गेलेफु हुनुपर्छ । पूर्व कालेबुङ र सिक्किमका दिग्गजहरूले काठमाडौं होइन, कालेबुङ र सिक्किमभन्दा अझ पूर्व नजर लाउनु आवश्यक छ । भुटानमा भानुलाई पुनःजीवन दिनुछ, भानुको भाषालाई मर्न दिएर सभ्यता खुम्च्याउनु छैन ।
स्रोत: कान्तिपुर दैनिक