भाषिक अस्तित्वबोध र सत्ता-राजनीति

भक्त घिमिरेः पेन्सिलभेनिया/अमेरिका

‘भाषा हो सभ्यता हाम्रो सारा उदय, उन्नति

जीत, वैभव भाषामै बाँच्तछन् पछिसम्म यी’-

 

आफ्नै परिवारका राणाहरुको सर्वसत्तालाई त्यागेर लोकतन्त्रको पैरवी गर्न तम्सिएका लेखक बालकृष्ण शमको यो उद्गारले हामीलाई के बुझाउँदछ भने सामाजिक सत्ताको जग पनि भाषामै अडिएको हुन्छ । भाषिक महत्व बुझाउनका लागि आफ्नो कृति काव्यादर्शमा आचार्य दण्डी लेख्छन्-

‘इदधतमः कृत्स्नं जायेत भुवनत्रयम् ।

यदि शब्दाह्नयं ज्योत्तिरासंसारं न दीप्यते ॥’ (अर्थः यदि भाषाको रूपमा शब्दस्वरुप ज्योतिको प्रकाश भएको थिएन भने यो भुवन (संसार)  अन्धकार हुने थियो)

“सन् १९४९ मा अवामी लीग भन्ने राजनीतिक दल बन्यो जसको मुख्य लक्ष्य बंगला भाषाको मान्यता र पूर्वी पाकिस्तानलाई स्वायत्तता हासिल गराउनु थियो । सन् १९६६ छःविन्दु नामक आन्दोलनको घोषणा पनि भएको थियो । छःविन्दु आन्दोलन भनेको विभिन्न छवटा माग राखेर पूर्व पाकिस्तानको पूर्णाधिकारको लागि लक्षित जनान्दोलन थियो । जब सन् १९७० मा सम्पन्न पाकिस्तानको आमनिर्वाचनमा अवामी लीगका नेता शेख मुजीबुर्रहमानले भारी मत हासिल गरे, त्यो चुनाव नतिजालाई पश्चिम पाकिस्तानले खारेज गरिदिएकाले पूर्व पाकिस्तानले पश्चिम पाकिस्तानका विरुद्ध खुल्ला विद्रोहको घोषणा गऱ्यो । क्रमशः यसरी भाषाबाट संस्कृति, संस्कृतिबाट क्षेत्रीय स्वायत्तता हुँदै सन् १९७१ मार्च २६ का दिन पूर्व पाकिस्तान एउटा नयाँ राष्ट्र ‘बंगलादेश’ बनेर परिदृश्यमा उदायो ।”

भाषा भन्नेबित्तिकै एकोहोरो आवाजमात्र होइन, बुझाइ पनि हो । त्यसैले बच्चादेखि जान्ने वा बुझ्ने भाषालाई संसारले ‘मातृभाषा’को नामबाट चिन्ने गरेको छ ।  संयुक्त राष्ट्रसंघको भगिनी संस्था यूनेस्कोले २१ फेब्रुवरीको दिन ‘अन्तर्राष्ट्रिय मातृभाषा दिवस’ घोषणा गरेको कुरामा पनि यही रहस्य लुकेको मान्न सकिन्छ । यो इतिहासको शृङ्खलामा संस्कृत, ल्याटिन, अंग्रेजी, हिब्र्यूलगायत र अन्य थुप्रै प्राचीन भाषाहरू पनि समेटिन्छन् ।

भाषाको सन्दर्भमा सर्वस्वीकार्य एउटा यथार्थ के हो भने जन्मनासाथ बाल-बालिकाले केही विशेष किसिमका ध्वनी-संकेतहरु अनुभूत गर्न थाल्दछन् । श्रवण, स्मरण र प्रकटीकरणका लागि मानव शरीरमा विशेष अंगहरु जन्मिँदै विद्यमान हुन्छन् । शरीरका अन्य अंगहरु बढेजस्तै ती उपकरणीय अंगहरु पनि बढ्दै जान्छन् र बालबालिकाको बुझ्ने क्षमता यही क्रममा गतिवान हुँदै जान्छ । यसर्थ, हरेक बालक-बालिकाले जन्मिँदै सुन्ने र गम्ने भनेको उसकी आमाले बोलेको आवाज हो । आमाले बोल्ने बोलीलाई नै संसारले ‘मातृभाषा’ भनेको हो । आमाको काखमा हुर्किँदै गर्दा जुन भाषा शिशुले सिक्न पाउँछ, त्यो भाषा नै उसलाई विश्व चिनाउनमा उपयोगी हुन्छ । अन्य भाषाहरु सहायकमात्र हुनसक्छन् ।

विभिन्न वैज्ञानिक खोजहरुले फेला पारेका अनुसन्धान-नतिजाहरुले जनाए अनुसार शिशु जन्मिएर आठ महिनाको छँदादेखि ध्वनीका विभिन्न झंकारसँगै बाहिरी संकेतहरु पनि ग्रहण गर्न थाल्दछ । एक वर्षदेखि एक-दुइ शब्द बोल्न र चार दर्जनभन्दा बढी शब्दहरु सम्झनसक्ने हुन्छ ।

यसरी दुइवर्ष नपुगी नै शिशुले पाँच दर्जनभन्दा अधिक शब्द बोल्ने र दुइसयको हाराहारी शब्दहरु सम्झिनसक्ने क्षमता विकसित हुन्छ । त्यसो हुनाले आफ्नी आमासित हुर्किएका बाल-बालिकाहरु चेतनाको हिसाबले अन्यको तुलनामा बढी सबल वा तन्दुरुस्त हुन्छन् । किनकि जन्मजात शिशुलाई आमाको अभिव्यक्ति बुझ्न जति सजिलो हुन्छ त्यो सहजता अरु केही कुरामा पनि हुँदैन । संयुक्त राष्ट्रसंघले विश्वव्यापी रूपमा मानवाधिकारको घोषणा-पत्र जारी गरेजस्तै बालबालिकालाई मातृभाषा शिक्षा प्रदान गर्नुपर्ने कुरामा पनि प्रमुखता दिएको छ ।

तर, आजको राजनीतिक, आर्थिक विश्वपरिवेशले राष्ट्रसंघीय घोषणा र विधानको कुरामात्र होइन, हरेक समुदायका संवेदनशील मर्महरु नै पोलेर खरानी बनाइरहेको देखिन्छ ! हरेक चीज आज व्यापारका वस्तु बनेका छन् । जहाँ नाफा छ त्यसमा मानिसहरु मरिहत्ते गरेर लिप्त हुँदै बिलाउँछन् । ‘पैसो छ त संसार छ’ भन्ने चेतनाले सारा मानिसहरु अर्थमुखी भए र, स्वत्व गुमाएका छन् । आज संस्कार-संस्कृति, सामाजिक सद्भावनाको ऊर्जा, शिक्षा, स्वास्तित्व अनुशीलनका सारा कुराहरुमा सौदा गरिँदैछ ।

त्यसैले जानी नजानी आज मानिसहरु घर-घरमा सन्तानका नाममा ‘रोबोट’ हुर्काइरहेका छन् । रातारात लगानी र परिश्रमभन्दा दोब्बर सम्पत्ति कमाउने उकुर्जीले गर्दा हरेक मानिसको चेतना नै अर्धमृत भइसकेको छ । आज हरेक नाताहरु नाफामा टिकेका छन् । नाताभन्दा पहिले नाफाको हिसाब चल्छ । कसैसितको सम्बन्धमा रकमी नाफा छ भने कायम गर्ने नत्र, कट्टी हान्दिने अभ्यास नयाँ संस्कृतिकै रुपमा विकसित हुँदैछ ! प्रशस्त सम्पत्ति भएमात्र स्वास्नीका लागि लोग्ने गतिलो हुन्छ, लोग्नेका लागि स्वास्नी गतिली हुन्छे, बाउ-आमाका लागि छोरा-छोरी र छोराछोरीको लागि आमा वा बाबु गतिला हुन्छन् ।  यो अवस्थामा उनीहरुको उत्तराधिकारी पुस्ता रोबोट नभएर के नै होस् ! उनीहरुको समुदाय अर्थमुखी नभएर कस्तो होस् ?

भाषाको सरोकारमा पनि उसै गरी मानिसहरु नाफामुखी भएका छन् । परतन्त्रको गायत्री जप्ने मानसिकता बोकेर नाफामुखी भाषाको अध्ययनमा तोते बोलीमै बालबालिकालाई जबरजस्ती होमिएको छ ! संभ्रान्तताको रडाकोमा अल्झिएर मातृभाषाको अध्ययनलाई धेरैले दण्डनीय साबित गरिदिएका छन् । यो कुरामा केवल व्यापारिक प्रतिष्ठानहरु जिम्मेवार छैनन्, उपभोक्ताहरु पनि बराबर रूपमा यो अवस्थाका सिर्जनाकार हुन् । मातृबोलीका अतिरिक्त भाषाहरु अनुवाद गर्नका लागिमात्र प्रयोजनीय हुन्छन् । अरू भाषा सिकेर आउनेले आफ्नो मातृभाषा नै जानेको छैन भने उसको अनुवाद केमा हुन्छ ?

आजको मान्छे यसरी आफू यान्त्रिक बनेर यान्त्रिक पुस्ताको निर्माण गर्दै अघि बढेको छ । र, यी सबै उबड-खाबड समस्याहरुको जड राजनीति नै हो । मानिसहरुको चेत समुदायको उन्नतिमा उद्देश्यरत नभएर व्यापारमुखी नाफामा परिलक्षित भएकाले राजनीति पनि सम्पत्ति आर्जनकै लागि केन्द्रिभूत बनेको छ । मानिसहरु आफ्नो आधा आयुसम्म खर्चिएको लगानी, भोगेको अभाव र कष्ट रातारात भरपाई गर्न राजनीतिमा सामेल हुन्छन् ।

भाषा र राजनीतिबीच समिश्रणको सन्दर्भ उठिसकेपछि, अलिकति त्यसतर्फ पनि चर्चा गर्नुपऱ्यो । दक्षिण एशियाली राजनीतिमा भाषालाई यसरी समुदायिक अस्तित्वको मेरुदण्डका रूपमा लिइनुको कारण पनि तत्कालीन वैश्विकप्रभाव नै हो । उहिल्यैदेखि भारत दक्षिण एशियाली राजनीतिको माऊ थियो । त्यसो हुनाले भारतीय राजनीतको सेरोफेरोमा नपुगी यो कुरो टुङ्गिँदैन । इतिहासले औंल्याए अनुसार भारत स्वतन्त्र हुँदै गर्दा भारतीय राष्ट्रभाषा के हुने भनेर खूबै बहस चल्यो ! संस्कृत, कन्नड, कोंकणी, सिंधी, मराठी, कश्मिरी, ऊर्दू हुँदै हिन्दीमा पुगेर त्यो बहस टुंगिएको थियो ।

भनिन्छ, भारतीय संविधान निर्माता डा. भीमराव अम्बेडकरले संविधानसभामा संस्कृत भाषालाई राष्ट्रिय मान्यता दिलाउन प्रस्ताव गरेका थिए (सन् १९४९, सेप्टेम्बर ११ मा प्रकाशित ‘नेशनल हेराल्ड’)  ।

तर, भाषाभित्रै जातीय वर्चस्व लपेटेर त्यो कलुषित भेदलाई बँचाउन चाहने त्यसबेलाका केही संविधानसभा सदश्यहरुले ‘संस्कृत पवित्र शास्त्रको भाषा भएकाले यसलाई त्यसरी सार्वजनिक भाषा बनाउन नमिल्ने’ भनेर विरोध जनाएका थिए ! त्यसपछि ऊर्दू वा खडी बोली, कुनचाहिं मूल भाषा बनाउने भनेर बहस गर्दागर्दै विवाद उठेपछि गान्धीको वैचारिकीसमेतलाई मान्यता दिँदै हिन्दी राष्ट्रभाषा बनेको तथ्य पाइन्छ ।

हुन त प्राचीन भारतमा पनि संस्कृतमात्र आमप्रयोगको भाषा थिएन ।  कालिदासको ‘अभिज्ञान शाकुन्तलम्’ पढ्नेहरुले बुझ्नुहुनेछ; त्यसमा समाजका विभिन्न निर्धारित तहअनुसार भाषाको प्रयोग भएको पाइन्छ । कालिदासको यो नाट्यकृतिमा नायक, राजा र ब्राह्मणहरुमात्र संस्कृतमा संवाद गर्दछन् । त्यसपछिको तहमा हुने नारीहरु प्राकृत भाषाको प्रयोग गर्दछन् ।  प्राकृतकै प्रयोगमा पनि अझ धेरै वर्गीकरण गरिएको छ जसमा उच्च तहका नारीहरु छन्दोबद्ध महाराष्ट्री भाषिकामा संवाद गर्दछन् भने केटाकेटी र उच्चतहका नोकर-चाकरहरु शौरसेनी भाषिकाको उपयोग गर्दछन् । यसरी नै दरवारका भारादार-कर्मचारीहरु मगधीमा बोल्छन् भने जुवाडे र जौहरीहरु अवन्ती भाषामा बोल्दछन् । त्यसै गरी गोठाला र कोइलाको काम गर्नेहरुलाई पैशाची र त्योभन्दा तल्लो तहका नागरिक तथा अपरिचित आगन्तुकहरुलाई अपभ्रंश भाषाको उपयोग गराइएको छ ।

कुरो जे भए पनि तत्कालीन राजनीतिको परिप्रेक्षमा स्थापित पहिचान पाएको भाषाचाहिं संस्कृत नै थियो । त्योबेला भारतको भौगोलिक संरचना आजको भन्दा धेरै ठूलो थियो । पौराणिक कालमा रहेको महाभारत टुक्रिँदै विभिन्न क्षेत्रीय राज्यहरु बनेका थिए । तर, आधुनिक कालमा बेलायतीहरुले विभिन्न रजौटाहरुलाई आफ्नो अधीन गरेर पुनः क्षेत्रविस्तार गराए । सन् १९४७ भन्दा अघि बेलायतीहरुको शासनमा ५८४ राज्यहरु ब्रिटिश भारतको पकडमा थिए ।

यद्यपि, पाकिस्तानको नाममा देश-विभाजन भइसकेपछि भारत अनपेक्षित रूपमा खुम्चियो । त्यसपछि भाषाको आधारमा १४ राज्य र ६ वटा केन्द्रशासित संघीय गणतन्त्र-आधुनिक भारतको स्थापना भयो । क्रमशः भाषाकै आधारमा राज्यहरु थपिँदै गए । सिक्किम भाषाको आधारमा भारतबाट छुट्टिएको राज्य थिएन । एउटा छुट्टै देशलाई भारतले अधिग्रहण गरेर आफ्नो राज्य बनाएको थियो । तर, त्यहाँ पनि आमप्रयोगमा नेपाली भाषा चलेको कुरालाई आधार बनाएर केही छिमेकी शासकहरु ‘सिक्किममा नेपालीभाषी बहुमतका कारण देश गुमेको’  अझै पनि घरिघरि ढिप्पी गरिरहन्छन् ।

उता भारतबाट छुटेर पाकिस्तान बन्ने सिलसिलामा पनि मुख्य सवाल भाषाकै थियो । यहाँनेर देशविभाजनको क्रममा एउटा महत्वपूर्ण कुरा उल्लेख गर्नुपर्ने हुन्छ । भौगोलिक संरचनाको हिसाबले पाकिस्तान भारतका दुइपाटालाई घेर्ने किसिमले स्थापित भएको थियो । भारतको पश्चिमोत्तरमा पश्चिम  पाकिस्तान र पूर्वमा रहेको पूर्वपाकिस्तान (अहिलेको बंगलादेश) ।

देश विभाजनपछि भाषाजस्तो महत्वपूर्ण जनसरोकारको विषयमा तर्का-तर्की चल्दाचल्दै तत्कालीन पाक-प्रधानमन्त्री लियाकत अलीले १९४८ मा ‘ऊर्दू’ भाषालाई पाकिस्तानको राष्ट्रभाषा घोषित गरे ।

प्रधानमन्त्री अलीले ऊर्दूलाई राष्ट्रभाषा घोषणा गरेपछि पूर्व पाकिस्तानमा उग्र प्रतिक्रिया शुरु भयो । पूर्व पाकिस्तानका आम नागरिकहरु बंगला भाषालाई राष्ट्रभाषा बनाइनु पर्नेमा अडिग थिए । यही माग लिएर त्यहाँ आन्दोलन शुरु भयो । क्रमशः सन् १९४९ मा ढाका विश्वविद्यालयका विद्यार्थीहरुद्वारा गठित ‘राष्ट्रभाषा संग्राम परिषद’-ले ‘बंगला भाषा दिवस’ मनाउने घोषणा नै गरिदियो !

विद्यार्थीहरुको यस्तो घोषणाले पाकिस्तानमा ठूलो हलचल पैदा गऱ्यो । दिनदिनै जुलूस, धर्ना, लाठीचार्ज, अश्रुग्यास पूर्वपाकिस्तानमा सामान्यझैं हुनथाल्यो । तर, जति धेरै दमन बढ्यो, आन्दोलनको गति अझ तिब्रत्तर हुँदै गयो । यसरी भाषा आन्दोलन विकसित हुँदै पूर्व पाकिस्तानको राजनीतिक स्वायत्तताको उद्देश्यमा ‘अवामी लीग’ भन्ने राजनीतिक दल नै गठन भयो ।

द्वन्दको ताप बढेर ढाका विश्वविद्यालय र पाकिस्तान सरकार एक-आपसमा युद्धरत शत्रु देशझैं देखिन थालेका थिए । यही सिलसिलामा २१ फेब्रुअरी १९५२ का दिन ढाकामा विधानसभाको बैठक बोलाइयो ।

भाषा आन्दोलनकारीहरूले त्यस सभामै पुगेर ज्ञापन बुझाउने कार्यक्रम बनाएका थिए । तर, जब उनीहरु विश्वविद्यालयबाट बाहिर निस्किँदै थिए, पाकिस्तानी प्रहरीले गोली वर्षायो, कैयौं विद्यार्थीहरु मरे । सो काण्डपछि पूर्वी पाकिस्तानमा फेब्रुवरी २१ को दिन ‘भाषा शहीद दिवस’ मनाउन शुरु गरियो । सन् १९७० मा बंगला भाषाको वकालत गर्ने पूर्व पाकिस्तानका शेख मुजीबुर्रहमानले सम्पूर्ण पाकिस्तानको आमनिर्वाचनमा भारी बहुमत हासिल गरे । तर, ऊर्दूभाषी पश्चिम पाकिस्तानले चुनावको नतिजा स्वीकार गर्नै मानेन । बंगलाभाषी पूर्व पाकिस्तान र ऊर्दूभाषी पश्चिम पाकिस्तानबीचको घम्सा-घम्सीको इतिहास कोट्याउँदा यस्ता घटनाक्रमहरु देखिन्छन्-

सन् १९४७ मा भारतविभाजन हुँदा बंगालबाट काटिएर पूर्व पाकिस्तान बनेको थियो । सन् १९४९ मा अवामी लीग भन्ने राजनीतिक दल बन्यो जसको मुख्य लक्ष्य बंगला भाषाको मान्यता र पूर्वी पाकिस्तानलाई स्वायत्तता हासिल गराउनु थियो । सन् १९६६ छःविन्दु नामक आन्दोलनको घोषणा पनि भएको थियो । छःविन्दु आन्दोलन भनेको विभिन्न छवटा माग राखेर पूर्व पाकिस्तानको पूर्णाधिकारको लागि लक्षित जनान्दोलन थियो । जब सन् १९७० मा सम्पन्न पाकिस्तानको आमनिर्वाचनमा अवामी लीगका नेता शेख मुजीबुर्रहमानले भारी मत हासिल गरे, त्यो चुनाव नतिजालाई पश्चिम पाकिस्तानले खारेज गरिदिएकाले पूर्व पाकिस्तानले पश्चिम पाकिस्तानका विरुद्ध खुल्ला विद्रोहको घोषणा गऱ्यो । क्रमशः यसरी भाषाबाट संस्कृति, संस्कृतिबाट क्षेत्रीय स्वायत्तता हुँदै सन् १९७१ मार्च २६ का दिन पूर्व पाकिस्तान एउटा नयाँ राष्ट्र ‘बंगलादेश’ बनेर परिदृश्यमा उदायो ।

वास्तवमा भाषाभित्र मानिसहरुको सांस्कृतिक पहिचानको आधार र सम्पूर्ण इतिहास जोडिएको हुन्छ । त्यही भएर आजको विश्वमा हरेक समुदायको मातृभाषालाई सश्रद्धा मान्यता दिनुपर्ने माग र पहलहरु भइरहेका छन् । भाषाकै नामबाट सामुदायिक, जातीय र राष्ट्रियताको पहिचान निर्धारित हुने हुँदा यसका लागि ठूल्ठूला विवाद र तर्कहरु समेत जारी छन् । जसरी ‘अंग्रेजी’ भन्दा संसारका सारा अंग्रेजहरु प्रतिविम्बित हुन्छन् त्यसरी नै चाइनिज वा चीनीयाँ भन्दा आजको चीन राष्ट्रसित सम्बन्ध राख्ने हरेक प्रजातिहरुलाई बुझिन्छ । धेरै व्याख्या जरुरी नै छैन; हिन्दी वा नेपालीको सन्दर्भ पनि उस्तै हो ।

हरेक सचेत मानिसले आफ्नो भाषाको संरक्षणमा पहल-पैरवी गर्दछ । एउटा समृद्ध भाषाले समुदायको पुनर्स्थापना गर्दै त्यो समुदायको विशेषता, मूल्य-मान्यता र जीवन दृष्टान्तहरु स्थापित गर्न पनि भूमिका खेल्दछ । यहूदीहरुले सन् १९४८ मा इजरायल देश स्थापना गर्ने विश्वव्यापी समर्थन पाएको कुरा यस्तै इतिहाससित जोडिन्छ । यसर्थ भाषा र समुदायको सहस्तित्वसित तादाम्य मिलेन भने कुनै पनि देशको उदय वा अस्त सम्भव छ भन्ने कुरा हरेक मानिसहरुले बुझ्नु जरुरी देखिन्छ ।

वर्तमान विश्वमा व्यावहारिक बन्नलाई धेरै भाषाहरु सिकेको, जानेको राम्रो हो । तर, त्यसो भन्दैमा आफ्नो भाषालाई बिर्सेर, त्यागेर, हेयभाव राखेर पराई बनेको ढोंग गर्नुचाहिं हदैसम्मको दुर्बुद्धि हो । एउटा मानिसले आफ्नो मातृभाषा राम्रो गरी जानेको वा बुझेको छ भनेमात्र अरु भाषाको सहज अध्ययन गर्न सक्षम हुन्छ भन्ने कुरा विभिन्न वैज्ञानिक अनुसन्धानहरुले नै पुष्टि गरिसकेका छन् ।  यसको स्वाभाविकता सहजै पुष्टि हुन्छ किनभने हरेक मानिसको जीवनका खुशी, उच्छवास, दुःख-पीडाहरु, उन्नति र विकास, लय-प्रलयका कुरा भाषाकै माध्यमले अनुभूत गर्न र अरुलाई बुझाउन साध्य हुन्छ । भाषा सामाजिक जीवनको अस्तित्व धान्ने मुख्य कडी हो । बाँच्नलाई त मानिस सांकेतिक भाषा अपनाएर पनि बाँच्तछ तर, त्योसमेत अन्य वाच्य वा लेख्य भाषासरह एउटा निश्चित मानक र प्रतिष्ठाद्वारा स्थापित अभिव्यक्तिकै माध्यम हो । सबै सचेत बनौं, विश्वलाई सभ्यता सिकाउँदै मातृभाषाको जगेर्ना गरौं ।

सन्दर्भ स्रोतहरुः

  • प्राकृत व्याकरण’- आचार्य हेमचंद्र
  • ‘प्राकृतलक्षण’– आचार्य चण्ड
  • ‘प्राकृतप्रकाश’– आचार्य वररुचि
  • काव्यादर्श’-आचार्य दण्डी
  • द हिन्दू (अंग्रेजी समाचार पत्र) ११ सेप्टेम्बर, १९४९
  • द नेशनल हेराल्ड (अंग्रेजी समाचार पत्र) ११ सेप्टेम्बर, १९४९
  • हिन्दुस्तान (हिन्दी पत्रिका) १२ सेप्टेम्बर, १९४९
  • द सण्डे टाइम्स स्ट्याण्डर्ड (अंग्रेजी पत्रिका) ११ सेप्टेम्बर, १९४९
  • भोजपुरी शकुन्तला, डा. ईश्वरचन्द्र त्रिपाठी
  • शकुन्तला और दुष्यन्त की प्रेमकथा (भोजपुरी) डा. ईश्वरचन्द्र त्रिपाठी
  • Kalidasa-the recognition of Sakuntala, The Website of Prof. Paul Brians (Washington State University)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *