भित्तेपात्रोमा सीमित शरणार्थीको तीज
दागाने काइँलो
हिन्दूहरूको चाड तीजको आगमनसँगै टोल–टोलमा तीजको गीतका रौनक शुरू भएको छ । विशेष गरी महिलाहरूमाझ लोकप्रिय यस चाडको छुट्टै पहिचान भएको पाइन्छ । तीजको अवसरमा रातो रंग भएका कपडा र गरगहनाहरूले उतिकै प्राथमिकता पाउने गरेका छन् । तीजको प्रतीक्षा गरेर बसेकी प्रत्येक महिलामा एक प्रकारको अनौठो खुशी पाइन्छ । विवाहित मात्र हैन, अविवाहित नारीहरूले पनि यसलाई धुमधामकासाथ मनाउने गर्दछन् ।
तीजको कुरा कोट्याउदा यससित जोडिएको धार्मिक पक्ष पनि महत्वपूर्ण भएर आउने गर्दछन् । तर यस लेखले त्यस्ता कुरा भन्दा पनि नारीहरूको महान् चाड कसरी भित्तेपात्रोमा सीमित बनिरहेको छ भन्ने कुरा उठाउन खोजेको हो । धेरै वर्ष गृहयुद्धमा फँसेको नेपालमा शान्ति प्रक्रियाको थालनीसँगै गएका वर्षमा भन्दा यस वर्षको तीजको चहलपहल अलि बढी देखिएको छ । परिवर्तनका लागि बन्दुक बोकेर जंगल छिरेकादेखि लिएर परिवर्तनका बिरूद्ध उभिने सबैमा तीजको रंगले छोएको छ ।
झापाको दमक बजारमा अस्ति बुधबार साप्ताहिक हाट भर्न र तीजमा चाहिने सामग्रीको चाँजोपाँजो मिलाउने महिलाहरूको निकै ठूलो भिडभाड थियो । तीजको किनमेल गर्ने महिलाहरूको घुँइचो देखेर व्यापारीहरू पनि दंग थिए । दमक बजार त एउटा उदाहरण मात्रै हो । नेपालका सबै सहर बजारमा हिजो–आज यस्तै भिडभाड र तीजको चहलपहल बढेको छ । तर झापा र मोरङका शरणार्थी शिविरहरूमा भने तीजको चक्कर आएको छैन । शरणार्थीहरूका छाप्रामा तीजै नआएको भन्न चाहिँ सकिन्न । तीजको आगमन यहाँका सबैलाई थाहाँ छ । तर त्यसप्रतिको चासो अलिक फरक छ ।
भूटानीहरू नेपालमा बसेको पनि दुई दशक हुन लाग्यो । प्रत्येक वर्ष यहाँ पनि दु:ख कष्ट बिर्साउने दशै, तिहार र तीज आउने गरेका छन् । सबै उमेरका शरणार्थीहरूमाझ विभिन्न खाले चर्चा उठ्छ । तर धुमधामकासाथ चाडहरू मनाएको पाइँदैन । देशमा छँदा यस्ता पर्वहरू धुमधामकासाथ मनाउँदै आएका भूटानीहरू शरणार्थी जीवनमा आम्दानीको अभावका कारण उनीहरू चाड मनाउन नसक्ने अवस्था छन् । एक पैसाको आम्दानीको स्रोत नभएका शरणार्थीको संख्या पनि कम छैन ।
अभावै अभावको संसारमा बाँचेका त्यस्ता शरणार्थीका लागि परम्परागतरूपमा मनाउँदै आइएका पर्वहरू अनौठा बनेर जाँदैछन् । कति शरणार्थीलाई आफन्त गुमाएको पीडा छ भने कतिले चेली–माइतीबीचको विछोडको पीडा सहनु परेको छ । भूटानी शासकले नागरिकका मैलिक हक–अधिकार मात्र होइन, परम्परागतरूपमा मनाउँदै गरेका चाडपर्व पनि खोसिदिएपछि बेसहारा भूटानीहरू नेपालतिर छिरेका हुन् । आफ्नो गुजारा चलाउनु पहिलो पाटो भए पनि सबै चाडपर्व निर्धक्क भएर मनाउन पाइन्छ भन्ने आशा पनि बोकेर उनीहरू नेपालमा आएका हुन । तर लामो अनि पीडादायी बसाइका कारण उनीहरूले चिताएका कुरा पुगेका छैनन् ।
शिविरमा आउने प्रत्येक चाडसँगै शरणार्थीको मन खिन्न हुने गरेको पाइन्छ । केटा–केटीहरूको उमंग त्यत्तिकै खेर गएको देख्दा उनीहरूका अविभावकहरू अवाक हुने गरेका छन् । यसरी विरक्तिएका मनहरूले के सोच्दा हुन्, त्यो अड्कल गर्न पनि गाह्रो छ । सायद आउँदो तीज, दशैं र तिहार मनाउने बेलासम्ममा भूटान पुगेको कल्पना गर्दा हुन् । त्यो दिन कहिले आउला र ? पुनर्वासमा गएका शरणार्थीले कतिका छाप्रामा त तीज मनाउने पैसा पठाइदिए होलान् । तर अधिकांशका छाप्रामा यसपालिको तीजको दर विगतमा झैं पाक्दैन । अनि त्यही कुरा दोहोरिन्छ – बाँसको झुपडीको भित्तामा झुण्डिएको भित्तेपात्रोमा सीमित शरणार्थीको तीज।