भित्री मनले यस्तै भन्छ !

गङ्गा रिजाल
टेनिसी,अमेरिका


घर भयो जागिर भयो काम ठुलो भयो !
खान लाउन रमाइलो गर्दै जीवन गयो !!
साथी भाइ धेरै बने इन्टरनेटले गर्दा !
सबै चीज काम लाग्छन् आफैँलाई पर्दा !

विकसित धेरै देख्छु सबै वर पर !
बोलौँ भने बुझ्दैनन् है केमा होला भर !
हाई हेल्लो सबले गर्छन् अङ्ग्रेजी कै भरमा !
बाबा आमा अलमल परे आज आफ्नै घरमा !!
खोर्सानी र साग, आलु धनियाँको काम !
बजारबाट ल्याउनू परे के होला त्यो नाम ?
दोभासेकै काम कसले गरिदिने त्यहाँ !
यसरी नै हराएमा आपत्ति छ यहाँ !!
हामी बिच अरू काम जीवनमा पर्छ !
आफैँ बोल्न नजानेमा कस्तो काम टर्छ !!
आफन्तको साइनो हुन्छ जान्न गाह्रो भयो !
पुर्खाहरू भन्ने कुरा निकै टाढा गयो !!
डेडी मम्मी मात्रै भयो आमा बुबा छैन !
नेपाली नै बोल्नु पर्ने काम हाम्रो हैन !
भन्न लागे यिनै हाम्रा नानीहरू आज !
भविष्यमा के हुने हो यी सन्तति माझ !
बोलीचाली हराएमा हामी कता जान्छौँ !
अङ्ग्रेजीमा राम्रो बोल्दा धन्य हामी ठान्छौँ !!
सबै कुरा मिलेकै छ नेपाली छ खाँचो
सोचौँ अब सबैले यो भाषा कहाँ बाँचो !
भाषा बिना अधुरो नै हुने कुरा मान्नू !
सबै काम गर्दै अब मातृभाषा जान्नू !!
मीठा मीठा चौरासी नै व्यञ्जन बनिन्छ र !
नुनको ढिका बिर्सी जाँदा स्वाद हुन्न तर !!
गोडा बिना जान सक्छौँ हात बिना पनि !
नौला नौला साधनले पुऱ्याईदिन्छन् अनि !!
जतिसुकै शताब्दीका औजार प्रयोग गर !
आफ्नै भाषा बनिने छ आखिरीमा भर !!
हाम्रो आफ्नै पहिचानलाई जोगाउन पर्छ !
भुलिगए सबै कुरा हराउने गर्छ !!
हराउनु बिलाउनु हाम्रै हातमा छ है !
यो नेपाली पनलाई बचाइराखौँ लहै !!
१०
सारो छ है ! गाह्रो छ है ! संस्कृतिलाई ढाक्न !
आफ्नोपन नेपाली भई बचाएर राख्न !!
कस्तो लाग्छ आफ्नो विचार राख्नु होला भरे !
पहिचान नै ठुलो हुन्छ जे जस्तो नै परे !!
११
यस्तै यस्तै मनका कुरा तरङ्गिँदै आए !
नौका पनि डुब्ने हो कि कुहिरोले छाए !!
बालुवाको पुल हैन पत्थरले बन्छ !
खै कोनि हौ भित्री मनले यस्तै यस्तै भन्छ !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *