भित्री सत्यहरु

पुरानाघरे/ अमेरिका

अलिकति चेतना भोकाएर
कमबेस वेदना पचाएर
थोरैथोरै सन्तुष्टि संगालेर
म अफ्सोचले भित्रभित्रै भरिन्छु
मेरो राजनीतिक डकारमा
नेतृत्व साह्रै गनाउँछ
मेरो दृश्य वरिपरि धोकाका पहाडहरु छन्
तिरस्कार र घृणाहरुमा हराएको इतिहास
मैले बिर्सनु नै नहुने लाग्छ
जातिले जातिलाई दिएको धोकाले
कसरी यी शब्दहरुलाई बिटुला बनाउँ ?
मेरो दिमागको रिसाइकल बिनमा रहेका
अनगिन्ति सत्यहरु जीवनको भीख माग्दै छन्
मेरो देश पतन गराउने सकुनीहरु
आफ्नो अहितमा चक्र चलाउने दुर्योधनहरु
यी भौमासुरहरु हुन्
भूटानको इज्जतमाथि राल चहाउने 

 

जब मेरो दिमागको पानीथालमा
अवचेतनहिनताको सूर्य टल्किन थाल्छ
जब मेरो वर्तमानका समाधिहरु
निराकार परायपहाड उभिएर
व्यबहारिकताका पक्षमा जीवन पस्कन थाल्छन्
मेरो वकालतका सारा सत्यहरु
अर्को सत्यको खोजीमा भत्कन चाहन्छन्
मेरो गति एकाएक रोकिन पुग्छ    

जसलाई मैले शिक्षक मानिरहें
उसले कहिल्यै मलाई शिक्षार्थी स्वीकार गरेन
जसलाई हमेसा म साथी मान्दछु
उसले कहिल्यै मित्रता महसुस गरेन
जुन बाटो भएर यतिका बसन्त हिडिरहें
त्यहाँ कहिल्यै पनि मेरा पाइलाहरु बटुवासम्म बनेनन्
जहाँ मैले फूलहरु फक्रिरहेको बगैंचा बनाइरहें
अफ्सोच म कहिल्यै माली बन्न सकिन
घनुजी! मैले मेरो देश नेपाल हो भनिरहें
तर कहिल्यै नेपाली बन्न सकिन
ढाका टोपी र नागरिक्ताको चिल्कटोले मात्र
कहाँ नेपाली भइन्छ होला र ?
मलाई पहाडको उचाइ हिड्छौं भन्नेहरु
जीवन जिउनका खातिर
मसिनसँग शक्ति समर्पण गरेर
शङकट मोचन गर्न विवश छन्    

मेरो विनिर्माणको भाका बनेको अस्तित्वले
स्वावलम्बनहिनताको अस्तित्व
निर्माणलाई बहिष्कार गर्दछ
दुनियाँले आज
मान्याताका पहाडहरु भत्काएर
विनिर्माणयुक्त पुनरजागरण खोज्दैछ चेतनामा
समानता उब्जाउन बगैंचाहरुमा
समिश्रण रोप्तै छ बिजहरुमै
यो भूगोलचित्र पूर्ण गर्न
ठिमाहापन रोप्तै छ संस्कारहरुमा    

जुन पहिचान मैले निर्माण गरें
मेरो परिचय बन्न त्यो सक्तैसकेन
जो मेरो ठेगाना भनिन्छ
त्यो मसँग सम्बन्धितसम्म छैन
भतुवा भाकामा
मेरा पाइतालाहरुले देश खोज्दा
यो घायल छातीमा
वेदनाका छड्केहरु कति पसेका होलान ?
तपाईं अनुमान गर्न सक्नुहुन्छ !
जब म संसारको स्वतन्त्र नागरिक बनें
मलाई मेरो देशको भोक लागिरह्यो
पहाडमा हराएको तीलको दानो
मेरो देश
तपाईं जे भन्नुहोस्
मलाई स्वर्ग भन्दा प्यारो लाग्छ

4 Replies to “भित्री सत्यहरु”

  1. Puranaghare

    टंकजी कविता पढी दिनु भाकोमा सलाम छ । एक मोडमा लेखेको हु, कस्तो भयो भन्ने संकोच थ्यो पढेर प्रतिक्रिया दिनु भएकोमा धन्यबाद दिन चहन्छु । तपाईका सामग्रीहरु पनि पदने रहर छ । आसा छ तपाईले हाम्रो सदासयता बुज्नु हुन्छ होला । पढेर आलोचना गर्दिनु होला पुरानाघरेका भावी रचनाहरु । यो लेखन यात्रा टंकजीको संसर्गबाट पनि हुर्किएको महसुस हुन्छ । अबको समय अझै गतिलो हातेमालो गर्न मोहोड़ पुगेको छ । हामी सबैको साझा आधार भनेको साहित्य बेनको छ । तपाइको मन भरि बेदनाहरु होलान, भारी गरुङ्गो होला चौतारी मा बिसौना आउनु होला, स्वागत छ ।

  2. sabin sharma

    पुरानाघरेजी तपाईं को यो कबिताम्स जयादै गतिलो लाग्यो

    …. मैले मेरो देश नेपाल हो भनिरहें
    तर कहिल्यै नेपाली बन्न सकिन
    ढाका टोपी र नागरिक्ताको चिल्कटोले मात्र
    कहाँ नेपाली भइन्छ होला र ? ….

    वास्तवमै यो पङ्तीको पृष्‍ठभूमीमा उभिएर आरु धेरै कबिता लेख्न सकिन्छ।
    अकबरी सुनलाई के कसी लगाउनु ? ..

    • Puranaghare

      तपाईको प्रतिक्रिया पढे राम्रो लागेकोछ । प्रतिक्रियाको लागि धन्यवाद छ । आगामी दिनहरुमा पनि पाडी दिनु होला मेरा सामग्रीहरु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *