भुइँमान्छे
मनोज बोगटी, दार्जीलिङ
रुख भइसकेको भुँइमान्छेको फेदमा बिहानबिहान आची गर्छ सरकार
अंग्रेजी अनुवादको दोस्रो संस्करणमा आएका कल्चुँडाहरू खोतल्छन् ।
कसलाई गन्हाउँछ फोहोर?
यो जुन फोहोर छ त्यहॉंबाट निस्किएको लामखुट्टे
पार्टी कार्यालय, न्यायालय, संसद र बिधानपालिकालाई टोकेर निस्किन्छ
त्यसपछि नानीको खाताकिताब टोक्छ
लैनु गाईको थुन टोक्छ
कर्मचारी, पुलिसको गिदी टोक्छ
देश टोक्छ !
यहाँसम्म कि हैंजा बोक्ने खबरकागज पनि टोक्छ ।
सरकारले मुतेको नगर धुने मेतर
कानून, नीति र संविधानको गुप्ताङ्ग छोप्न पत्लुङ सिलाउने दर्जीलाई त टोक्छ टोक्छ-
मन्दिरको भगवानलाई पनि टोक्छ ।
सप्पैसप्पै टोकिसकेपछि लामखुट्टेले आफैंलाई पनि टोक्छ ।
यसरी रुख भइसकेको भुइँमान्छेको हॉंगा समातेर उठ्छ सरकार
जब सरकार माथि उठ्छ
भुइँमान्छे भुइँमा छोडिन्छ ।
भुइँमान्छेको निधारमा हल्ली बस्ने पसिनाकॉंटाहरू टक्क रोकिन्छ
समय पोखरीमा नहल्ली अडिन्छ ।
त्यसपछि फोहोरबाट दुर्गन्धले चल्ला काड्छ र छिचिमिरा भएर भुर्रभुर्र उड्छ आकाशमा
त्यसपछि आकाश पनि फोहोर हुन्छ ।
यतिबेला निरक्षर भुइँमान्छे के गर्छ हँ ?
….
अहिले
व्युरोक्राटहरूको मोजा गन्हाइरहेको छ
यसकारण भन्किरहेका छन् हरिया अक्षरहरू
अहो भुइँमान्छेले लेख्न सिक्यो कि क्या हो हँ ?