भुइँ पुछ्ने मान्छे
जे एन दाहाल
अमेरिका
म आशा गर्छु- तपाईंलाई अमेरिकाको बारे धेरै कुरा थाह छ । जस्तो कि यो देशको आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक कुरा आदि । तर म विश्वस्त छु, तपाईंलाई यो थाह छैन । यस लेखमा आम मजदुर र तिनको सङ्घर्षको कथ्य छ । यस्ता स-साना कुरा कसरी थाह होस् -जुन विरलै मान्छेले बताएको हुन्छ । विरलै मान्छेले शब्दमा आफ्ना संवेदना इमानदारीपूर्वक उतारेको हुन्छ ।
म सम्झन्छु -एक दशक अघि, आइ ओ एमको झोला बोक्ने समय दमक अफिसमा हामीलाई एउटा तालीम दिएको थियो । त्यो तालीममा भनिएअनुसार अमेरिकामा तिन प्रकारका जागिर पाइन्छ । पहिलो इन्ट्रि लेभल जब, दोस्रो स्किल्ड जब र तेस्रो प्रोफेसनल जब। यसैलाई आधार मान्दा मेरो जागिर इन्ट्रि लेभलको जब हो ।
पोस्ट अफिसको एउटा ठुलो वार्यहाउजमा म काम गर्छु । यति ठुलो कि तिन सिफ्टका कामदार हिसाब गर्दा अन्दाजी हजार जनसङ्ख्या होला । यो ठाउँ साँच्चै ठुलो छ ।
पोस्ट अफिसको वार्यहाउज भएकाले यहाँ बिजुली, ग्यास, इन्टरनेट,पानी आदीका बिलहरू मेलका रूपमा आउँछन् । यहाँ मेगाजीन र केही लाम्चो आकारका डोकोमेन्ट युक्त सामाग्री, पार्सलहरू पनि आउँछन् ।
केही कामदार डायोस र डी.बी.सी एस जस्ता मेसिनमा मेल प्रोसेस गर्छन् । केही एप्स नाम गरेको मेसिनमा , कन्टेनरमा हालीएका प्याकेज डम्पिङ साइटमा मेसिनको माध्यमले चली रहेको कन्भेयर बेल्टमा पोख्छन् । केही फोर्क्लिफ्टले ट्रकमा मेल र प्याकेजका कन्टेनर राखी मेल लोड तथा अनलोड गर्छन् । केही भुईँ पुछ्छन् । केही फोरक्लिफ्टका या प्राइम मुभरका ब्याट्री फेर्छन् । यी सबै इन्ट्री लेभलकै जब हुन् ।त्यस मध्येमा पङ्क्तिकार भुईँ पुच्छ। अझ यसो भनौँ पोस्ट अफिसमा मेल चल्छ र कामदारहरू चल्छन् ।
विभिन्न कम्पनीबाट हेम्पर र इपिसिजमा ट्रेकाट्रे मेल आउँछन् । तिनमा पेपर टाँसिएको हुन्छ – लेखिएको हुन्छ कहाँ जाने या कहिले सम्ममा पुग्ने । कत्ती मेल त रबरले या प्लास्टिकको स्ट्र्यापले बाँधिएर आउँछन् । तिनै टाँसिएका पेपर, रबर र स्ट्र्यापबाट निर्मित हुन्छ वार्यहाउजमा फोहोर । त्यहाँ मेल चल्छ र फोहोर सङ्कलन हुन्छ । फोहोर छ र पङ्क्तिकारको जागिर पनि छ ।
पोस्ट अफिसको भाषामा फोहोर उठाउने, भुईँ पुच्छने, सरसफाइ गर्ने कामदारलाई ‘कस्टोडियन’ भनिन्छ । हो, म त्यही काम गर्छु । त्यही भुईँ पुच्छने – इन्ट्रि लेभलको जब, जसप्रति पङ्क्तिकारको विचित्रको प्रेम छ । अथाह सम्मान छ ।
यो कामका लागी प्रत्येक कामदारलाई सोह्र घण्टे ‘कस्टोडियन ट्रेनिङ कोर्स ‘ गरी औपचारिक रूपमा तालीम दिएको छ । जसमा केमिकल कसरी र कहाँ प्रयोग गरी सफाइ गर्नु भन्ने कुरा सिकाएको हुन्छ । त्यसैले म एउटा तालिम प्राप्त कस्टोडियन हुँ ।
कम्मरमा एक तमाससँग बजी रहने वकिटकी च्यानल दुईमा छ । मेक्कानीक र कन्ट्रोल रुमको दोहोरो वार्ता चली रहेको छ । यता आफ्नो हातमा एक जोर ग्लोभ्स छन् । मुखमा मास्क छ । प्रोटेक्टिभ इक्वीभमेन्ट भएपछि अब सरसफाइ गर्न घिन छैन । फोहोर उठाउन र त्यसलाई ट्र्यास कम्प्याक्टरमा पुर्याएर फाल्न लाज पनि छैन ।
” लाज? “
गोरा छाला भएका सहकर्मीहरू यही काम गर्छन् । काला छाला भएका मित्रहरू पनि प्रतिघण्टा डलर बनाइ रहेका छन् । केही एसियन मित्रहरू पनि यही वार्यहाउजको भुईँ पुछिरहेका छन् । यसमा के खराबी छ ? किन लाज ? के-को घिन?
नर्सहरूले दैनिक पेसेन्टको रगत र पिसाबहरूसँग जुध्छन् । डाक्टर र सर्जनहरू घिन र अरुचि नमानी विभिन्न अङ्गहरू छुन्छन् ।आवश्यकता परे ती अङ्गहरू चिरफार पनि गर्छन् । यस्तै त हो हाउस किपिङले गर्ने सरसफाइ पनि । होइन, पोस्ट अफिसकै भाषामा जाऊँ कस्टोडियनको सरसफाइ पनि ।
परिवारमा कसैले सफा नगरे घरको अवस्था के होला ? कति फोहोरी हुन्छ कोठा, चुल्हो र बात रुम ? क-कस्ता कीटाणु र जीवहरू त्यहाँ बास बस्लान् ! अनि हाम्रो स्वास्थ्य ? तपाईँले कहिले सोच्नु भएको छ ?
सुरुवाती दिनमा पोस्ट अफिसमा यही कस्टोडियनको अस्थायी जागिर खुलेको थियो । यही भुईँ पुछ्न मैले यहाँको नियम अनुसार टेस्टिङ सेन्टर पुगेँ । दुई वटा लिखित इग्जाम -४७८ र कस्टोडियल कोर्स ९१६ दिएँ, उत्तीर्ण भएँ । त्यसपछि हाइरिङ मेनेजरले लिने एउटा अन्तरवार्ता पास गर्नु परेको थियो ।
सुरुवातमा रिटायर सैनिकहरूका लागी भनी पोस्ट अफिसले कस्टोडियनको जागिरमा भेट्र्यान मात्र लिने चलन रहेछ । डिसेबल रिटायरभेट्र्यानले काम गरुन् भन्ने उद्देश्यले पोस्ट अफिसले त्यसरी नै हायर गर्दथ्यो भन्ने सुनिएको छ । समय बित्दै जाँदा सर्व सादाहरणलाई पनि कस्टोडियनको जागिरमा स्थान दिइएको रहेछ । जुन मैले यहाँ काम गर्न आएपछि मात्र थाह पाएँ ।
सन् २०१५ तिर मैले कस्टोडियनको जागिरमा अप्लाइ गर्दा तेह्र डलर पच्चिस सेन्ट दिइन्थ्यो । स्थायी भएको ६ वर्ष पछि अहिले २५ डलर यहीँ भुईँ पुछ्ने कामबाट कमाइ हुन्छ । जसले मेरो परिवारमा पेट भर्न साथ दिई रहेको छ।
लेखको यहाँसम्म आई पुग्दा तपाईँ पाठकले पक्कै लाज बिर्सी सक्नु भयो । घिन पनि बिर्सी सक्नु भयो भन्ने सोच्दछु । म सोधौँ – तपाईँले बच्चाको डाइपर कहिले फेर्नु भएको छ ? तपाईँले दिसापछि गुप्ताङ्ग हातले धुनु भएको छ ? त्यस समय तपाईँलाई घिन भयो ? भयो, तर त्यो घिन सरसफाइले हट्यो । होइन ? पक्कै हो भन्नु हुनेछ ।
ट्रायस क्यानको फोहोर उठाउनु, भुईँमा पोछा लगाउनु, झाडुले बढार्न तपाईँ सोची रहनु भएको जति गाह्रो छैन । त्यसैले कस्टोडियनको जागिर गर्ने सोच भएकाले लाज मान्नु पर्ने आवश्यक छैन ।
पोस्ट अफिसले आवश्यकता अनुसार तालीम दिन्छ । अफिसका टायल्सको भुईँ स्ट्रिप गर्न । त्यसपछि भुईँमा टल्कने वायक्स (wax ) लगाउन । बुट्टादार टायल्स मैला भए पावर वास गर्न , लाइट फिक्चरमा भएका किराहरू सफा गर्न आदी । यहाँ भुईँ पुछ्ने जागिरका कारण अन्य कामको तालिम पनि मिल्छ । ती सिप घर व्यवहारमा निक्कै उपयोगी हुन्छ ।
कस्टोडियन हुनु भनेको आवश्यकता अनुसार बात रुम सफा गर्नु पनि हो । कस्टोडियन हुनु भनेको वाक्क गरेको भुईँ पुछ्नु हो ।कस्टोडियन हुनु भनेको हिउँ पर्दा नुन हाल्न बाहिर साइड वकमा निस्कनु पनि हो । कस्टोडियन हुनु भनेको पोचा लगाउनु हो ।
त्यस बाहेक पनि केही कुरा छन्। कस्टोडीयन हुनु भनेको अनजान हुनु जस्तो पनि हो । यो साधरण मजदुरलाई अफिसको सुपरभाइजरले चियो राख्दैन । म्यानेजरले कामको गति के भई रहेको छ- खास नजरले हेर्दैन । विश्वासमा काम दिइन्छ- विश्वासमै छाडिन्छ ।
यही ठाउँमा भुईँ पुछ्दा पुछ्दै सयौँ मान्छेसँग सङ्गत भएको छ । विभिन्न डिपार्टमेन्टका सहकर्मी, तिनले आफ्ना दैनिकीका कथ्य सुनाउँछन् । तिनले हलोइनको कस्टुम, आफ्ना पार्टनर या ब्वाई फ्रेण्ड सँग गरेका स-साना किस्सा सेयर गर्छन्। क्रिसमसमा बच्चाहरूको उपहारको अपेक्षा तिनको संवेदना यस्तै विषयमा कुरा हुन्छन् । झाडु लगाउँदै ती अमेरिकन सहकर्मीहरूको संवाद, तिनको शरीर र बोलीको हाउभाउ अनुहारमा उत्रिएको संवेदनमा ओहो हेर्न लायक दृश्य हुन्छ । अमेरिकी परिवेश, मान्छेहरूको व्यवहार र स्थिति टिप्न धेरै सहायक यही कामले गर्छ ।
अफिसको भुईँ पुछ्दै लबी या ह्वेलमा अघि बढ्दा – कसैलाई मतलबै रहन्न । तर आफूलाई धेरै कुराको जानकार हुन्छ जस्तो कि भर्खरै बद्लिएको पोस्ट मास्टरको नाम । सरुवा भएर आएको नयाँ एम डी ओ, र डिस्किट मेनेजर तात्तातै चिन्न सकिन्छ ।
काम गर्ने क्रममा नै धेरै सहकर्मीको व्यवहार, विचार र दृष्टिकोण पनि चिन्न सकिन्छ । कहिले कहीँ नयाँ केही मित्र जो मेसिनमा मेल प्रोसेस गरी रहेका हुन्छन् । ती कस्टोडियनलाई कोर्से आँखाले हेर्छन् । तिनको ओठ लोप्रिन्छ, अनुहारको रूप बद्लिन्छ ।
‘ प्रतिघण्टा पच्चिस डलर बनाउँछु ‘
अनपेक्षित उत्तरले तर्सँदै उनीहरूको अनुहार फेरी अर्कै आकारमा पुग्छ । आँखा मात्र खुल्लै रहन्छन् त्यसपछि त्यो हेराइ र उपेक्षा भावको सिलसिला नै बन्द हुन्छ ।
पछिल्लो ६ वर्षको अनुभवमा यही कस्टोडियनको २०-३० वर्षे जागिर गरी कति मान्छे आँखै अघि रिटायर भई घर गए । कतिले सुपरभाइजरको रूपमा प्रमोसन पाए। कति मेक्कानीकका रूपमा बढुवा भए ! त्यसैले भुईँ पुछ्नु एउटा सिँढी टेक्नु पनि हो । भुईँ पुच्छने काम टेकेर माथि उक्ली कहाँ कहाँ पुग्न सकिन्छ, तपाईँले अनुमान गर्न सक्नु हुन्न ।
भुईँ पुछ्नु भनेको मजदुरी गर्नु हो । ऊ कुनै देशको नागरिक हो । एउटा स्टेट या सिटी रेजिडेन्ट पनि हो । भुईँ पुछेरै देशको विकासमा कर तिर्नु कुनै रमाइलो चुट्किला होइन । आम नागरिकले झैँ म पनि कर तिर्छु । यही वार्यहाउजको भुईँ पुछेरै सिटी, स्टेट र फ्याडरल गरी तिन प्रकारका कर तिरी रहेको छु ।
सारमा यति भनौँ तपाईँले कल्पना गर्न सक्नुहुन्न कस्टोडियनले सफा नगरेको एयरपोर्ट, हाउज किपिङले चिटिक्क नपारेको होटेल । एयर होस्टेजले नमिलाएको फ्लाइट क्याबिन र भुईँ नपुछिएको वार्यहाउज !
यो बुझ्नुहोस् -जो मान्छे भुईँलाई प्रेम गर्दैनन् तिनले जीवनमा प्रगति गर्न सक्दैनन् । भुईँलाई प्रेम नगर्नु त आम मजदुरका संवेदनालाई प्रेम नगर्नु हो । मानवीय मन छुन नसक्नु हो ।