भूटानमा नेपालीहरूको प्रवेश: एक विश्लेषण
प्रा. बालकृष्ण पोखरेल
[प्रशिद्ध भाषाविद तथा साहित्यकार प्रा. बालकृष्ण पोखरेलको आज राति निधन भएको छ। स्वर्गीय पोखरेल प्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै भूटानी कोपिला (अङ्क १०, सन्२००८) मा प्रकाशित प्रा पोखरेलको यो लेख यहाँ पुन: प्रकाशन गरेका छौँ। उक्त लेख भूटानी कोपिलाका लागि रमेश गौतमले प्रा पोखरेलको घरमै गएर सङ्कलन गरेका थिए – सम्पादक]
[rule type=”basic”]
भाइ रमेश गौतमले आशा गरेअनुसार मैले लेख्नुपर्थ्यो कुनै खोजमूलक लेख। पचहत्तर भोटा फटाएपछि गवेषण कार्य अलिक कठिन हुन जाने रहेछ। यसैले निस्तोझार टार्ने वा गहन अनुसन्धानमा कलमकोटाँका चोबल्ने जस्ता दुई विपरतधर्मी पराकाष्ठामध्ये कुनै एउटालाई नरोजी म बीचको बाटो रोज्दै छु । मध्यममार्गी गौतम बुद्धका देशको शिशु भएको नाताले मैले यसरी बीचको बाटो रोजेकोमा अवश्य पनि अन्यथा ठानिने छैन भन्ने आशा गर्दछु। मैले रोजेको बाटोको विषय हो- भूटानमा नेपालीहरूको प्रवेशलाई कसरी विश्लेषण गर्न सकिएला।
मैले भूटान र नेपालको साइनोलाई ध्यानमा राखेर त्यहाँका नेपालीहरुलाई प्रवेशका सम्भावनाका दृष्टिले जम्मा चार प्रकारमा बिभाजित गरेकोछु। ती हुन्:
१. भूटानमा ड्रागनसत्ता प्रवेशको समकालीन ठहरिने नेपालीहरु
२. भूटानमा ड्रागनसत्ताको स्थापना भएपछि नेपालको एकीकरण हुनु पूर्व भूटान पसेका नेपालीहरु
३. एकिकरणकालीन युद्धमा उत्पन्न भएको महापलायनका कारण ग्वारग्वारती भाग्नेक्रममा भूटानमा समेत पुगेका नेपालीहरु, र
४. नेपालको एकीकरणपछि नातागोताले निम्त्याएर भूटान पसेका नेपालीहरु
हुन त भूटानमा थुप्रै प्रकारका आदिवासीहरूमध्ये केही आदिवासीहरू नेपालका आदिवासीहरुसँग रक्तगत नातामा नजेलिएलान् भन्न सकिन्न परन्तु भूटानका स्थानीय भाषा, रीतिरिवाज, रगतका नाताको तुलनात्मक अध्ययन भइनसकेको हुनाले त्यहाँका कुन-कुन आदिवासीको नाता नेपालका कुन-कुन चाहिँसँग छ भनेर पर्गेल्ने काम भविष्यको जिम्मामा छ। भूगोलबेत्ताहरुले हिमालेसिया भनी नामाकरण गरेका ती भू-भाग (नेपाल, सिक्किम र भूटान) मध्येका दुई भू-भाग हुन् नेपाल र भूटान। अत: नेपालको लागि भूटान केवल दक्षिण एसिया मात्र नभएर हिमालेसिया पनि हो। यही कारण हो अनादि कालदेखि थुप्रै किसिमका नाताबाट जेलिएको भूटानलाई नेपालसँग जति दाँज्यो दाँज्ने सामग्री झन विशाल हुँदै जानु स्वभाविक छ। तैपनि यहाँ म खोज्न बाँकी पक्षको चर्चा भावी अन्वेषकको जिम्मामा लगाएर भूटानमा नेपालीको प्रवेशलाई उपयुक्त चार शीर्षकमा सीमित तुल्याएर त्यसबारे चर्चा गर्दैछु।
१. ड्रागन सत्ताका समकालीन भूटानी नेपालीहरु
यसप्रकारका नेपालीहरुमा हामी नेपालका लामामार्गीहरुलाई लिन सक्दछौं। लामामार्गी नेपाली भन्नाले नेपालका शेर्पा, तङ्वा र तमुहरुलाई लिन सकिन्छ। भूटान लामाहरूको पवित्र तीर्थस्थल भएको हुनाले लामामार्गी नेपालीहरु अवश्य भूटानको तीर्थस्थलको दर्शन गर्न ड्रागनसत्ताको उदय हुँदादेखि नै जाने गर्दथे। यसको बदलामा भूटानबाट पनि थुप्रै लामाहरु नेपालका बौद्धपीठहरुको दर्शन गर्न आउँथे। यसरी आउने-जाने क्रममा केही नेपाली लामाहरु भूटानमा स्थायी तवरले रहन थाले।
२. भूटानमा ड्रागन सत्ताका पछि गएका नेपालीहरू
यस शीर्षकमा गणनामा आउने भूटानी नेपालीहरु केवल लामा मात्र नठहरिई नेवार, खस आदि पनि ठहरिन्छन्। जब नेपालका लामाहरूले भूटानको प्रवेश पाए त्यसको प्रभाव अन्य धर्मावलम्बीहरूमा पनि पर्यो। खासगरी कृषिमा रुचि लिने खसहरु र व्यापारमा रुचि लिने नेवारहरु भूटानतिर आकषिर्त हुन लागे। परन्तु खस र नेवारहरुको लामामार्गी नभएका हुनाले ड्रागन समाजले तम्बा, तमु र शेर्पाहरुलाई झैँ नेवार र खसलाई स्वागत गरेन। जब ड्रागन माटोमा लामाइतर नेपालीहरुको अपमानित हुन लागे भूटानका लामाहरुलाई पनि नेपालका बौद्धपीठहरुमा अपमान गर्न थालियो। यसरी उत्पन्न समस्याको समाधानको लागि गोरखाका राजा राम शाह र भूटानका राजा देवधर्मबीच सन्धि भयो। यस सन्धिअनुसार भूटानी लामाहरुले गोरखाका कुनै पनि बौद्धपीठमा निर्वाद रुपमा आउन पाउने भए र बदलामा गोरखाका थर घरहरुले भूटानमा गएर व्यापार एवं खेती गर्न पाउने भए। भूटानमा बस्ने अधिकांश नेपाली व्यापारी र कृषकहरु तिनैका सन्तान ठहरिन्छन्। देवधर्म र राम शाहको बीचको यस सुमधुर सन्धिका बारेमा प्रसिद्ध नेपाली पत्रकार स्वर्गीय विपिनदेव ढुंगेलले विशुद्ध रुपमा खोजी गर्नुभएको थियो। उहाँको खोजीबाट सन्तुष्ट भएर तत्कालीन भूटान नरेशले उहाँलाई धेरैपटक ड्रागन भूमिको दरबारमा दर्शन भेट दिनुभएको थियो। स्वर्गीय ढुंगेल ज्यूका यससम्बन्धी रचनाहरु उहाँकै सम्पादनमा निस्कने हिमालचुली साप्ताहिकमा प्रकाशित हुने गर्थे। ती स्वर्गीय विद्वानको खोजीबाट के कुरा प्रकाशमा आएको थियो भने भूटानी नेपाली समाजले मूल जरो नेपाल एकीकरणभन्दा धेरै पुरानो ठहरिन्छ।
३. एकिकरणकालीन महाप्रलय पलायन र भूटानी नेपाली
पृथ्वीनारायण शाहको नेतृत्वमा भएको युगान्तकारी एकिकरणको प्रशंसा हामी सबैले सुनेका छौं तर एकिकरणकालीन अँध्यारो पक्षलाई आजसम्म ढाकछोप गरिएको छ। एकीकरणपूर्व नेपाल बाइसी, चौबिसी, उपत्यका, ओल्लो किराँत, माझ किराँत एवं पल्लो किराँत झैँ विभिन्न टुक्रामा विभाजित थियो जसमध्ये एउटा टुक्राको नाम थियो गोरखा। गोरखाका पृथ्वीनारायणको देन अभूतपूर्व छ तर आफ्नो अगाडि नझुक्ने राजाका प्रजालाई समेत उनी रिसाएको बाघले झैँ झम्टन्थे भन्ने कुरा उनले कीर्तिपुरको युद्धमा त्यहाँका बासिन्दाको नाक-कान काटेबाट पनि अनुमान लगाउन सकिन्छ। उनको बन्दुकको आवाज सुनेर लुरुक्क पर्ने राजाका प्रजालाई उनले माया गरे परन्तु साहसका साथ उनीसँग युद्धमा लड्ने राजाका प्रजालाई उनले दुःख दिए। उनले दिएको दुःखलाई नेपाली समाजले गोर्खेठ्याक अथवा गोर्खेलौरीको नाम दिएको छ। युद्धमा जो जो पठाइए तिनका प्रजा गोर्खेठ्याकको डरले आफ्नो प्यारो इज्जत जोगाउन लाखौंको संख्यामा भाग्नलागे। यस घटनालाई मैले महापलायनको संज्ञा दिएको छु। यस महापलायनबारे मैले जतनपुरे पानी पोखरेल वंशावली (वि.सं २०६५ मा प्रकाशित) मा चर्चा गरेको छु। आजको भूटानी शरणार्थी शिविरमा अन्दाजी एकसय जतानपुरे पोखरेल छन्। ती सबै महापलायनका शिकारहरुले भूटानमा गएर जन्माएका सन्तानहरु हुन् भन्ने मेरो मत छ। यदि जतनपुरे पानी पोखरेल एकसय छन् भने अरू पानी पोखरेल कति होलान् ? मलाई लाग्छ भूटानका नेपालीहरूको जनसङ्ख्याको घटीमा २५ प्रतिशत महापलायनको उपज हो। ५० प्रतिशतभन्दा धेर भूटानी नेपालीहरु भने महापलायनभन्दा जेठा भूटानीका सन्तान हुन्।
४.एकीकरणपछि नातागोताले निम्त्याएर भूटान गएका नेपालीहरू
यस शीर्षक अन्तर्गत भूटानका दश प्रतिशतभन्दा कम नेपालीहरुको पर्दछन्। नातागोताले निम्त्याएका नेपालीहरु परन्तु त्यहाँका अर्धनागरिक हुन् भन्न मिल्दैन। यसरी नातागोताले निम्त्याएकाहरु केही दुईसय वर्षपूर्व भूटान गएका ठहरिन सक्दछन्, कोहीचाहिँ दश वर्ष (सन् १९९० को आन्दोलनपूर्व) भूटान गएका ठहरिन सक्दछन्। परन्तु नेपाल-भूटान, नेपाल-विहार, बंगाल-बङ्गलादेश आदि झैँ स्थलहरुमा सीमावारि अनि सीमापारिको पहिचान अभिन्न भएको हुनाले “म यो हुँ“ भन्ने कसैलाई पनि तँ त्यो होइनस् भन्न मिल्दैन। त्यो के हो? यसको निर्णय कुनै आयोग अथवा टोलीले गर्नु अमानवीय हो। यदि कसैले सीमानिकटमा बसेर म नेपाली हुँ भन्छ भने त्यो नेपाली हो तर म भूटानी हो भन्छ भने त्यो भूटानी हो। खुशीको कुरा के छ भने हालै नेपालको मधेशमा बस्ने लाखौ विहारीहरुलाई नागरिकता प्रदान गरियो। त्यो एक प्रशंसनीय कार्य थियो। परन्तु सन् १९९० सालतिर भूटानबाट लखेटिएका नेपालीहरुलाई भूटानको नागरिक स्वीकार गरिएको छैन। मेरा विचारमा यो प्रशंसनीय कार्य होइन। जब नाता नङ र मासुझैं निकटको हुन्छ तब कुनै व्यक्ति चाहनाअनुसार उसलाई कि यताको, नभए उताको पहिचान रोज्ने छुट मिल्नु पर्दछ। दुई डुङ्गामा खुट्टा टेकेझैँ दुई पहिचानमा दावी गर्ने हक कुनै व्यक्तिले माग्नु हुँदैन। यही प्रजातन्त्रको मूल मन्त्र हो। झण्डै एकलाख नेपालीहरु शरणार्थी शिविरमा बसेर आफ्नो प्यारो भूटानको पहिचानको लागि दिनरात जुन प्रकारको तपस्या गर्दैछन् त्यो ढिलोचाँडो अवस्य पूर्ण होला भन्ने विश्वासका साथ भयो छोटो विचार यही टुंग्याउँछु।