भूटानी जनजीवन: एक परिक्रमा (भाग–१)

 – पशुपति तिम्सिना
 अमेरिका

भूटान एक हिमाली परिवेष्ठित देश हो । उन्नाइसौं शताब्दीको  पूर्वार्धसम्म विश्व सम्पर्कबाट विखण्डित यो राज्य बेलायती उपनिवेशसँगै भारतको बाटो हुँदै विश्वमानसमा आएको हो । यसको मानव उर्वर आवादलाई हेर्ने हो भने त यसको इतिहास एकदमै छोटो छ । भूटानका पहिला राजा उगेन वाङचुकसँग–सँगै नेपालबाट किसानहरु बसाइँ सरेर भूटानका दक्षिण भेगका घना जंगल फडानी सुरु भई बस्ती बसालिएको इतिहास साम्ने पाइन्छ । भूटानको बहुधार्मिक, बहुभाषी र बहुसंस्कृतिको बीजाङ्कुरण पनि यहींबाट सुरु भएको पाइन्छ ।

जसले जताबाट जे भने पनि भूटानी संस्कृतिको उद्गम् बिन्दू भनेको  कृषि नै हो । भूटानको उत्तर–पश्चिममा ङालोङ, उत्तर–पूर्वमा सार्छोप र दक्षिणमा नेपालीको आवादी उद्गम् स्थल हो । भूटानको राष्ट्रिय भाषा जोङ्खामा नेपालीहरु दक्षिणमा आवाद गर्ने भएकाले ह्लोछम् र बोल्ने भाषालाई ह्लोछम्खा भनिन्छ । उत्तरी हिमालमा चौरी चराउने ङालोङे आसाङ् हुन् अथवा दक्षिणका छ्यारछ्यारेमा गोठ हिँडाउने घ्याब्रिङ हुन् – उनीहरुले सुसाउने सुसेली र गुञ्जने गीतको भाका उही छ परिवेश उस्तै छ –

         हे…….आलुदम् चाना….. छोडेर जानेलाई मीठो सम्झना !  भन्ने घ्याब्रिङको शैली र ङालोङे आसाङको गासा लामे सिङ्गे वाई ……. सुन्नु होस् त? लवज एउटै छ । किन भने हाम्रो संस्कृतिको उद्गम स्थल पनि लग्भग् एउटै हो । भूटानको बहुजाती, बहुभाषी, बहुसंस्कृति र परम्परालाई क्रमशः अध्ययन गर्नु आजको समयमा अपरिहार्य भएको छ । यहाँ यो लेखमा भने ह्लोछम् जनजीवनको एक छलाङ मार्ने जमर्को गरिएको छ ।

भूटानमा ह्लोछम् जनजीवन बाहृमासेमा परिक्रमा भइरहन्छ । कृषि उन्पादनलाई कायम र व्यवस्थापनमा नै बाहृमास परिभाषित पाइन्छ । जस्तै– बैशाख–जेठ वसन्त । यो तयारीको ऋतुका रुपमा मानिन्छ । प्रकृतिले पनि नयाँ पालुवाबाट नयाँ सिर्जनाको तयारी गर्दछ, यस ऋतुमा । गाउँघरका किसान दाजुभाइ वर्षभरीका लागि दाउराको तयारी गर्दछन् । पानीको मुहान सोझ्याँछन् । कुलो सोहोर्छन् । नून–तेलको जोहो गर्न घरमूलीहरु हाटबजारतिर लाग्छन् । घर–गुवाली छाउँने काम हुन्छ । चाँडैनै खेतीमा लाग्नु पर्ने भएकाले गौंडा गल्फ बारिन्छ । काँक्रा, लौका, इस्कुस, आदि झ्याल्—झूलका लागि थाङ्रा गाडिन्छ । धानको व्याड राखिन्छ । बारीको मकै गोडिन्छ । खेतको बालीमा गहुँ, मकै, आलु बिस्तारै उठाइन्छ । दिन् केही गर्मीलो हुन्छ । केटा–केटी, युवा तन्नेरी नजीकैको खोला–नालामा जान्नेहरु पौडिन्छन् । नजान्नेहरु रौसिन्छन्, नुहाउँछन् । वनभरी फूल फुलेको छ । ऐँसेलु पाकेर लटरम्म ! जमुना, क्यामुनाले मन तानेको हुन्छ, काफल पाकेर बोटै रातो देखिन्छ । घाँस दाउरामा निस्किएका तरुन् तन्नेरीहरु वनै घन्काउँदै गीत गाउँछन् ।

असार र श्रावण महिना भूटानी नेपाली गाउँघरमा अत्यान्तै व्यस्त र परिश्रमको मास पर्दछन् । जंगलबाट गोठ घर ल्याइन्छ । खेत खन जोत गरिन्छ । आली अँचिलो गराका ढुङ्गा पन्साउने, गराका कुइनेटाको बाँझो खन्ने, हिल्याउने, आली लाउने, आदि काम बिस्तारै बढ्दै जान्छ । समय मिलाएर कोदोको बिउ राखिन्छ । धान रोपाइँ परिश्रमसँगै रमाइलो पनि हुन्छ । केटा केटी, युवा तन्नेरीमा रोपाइँको रौश जाग्दछ । रोपाइँ एक्लैले भ्याउने कुरो होइन । रोपार, बाउसे, हली जस्ता खेताला बोलाइन्छ । रोपाइँको अघिल्लै दिन गराका गरा बिउ काडिन्छ । सबैको काम चलाउनै पर्ने भएकाले पालो पर्म पनि गरिन्छ । ठूला बढाले अझै रामरौश गर्न बेठी लगाउँछन् । दमाइको पञ्चेबाजामा नाच्दै, हिलो खेल्दै, पानी छ्यापाछ्याप् गर्दै रमाइलोसँग धान रोप्दा कामले गलेको पत्तै हुँदैन । बेठी लगाउन नाङ्लो जत्रो छाती चाहिन्छ । प्रायः मुरी धानको बीउ जाने खेती भएकाले बेठी लगाउँछन् । गाउँमा ठूलो इज्जत भएकाले बेठी लगाउँदै आएका छन् । बेठी नलगाउनेका खेती पनि शुन्य चाहिँ हुँदैन । असारे गीत सबैका खेतमा घन्किन्छ –

रामका पालामा सीताजीलाई ……….रावणले हर्‍यो बनैमा

राम है भए अत्यान्तै बेचैन………….रोइ बसे कठै मनैमा ।

रोपाइँ सकेपछि गोरुलाई धानको बीउ र हिलाले नुहाइदिए पछि हिलो पखालिन्छ । यो खेतीको काम सकिएको सूचक पनि हो । साउने सक्रान्तिमा कुखुरा, खसी, परेवा, सुँगुर, आदि काटिन्छन् । सबै गाउँलेले नरमकरम मिलाएर मीठा मसिना खान्छन् । श्रावण महिनाको आगमनसँगै बारीको काम सुरु हुन्छ । मकैबारीभित्र खनेर कोदो रोप्नेब काम हुन्छ । मकै छिट्टै पाकेका भेकमा गोरुले जोतेरै कोदो रोपिन्छ । सानै बारी भए पनि बाह्रै किसिमको बाली लगाइन्छ । फापर,तोरी, भटमास, घीउ बोडी, फिलुङ्गे, मस्याम, पहेंलो दाल, कालो दाल, राजमा, आदि सबैका बारीमा पाक्तछ । बाँसको तामा साऊन महिनामा उसिनेर, अमिल्याएर खाँदा कम मीठो हुँदैन। श्रावण महिनासँगै फलफूलको मास सुरु हुन्छ । नस्पाती, मकै, काँक्रो जताततै पाइन्छ । नस्पाती र काँक्रो नून खोर्सानीमा चोबेर खाँदाको मजा अर्कै हुन्छ । हरियो मकै जाँतोमा पिँधेर फ्याप्लो खानको मजा बिर्सिनसक्नु हुन्छ । साउन महिनामा पर्ने पूर्णिमालाई जनै पूर्णिमा अथवा ऋषि तर्पणी भनिन्छ । कर्म चलेका पुरुषहरु जति नजिकैको खोलामा नुहाउन जान्छन् । पितृका नाममा तर्पण दिन्छन् । बुढापाका भन्छन् – “नाग पञ्चमी देखि हिउँद लाग्दछ ।” नागपञ्चमीमा ब्राह्मणहरु नागको चित्र बनाएर गोबर र दुबो राखेर गाउँभरि नाग टाँस्छन् । गाई गोठ लेकतिर अथवा जंगलतिर लगिन्छ । प्रायः भदौ महिनामा धान गोड्ने देखि लिएर तीजको रमझम् बिर्सी नसक्नु हुन्छ । तीजमा चेलीबेटीको  मन माइती गाउँभरि परिक्रमा गर्दछ । प्रायः सबै चेलीबेटी माइत जान्छन् । तीजमा खूब नाच्छन्, खूब गाउँछन् । तीज र पञ्चमीको पूजा लगाउँछन् र मनभरी माइतीमा रहँदा मोजमस्तीको स्मृति लिएर घर फर्किन्छन् ।

असोज महिनासँगै चाडबाड सुरु हुन्छ । यो महिना चाबाडको महिना हो । रमाइलो गर्ने महिना हो । चाडबाडसँगै घरायसी जिम्मेवारी पनि बढ्दछ । कुसे औंशी पछिको पूर्णिमाबाट सोह्र श्राद्ध सुरु हुन्छ । हिन्दु धर्मवलम्बीहरु चाडबाड मनाउनु अघि पितृसेवा गर्नु पर्दछ भन्ने मान्दछन् । पितृ खुशी भएर दिएको आशिर्वाद  अवश्य लाग्दछ । घर परिवार धन धान्य हुन्छ । यो बुढाबुढीको विश्वास हो । सोह्र श्राद्धसँगै दशैंको लागि नयाँ लुगा किन्ने र सिलाउने काम हुन्छ । १६ दिनको श्राद्ध पछि आउने औंशीबाट नवरात्र सुरु हुन्छ । यो औंशीलाई जमरे औंशी पनि भनिन्छ । गाउँमा नौरथा भन्दछन् । मकै, जौ, आदिको जमरा राखिन्छ यो औंशीको दिनमा । जमरालाई कुनामा घामले नभेट्ने ठाउँमा राखिन्छ । प्रायः नौरथामा सबै घरमा दुर्गा सप्तसतीको आराधना गरिन्छ । घर घरमा दशैं लाग्दछ । गाउँमा धानकुट्ने मिल नभएका ठाउँमा ढिकीले काम चलाइन्छ । चिउरा पनि पालो पर्म गरेर ढिकीमै कुटिन्छ । रातो माटो र कमेरो दलेर घर चिटिक्कै सिंगार्न सबैलाई पर्दछ । कसको भन्दा कसको घर राम्रो बनाउने भन्ने होडबाजी नै चल्दछ । रातो माटो खन्दा ढिस्को खसेर मान्छे पुरिएर मर्ने सम्भावना धेरै हुन्छ । वर्षेनी कतै न कतै कोही न कोही त यसरी मरेकै हुन्छन् । दशैंको लागि मर्मसाला र अन्य खाद्यान्न सामाग्री किन्न बजार खचाखच भरिन्छ । सप्तमीबाटै कूल पूजा गरी घर घरमा कुखुरा, परेवा, राँगो, खशी, सुँगुर, हाँस, आदि मार्ने काम हुन्छ । परदेश गएका छोरा, छोरी, भाइ, बहिनी, बुहारी, नाती, नातिनीहरु पनि नवमीका दिनसम्ममा घर आइसक्तछन् । घरमा एकाएक रमाइलो छाउँछ । वर्ष भरि छर्रिएर रहेका परिवारलाई यो चाडले एकै ठाउँमा जुटाइदिन्छ । सबै घरमा खुशीयाली छाउँछ । दशैं अधर्म विरुद्ध धर्मको जीत, असत्यका विरुद्ध सत्यको जीत भएको चाडका रुपमा मनाइन्छ । दशमी अथवा दशैंका दिन बिहानै उठेर आमा–बुहारीहरुले गोबरले घर लिप्छन् । सबै परिवारले नुहाई धुवाई गर्दछन् । टिकाको साइतमा सबैभन्दा बृद्धबाट उमेर अनुसार सानाले टिका र आशिर्वाद थाप्तछन् । ठूला बढाले रातो टिका अथवा रातो नभए दही अक्षता निधार भरि राखेर जमरा शीरमा राखी आशिर्वाद दिन्छन् । ठूला बढालाई दाम राखेर सानाले ढोगदछन् । मान्यजनलाई टिका लगाएर दक्षिणा दिइन्छ । भूटानमा दशैंको महत्व भनेको नयाँ लुगा लगाउने, मासु भात खाने, दही चिउरा केरा खाने र आफन्तसँग भेटघाट गर्ने हो । आलोपालो गरेर सबैजनाले सबै मान्यजनबाट टिका थापेर आशिर्वात थाप्छन् । यो क्रम दशमी देखि पूर्णीमासम्म चल्ने गर्दछ । यो पूर्णिमालाई कोजाग्रत पूर्णीमा भनिन्छ ।

२३ /१०/२००९ मा सागल रेडियो भूटानी आवाजबाट “हाम्रो समाज र संस्कृति” शीर्षकमा प्रशारित

Leave a Reply

Your email address will not be published. Required fields are marked *