भूटानी जनजीवन : एक परिक्रमा (भाग–२)
-पशुपति तिम्सिना
अमेरिका
रीति र रिवाज संस्कृति हाम्रो, पहिचान राम्रो छ
विभिन्न जाति, विभिन्न रीत, समाजमा हाम्रो छ
गर्वले भन्छौं, गर्वले मान्छौं लैजान्छौं साथैमा
भूटानका हामी नेपाली भाषी, भूषा छ गाथैमा
सकेनौं छोड्न, सकेनौं फेर्न, संस्कृति प्यारो भो
नौ डाँडा काटी दूरमा आयौं समाज न्यारो भो
लाउँदछौ हामी, गाउँदछौं हामी गीत हाम्रो पहिचानको
नछोडौ रीत बढाउँ प्रीत, भूटानी समाजको ।
कोजाग्रत पूर्णीमाको कुरा गर्दा गाउँ, काल र परिस्थिति अनुसार रातमा जाग्रत अथवा जागै बसेर बिताउने चलन छ । कतै कतै रातभर नाच–गान गरिन्छ । संगिनी र बालन खेलिन्छ । कतै कतै त मारुनी नाचेरै रात बिताइन्छ । मारुनी नचाउन निकै खर्चिलो हुन्छ । मारुनी गाउने, नाच्ने र हास्यपात्र पुर्सनेलाई पनि विशेष दामको व्यवस्था हुनु पर्दछ । गाउँमा ठूला बढाले मात्र मारुनी नचाउने आँट गर्दै आएका छन् ।
दशैं सकिने बित्तिकै कामको चपेटाले गाँजी हाल्छ । धान पाक्न थालेको हुन्छ । बारी भरीका बिउ–बिजन पाकेर खङ्रङ्गै भएको हुन्छ । अँलैची बारीमा डाल काट्न बितेको हुन्छ । पाकेका बालीमा बाँदर पल्केर खपीसक्नु हुँदैन । एक जना त आलो पालो गरेर बाँदरको गोठालै बस्नु पर्दछ । खलेगरो बनाउनै पर्ने हुन्छ । गाउँभरीका पुरुषहरु अँलैची बगानमा काम गर्न महिना दिनका लागि जंगल पस्तछन् । भए भरको घरको बिउ बिजन उठाउने सम्पूर्ण जिम्मेवारी महिलाको काँधमा पर्दछ । यस्तो चटारोका बीच पनि समय निकालेर तिहारको सौधा गर्न नजिकैको हाट पनि पुग्नै पर्ने हुन्छ । घरको वरिपरि र बारीका डिलभरी सयपत्री, मखमली, आदि फूल फूलेर वातावरण मनोरम बनेको हुन्छ । बारी भरीका अम्बक पाकेर पहेंलै भएको हुन्छ । सुन्तलाका दानामा गुलियो पस्न थालेको छ ।
अलैंची बारीको कुरा गर्दा, भूटान अँलैची उत्पादन गर्ने एक प्रमूख मुलुकका रुपमा आउँदछ । हालमा आएर विशेष रोगले अधिकांश अलैंची बगान मास्सिए पनि यो हाम्रो प्रस्तुति भने त्यहाँ हुने गर्ने दैनिक जीवनयापनको क्रियाकलापको बारेमा गर्दैछौं । घनाजंगलबीच फल्ने फलाउने गरिन्छ । एक प्रकारले हेर्ने हो भने यो अति सहज नगदे खेती हो । रोप्नलाई जरासँगको एक अँलैचीको डाँठ माटामा राखिदिए पग्ने । बैशाख–जेठतिर फूल गोडेपछि एकै चोटी दशैं पछाडि अलैंची टिप्नु अघि बोटको वरिपरिको जंगल फडानि गरिन्छ । यसलाई डाल काट्नु भनिन्छ । डाल काट्दा सिस्नुका ठूला ठू्ला झ्याङ् फाँड्नु पर्ने हुन्छ । यसरी सिस्नुका झ्याङ् फाँड्दा, सिस्नुको काँडाले पोलेर पहिला त खपि सक्नु हुँदैन । पोल्दा पोल्दै सायद छाला मरेर होला, पछिबाट त पोल्न पनि छाड्दछ । सिस्नुका पनि किसिम धेरै हुन्छन् । अल्लो सिस्नु, घरिया सिस्नु, फुस्रे सिस्नु, लट्टे सिस्नु, आदि । लट्टे सिस्नु धेरै विषालु हुने गर्दछ । यसको फूलले बढी पोल्दछ । अल्लो सिस्नुको गुण धेरै छ । छिप्पेका अल्लो सिस्नुका लामा लामा डाँठलाई डेरामा ल्याएर, त्यसलाई आगोमा तताएर बाहिरको बोक्रा झिक्दा, पाट निस्कन्छ । यसलाई भेडा बाख्रा आदि बाँध्ने दाम्लो बनाउन प्रयोग गरिन्छ । त्यसो त डाल काड्दा कलिलो गग्लातामा खुर्पा मच्चाएर हान्दा यदि मजासँग गग्लातो फाँडिन्छ, तपाईँ जो कोहीले यो दृश्य हेर्ने हो भने स्वयं कोशिश नगरी बस्नै सक्नुहुन्न । कलिलो गग्लातो फाँड्न् क्रममा कहिलेकाहीँ त हरियो र सयलमा बसेको अन्धे साप पनि यसरी छिन्छ, टाउको बिनाको सापको शरीर उफ्रेको मजाक हेर्न सबै खेतालाहरु झुम्मिन्छन् । बगान अनुसार यो काम सात दिनदेखि दश दिन जति लाग्न सक्तछ । जंगलको बसाइ, मकैको भातमा इस्कुस, मुला र आलु मिसिएको तरकारी असाध्यै अडिलो र मीठो हुन्छ । कतै कतै त बगानमै गोलभेंडा पाकेर लटरम्मै हुन्छ । यसको चटनीले भात अरु रुचाउँछ । त्यसो त गाइगोठ नजिकै छन् भने गोठालालाई अलैंची दिए पछि, दही मोही गाग्रा भरी हालिदिन्छन् । अलैंची बारीमा काम गर्ने खेतालाहरु गीत गाएर खूब रमाइलो गर्दछन् ।
थाहै नपाई तिहार आउँछ । तिहारको रमाइलो जम्मा तीन दिनमा लिए पनि तिहार पाँच दिनको हुन्छ । यसलाई यमपञ्चक पनि भनिन्छ । कागलाई यमराजको दूतका रुपमा सम्मान गरेर सुरु भएको तिहार, अर्को दिन कुकुरलाई अनि पछि गाई (लक्ष्मी), गोरु र भाइ पूजा गरे पछि सकिन्छ । औंशीको दिनमा गाईलाई हिन्दूहरुले लक्ष्मीको प्रतिकका रुपमा पुजन गर्दछन् । जंगलमा अलैंची बगानमा काम गर्न गएकाहरु पनि यस दिन जसरी भए पनि घर आइपुग्दछन् । साँझ पख धन धान्यकी देवी लक्ष्मीलाई भएभरको गर गहना, सुन चाँदी, रुपयाँ पैसा, मूल्यवान् सम्पति आदि राखेर पुजिन्छ । घर वरिपरि केराको दाम्चामा बाती बालेर झिलिमिलि पारिन्छ । हुने खानेमा कसैले दियो अथवा पालामा तेल हालेरै घर झिलिमिलि पार्दछन् भने कसैले मैन बत्तीको प्रयोग गर्दछन् । गाउँभरि सबैका घर केही क्षणका लागि मात्र भए पनि उज्यालो हुने भएकाले यस चाडलाई प्रकाशको चाड पनि भन्ने गरिन्छ ।
लक्ष्मी पुजिसके पछि सुरुहुन्छ देउसी भैलो । देउसी भैलो पनि ठाउँ अनुसार फरक किसिमले खेलिन्छ । कतै औंशीका दिन भैली मात्र खेलिन्छ भने कतै पुरुषले देउसी र महिलाले भैलो खेल्ने गर्दछन् । देउसी भैलोको कुरा गर्दा यो त्रेता युगमा भगवान श्रीरामचन्द्रको पालाको कथासँग जोडिन्छ । अयोध्याका राजा भगवान् रामचन्द्र चौधवर्षको वनबास जाँदा, रावणले सितालाई हरेर लैजानु, भगवान् रामचन्द्रले सुग्रीवसँग मीत लगाएर लंकासम्म पुगी, रावणलाई मारेको कथा देउसी भैलोमा गाइन्छ । वास्तवमा रामको विजयउत्सवको शुभ समाचार देउसी र भैलोको नाममा घरघरमा पु¥याइएको भन्ने पौराणिक कथन छ । केटा केटी, तरुन तन्नेरीहरु देउसी भैलो खेलेर पैसा कमाउन खूब लालायित हुन्छन् ।
औंशीको भोलिपल्टलाई हल्तिहार भनिन्छ । चेली बेटीहरु अधिकांश दाजुभाइलाई टीका लगाइदिन यस दिनमा नै माइत आउने चलन छ । हल्तिहारका दिन धेरै कुरा गर्नु पर्ने हुन्छ । पीठो कुटेर सेल रोटी पकाउनु पर्ने हुन्छ । भोलिका लागि माला गाँस्नु पर्ने, अचार बनाउनु पर्ने, कतै कतै खसी, कुखुरा, राँगो, सुँगुर आदि काट्ने काम हुन्छ । घरभरि चेली माइती भएर तिहारको सेल रोटी चाख्तै सुख दुःख आदान प्रदान गर्दछन् ।
भाइटिकाको दिन देउसी भैलो खेल्न निस्किएका चेली माइती सबै घर फर्कन्छन् । आमा, बुहारीहरुले घर लिप पोत गर्दछन् । नुहाइ धुवाइ गरेपछि चेलीले माइतीलाई लहरै उमेरअनुसार ठूला देखि सानालाई राखिन्छ । चेलीले माइतीलाई तेलले छेक्दछन् । ओखर पुज्दछन् । माइती पुज्दछन् । सप्तरङ्गी टिका चिटिक्क पारेर निधारमा लगाइदिएर आशिर्वाद दिने गर्दछन् । चेलीले माइतीलाई उपहार दिन्छन् । कतै कतै माइतीले चेलीलाई पनि उपहार र दक्षिणा दिन्छन् । कतै कतै भाइ टीकाको दिनमा चेलीले माइतीबाट उपहारबाहेक केही पनि लिँदैनन् ।
भाइटीकाको भोलिपल्ट हिजोसम्मको छोटो रमाइलो सबै बिर्सेर आ–आफ्नो काममा लाग्दछन् । माइत आएका चेलीहरु आफ्नो घर फर्किन्छन् । गाउँ भरिका पुरुषहरु पुनः अँलैची बगानका लागि जंगल पस्तछन् । गाउँमा र घरमा बसेका महिलाहरु धान काट्न सुरु गर्छन् । धान काट्न पनि निकै झन्झटिलो छ । धान काटेर पाँजा मिलाएर सुक्न छाड्नु पर्दछ । तीन चार दिनमा मात्र सुक्तछ । अनि पछि बिटा लगाउनु पर्दछ । धानका बिटा नकुटीकन कुन्यु लगाइन्छ । थान्को मुन्को गर्न महिलालाई मात्र गाहृो हुने र कामको पनि चटारो भएकाले कुन्यु लगाएर छाड्ने चलन छ । जंगल लगिएको गोठ घर ल्याइन्छ । हेर्दा हेर्दै खेदभरिका पयँलपुर धान खलाभरिको कुन्युमा परिणत हुन्छ । बारी भरिका बोडी, दाल, केराउ, फिलुङ्गे, फापर, आदि उठाइँ उठाइँदै बारी रित्तो पारिन्छ । उता जंगलमा अँलैची बगानमा अँलैची टिप्ने काम सुरु हुन्छ । दिन भरि टिपेको अँलैची जति रात गए पनि छोडाइ सके पछि मात्र सुत्ने चलन सबैको हुन्छ । आगाको धुनीको वरिपरि बसेर गीत गाउँदै, कथा सुनाउँदै, जिस्कँदै अँलैची छोडाउने काम हुन्छ । घान पुगे पछि भट्टिमा अँलैची राखेर आगाको धुनीमा अँलैची सुकाइन्छ । यसरी एक पुरा घान काँचो अँलैची सुक्न ५ देखि ७ दिन सम्म लाग्न सक्तछ । अँलैची सुकेपछि आगो निभाएर माड्ने काम हुन्छ । सबै भन्दा कठीनको काम भनेकै यहि हुन्छ । यसरी सुकेको अँलैची माड्दा उडेको धूलो नाकबाट भित्र छिरेर छातीनै खराब हुने गर्दछ । जब अँलैची माडिन्छ तब घर ल्याउनका लागि बोरामा हाली घर पठाउने काम सुरु हुन्छ । यसरी सुकेको अँलैची घर ल्याउँदा खेतालाले छुट्टै ज्याला पाउने हुँदा घर फर्किने सबै जसो खेताला अँलैची बोकेर घर जाने इच्छा व्याक्त गर्दछन् । जंगल पसेको लगभग महिना दिन पछि बिस्तारै पुरुषहरु अँलैची लिएर घर फर्किने क्रम सुरु हुन्छ । गाउँ भरिको खेतबारीमा भएको अन्नपात पनि उठाएर सकिनै लागेको हुन्छ ।
मंसीर लागेपछि सम्पूर्ण वातावरण सफा हुन्छ । झार पात सुकेर खङरङ्गै भइसकेको हुन्छ । केटा केटी खेतका गह्रामा निस्केर कोही गोल खेल्छन्, कोही गुर्गुट्टी खेल्छन्, कोही लुकीछिपी खेल्छन् । गाउँमा शहरको जस्तो हावा भर्ने गोल हुँदैन । गाउँमा त झत्ताको अथवा भोगटे अथवा निवुवानै काफी हुन्छ । कसैकसैले त डन्डीवियो पनि खेल्दछन् । युवा तन्नेरीहरु वनभोज जस्ता मनोरन्जन दिने कार्यक्रमहरु बनाउछन् । कसैकसैले त गाउँमा मेलाको पनि आयोजना गर्दछन् । स्कुले केटाकेटीहरुको वर्ष दिनको जाँचको परिणाम निस्केपछि हिउँदे विदा लगभग दुई महिना जति हुन्छ । भूटानमा अधिराज्यभरिका स्कुलहरुमा एकै दिन हिउँदे बिदा हुन्छ र स्कुलहरु एकै दिन खुल्छन् । प्रदेश लागेका ठूला कक्षाका विद्यार्थीहरु घर फर्किन थाल्दछन् ।
११/२०/२००९ मा सागल रेडियो भूटानी आवाजबाट “हाम्रो समाज र संस्कृतिबाट प्रशारित”
हाम्रो समाज र संस्कृतिलाई सम्झाउने र सिकाउने यो लेख उच्च कोटिको लाग्यो l नयां पिडिलाई आफ्नो संस्कार र संस्कृति बारे यस्ता लेखहरु अरु पनि लिखिए bhutaneseliterature.com का पाठकहरु धन्य हुने थियौं l पशुपतिजीको यो लेख श्रृंखलाबद्ध रूपमा अघि बडोस यही सुभेच्छा छ l