भूटानी जनजीवन: एक परिक्रमा (भाग—३)
– पशुपति तिम्सिना
अमेरिका
रीति र रिवाज संस्कृति हाम्रो, पहिचान राम्रो छ
विभिन्न जाति, विभिन्न रीत, समाजमा हाम्रो छ
गर्वले भन्छौं, गर्वले मान्छौं लैजान्छौं साथैमा
भूटानका हामी नेपाली भाषी, भूषा छ गाथैमा
सकेनौं छोड्न, सकेनौं फेर्न, संस्कृति प्यारो भो
नौ डाँडा काटी दूरमा आयौं समाज न्यारो भो
लाउँदछौ हामी, गाउँदछौं हामी गीत हाम्रो पहिचानको
नछोडौ रीत बढाउँ प्रीत, भूटानी समाजको ।
जंगल पसेको लग भग महिना दिन पछि बिस्तारै पुरुषहरु अँलैची लिएर घर फर्किने क्रम सुरु हुन्छ । गाउँ भरिको खेतबारीमा भएको अन्नपात पनि उठाएर सकिनै लागेको हुन्छ ।
मङ्गसीर लागे पछि सम्पूर्ण वातावरण सफा हुन्छ । झार पात सुकेर खङ्रङ्गै भइसकेको हुन्छ । केटा केटी खेतका गरामा निस्केर कोही गोल खेल्छन्, कोही गुर्गुट्टी खेल्छन्, कोही लुकीछिपी खेल्छन् । गाउँमा शहरको जस्तो हावा भर्ने गोल हुँदैन । गाउँमा त झत्ताको अथवा भोगटे अथवा निवुवानै काफी हुन्छ । कसैकसैले त डन्डीवियो पनि खेल्दछन् । युवा तन्नेरीहरु बनभोज जस्ता मनोरन्जन दिने कार्यक्रमहरु बनाउँछन् । कसैकसैले त गाउँमा मेलाको पनि आयोजना गर्दछन् । स्कुले केटाकेटीहरुको वर्ष दिनको जाँचको परिणाम निस्के पछि हिउँदे विदा लग भग दुई महिना जतिका लागि हुन्छ । भूटानमा अधिराज्यभरिका स्कुलहरुमा एकै दिन हिउँदे बिदा हुन्छ र एकै दिन खुल्छ । परदेश लागेका ठूला कक्षाका विद्यार्थीहरु घर फर्किन थाल्दछन् ।
मङ्गसीर महिनाको कुरा गर्दा बाँझो खेत जोतेर पट्टा लगाएर कतै आलु रोप्ने त कतै गहुँ छर्ने माटो बनाएर रोपिन्छ, छरिन्छ । मङ्गसीर महिनामै गोठको पूजा गरिन्छ । यसलाई गोठधूप पनि भनिन्छ । मङ्गसीर महिना भरिनै गाउँ घरमा बिहे बटुलो हुने गर्दछ । पहिले पहिले मागी बिहे राती हुने गर्दथ्यो । पछि समय खराब हुँदै गए पछि दिउँसो नै बढी हुन थाल्यो । त्यसो त नयाँ पुस्तामा समय आएपछि र युवा तन्नेरीहरुमा पढेलेखेकाहरु समय देखिनै माया प्रिती बसाएर चोरी बिहे गर्नेहरु पनि बढ्दै गएको छ । मागी बिहे परम्परागत बिहे हो । मागी बिहेमा कुरा चलाउने, टिप हेर्ने, कुरा छिन्ने, पत्र लाउने आदि चरण हुन्छन् । त्यसो त जातीयताका आधारमा बिहे पनि फरक फरक हुने गर्दछ । सबै जातिको बिहे गर्ने तरिकाका बारेमा आउने कार्यक्रममा प्रस्तुत गर्नेनै छु । यहाँ भने हिन्दु धर्म अनुसारको बिबाहलाई उठाउँदै छु । मागी बिहे धेरै जटिल र लामो तयारीमा हुनु पर्दछ । भतेरमा पकाउन प्रयोग हुने दाउरादेखि लिएर पकाउने चामल, भतेरमा प्रयोग गरिने दुना टपरीका लागि पात टिप्न जानु पर्ने, दुना टपरी गाँस्नु पर्ने, बेहुला बेहुलीलाई लगाउने लुगा कपडा, गर गहना, आदि इत्यादिको कुरा आउँछ । गाउँमा धान मिल नभएका ठाउँमा धान कुटेरै चामल तयार पार्नु पर्दछ । चिने जानेदेखि लिएर सम्पूर्ण गाउँलेलाई निम्ता गर्नु पर्दछ । कसैलाई चुलेनिम्तो, कसैलाई जन्तेनिम्तो, कसैलाई डोलेनिम्तो आदि किसिमका निम्ता बाँड्नु पर्दछ । निम्तोमा अध्याधुनिक कार्ड छपाई हुँदैन । भए र मान्यजनलाई डोलो सुपारी, नभए कप्टेरा सुपारी र अलैंचीले नै निम्ता मान्ने चलन छ । बिहेमा छोरीको भए, अघिल्लै दिन आविदय श्राद्ध र मातृका पूजा गरिन्छ । बिहे हुने चेली पनि बुबा आमासँगै लगन पोते र कन्यादान नगरुञ्जेल उपवास बस्नु पर्दछ । छोराको भए अघिल्लै दिन ग्रहशान्ति गर्ने गरिन्छ । बिहेको दिन चेलीवेटीले बेहुलो सिंगारेर अन्माउँछन् । उता बेहुली घर बेहुलो पुग्नु अघि भत्खउरो पठाउने चलन हुन्छ । भत्खउरो बेहुलाको आगामनको सूचना हो । भत्खउरोको कुरा गर्दा यो बढा रमाइलो विधि पनि छ । जब भत्खउरो बेहुली घर पुग्दछन् नाना भाँतीका मालाहरु लगाइदिने चलन छ । कसैलाई पातको, कसैलाई जुत्ताको, कसैलाई फलफूल र सागपातको लगाइन्छ । जे गर्दा ठट्टयौली र मजाकिलो क्षण हुन्छ, त्यसै गरिन्छ । जन्ती आए पछि पहिले सेउली जोड्ने काम हुन्छ । सेउली जोड्दा जन्ती र घरगाउँले पक्षका प्रतिनिधि सेउली लिएर भेट हुन्छन् र कवित भन्छन् । कवित पनि कविताकै प्रारुप हो । यसमा कवितात्मक लयमा घर गाउँलेले जटील प्रश्नहरु सोध्दछन् र जन्ती पक्षले त्यसको उत्तर दिन्छन् ।
प्रश्न: कहाँ उबजे इन बिरुवा, कस्ता इन्का पात
के का लागि बोकी ल्यायौ, के हो यसको जात?
उत्तर: मधुवन उबजे इन बिरुवा, लामा चिल्ला पात
विवाहका लागि बोकी ल्यायौँ, पर्यौ हो इनको जात ।
प्रश्न: कति पढ्यौ चण्डि, गीता, कति पढ्यौ तोत्र?
जात यस्को पयौँ बतायौ, के हो इनको गोत्र ?
उत्तरः धेरै पढ्यौं चण्डि गीता, थोरै पढ्यौं तोत्र
जात यसको पयौँ बतायौं, काश्यप इनको गोत्र ।
प्रश्नः कहाँबाट आयौ जनती मनती, कहाँसम्मको दाउ?
धर्ती तुमरे भान्जे बुहारी, कहाँ टेकी आयौ पाऊ ?
उत्तर: टाढा देखि आयौँ हामी जनती मनती, यहीँसम्मको दाऊ
धरती हामरे भान्जे बुहारी, पत्थरमा टेकी आयौँ पाऊ ।
जब सम्पूर्ण उत्तर घरगाउँलेले पाउँछन् तब जन्ती पर्छिने काम हुन्छ । अनि मात्र भतेर खुवाउने काम हुन्छ । भतेरमा बेहुलालाई सम्पूर्ण पकाएको भतेरको सामानको जोडी भाग दिइन्छ । बेहुलाले खाए पछिमात्र अरुले खाने गर्दछन् । भतेरमा फुरौला र खाजामा कसार चिउरा बिहेको विशेषताका रुपमा बाँडिन्छ । सम्पूर्ण निम्तारुले खाए पछि बेहुलालाई सके बेहुलीका बाबुले नसके दाजुभाइ अथवा बेहुलीका मावलीले बोकेर जग्गेमा लगिन्छ । त्यस पछि पुरोहितले मंगलाचरण वाचन गर्दछन् ।
मंगलम् भगवान विष्णु, मंगल गरुडद्धवजम् ।
मंगलम् पुण्डरिकाक्ष, मंगलाय तनोहरी ।।
त्यस पछि बरणी गरिन्छ । बरणीलाई विवाह कर्मको सुरुवात मानिन्छ । बिहे अवधि भर श्लोक भनेर बिहेको समय रमाइलो गर्ने चलन गाउँमा छ। श्लोक भन्दा प्रायः रामायणको श्लोक भनिन्छ, त्यसो त सयपत्रीको थुँगोबाट पनि धेरै श्लोकहरु समसामयिक छन् । श्लोक भन्दा भूटानीहरुको गायन शैली र अन्य भेगका नेपालीहरुको गायन शैली फरक छ । त्यही शार्दूलविक्रिडित छन्दलाई भूटानीहरु प्राचिन शैलीमा गाउँदछन् र अन्य नेपालीहरु आधुनीक शैलीमा गाउँदछन् ।
यसरी एकातिर घरगाउँले र जन्तीपक्ष बीच श्लोकको दोहोरी चल्दछ भने अर्कातिर गीत गाएर नाच गानको रम रौश सुरुहुन्छ ।
बिहेको कर्म पनि भूटानमा लामो हुने गर्दछ । सम्पूर्ण कर्म पूरा गर्नै पर्दछ । स्वायम्बर, गोडा धुने, साखोचरण, कन्यादान दिनु, लगन गर्नु, सिँदूर लगाउनु, जुठो खुवाउनु, दहीले चल्नु, जुवा खेल्नु, शिला पुज्नु, खाँडो जगाउनु, बेहलीलाई गर्गहना र लुगाफाटा दिनु, ससुराली चिन्नु, अन्माउने टिको लगाउनु, अन्माउनु आदि आदि । दहीले चल्दा र जुवा खेल्दा बेहुलाले जिते पहिलो सन्तान छोरा हुने र बेहुलीले जिते छोरी भन्ने बुढापाकाको विश्वास रहन्छ । यसको सत्यता भने परेकालाई नै थाहा हुन सक्तछ । खाँडोको कुरा गर्दा बिहेमा यसको ठूलो महत्व रहेको पाइन्छ । खाँडो जगाउनेले हातमा खुकुरी बोकेर भन्छन् –
हैं श्री श्री श्री श्री अर्थ नेपाल गोरखाको खाँडो जगाउने वंशवाली राजाको नाम जवान दिन महिना श्रीशाह दरवे शाह बंशी …. भन्दै राजाहरुको कहानी गरिन्छ । यसो भन्दै अन्त्यमा खाँडो जगाइसके पछि खुकुरीलाई दापमा राखिन्छ ।
लगन जुराउने काम पनि रमाइलो हुन्छ । यस समयमा जन्ती पाटाका प्रतिनिधिले तीन पटक पत्रको कहानी पढेर लगन तयार भएको यसरी सोध्दछन् —
जन्ती पाटाकाले: घडीवाला तयार ?
घरपाटाका: तयार ।
जन्ती पाटाकाले: भारवाला तयार ?
घरपाटाका: तयार ।
जन्ती पाटाकाले: दौयानी मंल्यानी तयार ?
घरपाटाका: तयार ।
जन्ती पाटाकाले: बाजा बजाउने तयार ?
घरपाटाका: तयार ।
जन्ती पाटाकाले: शंख घण्ट बजाउने तयार ?
घरपाटाका: तयार ।
जन्ती पाटाकाले: बेहुला बेहुली तयार ?
घरपाटाका: तयार ।
यसरी सोध्ने क्रम तीन पटक दोहो¥याइन्छ । अन्तिमको सोधाइमा जन्तीपाटाकाले सोध्दछन्
शुभ लगन ल्याउँ ?
घर गाँउले ल्याउँ भने पछि लगन भयो लगन भयो लगन भयो भन्दा बेहुलाले बेहुलीलाई पोते लगाउने, बाजा बजाउने र शंख घण्ट बजाउने काम एकै साथ हुन्छ । त्यही समय पछि श्लोक भन्न पनि सुरु हुन्छ ।
बेहुलाले बेहुली घर लैजाँदा बाटाको खोला किनारमा माउर सेलाउने काम हुन्छ । यसरी माउर सेलाउँदा बेहुलीले बेहुलालाई खूब डाँटेर पैसा झार्ने काम गर्दछन् । यता बेहुला घरमा बेहुलालाई अन्माए पछि रत्यौली सुरु हुन्छ । भए भरका गाउँका महिलाहरु भेला हुन्छन् र अश्लिल गीत गाएर, अश्लिल शब्दहरु बोलेर र अश्लिल संगिनी गाएर समय बिताउँछन् । जन्ती फर्किएर आइपुगे पछि सबै भन्दा पहिले बेहुली भित्र्याउने काम हुन्छ । त्यसो त सासु बुहारीको चुल्ठो जोड्ने, पाथी भर्ने आदि काम पनि हुन्छ । बेहुलाको घरमा पनि जन्ते भतेर हुन्छ । प्रायःबेहुलाको घरमा खसी काटेर भतेर खुवाउँछन् । बेहुलाको भतेरमा बेहुलीलाई जोडी भाग दिइने गरिन्छ । बिहेमा प्रायः नौमति बाजा बजाइन्छ । त्यसो त आज भोली आधुनीक बाजाहरु पनि बजाइन्छ । नौमति बाजा विशेष गरी दमाई जातिले बजाउने चलन छ । नौमति बाजा भनेर सहनाइ, नर्सिङ्गा, झ्याम्टा, ढोलक, दमाहा र ट्याम्को बजाइन्छ । भतेर सकिए पछि बाजा बजाउने दमाइ प्रमूखबाट बेहुला बेहुलीले आाशिर्वाद लिने चलन छ । त्यस पछि मात्र दमाईलाई उचित दाम दिएर बिदा गरिन्छ । बेहुली भित्र्याएको भोलिपल्ट बहुभतेर लाग्दछ । यसमा बेहुलाका सन्तान, चेलीवेटी, कूल कुटुम्ब, गुरु–पुरोहित र मावलीहरुमात्र समावेश हुन्छन् । बिहे भएको तीन दिन पछि बेहुली फर्काउने चलन छ । यसलाई दूरान फर्काएको पनि भनिन्छ । दूरान पछि बेहुली केही समयका लागि कोही माइतै बस्तछन् त कोही श्रीमानसंगै तुरुन्तै फर्कन्छन् । यसरी मङ्गसीर महिनामा गाउँमा प्रसस्तै रमाइलो हुने गर्दछ ।
मङ्गसीरको अन्त्य सँगै कोही कोही परदेश हिँड्दछन् । पौष महिनासँगै कोदो टिप्ने काम हुन्छ । कोदो पनि ढिकुटी बनाएर राखिन्छ । प्रायः मङ्गसीरको अन्त्यमा र पौषको पहिलो हप्तातिर गोठ जंगलतिर लगिन्छ । पौष महिनासँगै सुन्तला पाकेर पहेंलै भएको हुन्छ । ठेकेदारहरु ठाउँ ठाउँमा गोदाम राखेर सुन्तला टिप्न थाल्दछन् । सुन्तला पनि गाउँ घरको, अर्को फस्टाएको र अति सहज नगदे खेती हो । कालो माटोको भन्दा रातो माटोको सुन्तला अति मिठो हुन्छ । सेपिलाको भन्दा पारिलो ठाउँको सुन्तला धेरै मिठो हुन्छ । गाउँ घरका केटाकेटी तरुन तन्नेरीहरु सुन्तला बोकेर आफ्नो खर्च आफैं जुटाउने गर्दछन् । सुन्तलाको काम हुन्जेल गाउँनै रमाइलो हुन्छ । बिहान ३–४ बजे देखिनै सुन्तला बोक्नेले गीत गाउँदै हिँड्छन् । सुन्तला बोकाइमा फूल र कीलको दर फरक फरक हुन्छ । फूल भनेको ठूलो र फस्टाएको दानो हो यसको बोकाइको मूल्य पनि धेरै हुन्छ । बजारमा भाउ पनि राम्रै हुन्छ । खाँनलाई पनि यो मीठो हुन्छ । कील भनेको मझौले दानो हो । यसको बोकाइको मूल्य अलि कम हुन्छ । बजारमा भाउ पनि कम हुन्छ । खानलाई कुनै कुनै अमिलो पनि हुन सक्तछ । सबै भन्दा सानो दानोलाई सील भनिन्छ । यो ठेकेदारले टिपाउँदैनन् । यसको बजार मूल्य पनि हुँदैन । खानलाई अधिकांश सील सुन्तला अमिला हुन्छन् । सुन्तला टिप्दा लामो भयाङको आवश्यक पर्दछ । खकन लगाएको सानो आकारको डोकामा टिपेका सुन्तला हालिन्छ र भरिए पछि भूइँमा ओर्लेर आ–आफ्ना राशमा थुपारिन्छ । टिपाइको टिपारुले छुट्टै भाउ पाउँछन् । भाउ सयकडाको हिसाबमा तोकिन्छ । सुन्तला थुपार्दा माटो नलागोस् भन्नका लागि पराल ओछ्याएर थुपारिन्छ । सुन्तला टिप्दा अंकुस पनि चाहिन्छ । लामो हाँगाको सुन्तला हातले भेट्न सकिन्न । अंकुशले सजिलोसँग टिप्न सकिन्छ । सुन्तला टिप्न पनि सीप चाहिन्छ । टिप्ता प्वाल पार्नु हुँदैन । प्वाल परेको सुन्तला चाँडै बिग्रन्छ । यस्ताको बजार भाउ पनि हुँदैन । बिरुवा बोटको भन्दा बुढा बोटको सुन्तला टिप्न सहज हुन्छ । बिरुवा बोटमा बढी काँढा हुन्छ । हात घोचेर र कोरेर घाउवै घाउ हुने गर्दछ । बुढा बोटमा काँढा कम हुन्छ । टिपाइमा फूल किलको फरक मूल्य हुँदैन । सुन्तला टिपे पछि ठेकेदारले राखेको बहिदारले गन्ती गरेर चिठ्ठा बनाएर सही गरिदिन्छ, त्यही अनुसार गोदामको बहिदारले पनि कहिले गन्ती गरेर त कहिले विश्वासको भरमा सुन्तला लिन्छ । सुन्तला बोक्नेलाई पैसा दिँदा बगानको बहिदार र गोदामको बहिदारको खाता दाँजेर पैसा दिइन्छ । सुन्तला बोक्नलाई डोकाको प्रयोग गरिन्छ । यो डोको अरु डोकाहरु भन्दा फरक हुन्छ । खकन र नाम्लो दुबै लगाइएको हुन्छ । यसलाई ढाकर पनि भनिन्छ । भारी गह्रौं भएर बिसाउनलाई लौरो प्रयोग हुन्छ । यस लौरालाई तक्मा भनिन्छ । तक्मा भए बाटामा ढाकर अढ्यार बिसाउन अति सजिलो हुन्छ ।
सुन्तला नबोक्ने बुढाबुढीहरु खर काट्ने गर्दछन् । प्रायः गाउँका घर, खोल्मा, गाइगोठ खरले नै छाप्ने गरिन्छ । हुने खानेले मात्र टिनको छाना लगाउने गर्दछन् । पौष महिनामा बिहे बटुलो हुँदैन । मङ्गसीरमा लगाएको कुन्यु खोलेर धान झाँट्ने र दाइँ गर्ने गरिन्छ । दाइँ गरेर मुठे पराललाई खोल्मामा लगेर राखिन्छ । धुस्ने पराल जति सुली बनाएर राखिन्छ । माघ लागे पछि पुनः बिहेको लगन खुल्छ । बिहे ब्रतवन्ध गाँउ भरिनै हुन्छ । माघ महिनामा कोदो कुट्ने काम हुन्छ । हुने खानेले कोदो संचय गरेर दशैं ताका खानेहरुका लागि जाँड रक्सि बनाउन महँगो मूल्यमा बेच्ने गर्दछन् । अरुले दैनिक खानपिनकै रुपमा कोदोलाई प्रयोग गर्दछन् । कोदोको रोटी कोलाको अथवा बेपारीको पातमा हालेर टिनको तापकेमा पकाएर खाँदाको स्वाद बिर्सिनसक्नु हुन्छ । भूटानमा माघ फागुन महिना प्रायः उजाड रहन्छ । पौष, माघ र फागुन महिना भुटानमा निक्कै चिसो हुन्छ । चिसो मौसममा माटाको हाँडी अथवा टिन काटेर बनाइएको हर्लँगेमा मकै र भटमास भुटेर खाँदाको मिठास बिर्सिनसक्नु हुन्छ । रातीको समयमा गीत गाउँदै धान कुट्दछन् । झार जंगल सुकेको हुँदा माघ, फागुन र चैत महिनामा आगोको धेरै डर हुन्छ । डडेलो लागेर कहिले कहिले जंगल सखाप हुने गर्दछ । फागुन र चैत महिनामा प्रायः वर्खाको लागि दाउराको जोहो गर्ने गरिन्छ । ढिकी भएको खोल्मा भरि दाउराको हारै हारले भरिन्छ । त्यतिले नपुगे आसपासको सिकुवातिर पनि हार राखिन्छ । घर, गुवाली, खोल्मा, बाख्राको टाट्नो छापिन्छ । जाडो यामका लागि बन्द भएका स्कुलहरु फागुन लागे पछि नै खुल्न थाल्दछन् । ठूला कक्षाका विद्यार्थीहरु कोही कोही अन्य जिल्लामा पढ्नका लागि परदेश लाग्दछन् । चैत महिनामा खेतको आलु र मकै गोड्ने काम प्रमूख रहन्छ । यसरी भूटानको बाहृमासे क्रियाकलाप चल्ने गर्दछ ।
१२/१८/२००९ मा सागल रेडियो भूटानी आवाजबाट “हाम्रो समाज र संस्कृति” बाट प्रशारित
(यो परिक्रमा भूटानको चिराङको र त्यस छेउ छाउको क्रियाकलापको आधारमा लेखिएको हो । अन्य भेकको पनि समावेश गर्नु पर्ने धेरै क्रियाकलाप हुन सक्तछन् । पाठकवर्गले सल्लाह दिनु नै हुने छ र यो लेख परिमार्जित हुने अपेक्षा गरिएको छ । – लेखक)
PP Sharmaji Has worked very hard to bring the presentation of our cultural speciality in the global public.
This article may be proved to be efficient in upholding the cultutal etiquettes and social practices of the Nepali ethnic Bhutanese Community. It precisely depicts the basic norms of our cultural practice that is arranged marriage. This culture in many regards is negleted by the present generation. In the foreign land of mess culture, it is very hard to preserve the culture. Basically the massive culture in the modern age influences the ethnic values and its cultural dimensions.
The article by Sharmaji may help us prserve and practise our culture intact. I have seen hundreds of marriages but never as he wrote. Let us guess, How we have been troden by the foreign cultre and temporal practices.
I would like to thank PP Sharmaji for providing the value guidlines of our cultural practice. Sharmaji was a Powerful Poet in the past, He might be more powerful now but how can we say with out reading his pieces? I expect his poetry in the site sometimes.
I got to read your poetic piece which really made me feel proud of our literateurs.These verses prove that our Bhutanese -Nepali community is no longer in psychological misery.As a millionth part of it,I wish every progress of the poet as well as of Bhutanese Literature Society.