भूटानी जनजीवन : एक परिक्रमा
पशुपति तिम्सिना
अमेरिका
भूटान एक हिमाली परिवेष्ठित देश हो । उन्नाइसौँ शताब्दीको पूर्वार्धसम्म विश्व सम्पर्कबाट विखण्डित यो राज्य बेलायती उपनिवेशसँगै भारतको बाटो हुँदै विश्वमानसमा आएको हो । यसको मानव उर्वर आवादलाई हेर्ने हो भने त यसको इतिहास एकदमै छोटो छ । भूटानका पहिला राजा उगेन वाङचुकसँग–सँगै नेपालबाट किसानहरू बसाइँ सरेर भूटानका दक्षिण भेगका घना जङ्गल फडानी सुरु भई बस्ती बसालिएको इतिहास साम्ने पाइन्छ । भूटानको बहुधार्मिक, बहुभाषी र बहुसंस्कृतिको बीजाङ्कुरण पनि यहीँबाट सुरु भएको पाइन्छ ।
जसले जताबाट जे भने पनि भूटानी संस्कृतिको उद्गम् विन्दु भनेको कृषि नै हो । भूटानको उत्तर–पश्चिममा ङालोङ, उत्तर–पूर्वमा सार्छोप र दक्षिणमा नेपालीको आबादी उद्गम् स्थल हो । भूटानको राष्ट्रिय भाषा जोङ्खामा नेपालीहरू दक्षिणमा आबाद गर्ने भएकाले ह्लोछम् र बोल्ने भाषालाई ह्लोछम्खा भनिन्छ । उत्तरी हिमालमा चौँरी चराउने ङालोङे आसाङ् हुन् अथवा दक्षिणका छ्यारछ्यारेमा गोठ हिँडाउने घ्याब्रिङ हुन् – उनीहरूले सुसाउने सुसेली र गुञ्जने गीतको भाका उही छ परिवेश उस्तै छ –
हे…….आलुदम चाना….. छोडेर जानेलाई मीठो सम्झना ! भन्ने घ्याब्रिङको शैली र ङालोङे आसाङको गासा लामे सिङ्गे वाई ……. सुन्नु होस् त? लवज एउटै छ । किन भने हाम्रो संस्कृतिको उद्गम स्थल पनि लग्भग् एउटै हो । भूटानको बहुजाती, बहुभाषी, बहुसंस्कृति र परम्परालाई क्रमशः अध्ययन गर्नु आजको समयमा अपरिहार्य भएको छ । यहाँ यो लेखमा भने ह्लोछम् जनजीवनको एक छलाङ मार्ने जमर्को गरिएको छ ।
भूटानमा ह्लोछम् जनजीवन बाहृमासेमा परिक्रमा भइरहन्छ । कृषि उत्पादनलाई कायम र व्यवस्थापनमा नै बाहृमास परिभाषित पाइन्छ । जस्तै– वैशाख–जेठ वसन्त । यो तयारीको ऋतुका रूपमा मानिन्छ । प्रकृतिले पनि नयाँ पालुवाबाट नयाँ सिर्जनाको तयारी गर्दछ, यस ऋतुमा । गाउँघरका किसान दाजुभाइ वर्षभरिका लागि दाउराको तयारी गर्दछन् । पानीको मुहान सोझ्याउँछन् । कुलो सोहोर्छन् । नुन–तेलको जोहो गर्न घरमूलीहरु हाटबजारतिर लाग्छन् । घर–गुवाली छाउने काम हुन्छ । चाँडै नै खेतीमा लाग्नु पर्ने भएकाले गौँडा गल्फ बारिन्छ । काँक्रा, लौका, इस्कुस, आदि झ्याल—झुलका लागि थाङ्ग्रा गाडिन्छ । धानको व्याड राखिन्छ । बारीको मकै गोडिन्छ । खेतको बालीमा गहुँ, मकै, आलु बिस्तारै उठाइन्छ । दिन केही गर्मीलो हुन्छ । केटा–केटी, युवा तन्नेरी नजिकैको खोला–नालामा जान्नेहरू पौडिन्छन् । नजान्नेहरू हौसिन्छन्, नुहाउँछन् । वनभरि फूल फुलेको छ । ऐँसेलु पाकेर लटरम्म ! जमुना, क्यामुनाले मन तानेको हुन्छ, काफल पाकेर बोटै रातो देखिन्छ । घाँस दाउरामा निस्किएका तरुन् तन्नेरीहरू वनै घन्काउँदै गीत गाउँछन् ।
असार र श्रावण महिना भूटानी नेपाली गाउँघरमा अत्यन्तै व्यस्त र परिश्रमको मास पर्दछन् । जङ्गलबाट गोठ घर ल्याइन्छ । खेत खन जोत गरिन्छ । आली अँचिलो गराका ढुङ्गा पन्छाउने, गराका कुइनेटाको बाँझो खन्ने, हिल्याउने, आली लाउने, आदि काम बिस्तारै बढ्दै जान्छ । समय मिलाएर कोदोको बिउ राखिन्छ । धान रोपाइँ परिश्रमसँगै रमाइलो पनि हुन्छ । केटा केटी, युवा तन्नेरीमा रोपाइँको रौश जाग्दछ । रोपाइँ एक्लैले भ्याउने कुरो होइन । रोपार, बाउसे, हली जस्ता खेताला बोलाइन्छ । रोपाइँको अघिल्लै दिन गराका गरा बिउ काढिन्छ । सबैको काम चलाउनै पर्ने भएकाले पालो पर्म पनि गरिन्छ । ठूला बडाले अझै रामरौश गर्न बेठी लगाउँछन् । दमाईको पञ्चेबाजामा नाच्दै, हिलो खेल्दै, पानी छ्यापाछ्याप गर्दै रमाइलोसँग धान रोप्दा कामले गलेको पत्तै हुँदैन । बेठी लगाउन नाङ्लो जत्रो छाती चाहिन्छ । प्रायः मुरी धानको बीउ जाने खेती भएकाले बेठी लगाउँछन् । गाउँमा ठूलो इज्जत भएकाले बेठी लगाउँदै आएका छन् । बेठी नलगाउनेका खेती पनि शुन्य चाहिँ हुँदैन । असारे गीत सबैका खेतमा घन्किन्छ –
रामका पालामा सीताजीलाई ……….रावणले हर्यो बनैमा
राम है भए अत्यन्तै बेचैन………….रोई बसे कठै मनैमा ।
रोपाइँ सकेपछि गोरुलाई धानको बीउ र हिलाले नुहाइदिए पछि हिलो पखालिन्छ । यो खेतीको काम सकिएको सूचक पनि हो । साउने सङ्क्रान्ति कुखुरा, खसी, परेवा, सुँगुर, आदि काटिन्छन् । सबै गाउँलेले नरमकरम मिलाएर मीठा मसिना खान्छन् । श्रावण महिनाको आगमनसँगै बारीको काम सुरु हुन्छ । मकै बारीभित्र खनेर कोदो रोप्नेब काम हुन्छ । मकै छिट्टै पाकेका भेकमा गोरुले जोतेरै कोदो रोपिन्छ । सानै बारी भए पनि बाह्रै किसिमको बाली लगाइन्छ । फापर,तोरी, भटमास, घिउ बोडी, फिलुङ्गे, मस्याम, पहेँलो दाल, कालो दाल, राजमा, आदि सबैका बारीमा पाक्दछ । बाँसको तामा साउन महिनामा उसिनेर, अमिल्याएर खाँदा कम मीठो हुँदैन। श्रावण महिनासँगै फलफूलको मास सुरु हुन्छ । नस्पाती, मकै, काँक्रो जताततै पाइन्छ । नस्पाती र काँक्रो नुन खोर्सानीमा चोबेर खाँदाको मजा अर्कै हुन्छ । हरियो मकै जाँतोमा पिँधेर फ्याप्लो खानको मजा बिर्सी नसक्नु हुन्छ । साउन महिनामा पर्ने पूर्णिमालाई जनै पूर्णिमा अथवा ऋषि तर्पणी भनिन्छ । कर्म चलेका पुरुषहरू जति नजिकैको खोलामा नुहाउन जान्छन् । पितृका नाममा तर्पण दिन्छन् । बुढापाका भन्छन् – “नाग पञ्चमी देखि हिउँद लाग्दछ ।” नाग पञ्चमीमा ब्राह्मणहरू नागको चित्र बनाएर गोबर र दुबो राखेर गाउँभरि नाग टाँस्छन् । गाई गोठ लेकतिर अथवा जङ्गलतिर लगिन्छ । प्रायः भदौ महिनामा धान गोड्ने देखि लिएर तीजको रमझम बिर्सी नसक्नु हुन्छ । तीजमा चेलीबेटीको मन माइती गाउँभरि परिक्रमा गर्दछ । प्रायः सबै चेलीबेटी माइत जान्छन् । तीजमा खूब नाच्छन्, खूब गाउँछन् । तीज र पञ्चमीको पूजा लगाउँछन् र मनभरि माइतीमा रहँदा मोज मस्तीको स्मृति लिएर घर फर्किन्छन् ।
असोज महिनासँगै चाडबाड सुरु हुन्छ । यो महिना चाडबाडको महिना हो । रमाइलो गर्ने महिना हो । चाडबाडसँगै घरायसी जिम्मेवारी पनि बढ्दछ । कुसे औँसी पछिको पूर्णिमाबाट सोह्र श्राद्ध सुरु हुन्छ । हिन्दु धर्मावलम्बी चाडबाड मनाउनु अघि पितृ सेवा गर्नु पर्दछ भन्ने मान्दछन् । पितृ खुसी भएर दिएको आशीर्वाद अवश्य लाग्दछ । घर परिवार धन धान्य हुन्छ । यो बूढाबूढीको विश्वास हो । सोह्र श्राद्धसँगै दसैँको लागि नयाँ लुगा किन्ने र सिलाउने काम हुन्छ । १६ दिनको श्राद्ध पछि आउने औँसीबाट नवरात्र सुरु हुन्छ । यो औँसीलाई जमरे औँसी पनि भनिन्छ । गाउँमा नौरथा भन्दछन् । मकै, जौ, आदिको जमरा राखिन्छ यो औँसीको दिनमा । जमरालाई कुनामा घामले नभेट्ने ठाउँमा राखिन्छ । प्रायः नौरथामा सबै घरमा दुर्गा सप्तसतीको आराधना गरिन्छ । घर घरमा दसैँ लाग्दछ । गाउँमा धान कुट्ने मिल नभएका ठाउँमा ढिकीले काम चलाइन्छ । चिउरा पनि पालो पर्म गरेर ढिकीमै कुटिन्छ । रातो माटो र कमेरो दलेर घर चिटिक्कै सिँगार्न सबैलाई पर्दछ । कसको भन्दा कसको घर राम्रो बनाउने भन्ने होडबाजी नै चल्दछ । रातो माटो खन्दा ढिस्को खसेर मान्छे पुरिएर मर्ने सम्भावना धेरै हुन्छ । वर्षेनी कतै न कतै कोही न कोही त यसरी मरेकै हुन्छन् । दसैँको लागि मर्मसाला र अन्य खाद्यान्न सामाग्री किन्न बजार खचाखच भरिन्छ । सप्तमीबाटै कूल पूजा गरी घर घरमा कुखुरा, परेवा, राँगो, खसी, सुँगुर, हाँस, आदि मार्ने काम हुन्छ । परदेश गएका छोरा, छोरी, भाइ, बहिनी, बुहारी, नाति, नातिनीहरू पनि नवमीका दिनसम्ममा घर आइसक्दछन् । घरमा एकाएक रमाइलो छाउँछ । वर्ष भरि छर्किएर रहेका परिवारलाई यो चाडले एकै ठाउँमा जुटाइदिन्छ । सबै घरमा खुसीयाली छाउँछ । दसैँ अधर्म विरुद्ध धर्मको जीत, असत्यका विरुद्ध सत्यको जीत भएको चाडका रूपमा मनाइन्छ । दशमी अथवा दसैँका दिन बिहानै उठेर आमा–बुहारीहरूले गोबरले घर लिप्छन् । सबै परिवारले नुहाई धुवाई गर्दछन् । टिकाको साइतमा सबैभन्दा वृद्धबाट उमेर अनुसार सानाले टिका र आशीर्वाद थाप्दछन् । ठूला बडाले रातो टिका अथवा रातो नभए दही अक्षता निधार भरि राखेर जमरा शिरमा राखी आशीर्वाद दिन्छन् । ठूला बढालाई दाम राखेर सानाले ढोग्दछन् । मान्यजनलाई टिका लगाएर दक्षिणा दिइन्छ । भूटानमा दसैँको महत्त्व भनेको नयाँ लुगा लगाउने, मासु भात खाने, दही चिउरा केरा खाने र आफन्तसँग भेटघाट गर्ने हो । आलोपालो गरेर सबै जनाले सबै मान्यजनबाट टिका थापेर आशिर्वात थाप्छन् । यो क्रम दशमी देखि पूर्णिमासम्म चल्ने गर्दछ । यो पूर्णिमालाई कोजाग्रत पूर्णिमा भनिन्छ ।
रीति र रिवाज संस्कृति हाम्रो, पहिचान राम्रो छ
विभिन्न जाति, विभिन्न रीत, समाजमा हाम्रो छ
गर्वले भन्छौँ, गर्वले मान्छौँ लैजान्छौँ साथैमा
भूटानका हामी नेपाली भाषी, भूषा छ गाथैमा
सकेनौँ छोड्न, सकेनौँ फेर्न, संस्कृति प्यारो भो
नौ डाँडा काटी दूरमा आयौँ समाज न्याउरो भो
लाउँदछौ हामी, गाउँदछौँ हामी गीत हाम्रो पहिचानको
नछोडौँ रीत बढाऊँ प्रीत, भूटानी समाजको ।
कोजाग्रत पूर्णिमाको कुरा गर्दा गाउँ, काल र परिस्थिति अनुसार रातमा जाग्रत अथवा जागै बसेर बिताउने चलन छ । कतै कतै रातभर नाच–गान गरिन्छ । सङ्गिनी र बालन खेलिन्छ । कतै कतै त मारुनी नाचेरै रात बिताइन्छ । मारुनी नचाउन निकै खर्चिलो हुन्छ । मारुनी गाउने, नाच्ने र हास्य पात्र पर्सनेलाई पनि विशेष दामको व्यवस्था हुनु पर्दछ । गाउँमा ठुला बडाले मात्र मारुनी नचाउने आँट गर्दै आएका छन् ।
दसैँ सकिने बित्तिकै कामको चपेटाले गाँजी हाल्छ । धान पाक्न थालेको हुन्छ । बारी भरीका बिउ–बिजन पाकेर खङ्रङ्गै भएको हुन्छ । अलैँची बारीमा डाल काट्न बितेको हुन्छ । पाकेका बालीमा बाँदर पल्केर खपिसक्नु हुँदैन । एक जना त आलो पालो गरेर बाँदरको गोठालै बस्नु पर्दछ । खलेगरो बनाउनै पर्ने हुन्छ । गाउँभरिका पुरुषहरू अलैँची बगानमा काम गर्न महिना दिनका लागि जङ्गल पस्दछन् । भए भरको घरको बिउ बिजन उठाउने सम्पूर्ण जिम्मेवारी महिलाको काँधमा पर्दछ । यस्तो चटारोका बिच पनि समय निकालेर तिहारको सौदा गर्न नजिकैको हाट पनि पुग्नै पर्ने हुन्छ । घरको वरिपरि र बारीका डिलभरि सयपत्री, मखमली, आदि फूल फुलेर वातावरण मनोरम बनेको हुन्छ । बारी भरीका अम्बक पाकेर पहेँलै भएको हुन्छ । सुन्तलाका दानामा गुलियो पस्न थालेको छ ।
अलैँची बारीको कुरा गर्दा, भूटान अलैँची उत्पादन गर्ने एक प्रमुख मुलुकका रूपमा आउँदछ । हालमा आएर विशेष रोगले अधिकांश अलैँची बगान मास्सिए पनि यो हाम्रो प्रस्तुति भने त्यहाँ हुने गर्ने दैनिक जीवनयापनको क्रियाकलापको बारेमा गर्दैछौं । घना जंगलबीच फल्ने फलाउने गरिन्छ । एक प्रकारले हेर्ने हो भने यो अति सहज नगदे खेती हो । रोप्नलाई जरासँगको एक अलैँचीको डाँठ माटामा राखिदिए पुग्ने । वैशाख–जेठतिर फूल गोडेपछि एकै चोटि दसैँ पछाडि अलैँची टिप्नु अघि बोटको वरिपरिको जङ्गल फडानी गरिन्छ । यसलाई डाल काट्नु भनिन्छ । डाल काट्दा सिस्नुका ठुला ठू्ला झ्याङ फाँड्नु पर्ने हुन्छ । यसरी सिस्नुका झ्याङ फाँड्दा, सिस्नुको काँडाले पोलेर पहिला त खपी सक्नु हुँदैन । पोल्दा पोल्दै सायद छाला मरेर होला, पछिबाट त पोल्न पनि छाड्दछ । सिस्नुका पनि किसिम धेरै हुन्छन् । अल्लो सिस्नु, घरिया सिस्नु, फुस्रे सिस्नु, लट्टे सिस्नु, आदि । लट्टे सिस्नु धेरै विषालु हुने गर्दछ । यसको फूलले बढी पोल्दछ । अल्लो सिस्नुको गुण धेरै छ । छिप्पेका अल्लो सिस्नुका लामा लामा डाँठलाई डेरामा ल्याएर, त्यसलाई आगोमा तताएर बाहिरको बोक्रा झिक्दा, पाट निस्कन्छ । यसलाई भेडा बाख्रा आदि बाँध्ने दाम्लो बनाउन प्रयोग गरिन्छ । त्यसो त डाल काढ्दा कलिलो गग्लातामा खुर्पा मच्चाएर हान्दा यदि मजासँग गग्लातो फाँडिन्छ, तपाईँ जो कोहीले यो दृश्य हेर्ने हो भने स्वयं कोशिश नगरी बस्नै सक्नुहुन्न । कलिलो गग्लातो फाँड्न क्रममा कहिलेकाहीँ त हरियो र सयलमा बसेको अन्धे साप पनि यसरी छिन्छ, टाउको बिनाको सापको शरीर उफ्रेको मजाक हेर्न सबै खेतालाहरू झुम्मिन्छन् । बगान अनुसार यो काम सात दिनदेखि दश दिन जति लाग्न सक्तछ । जङ्गलको बसाइ, मकैको भातमा इस्कुस, मुला र आलु मिसिएको तरकारी असाध्यै अडिलो र मीठो हुन्छ । कतै कतै त बगानमै गोलभेँडा पाकेर लटरम्मै हुन्छ । यसको चटनीले भात अरू रुचाउँछ । त्यसो त गाइगोठ नजिकै छन् भने गोठालालाई अलैँची दिए पछि, दही मोही गाग्रा भरी हालिदिन्छन् । अलैँची बारीमा काम गर्ने खेतालाहरू गीत गाएर खूब रमाइलो गर्दछन् ।
थाहै नपाई तिहार आउँछ । तिहारको रमाइलो जम्मा तीन दिनमा लिए पनि तिहार पाँच दिनको हुन्छ । यसलाई यमपञ्चक पनि भनिन्छ । कागलाई यमराजको दूतका रूपमा सम्मान गरेर सुरु भएको तिहार, अर्को दिन कुकुरलाई अनि पछि गाई (लक्ष्मी), गोरु र भाइ पूजा गरे पछि सकिन्छ । औँसीको दिनमा गाईलाई हिन्दुहरूले लक्ष्मीको प्रतीकका रूपमा पूजन गर्दछन् । जङ्गलमा अलैँची बगानमा काम गर्न गएकाहरू पनि यस दिन जसरी भए पनि घर आइपुग्दछन् । साँझ पख धन धान्यकी देवी लक्ष्मीलाई भएभरको गर गहना, सुन चाँदी, रुपैयाँ पैसा, मूल्यवान् सम्पत्ति आदि राखेर पुजिन्छ । घर वरिपरि केराको दाम्लामा बाती बालेर झिलिमिली पारिन्छ । हुने खानेमा कसैले दियो अथवा पालामा तेल हालेरै घर झिलिमिली पार्दछन् भने कसैले मैन बत्तीको प्रयोग गर्दछन् । गाउँभरि सबैका घर केही क्षणका लागि मात्र भए पनि उज्यालो हुने भएकाले यस चाडलाई प्रकाशको चाड पनि भन्ने गरिन्छ ।
लक्ष्मी पुजिसके पछि सुरु हुन्छ देउसी भैलो । देउसी भैलो पनि ठाउँ अनुसार फरक किसिमले खेलिन्छ । कतै औँसीका दिन भैली मात्र खेलिन्छ भने कतै पुरुषले देउसी र महिलाले भैलो खेल्ने गर्दछन् । देउसी भैलोको कुरा गर्दा यो त्रेता युगमा भगवान् श्रीराम चन्द्रको पालाको कथासँग जोडिन्छ । अयोध्याका राजा भगवान् रामचन्द्र चौध वर्षको वनबास जाँदा, रावणले सितालाई हरेर लैजानु, भगवान् रामचन्द्रले सुग्रीवसँग मित लगाएर लंकासम्म पुगी, रावणलाई मारेको कथा देउसी भैलोमा गाइन्छ । वास्तवमा रामको विजय उत्सवको शुभ समाचार देउसी र भैलोको नाममा घरघरमा पु¥याइएको भन्ने पौराणिक कथन छ । केटा केटी, तरुन् तन्नेरीहरू देउसी भैलो खेलेर पैसा कमाउन खूब लालायित हुन्छन् ।
औँसीको भोलिपल्टलाई हल तिहार भनिन्छ । चेली बेटीहरू अधिकांश दाजुभाइलाई टीका लगाइदिन यस दिनमा नै माइत आउने चलन छ । हल तिहारका दिन धेरै कुरा गर्नु पर्ने हुन्छ । पीठो कुटेर सेल रोटी पकाउनु पर्ने हुन्छ । भोलिका लागि माला गाँस्नु पर्ने, अचार बनाउनु पर्ने, कतै कतै खसी, कुखुरा, राँगो, सुँगुर आदि काट्ने काम हुन्छ । घरभरि चेली माइती भएर तिहारको सेल रोटी चाख्दै सुख दुःख आदान प्रदान गर्दछन् ।
भाइटिकाको दिन देउसी भैलो खेल्न निस्किएका चेली माइती सबै घर फर्कन्छन् । आमा, बुहारीहरूले घर लिप पोत गर्दछन् । नुहाइ धुवाइ गरेपछि चेलीले माइतीलाई लहरै उमेरअनुसार ठुला देखि सानालाई राखिन्छ । चेलीले माइतीलाई तेलले छेक्दछन् । ओखर पुज्दछन् । माइती पुज्दछन् । सप्तरङ्गी टिका चिटिक्क पारेर निधारमा लगाइदिएर आशीर्वाद दिने गर्दछन् । चेलीले माइतीलाई उपहार दिन्छन् । कतै कतै माइतीले चेलीलाई पनि उपहार र दक्षिणा दिन्छन् । कतै कतै भाइ टीकाको दिनमा चेलीले माइतीबाट उपहारबाहेक केही पनि लिँदैनन् ।
भाइटिकाको भोलिपल्ट हिजो सम्मको छोटो रमाइलो सबै बिर्सेर आ–आफ्नो काममा लाग्दछन् । माइत आएका चेलीहरू आफ्नो घर फर्किन्छन् । गाउँ भरिका पुरुषहरू पुनः अलैँची बगानका लागि जङ्गल पस्दछन् । गाउँमा र घरमा बसेका महिलाहरू धान काट्न सुरु गर्छन् । धान काट्न पनि निकै झन्झटिलो छ । धान काटेर पाँजा मिलाएर सुक्न छाड्नु पर्दछ । तीन चार दिनमा मात्र सुक्दछ । अनि पछि बिटा लगाउनु पर्दछ । धानका बिटा नकुटीकन कुन्यु लगाइन्छ । थान्को मुन्को गर्न महिलालाई मात्र गाहृो हुने र कामको पनि चटारो भएकाले कुन्यु लगाएर छाड्ने चलन छ । जङ्गल लगिएको गोठ घर ल्याइन्छ । हेर्दा हेर्दै खेदभरिका पयँलपुर धान खलाभरिको कुन्युमा परिणत हुन्छ । बारी भरिका बोडी, दाल, केराउ, फिलुङ्गे, फापर, आदि उठाइँ उठाइँदै बारी रित्तो पारिन्छ । उता जङ्गलमा अलैँची बगानमा अलैँची टिप्ने काम सुरु हुन्छ । दिन भरि टिपेको अलैँची जति रात गए पनि छोडाइ सके पछि मात्र सुत्ने चलन सबैको हुन्छ । आगाको धुनीको वरिपरि बसेर गीत गाउँदै, कथा सुनाउँदै, जिस्कँदै अलैँची छोडाउने काम हुन्छ । घान पुगे पछि भट्टीमा अलैँची राखेर आगाको धुनीमा अलैँची सुकाइन्छ । यसरी एक पुरा घान काँचो अलैँची सुक्न ५ देखि ७ दिन सम्म लाग्न सक्तछ । अलैँची सुकेपछि आगो निभाएर माड्ने काम हुन्छ । सबै भन्दा कठिनको काम भनेकै यही हुन्छ । यसरी सुकेको अलैँची माड्दा उडेको धूलो नाकबाट भित्र छिरेर छाती नै खराब हुने गर्दछ । जब अलैँची माडिन्छ तब घर ल्याउनका लागि बोरामा हाली घर पठाउने काम सुरु हुन्छ । यसरी सुकेको अलैँची घर ल्याउँदा खेतालाले छुट्टै ज्याला पाउने हुँदा घर फर्किने सबै जसो खेताला अलैँची बोकेर घर जाने इच्छा व्यक्त गर्दछन् । जङ्गल पसेको लगभग महिना दिन पछि बिस्तारै पुरुषहरू अलैँची लिएर घर फर्किने क्रम सुरु हुन्छ । गाउँ भरिको खेतबारीमा भएको अन्नपात पनि उठाएर सकिनै लागेको हुन्छ ।
मङ्सिर लागेपछि सम्पूर्ण वातावरण सफा हुन्छ । झार पात सुकेर खङरङ्गै भइसकेको हुन्छ । केटा केटी खेतका गरामा निस्केर कोही गोल खेल्छन्, कोही गुर्गुट्टी खेल्छन्, कोही लुकीछिपी खेल्छन् । गाउँमा सहरको जस्तो हावा भर्ने गोल हुँदैन । गाउँमा त झत्ताको अथवा भोगटे अथवा निवुवानै काफी हुन्छ । कसैकसैले त डन्डीवियो पनि खेल्दछन् । युवा तन्नेरीहरू वनभोज जस्ता मनोरञ्जन दिने कार्यक्रमहरू बनाउँछन् । कसैकसैले त गाउँमा मेलाको पनि आयोजना गर्दछन् । स्कुले केटाकेटीहरूको वर्ष दिनको जाँचको परिणाम निस्केपछि हिउँदे बिदा लगभग दुई महिना जति हुन्छ । भूटानमा अधिराज्यभरिका स्कुलहरूमा एकै दिन हिउँदे बिदा हुन्छ र स्कुलहरू एकै दिन खुल्छन् । प्रदेश लागेका ठुला कक्षाका विद्यार्थीहरू घर फर्किन थाल्दछन् ।
जङ्गल पसेको लग भग महिना दिन पछि बिस्तारै पुरुषहरू अलैँची लिएर घर फर्किने क्रम सुरु हुन्छ । गाउँ भरिको खेतबारीमा भएको अन्नपात पनि उठाएर सकिनै लागेको हुन्छ ।
मङ्गसीर लागे पछि सम्पूर्ण वातावरण सफा हुन्छ । झार पात सुकेर खङ्रङ्गै भइसकेको हुन्छ । केटा केटी खेतका गरामा निस्केर कोही गोल खेल्छन्, कोही गुर्गुट्टी खेल्छन्, कोही लुकीछिपी खेल्छन् । गाउँमा सहरको जस्तो हावा भर्ने गोल हुँदैन । गाउँमा त झत्ताको अथवा भोगटे अथवा निवुवा नै काफी हुन्छ । कसैकसैले त डन्डीवियो पनि खेल्दछन् । युवा तन्नेरीहरू वनभोज जस्ता मनोरञ्जन दिने कार्यक्रमहरू बनाउँछन् । कसैकसैले त गाउँमा मेलाको पनि आयोजना गर्दछन् । स्कुले केटाकेटीहरूको वर्ष दिनको जाँचको परिणाम निस्के पछि हिउँदे बिदा लग भग दुई महिना जतिका लागि हुन्छ । भूटानमा अधिराज्यभरिका स्कुलहरूमा एकै दिन हिउँदे बिदा हुन्छ र एकै दिन खुल्छ । परदेश लागेका ठुला कक्षाका विद्यार्थीहरू घर फर्किन थाल्दछन् ।
मङ्गसीर महिनाको कुरा गर्दा बाँझो खेत जोतेर पट्टा लगाएर कतै आलु रोप्ने त कतै गहुँ छर्ने माटो बनाएर रोपिन्छ, छरिन्छ । मङ्गसीर महिनामै गोठको पूजा गरिन्छ । यसलाई गोठधूप पनि भनिन्छ । मङ्गसीर महिना भरिनै गाउँ घरमा बिहे बटुलो हुने गर्दछ । पहिले पहिले मागी बिहे राती हुने गर्दथ्यो । पछि समय खराब हुँदै गए पछि दिउँसो नै बढी हुन थाल्यो । त्यसो त नयाँ पुस्तामा समय आएपछि र युवा तन्नेरीहरूमा पढेलेखेकाहरू समय देखिनै माया प्रीति बसाएर चोरी बिहे गर्नेहरू पनि बढ्दै गएको छ । मागी बिहे परम्परागत बिहे हो । मागी बिहेमा कुरा चलाउने, टिप हेर्ने, कुरा छिन्ने, पत्र लाउने आदि चरण हुन्छन् । त्यसो त जातीयताका आधारमा बिहे पनि फरक फरक हुने गर्दछ । सबै जातिको बिहे गर्ने तरिकाका बारेमा आउने कार्यक्रममा प्रस्तुत गर्ने नै छु । यहाँ भने हिन्दु धर्म अनुसारको विवाहलाई उठाउँदै छु । मागी बिहे धेरै जटिल र लामो तयारीमा हुनु पर्दछ । भतेरमा पकाउन प्रयोग हुने दाउरादेखि लिएर पकाउने चामल, भतेरमा प्रयोग गरिने दुना टपरीका लागि पात टिप्न जानु पर्ने, दुना टपरी गाँस्नु पर्ने, बेहुला बेहुलीलाई लगाउने लुगा कपडा, गर गहना, आदि इत्यादिको कुरा आउँछ । गाउँमा धान मिल नभएका ठाउँमा धान कुटेरै चामल तयार पार्नु पर्दछ । चिने जानेदेखि लिएर सम्पूर्ण गाउँलेलाई निम्ता गर्नु पर्दछ । कसैलाई चुले निम्तो, कसैलाई जन्ते निम्तो, कसैलाई डोलेनिम्तो आदि किसिमका निम्ता बाँड्नु पर्दछ । निम्तोमा अत्याधुनिक कार्ड छपाई हुँदैन । भए र मान्यजनलाई डोलो सुपारी, नभए कप्टेरा सुपारी र अलैँचीले नै निम्ता मान्ने चलन छ । बिहेमा छोरीको भए, अघिल्लै दिन आविदय श्राद्ध र मातृका पूजा गरिन्छ । बिहे हुने चेली पनि बुबा आमासँगै लगन पोते र कन्यादान नगरुन्जेल उपवास बस्नु पर्दछ । छोराको भए अघिल्लै दिन ग्रहशान्ति गर्ने गरिन्छ । बिहेको दिन चेलीबेटीले बेहुलो सिँगारेर अन्माउँछन् । उता बेहुली घर बेहुलो पुग्नु अघि भत्खउरो पठाउने चलन हुन्छ । भत्खउरो बेहुलाको आगमनको सूचना हो । भत्खउरोको कुरा गर्दा यो बढा रमाइलो विधि पनि छ । जब भत्खउरो बेहुली घर पुग्दछन् नाना भाँतीका मालाहरू लगाइदिने चलन छ । कसैलाई पातको, कसैलाई जुत्ताको, कसैलाई फलफूल र सागपातको लगाइन्छ । जे गर्दा ठट्यौली र मजाकिलो क्षण हुन्छ, त्यसै गरिन्छ । जन्ती आए पछि पहिले सेउली जोड्ने काम हुन्छ । सेउली जोड्दा जन्ती र घरगाउँले पक्षका प्रतिनिधि सेउली लिएर भेट हुन्छन् र कवित भन्छन् । कवित पनि कविताकै प्रारूप हो । यसमा कवितात्मक लयमा घर गाउँलेले जटिल प्रश्नहरू सोध्दछन् र जन्ती पक्षले त्यसको उत्तर दिन्छन् ।
प्रश्न:
कहाँ उब्जे इन बिरुवा, कस्ता इन्का पात
के का लागि बोकी ल्यायौ, के हो यसको जात?
उत्तर:
मधुवन उब्जे इन बिरुवा, लामा चिल्ला पात
विवाहका लागि बोकी ल्यायौँ, पर्यौ हो इनको जात ।
प्रश्न:
कति पढ्यौ चण्डी, गीता, कति पढ्यौ तोत्र?
जात यसको पायौँ बतायौ, के हो इनको गोत्र ?
उत्तर:
धेरै पढ्यौँ चण्डी गीता, थोरै पढ्यौँ तोत्र
जात यसको पायौँ बतायौँ, काश्यप इनको गोत्र ।
प्रश्न :
कहाँबाट आयौ जनती मनती, कहाँ सम्मको दाउ?
धर्ती तुमरे भान्जे बुहारी, कहाँ टेकी आयौ पाऊ ?
उत्तर:
टाढा देखि आयौँ हामी जनती मनती, यहीँसम्मको दाऊ
धरती हामरे भान्जे बुहारी, पत्थरमा टेकी आयौँ पाऊ ।
जब सम्पूर्ण उत्तर घरगाउँलेले पाउँछन् तब जन्ती पर्छिने काम हुन्छ । अनि मात्र भतेर खुवाउने काम हुन्छ । भतेरमा बेहुलालाई सम्पूर्ण पकाएको भतेरको सामानको जोडी भाग दिइन्छ । बेहुलाले खाए पछि मात्र अरूले खाने गर्दछन् । भतेरमा फुरौला र खाजामा कसार चिउरा बिहेको विशेषताका रूपमा बाँडिन्छ । सम्पूर्ण निम्तारुले खाए पछि बेहुलालाई सके बेहुलीका बाबुले नसके दाजुभाइ अथवा बेहुलीका मावलीले बोकेर जग्गेमा लगिन्छ । त्यस पछि पुरोहितले मंगलाचरण वाचन गर्दछन् ।
मंगलम् भगवान् विष्णु, मङ्गल गरुडद्धवजम् ।
मंगलम् पुण्डरिकाक्ष, मंगलाय तनोहरी ।।
त्यस पछि वरणी गरिन्छ । वरणीलाई विवाह कर्मको सुरुवात मानिन्छ । बिहे अवधि भर श्लोक भनेर बिहेको समय रमाइलो गर्ने चलन गाउँमा छ। श्लोक भन्दा प्रायः रामायणको श्लोक भनिन्छ, त्यसो त सयपत्रीको थुँगोबाट पनि धेरै श्लोकहरू समसामयिक छन् । श्लोक भन्दा भूटानीहरुको गायन शैली र अन्य भेगका नेपालीहरूको गायन शैली फरक छ । त्यही शार्दूलविक्रिडित छन्दलाई भुटानीहरू प्राचीन शैलीमा गाउँदछन् र अन्य नेपालीहरू आधुनिक शैलीमा गाउँदछन् ।
यसरी एकातिर घरगाउँले र जन्तीपक्ष बिच श्लोकको दोहोरी चल्दछ भने अर्कातिर गीत गाएर नाच गानको रम रौश सुरु हुन्छ ।
बिहेको कर्म पनि भूटानमा लामो हुने गर्दछ । सम्पूर्ण कर्म पूरा गर्नै पर्दछ । स्वायम्बर, गोडा धुने, साखोचरण, कन्यादान दिनु, लगन गर्नु, सिँदुर लगाउनु, जुठो खुवाउनु, दहीले चल्नु, जुवा खेल्नु, शिला पुज्नु, खाँडो जगाउनु, बेहुलीलाई गरगहना र लुगाफाटा दिनु, ससुराली चिन्नु, अन्माउने टिको लगाउनु, अन्माउनु आदि आदि । दहीले चल्दा र जुवा खेल्दा बेहुलाले जिते पहिलो सन्तान छोरा हुने र बेहुलीले जिते छोरी भन्ने बुढापाकाको विश्वास रहन्छ । यसको सत्यता भने परेकालाई नै थाहा हुन सक्तछ । खाँडोको कुरा गर्दा बिहेमा यसको ठुलो महत्त्व रहेको पाइन्छ । खाँडो जगाउनेले हातमा खुकुरी बोकेर भन्छन् –
है श्री श्री श्री श्री अर्थ नेपाल गोरखाको खाँडो जगाउने वंशावली राजाको नाम जवान दिन महिना श्री शाह दरवे शाह वंशी …. भन्दै राजाहरूको कहानी गरिन्छ । यसो भन्दै अन्त्यमा खाँडो जगाइसके पछि खुकुरीलाई दापमा राखिन्छ ।
लगन जुराउने काम पनि रमाइलो हुन्छ । यस समयमा जन्ती पाटाका प्रतिनिधिले तीन पटक पत्रको कहानी पढेर लगन तयार भएको यसरी सोध्दछन् —
जन्ती पाटाकाले: घडीवाला तयार ?
घरपाटाका: तयार ।
जन्ती पाटाकाले: भारवाला तयार ?
घरपाटाका: तयार ।
जन्ती पाटाकाले: दौयानी मंल्यानी तयार ?
घरपाटाका: तयार ।
जन्ती पाटाकाले: बाजा बजाउने तयार ?
घरपाटाका: तयार ।
जन्ती पाटाकाले: शङ्ख घण्ट बजाउने तयार ?
घरपाटाका: तयार ।
जन्ती पाटाकाले: बेहुला बेहुली तयार ?
घरपाटाका: तयार ।
यसरी सोध्ने क्रम तीन पटक दोहो¥याइन्छ । अन्तिमको सोधाइमा जन्तीपाटाकाले सोध्दछन्
शुभ लगन ल्याऊँ ?
घर गाउँले ल्याऊँ भने पछि लगन भयो लगन भयो लगन भयो भन्दा बेहुलाले बेहुलीलाई पोते लगाउने, बाजा बजाउने र शङ्ख घण्ट बजाउने काम एकै साथ हुन्छ । त्यही समय पछि श्लोक भन्न पनि सुरु हुन्छ ।
बेहुलाले बेहुली घर लैजाँदा बाटाको खोला किनारमा माहुर सेलाउने काम हुन्छ । यसरी माहुर सेलाउँदा बेहुलीले बेहुलालाई खूब ढाँटेर पैसा झार्ने काम गर्दछन् । यता बेहुला घरमा बेहुलालाई अन्माए पछि रत्यौली सुरु हुन्छ । भए भरका गाउँका महिलाहरू भेला हुन्छन् र अश्लील गीत गाएर, अश्लील शब्दहरू बोलेर र अश्लील सङ्गिनी गाएर समय बिताउँछन् । जन्ती फर्किएर आइपुगे पछि सबै भन्दा पहिले बेहुली भित्र्याउने काम हुन्छ । त्यसो त सासू बुहारीको चुल्ठो जोड्ने, पाथी भर्ने आदि काम पनि हुन्छ । बेहुलाको घरमा पनि जन्ते भतेर हुन्छ । प्रायः बेहुलाको घरमा खसी काटेर भतेर खुवाउँछन् । बेहुलाको भतेरमा बेहुलीलाई जोडी भाग दिइने गरिन्छ । बिहेमा प्रायः नौमती बाजा बजाइन्छ । त्यसो त आज भोलि आधुनिक बाजाहरू पनि बजाइन्छ । नौमती बाजा विशेष गरी दमाई जातिले बजाउने चलन छ । नौमती बाजा भनेर सहनाइ, नरसिङ्गा, झ्याम्टा, ढोलक, दमाहा र ट्याम्को बजाइन्छ । भतेर सकिए पछि बाजा बजाउने दमाई प्रमुखबाट बेहुला बेहुलीले आाशिर्वाद लिने चलन छ । त्यस पछि मात्र दमाईलाई उचित दाम दिएर बिदा गरिन्छ । बेहुली भित्र्याएको भोलिपल्ट बहुभतेर लाग्दछ । यसमा बेहुलाका सन्तान, चेलीबेटी, कूल कुटुम्ब, गुरु–पुरोहित र मावलीहरु मात्र समावेश हुन्छन् । बिहे भएको तीन दिन पछि बेहुली फर्काउने चलन छ । यसलाई दूरान फर्काएको पनि भनिन्छ । दूरान पछि बेहुली केही समयका लागि कोही माइतै बस्दछन् त कोही श्रीमानसंगै तुरुन्तै फर्कन्छन् । यसरी मङ्गसीर महिनामा गाउँमा प्रशस्तै रमाइलो हुने गर्दछ ।
मङ्गसीरको अन्त्य सँगै कोही कोही परदेश हिँड्दछन् । पौष महिनासँगै कोदो टिप्ने काम हुन्छ । कोदो पनि ढुकुटी बनाएर राखिन्छ । प्रायः मङ्गसीरको अन्त्यमा र पौषको पहिलो हप्तातिर गोठ जङ्गलतिर लगिन्छ । पौष महिनासँगै सुन्तला पाकेर पहेँलै भएको हुन्छ । ठेकेदारहरू ठाउँ ठाउँमा गोदाम राखेर सुन्तला टिप्न थाल्दछन् । सुन्तला पनि गाउँ घरको, अर्को फस्टाएको र अति सहज नगदे खेती हो । कालो माटोको भन्दा रातो माटोको सुन्तला अति मिठो हुन्छ । सेपिलाको भन्दा पारिलो ठाउँको सुन्तला धेरै मिठो हुन्छ । गाउँ घरका केटाकेटी तरुन् तन्नेरीहरू सुन्तला बोकेर आफ्नो खर्च आफैँ जुटाउने गर्दछन् । सुन्तलाको काम हुन्जेल गाउँ नै रमाइलो हुन्छ । बिहान ३–४ बजे देखिनै सुन्तला बोक्नेले गीत गाउँदै हिँड्छन् । सुन्तला बोकाइमा फूल र कीलको दर फरक फरक हुन्छ । फूल भनेको ठुलो र फस्टाएको दानो हो यसको बोकाइको मूल्य पनि धेरै हुन्छ । बजारमा भाउ पनि राम्रै हुन्छ । खानलाई पनि यो मीठो हुन्छ । कील भनेको मझौले दानो हो । यसको बोकाइको मूल्य अलि कम हुन्छ । बजारमा भाउ पनि कम हुन्छ । खानलाई कुनै कुनै अमिलो पनि हुन सक्तछ । सबै भन्दा सानो दानोलाई सील भनिन्छ । यो ठेकेदारले टिपाउँदैनन् । यसको बजार मूल्य पनि हुँदैन । खानलाई अधिकांश सील सुन्तला अमिला हुन्छन् । सुन्तला टिप्दा लामो भयाङको आवश्यक पर्दछ । खकन लगाएको सानो आकारको डोकामा टिपेका सुन्तला हालिन्छ र भरिए पछि भुईँमा ओर्लेर आ–आफ्ना रासमा थुपारिन्छ । टिपाइको टिपारुले छुट्टै भाउ पाउँछन् । भाउ सयकडाको हिसाबमा तोकिन्छ । सुन्तला थुपार्दा माटो नलागोस् भन्नका लागि पराल ओछ्याएर थुपारिन्छ । सुन्तला टिप्दा अङ्कुश पनि चाहिन्छ । लामो हाँगाको सुन्तला हातले भेट्न सकिन्न । अकुशले सजिलोसँग टिप्न सकिन्छ । सुन्तला टिप्न पनि सीप चाहिन्छ । टिप्दा प्वाल पार्नु हुँदैन । प्वाल परेको सुन्तला चाँडै बिग्रन्छ । यस्ताको बजार भाउ पनि हुँदैन । बिरुवा बोटको भन्दा बुढा बोटको सुन्तला टिप्न सहज हुन्छ । बिरुवा बोटमा बढी काँढा हुन्छ । हात घोचेर र कोरेर घाउवै घाउ हुने गर्दछ । बुढा बोटमा काँढा कम हुन्छ । टिपाइमा फूल किलको फरक मूल्य हुँदैन । सुन्तला टिपे पछि ठेकेदारले राखेको बहिदारले गन्ती गरेर चिट्ठा बनाएर सही गरिदिन्छ, त्यही अनुसार गोदामको बहिदारले पनि कहिले गन्ती गरेर त कहिले विश्वासको भरमा सुन्तला लिन्छ । सुन्तला बोक्नेलाई पैसा दिँदा बगानको बहिदार र गोदामको बहिदारको खाता दाँजेर पैसा दिइन्छ । सुन्तला बोक्नलाई डोकाको प्रयोग गरिन्छ । यो डोको अरू डोकाहरू भन्दा फरक हुन्छ । खकन र नाम्लो दुवै लगाइएको हुन्छ । यसलाई ढाकर पनि भनिन्छ । भारी गह्रौँ भएर बिसाउनलाई लौरो प्रयोग हुन्छ । यस लौरालाई तक्मा भनिन्छ । तक्मा भए बाटामा ढाकर अढ्यार बिसाउन अति सजिलो हुन्छ ।
सुन्तला नबोक्ने बूढाबूढीहरू खर काट्ने गर्दछन् । प्रायः गाउँका घर, खोल्मा, गाइगोठ खरले नै छाप्ने गरिन्छ । हुने खानेले मात्र टिनको छाना लगाउने गर्दछन् । पौष महिनामा बिहे बटुलो हुँदैन । मङ्गसीरमा लगाएको कुन्यु खोलेर धान झाँट्ने र दाइँ गर्ने गरिन्छ । दाइँ गरेर मुठे पराललाई खोल्मामा लगेर राखिन्छ । धुस्ने पराल जति सुली बनाएर राखिन्छ । माघ लागे पछि पुनः बिहेको लगन खुल्छ । बिहे व्रतबन्ध गाउँ भरिनै हुन्छ । माघ महिनामा कोदो कुट्ने काम हुन्छ । हुने खानेले कोदो सञ्चय गरेर दसैँ ताका खानेहरूका लागि जाँड रक्सी बनाउन महँगो मूल्यमा बेच्ने गर्दछन् । अरूले दैनिक खानपिनकै रूपमा कोदोलाई प्रयोग गर्दछन् । कोदोको रोटी कोलाको अथवा व्यापारीको पातमा हालेर टिनको तापकेमा पकाएर खाँदाको स्वाद बिर्सी नसक्नु हुन्छ । भूटानमा माघ फागुन महिना प्रायः उजाड रहन्छ । पौष, माघ र फागुन महिना भुटानमा निक्कै चिसो हुन्छ । चिसो मौसममा माटाको हाँडी अथवा टिन काटेर बनाइएको हर्लँगेमा मकै र भटमास भुटेर खाँदाको मिठास बिर्सी नसक्नु हुन्छ । रातीको समयमा गीत गाउँदै धान कुट्दछन् । झार जङ्गल सुकेको हुँदा माघ, फागुन र चैत महिनामा आगोको धेरै डर हुन्छ । डढेलो लागेर कहिले कहिले जङ्गल सखाप हुने गर्दछ । फागुन र चैत महिनामा प्रायः बर्खाको लागि दाउराको जोहो गर्ने गरिन्छ । ढिकी भएको खोल्मा भरि दाउराको हारै हारले भरिन्छ । त्यतिले नपुगे आसपासको सिकुवातिर पनि हार राखिन्छ । घर, गुवाली, खोल्मा, बाख्राको टाट्नो छापिन्छ । जाडो यामका लागि बन्द भएका स्कुलहरू फागुन लागे पछि नै खुल्न थाल्दछन् । ठुला कक्षाका विद्यार्थीहरू कोही कोही अन्य जिल्लामा पढ्नका लागि परदेश लाग्दछन् । चैत महिनामा खेतको आलु र मकै गोड्ने काम प्रमुख रहन्छ । यसरी भूटानको बाहृमासे क्रियाकलाप चल्ने गर्दछ ।
(यो परिक्रमा भूटानको चिराङको र त्यस छेउ छाउको क्रियाकलापको आधारमा लेखिएको हो । अन्य भेकको पनि समावेश गर्नु पर्ने धेरै क्रियाकलाप हुन सक्दछन् । पाठक वर्गले सल्लाह दिनु नै हुने छ र यो लेख परिमार्जित हुने अपेक्षा गरिएको छ । – लेखक)
प्रस्तुत आलेख Bhutaneseliterature.com को सन् २००९ को नोभेम्बर/डिसेम्बर मा तीन खण्डमा प्रकाशित भएको थियो – सम्पादक