भूटानी नेपाली साहित्य
लामीटारे गंगा
पृष्ठभूमि
मानिसलाई पशुदेखि भिन्न छुट्याउने मुख्य साधन नै उसको भाषा हो । भाषा नै सभ्यताको परिचायक र जातीयताको चिनारी हो । मानिस जहाँ बसेपनि उसले आफ्नो भेष–भूषा र भाषा एवं रीतिरिवाज साथमै लिएर गएको हुन्छ । आफ्नो भेष–भूषा, भाषा र संस्कृतिलाई सदैव जोगाउँदै त्यसको विकास र विस्तार गर्दै लाने कार्य उसको महत्वपूर्ण जिम्मेवारी मानिन्छ । भाषा विनाको जाति र साहित्य विनाको भाषाको अस्तित्व जीवन्त रहन सक्दैन । त्यसैले भाषाको संरक्षण गर्नु भनेको जातिको परिचयलाई जीवन्तता प्रदान गर्नु हो र सभ्य जातिको जीउँदो मापदण्ड तोक्नु पनि त्यस जातिका साहित्यको एउटा गतिशील धर्म हो । यस आधारमा साहित्य भनेको सभ्य, शिष्ट र उन्नतिशील जातिको परिचय हो भन्न सकिन्छ ।
भूटानका सन्दर्भमा नेपाली साहित्यका बारेमा कुरा गर्नुभन्दा पहिला भूटानमा बसोवास गर्ने नेपाली भाषीहरु कहिले र कसरी भूटानमा पुगे । यस सम्बन्धमा जान्न सान्दर्भिक ठानिन्छ । भूटानका तत्कालीन धर्मराजा साब्डुङ नावाङ नाम्गेलले ईश्वीसम्बत् १६२४को दशकमा गोरखाका राजा रामशाहसँग भूटान देशको विकास, निर्माणका निम्ति सन्धि सम्झौता गरी गोर्खालीका सबै जात–जाति मिलाएर विशुन थापा (मगर) को नेतृत्वमा ४०-५० घर परिवार गोरखाका सन्तानहरुलाई लगेर दक्षिण भूटानको तुर्सा नदीको किनार अर्थात् वर्तमान दोरखा देन्चुका भन्ने स्थानमा स्थायीरुपमा बसोवास गराएको पाइन्छ । यसपछि पुनः ईश्वीसम्बत् १६४०को दशकमा पनि भूटानका धर्मराजाको आग्रहमा जोङ, गुम्बा र मठ मन्दिरको निमार्णका निम्ति केही डकर्मी, सिकर्मी धातु र काठका मूर्ति बनाउन केही मूर्तिकार तथा कालीगडहरु तत्कालीन नेपालका महाराजा शिव मल्लको कार्यकालमा पनि केही गोरखा रैतीहरुलाई भूटान लगिएको कुरा इतिहासबाट प्रमाणित हुन्छ ।
यसरी विभिन्न चरणमा भूटान लगिएका गोर्खाका सन्तानहरुलाई दक्षिण भूटानको अनकण्टार जंगल र औलोको महामारी भएका विभिन्न स्थान–सामची, फुन्छोलिङ, सर्भाङ, दागाना, चिराङ र साम्डुपजोङखर आदिमा आवाद गराइएको थियो । गोरखाली रैतीबाट भूटानी प्रजा बनेका वा लगभग ४ सय वर्षअघि भूटान लगिएका नेपाली भाषी भूटानीहरुले आफ्नो भेष, भूषा, भाषा साहित्य,संस्कृति परम्परा र जातीय पहिचानलाई जीवन्त राख्दै आएका छन् । वर्तमान भूटानको वाङचुक वंशको शासन व्यवस्था प्रारम्भ हुनुभन्दा कैयौं वर्षअघिदेखि भूटानका स्थायी नागरिक बनिसकेका लोछाम्पाहरुले नेपाली भाषा साहित्यको विकास र प्रबर्धनका लागि भूटानको निरंकुशतासँग निकै ठूलो संघर्ष गर्दै आउनु परेको तिक्तता कसैबाट पनि लुकेको छैन । भूटानको निरंकुशताको जाँतोमा पिधिँदै र भोटिया एकतन्त्रीय शासन व्यवस्थाको ढिकीमा कुटिँदै, चेपिँदै र थिल्थिलिँदै भए पनि त्यहाँका मानिसहरुले कालो शासनको कालारात्रीबाट उन्मुक्तिका निम्ति केही सिर्जनाहरु गरेका छन् । चाहे शासकको प्रशंसा र स्तुतिका रुपमा नै होस् वा शासकका विरोधमा होस् केही न केही सिर्जनात्मक कार्यहरु गरेकै छन् ।
भूटानमा शिक्षादीक्षाको त्यति प्रचलन नभएको र अभिव्यक्ति स्वतन्त्रता नभएकाले सन् १९३०अघि भूटानीहरुद्वारा सिर्जनात्मक कार्यहरु भएको पाइन्न ।
नेपालमा आएको २००७ सालको परिर्वतन र सन् १९४७ मा भारतमा आएको परिर्वतनबाट भूटानका केही युवाहरु प्रभावित बन्न पुग्छन् । यसै सन्दर्भमा कोही संस्कृत पढ्न वाराणसी पुग्छन् । केही सचेत परिवारका भूटानीहरुले आफना छोरा छोरीलाई दार्जीलिङ, कालिम्पोङतिर पढाउने कार्यको सुरुवात हुन्छ । भूटान बाहिरबाट पढेर भित्रिनेहरु मध्येबाटै भूटानको नेपाली साहित्यको लेखनी प्रारम्भ भएको मानिन्छ । विविध विषय र विभिन्न विधामा लेख्ने साहित्यकारहरु भए पनि यहा“ कविता विधाको मात्र विकासक्रम दिने प्रयास गरिएको छ । अब यो कविता साहित्यको विकासक्रम सन् १९५५ देखि हालसम्मको समयावधिलाई ३ कालमा विभाजन गरी प्रत्येक चरण वा कालमा घटेका घटना, विशेषता प्रवृत्ति र राष्ट्रिय परिस्थितिलाई समेत सरसर्ती हेर्ने प्रयास गरिएको छ । पाठक एवं अनुसन्धान कर्ताहरुलाई सुगम होस् भनी कविता साहित्यको क्रमिक विकासलाई ३ चरणमा विभाजन गरिएको छ ।
क्रमश अर्को अंकमा