भूटानी साहित्यमा चार पुरस्कार

साहित्य परिषद्-भूटानद्वारा व्यवस्थापन, परिचालन र वितरण हुने गरी नेपाली साहित्यका विभिन्न विधाका स्रष्टाहरुलाई छुट्टा छुट्टै चारवटा पुरस्कार दिइने घोषणा गरिएको छ । यी पुरस्कारहरुका लागि तोकिएको समयसीमा सन् २०१८ को जनवरी १ तारिखदेखि लागू हुने गरी आधार मानिएको छ ।

भूटानी समुदायभित्रका विभिन्न पुस्ताका सर्जकहरुलाई लेखन, गायन तथा संगीत सृजनाका क्षेत्रमा अभिप्रेरणा जगाउने उद्देश्यले यी पुरस्कारहरुको घोषणा गरिएको हो । यी सबै पुरस्कारका प्रबन्धकहरुसँग आवश्यक परामर्श र विधि निर्धारण गरी सम्पूर्ण निर्णय साहित्य परिषद्-भूटानले विस्तारपूर्वक सार्वजनिक गर्नेछ ।

क. चारवटा पुरस्कारमध्ये एक नम्बरमा दक्षिण अष्ट्रेलिया निवासी धमाला परिवारबाट प्रत्येक एकवर्षमा प्रदान गरिने जम्मा एक हजार एक (१००१.०० अष्ट्रेलियन डलर) बराबरको “हिमतारा प्रतिभा सम्मान पुरस्कार”, को आवश्यक संयोजन साहित्य परिषद्-भूटानका वर्तमान उपाध्यक्ष श्री प्रकाश धमालाले गर्नुहुनेछ । यो पुरस्कार प्रत्येक एकवर्षमा भूटानी समुदायबाट प्रकाशित उत्कृष्ट कविता, गजलमध्ये कुनै एक कृतिका सर्जकलाई प्रदान गरिनेछ ।

ख. दोस्रो नम्बरमा साहित्य परिषद्-भूटानकै कार्यसमिति सदस्य श्री मनोज राईको संयोजन तथा व्यवस्थापनमा प्रदान गरिने पन्ध्र सय तीन (१५०३ अमेरिकन डलर) बराबरको “सुराक संगीत सृजना पुरस्कार” रहेको छ । यो पुरस्कार प्रत्येक दुइवर्षमा भूटानी समुदाय भित्रबाट गीत लेखन, गायन र संगीत सृजनाका सर्जकहरुमध्ये उत्कृष्ट तीनजनालाई प्रदान गरिनेछ ।

ग. यसै गरी तेस्रो नम्बरमा सम्पूर्ण लामिटारे परिवारबाट प्रदान गरिने “हिमटिका स्मृति आख्यान पुरस्कार” को आवश्यक संयोजन तथा व्यवस्थापन साहित्य परिषद्-भूटानका संस्थापक तथा वर्तमान निर्देशक मण्डलीका सदस्य श्री गंगाराम लामिटारेले गर्नुहुनेछ । जम्मा एक हजार एक (१००१ अमेरिकी डलर) बराबरको सो पुरस्कार प्रत्येक तीनवर्षमा एकजना उत्कृष्ट आख्यानकारलाई प्रदान गरिने छ ।

घ. यसरी नै चौथो नम्बरमा घिमिरे परिवारको संयोजन तथा व्यवस्थापनमा प्रदान गरिने पन्ध्र सय एक (१५०१ अमेरिकन डलर) बराबरको “मुना स्मृति कथा पुरस्कार” रहेको छ । सो पुरस्कार प्रत्येक पाँचवर्षमा एकजना उत्कृष्ट कथाकारलाई प्रदान गरिने छ । यो पुरस्कारको आवश्यक प्रबन्ध तथा व्यवस्थापन साहित्य परिषद्-भूटानका वर्तमान कार्यकारी अध्यक्ष श्री भक्त घिमिरेले गर्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *