‘भूटान टु ब्ल्याक टाउन’ निर्वासित समुदायले हेर्नुपर्ने ऐना

 

‘गोपिनीका गुरुङ, खोर्सानेका नेवार, लब्सीबोटेका क्षत्री र लामिडाँडाका बाहुनलाई छुनै सकिँदैन’

 

भक्त घिमिरेः पेन्सिलभेनिया/अमेरिका

 

 

दर्शन, मान्यता, आचरण र आदर्शका कुरा कता गए कताः कसैले मतलब राखेझैं देखिँदैन । कसैलाई न्वारन, जन्ति र मलामीको बल्छि हानेर त कतिलाई अनेक जाल बुनेर उर्लिएको बाढीमा बगेका माछा तानेझैं, बल्छि र जालले नभ्याए बेल्चालेसमेत उघाउँदै आफ्नै खेतको कुलोतर्फ हुऱ्याउन प्रयत्न गरेझैं पुनर्वाशको धङ्धङीले ओइलाएका मान्छेहरुलाई सम्प्रदायको जालमा छोपिरहेका छन् । उनीहरुलाई ‘धार्मिक ओलम्पिक’ जित्न खूब ठूलो कसरत भइरहेको देखिन्छ । हजारमा एक-कोही पनि सहज, शान्त समुद्रजस्तो, तपस्वी ऋषिजस्तो धीर देखिँदैन । सम्प्रदायका अनुचरहरु सबै हडबडमा देखिन्छन्, तनावग्रस्त ताउपरमाउर गरिरहेका छन् । उनीहरुले यति गरेर पनि समाज सकारात्मक उन्नतिमा गतिशील छैन । किन ? किनभने उनीहरुको विश्वासपरम्परा फेरिएको छैन ।  चिन्तन फेरिनु उनीहरुको बुझाइमा ‘अपराध’ हो । पितृसत्ता टेकाउने अंशबण्डाको खेल, वंशबीरता र दाइजो नासोका रूपमा सम्प्रदायलाई बोकेर हिँड्ने परम्परा अँगालिसकेपछि त्यो नशा त विषाक्त नै हुन्छ । तत्काललाई जतिसुकै सकारात्मक भएपनि यस्तो चिन्तन् उनीहरुकै निम्ति पनि घातक हो; धर्मका लागि  त अझ गम्भीर ‘अपराध’  पनि हो ।         

 

कजना मध्यमवर्गीय बाहुनको छोरो नेपथ्यबाट प्रश्न गर्दै चिच्याउँछ-“मेरो अनन्य मित्र कुलबहादुर दर्जीभन्दा म ठूलो जात कसरी भएँ? के कुराले मलाई ऊभन्दा ठूलो देखायो ? आखिर ठूलो र सानो जात कसले, किन बनायो?”

 

युगौंदेखि आजसम्म यस्ता प्रश्नहरू प्रश्नमै अडिएका छन्; उत्तर फेला परेको छैन । यी विहङ्गम प्रश्नको उत्तर एउटै छ-सरल छ । तर, ठोस उत्तर दिने आधिकारिक, विश्वसनीय निकाय छैन ।  कसैबाट उत्तर पाइहाले पनि विभेदकै रक्षा गर्ने खालका गोलमटोल गफमात्र सुन्न पाइन्छ । समाजसँग यो प्रश्नको न्यायोचित उत्तर खोज्न सिक्किमे साइँलाको छैटौं सन्तान, ठूलो कान्छो ओमप्रकाश अर्थात्, अष्ट्रेलियाका वासिन्दा श्रीओम ढुंगेलसँग हात मिलाउनु आजको समाजका सचेत वर्गको प्राथमिक दायित्व हो भन्ने लाग्दछ ।

उल्लिखित सन्दर्भ अष्ट्रेलियावासी श्री ओम ढुंगेलको पुस्तकको कुरा हो । अघिल्लो वर्ष ढुंगेलद्वारा प्रकाशित स्मरणात्मक पुस्तक ‘भूटान टु ब्ल्याक टाउन’ धेरैको हातमा पुगेको हुनुपर्छ । धेरैले पढिसक्नुभएकै होला ! यो पुस्तक पढिसकेका मध्ये   केहीले ‘विभेदजन्य जातिवादी कुरा बढी गरेको’ वा ‘धर्मको विरोध’ गरेको अभियोगसमेत लेखकमाथि थोपरे ! अन्य केहीले ‘अंग्रेजी साहित्यमा भूटान पृष्ठभूमिका लेखकहरुको प्रवेश’ भनेर सकारात्मक टिप्पणी गरेको पनि पाइयो । ‘उनको लेखनमा काव्यात्मक गुण नभएकाले पुस्तकलाई साहित्य मान्न नसकिने’ भन्नेजस्ता नकारात्मक टिप्पणी समेत भेटियो ।

 

साबिकभन्दा अतिरिक्त अपेक्षा कसैले कसैबाट गर्नु हुँदैन । अध्ययन र पेशाले प्राविधिज्ञ (Engineer) ढुंगेलबाट साहित्यका छन्द-अलंकार, रसप्रधान सिद्धान्तको काव्य आशा गर्नु साहित्यको परिभाषा नै नबुझी बुद्धिविलास गर्नेहरूको मत हुनसक्छ । साहित्य लेखिनु भनेको काव्यात्मक छन्द-अलंकारको संग्रह गर्नुमात्र होइन । साहित्यभित्र गद्यात्मक आलेख, रूपकहरु हुन्छन् । आख्यानका फेहरिस्तहरु पनि हुनसक्छन् । सबैखाले प्रारूपीय लेखनको मूल्यबोध गर्नेहरुले नै साहित्यको महत्व पनि बुझ्दछन् । लेखककै भनाइमा ‘यो पुस्तक भूटान र भूटानी समाजको, आन्दोलन र निर्वासनको साझा इतिहास होइन !’ यसर्थमा यो कृतिलाई लेखकको जीवनीपरक साहित्य मान्नुपर्ने हुन्छ ।

 

उनले आख्यान-उपाख्यानमार्फत जति लेखे त्यो एउटा सिङ्गो जीवनको कथानक हो ! सिङ्गै समाजको लागि प्रतिनिधि दिग्दर्शन हो । एउटा व्यक्तिको गाथालाई माध्यम बनाएर शुरु गरिएको यो कृति परिवार, समाज हुँदै एउटा सिङ्गो राष्ट्रको छवि झल्काउन पर्याप्त छ । अँ, अंग्रेजी भाषामा लेखिएको हुनाले ‘यो एउटा संभ्रान्त वर्गको पहुँचमा सीमित’ भन्ने कुरा केही हदसम्म साँच्चो होला । तर, अंग्रेजीपुस्ता हुर्किरहेको वर्तमान सामाजिक परिवेशले त्यो सत्यतालाई पनि घटाउँदै लगेको छ । हिँजोका र आजकाहरुको विमर्शमा भोलि वयस्क हुने नवपुस्ताले ‘अंग्रेजीभाषा बुझ्दै-बुझ्दैन’ भनिरहनु मूर्खता हो । यद्यपि, यस पुस्तकमा अन्तर्निहित सागम्री प्रौढपुस्तालाई पनि उतिकै उपयोगी देखिएकाले यस कृतिलाई नेपालीमा अनुवाद गर्नसके सुनमा सुगन्ध थपिन्थ्यो भन्ने लाग्दछ । साँच्चै भन्ने हो भने  ‘भूटान टु ब्ल्याक टाउन’ भूटानबाट निर्वासित समुदायले आफैंलाई हेर्ने एउटा ऐना हो ।

 

यहाँसम्म एकपाटो कुरा गरियो । अब अर्को सन्दर्भमा लागौं ! अंग्रेजी भाषामा लेखिएको हुनाले यो पुस्तक अंग्रेजी साहित्यको अङ्ग हो, यसमा मतान्तर रहेन !  यद्यपि, मेरो नितान्त व्यक्तिगत बुझाइले यसलाई अंग्रेजी साहित्यको कोटिमा मात्र नराखी वृहत नेपाली साहित्यको एक अंशको रूपमा पनि स्थापित गऱ्यो । आञ्चलिक परिधिको हिसाबले यसलाई ‘भूटानको नेपाली साहित्य’ मान्न सकिएला ।

 

अब तर्क शुरु हुनसक्छः खरा प्रश्नहरु उठ्न सक्छन्- अंग्रेजीमा लेखिएको पुस्तक नेपाली साहित्य कसरी हुन्छ ? तर, ‘साहित्य समाजको ऐना हो’ भन्ने सिद्धान्तमा जानकार अध्येताहरुले भाषालाई माध्यमको रूपमा मात्र बुझेका हुन्छन् । सिद्धान्ततः सिर्जना कुन भाषामा भन्ने प्रधानता नभएर कहाँको कथानक, कहाँको सामाजिक मर्म छ, त्यो सिर्जना त्यहीँको साहित्य बन्दछ । यो सवालमा कुनै तर्क आवश्यक नहुने विचार विभिन्न साहित्यिक हस्तीहरुले अभिव्यक्त गर्दै आएका छन् ! यही अर्थमा श्री लिलबहादुर क्षेत्रीको ‘ब्रह्मपुत्रको छेउछाउ’ उपन्यास नेपाली भाषामा भएर पनि ‘भारतीय साहित्य’को अङ्ग बनेको छ । त्यसो त ‘भूटान टु ब्ल्याक टाउन’ को प्रस्तावनामै अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले ‘यो अष्ट्रेलियन कथा हो’ भनेर टिप्पणी गरेका छन् । अतः निष्कर्षमा यो पुस्तक कुनै एउटा भौगोलिक क्षेत्र र भाषाको मात्र नभएर थोरै घटी-बडीको हिसाबले अष्ट्रेलियन, भूटानी, नेपालीलगायत सबैको हो भन्नुपर्ने हुन्छ ।

 

‘भूटान टु ब्ल्याक टाउन’ पुस्तकलाई अंग्रेजीभन्दा बढी नेपाली साहित्य मानिनुको तात्पर्य के भने यो पुस्तकको थालनी नै बा’, आमा, बडा बा’, काका, काकी, दाजु-भाउजू, माइजू, दिदी, भाइ, ठूली, माइली, साइँली, कान्छा-कान्छीजस्ता सब्बोधनबाट भएको छ । नेपालीबाहेक विश्वका कुनै पनि भाषामा यी सम्बन्ध-सम्बोधनहरु विद्यमान छैनन् ! त्यसपछि भूटानको नेपाली साहित्य कसरी बनेको छ भने आफ्नै परिवारको गाथा मिसाएर ओम ढुंगेलले भूटानमा ऐतिहासिक विरासत बनाएको नेपालीभाषी समुदायको सम्पूर्ण सामाजिक, सांस्कृतिक मर्मको प्रतिनिधित्व नै गरेका छन् ।

 

आफ्नो पुस्तकमार्फत श्री ढुंगेलले निर्वासित पूर्वभूटानीहरुको फरक राष्ट्रियतामा समाहित वर्तमान परिवेशलाई समेत सहज अवतरण गराएका छन् । ‘एन अष्ट्रेलियन बाई एक्सिडेन्ट’ शीर्षकमा उनले व्यक्तिको पहिचान र सामाजिक अस्तित्वको सरोकारलाई कसरी प्रस्तुत गरिनु सान्दर्भिक छ भन्ने वैचारिक प्रस्तावनासमेत अघि सारेका छन् ।

 

उनको कथन अनुसार कुनै पनि मानिसलाई ‘तपाइँको परिचय?’ भनेर कसैले सोद्धा पाउने पहिलो उत्तर नै व्यक्तिको प्राथमिक पहिचान हो । मानिसको आधारभूत परिचयमा जाति, भाषा, इतिहासजस्ता सम्बोधन जोडिनु जरुरी छैन । प्राथमिक परिचय भनेको देश, काल र परिस्थितिले फेर्दै लाने चिह्नारी हो । यो बहुआयामिक हुन्छ ।  हरेक मानिसको परिचय कम्तीमा दुइटा तहमा बाँडिएको हुन्छ- प्रधान र अप्रधान ! अथवा ‘प्राइमेरी इन्ट्रोडक्शन’ र ‘सेकण्डेरी इन्ट्रोडक्शन’ ।

 

भूटानबाट लखेटिएका नेपालीभाषी नागरिकहरु आज जुन जुन देशमा स्थापित भएका छन्, तिनको पहिचान पनि फेरिएको छ अर्थात्, त्यही त्यही देशको पहिचानसँग जोडिएको छ । सो अनुसार आज कोही अमेरिकी बनेका छन् त कोही अष्ट्रेलियाली, केनाडेली वा यूरोपेली । अष्ट्रेलियामा हुने कुनै व्यक्तिलाई कसैले परिचय सोध्यो भने उसले सबैभन्दा पहिले उसको नाम भन्नुपर्छ र त्यसपछि उसको वतन ।

 

जस्तैः म फलानो, अमुक सडक वा शहरको वासिन्दा ! सो अनुसार ऊ अष्ट्रेलियाली नागरिक हो । यो ऊ र उजस्ता सबैको ‘प्राइमेरी इन्ट्रोडक्शन’ हो । त्यसपछि कुराकानीको विषयसन्दर्भ विस्तार हुँदै गएमा मात्र उसको पूर्ववर्ती कथा जोडिन्छ जस्तैः ऊ कहाँबाट त्यहाँ आइपुगेको हो ? कस्तो परिवेश र पृष्ठभूमिमा ऊ त्यहाँ आइपुगेर स्थापित भएको हो भन्ने कुरा ‘सेकण्डेरी इन्ट्रोडक्शन’मा समेटिन्छ । सो अनुसार भूटानको ऐतिहासिक प्रसंगमा जोडिँदै क्रमशः ऊ पुर्ख्यौली विरासतको आधारले वृहत नेपाली सांस्कृतिक समुदायको एकजना व्यक्तिको रूपमा परिचित हुन्छ । यही आधारमा उसको सामाजिक पहिचान स्थापित हुन्छ । भएको छैन भने पनि समाजलाई दिशानिर्देश गर्नेहरुले इतिहासको न्यायिक सम्बोधन हुनेगरी त्यो दिशामा समाजलाई डोऱ्याउनु आवश्यक छ । समग्रमा ‘भूटान टु ब्ल्याक टाउन’का लेखकको आशय यही चेतनाले ओतप्रोत भएको छ ।

 

अहिले पुनर्वाशमा विभिन्न देश पुगेका पूर्वभूटानीहरु आफू ‘भूटानी’ कि ‘नेपाली?’ भन्ने प्रश्नमा धेरै अल्मलिएका देखिन्छन् । उनीहरू अनावश्यक विवादित बहसमा अल्झिइरहेको अवस्था छ । सबैखाले पहिचानलाई एकै ठाउँ मिसाएर अथवा प्राइमेरी इन्ट्रोडक्शनमै घोलेर ओखलीमा अचार कुटेझैं गर्नथालेपछि यो अवस्था आएको हो । लेखकको रायलाई मिहिन विश्लेषण गरी व्यवहारमा ल्याउने सहमति भएमा वर्तमान समाजमा विद्यमान पहिचानको विहङ्गम प्रश्न सजिलै समाधान हुने देखिन्छ ।

 

सवारी साधन चलाउनेहरुलाई माध्यम बनाएर पहिचानको विश्लेषण गर्ने हो भने सहज होला । सबैका गाडीमा पछाडि देख्ने सिसा, ‘ब्याकभ्यू मिरर’ हुन्छ । आवश्यकता अनुसार गाडी पछि सार्दा होस् वा कुनै विशेष परिस्थितिमा त्यो सिसा हेरिन्छ । बीच सडकमा गाडी गुडिरहेको बेला अगाडिको सिसाबाट गन्तव्यको सडकमात्र हेरिन्छ । अगाडिको सिसाबाट देखिने गन्तव्य भनेको हाम्रो वर्तमान हो । पछाडी हेर्नलाई राखिएको ब्याकभ्यू मिरर विगत हो, हाम्रो इतिहास जस्तै । बीच सडकमा वर्तमान बिर्सिएर घरी घरी ब्याकभ्यू मिररमात्र हेरिरहने चालकको गति के हुन्छ, मैले यहाँहरुलाई भन्नै पर्दैन । ऐतिहासिक तथा कानुनी प्रयोजनको चिह्नारीका सन्दर्भहरुमा निश्चित बहस हुँदा, दस्तावेजहरु बनिँदा हामीले ‘ब्याकभ्यू मिरर’ पनि हेर्नुपर्ने हुन्छ ।

 

पहिचान भावनात्मक उद्वेगमात्र होइन; समय, विषय-सन्दर्भ र संवैधानिक अधिकार, नागरिक सुरक्षा र स्वतन्त्रतासित सन्तुलित हुनुपर्ने आधारभूत नियम पनि हो । यति कुरा प्रष्ट बुझे पहिचानको सरोकारमा कोही अल्मलिनु पर्दैन । पहिचानका बहुआयामिक पक्ष, तह र निश्चित प्रयोजन तथा विषय-सन्दर्भका आधारमा चिन्तन गर्न सक्नेहरुमा यो अल्मल कदापि रहने छैन ।  

 

अवस्थिति र पहिचानको सरोकारमा समाजलाई आदिम परम्परागत मूल्य-मान्यताको घेराभित्र मात्र कँज्याएर राख्न चाहने तत्वहरुले व्यक्ति, परिवार र समाजलाई सधैं रूढतामा अल्झाइरहन खोज्छन् । लेखकलाई ‘धर्म विरोधी’ बिल्ला भिराउनेहरु तिनै अन्धपरम्परावादी हुनसक्छन् । उनले वास्तवमा ‘धर्मको विरोध’ कतै गरेका छैनन् । खाली धर्मको आवरणमा गरिएको जातीय विभेद र वितण्डाको वर्णनमात्र गरेका छन् ।

 

 

सांस्कृतिक सरोकारका कुरा

 

गुरुङको ज्वाइँ भएर एउटा मध्यमवर्गीय बाहुनको छोरोले, त्यो पनि नवप्रवेशी वैष्णव सम्प्रदायमा बद्ध परिवारका सम्मुख के के भोगेनन् होला; कल्पना गर्नसकिन्छ ! यसर्थमा लेखकले गरेका गुनासा र आपत्तिका कुरामा उनीप्रति औंला उठाउनु जरुरी छैन । किनकि उनले जति लेखे, ८० को दशकमा गुरुङकी छोरी बिहे गर्ने एउटा ग्रामीण ब्राह्मणपुत्रले भोगेका, प्रत्यक्ष अनुभूत गरेका कुरा लेखेका छन् ।

 

यद्यपि, तुलनात्मक कुरा गर्दा गाउँको एउटा औसत ग्रामीण ‘बाहुनपुत्र’ले ब्योहोर्ने भोगाइचाहिं उनले पक्कै भोग्नुपरेन भन्ने  लाग्छ ! किनभने बिहेअघि नै उनी थिम्पूमा सरकारी पदाधिकारी थिए । यसै पनि फिरंगी शिक्षा लिएर सरकारी पद र आयश्रोतमा हक जमाएकाहरुको सामान्यभन्दा अलग, सम्मानजनक हैसियत हुनु धर्मको नाममा व्याप्त परम्परागत संस्कृतिमा पनि चलेकै कुरा हो । जात, थर-गोत्र, छोइ-छिटो, घृणा, विभेद आदि कुरामा गाउँ-घरमा सर्वसाधारणले ब्योहोरेको भुक्तमान तुलनात्मक रूपले लेखकको भोगाइमा न्यून हुनुपर्छ भन्ने मेरो अनुमान मात्र हो । किनभने सृदृढ आर्थिक हैसियत भएका, पद-प्रतिष्ठामा रहेकाहरुलाई हेर्ने ग्रामीण दृष्टिकोणमा पनि व्यापक फरक थियो; अझै छ ।

 

म लेखकलाई घरी घरी मध्यमवर्गीय बाहुनपुत्र भनेर सम्बोधन गरिरहेको छु । त्यो के आधारमा भने उनी सर्भाङमा विद्यार्थी छँदै सेनामा रहेका रुद्रलाल मालदाइ आएर भारतीय रूपियाँका १५ वटा २० का नोट खनखनी गनिदिएको कुरा लेखकले पुस्तकमा वर्णन गरेका छन् । त्यो समयको एकजना किशोर विद्यार्थीले एकैचोटि तीन सय रुपियाँ हातमा राख्न पाउनु ‘कुवेरको भण्डारी’ हुनुसरह थियो । यसै पनि लेखकका बा’, आमा र दिदी कौशिलाले घरमै ग्रामीण किराना  दोकान चलाएको वर्णन पनि पुस्तकमा छ । क्रमशः सर्भाङसम्म पसल थाप्न पुग्ने गरेको, पछि स्थायी पसल राखेको कुरा पनि पुस्तकमा वर्णित छ । नगदको विनिमय गर्ने यतिको हैसियत हुनु औसत ग्रामीण परिवेशभन्दा माथिल्लो आर्थिक दर्जा हो ।

 

त्यसो त लेखक बाध्यात्मक देशत्यागको दौरानमा पनि आफ्नै कार-गाडी चढेर सिमाना कटेका छन् । शरण लिइएको देशमा पुगेर पनि शरणार्थी शिविरमा नबसेर राजधानी काठमाडौतिर पसेका छन् । यही आधारलाई समातेर धेरै मानिसहरुले उनलाई ‘शरणार्थी हुँदाको वास्तविक पीडा, अभाव र कष्ट नभोगेको मान्छे’ सम्म भन्न भ्याए । तर, कसैको व्यक्तिगत हैसियतमाथि हल्का टिप्पणी नगरीकन मानवीय मनोविज्ञानको विश्लेषण गर्ने हो भने एउटा उपल्लो दर्जामा रहेको सरकारी कर्मचारी जो पद, प्रतिष्ठा र आर्थिक स्रोतसाधनमा सुविधाजनक जीवन भोगिरहेको छ, देश त्याग गर्न उसलाई जति गाह्रो एउटा मजदूरलाई हुँदैन ।

 

अर्काकोमा अधियाँ, कुत-बनिबुतो गरिखाने किसान-मजदूरलाई बरु जहाँ पुगे पनि त्यही जीवनशैली बिताउँला भन्ने अठोट रहनसक्छ; देश-त्यागको पीडाले चोट लागे पनि तुलनात्मक रूपमा त्यति ठूलो मनोवैज्ञानिक यातना नहुने अनुमान गर्न   सकिन्छ । तर, त्यही सरकारलाई प्रतिनिधित्व गरेर विभिन्न अन्तर्राष्ट्रय मञ्चहरुमा पुगेका सर्वोच्च तहका कर्मचारीहरु त्यही सरकारद्वारा लखेटिएर ज्यानको बाजी थाप्तै रातारात सिमाना कटेको वर्णनमा अझ दुःखदायी चित्र झल्किन्छ ।

 

भूटानबाट लखेटिएका नागरिकहरु अधिकांश खेती-किसानी गर्ने र केही सरकारी जागिरदारहरु नै थिए । जसलाई तत्कालीन सरकारले ‘भूटानमा अवैध घूसपैठीका रूपमा’ त्यहाँको सुख-सयलमा मोज गरेको अभियोग लगाउँदै लखेटेको थियो ।

 

पुस्तकका लेखकले काठमाडौंमा रहँदा भूटान मानवाधिकार संगठन-ह्यूरोबको महासचिव बनेर जति काम गरे, ‘द भूटान रिभ्यू’ पत्रिकाको सम्पादक तहमा रहेर निर्वासितहरुको अधिकार रक्षाका लागि जति वकालत गरे, ती सबै प्रशंसायोग्य विषय थिए ।

 

यसर्थमा कार-गाडी चढेर शरणार्थी बन्न आएकाहरुलाई मैलेचाहिं कमसे कम मानवीय संवेदनाको हद नाघेर ‘शरणार्थी व्यथा नबुझेका’ भनी तल्लो तहको खिसी-ट्यूरी गर्न सकिनँ । अर्काको देशमा शरण लिन पुगेपछि त्यो पुरानो सम्मान, प्रतिष्ठा र आर्थिक हैसियत आफूसित हुँदैन भन्ने उनीहरुलाई पनि थाहा थियो । त्यो ज्ञान भएरै पनि, गाउँ-बस्तीका हजारौं आफ्ना साखा-सन्तानको साथमा उनीहरुले चुनौती मोले; शरणार्थी शिविरमा बसेकाहरुले उनीहरुको त्यो महानताप्रति प्रशंसा गर्नुपर्ने हो । निरंकुश तानाशाहले गरेको अन्याय र अराजकताविरुद्ध एकताबद्ध अभियान नहाँकेर उदासीनता देखाएका लगायत निर्वासित नेता र संगठनहरुको आलोचना गर्ने थुप्रै ठाउँ र विषयहरु छन् । तर, देशबाट लखेटिनु र फिर्ता जान नसक्नुमा उनीहरुमात्र दोषी छन् भन्ने भाष्यचाहिं सही छैन; म सधैं यसमा विमति राख्तछु ।

 

 

 

विभेदजन्य सामाजिक परम्पराः जातीय अहंकारका कुरा

 

लेखकले लैङ्गिक तथा जातीय विभेद र हीनताबोध भारत-नेपालको तुलनामा भूटानभित्र न्यून रहेको उल्लेख गरेका छन् । तर, सँगसँगै उनले आफू हाइस्कूलको विद्यार्थी छँदा नै आफ्ना गाउँका मानिसहरु सिमानापारि भारतमा गएर अमुक सम्प्रदायको सदस्यता ग्रहण गरी आएका र त्यसपछि गाउँमा चरम भेदभाव शुरु गरिएको गुनासो पनि गरेका छन् । साँच्चै भन्ने हो भने नेपाल र भारतमा चलेको सतीप्रथाबाहेक भूटानको परम्परागत विश्वासप्रणालीमा पनि केही भिन्नता थिएन । पछिल्लो चरणको यो विभेदकारी शृंखला भूटानी पृष्ठभूमि बोकेर पुनर्वाशमा विश्वभरि छरिएका मानिसहरुले अझै कायम राखेको लेखकद्वारा पुस्तकमा उल्लेख चर्चाले नै प्रष्ट पारिदिएको छ । यस विषयको विश्लेषण-सन्दर्भमा वर्तमान सामाजिक परिवेशको कुरा विस्तारमा पछि गरौंला, अहिले विगतका कुरा गरौं ।

 

लेखक ढुंगेलको जन्मथलो चिराङ हो । हुन त चिराङ पनि जातीय अहंकारको विरासत नबोकेको जिल्ला थिएन । ‘गोपिनीका गुरुङ, खोर्सानेका नेवार, लब्सीबोटेका क्षत्री र लामिडाँडाका बाहुनलाई छुनै सकिँदैन’ भन्ने एउटा लोकोक्ति नै चल्तिमा थियो । तर, साम्प्रदायिक आधारमा हेर्दा यथार्थमा चिराङ भन्दा माउगाउँतिर अझ धेरै विभेदका शृंखलाहरु व्याप्त   थिए । यतिसम्म कि सम्प्रदाय बाहिरका जोसुकै आए पनि, एकै कुलवंशका भाइ-भतिजासमेत बसेको ठाउँ लोटाउने, खाए-पिएका वर्तनहरु भर्सेलीमा लानै नहुने, तिनलाई गहुँत छर्किएर शुद्ध्याउनु पर्ने आदि चलनले माउँगाउँबाटै ख्याति कमाएको थियो ।

 

लेखकले पुस्तककमा सांकेतिक हिसाबले देखाएको कुरा स्पष्ट भाषामा राख्ता खास सन्दर्भ श्रीवैष्णव सम्प्रदायका दीक्षक सन्त योगिराज कमलानयनाचार्यको भूटान प्रवेशको विषय हो । पुस्तकमा लेखकले अल्प उपाख्यान गरे पनि म यसलाई अन्यथा नठानियोस् भन्ने निवेदन गर्दै अलि विस्तारमा व्याख्या गर्न चाहन्छु ।

 

नेपालको इलाम जिल्ला, नामसालिङका मुक्तिनाथ रिमालका साइँला छोराको रूपमा जन्मिएका काँशीनाथ रिमाल भोजपुरका ‘आबाल ब्रह्मचारी साधु’ अर्थात् पण्डित षडानन्द अधिकारीको अगुवाइमा स्थापित एउटा पाठशालामा केही समय पढेर उच्चशिक्षाका लागि भारततर्फ गएका थिए ।

 

अयोध्या, काँशी हुँदै दक्षिण भारतको काँचिपुरम् पुगेर आचार्य रामानुज प्रतिपादित विशिष्टाद्वैतको श्रीपरम्पराबाट दीक्षित भएपछि आफ्नो सम्प्रदाय फैलाउने उद्देश्यमा उनी भूटान पसे । उनी भूटान पसेपछि ठूलै चर्चा र खुल्दुलीको केन्द्र बनेका थिए । केही मानिसहरुले उनलाई ‘समाज विथोलेको’ अभियोग लगाए । भनिन्छ, उनका विरोधीहरुले उनलाई माउगाउँ क्षेत्रबाट हमलासमेत गरेर सिमानापारि लखेटे । तर, भारतको सीमाक्षेत्रमा बसेर उनले भूटानमा आफ्ना चेलाहरुको संख्या बढाउने अभियान रोकेनन् । निकै लामो समयको अन्तराल गुज्रेपछि उनलाई अभियोग लगाउने, आक्रमण गर्ने तिनै पुराना मान्छेहरु उनका चेला बने र उनलाई भूटान फिर्ता लगे । तिनै मानिसहरू उनको महिमागानमा यति लिप्त भए कि, उनलाई भगवानकै अवतारको रूपमा प्रचार गर्नथाले ।

 

यद्यपि, सन्त योगिराजबाट श्रीसम्प्रदायको दीक्षा लिएर पनि उनको महिमागान गर्नेहरुको चेतनागत प्रवृत्तिचाहिं फेरिएको थिएन । उनीहरुको परम्परागत विश्वासको जग हल्लिएकै थिएन । योगिराजको दीक्षा उनीहरुका लागि ननुहाएको शरीरमा नयाँ लुगा फेरेझैं मात्र भएको थियो, जो भोलिपल्टदेखि उसै गरी गन्हाउन थाल्यो । त्यसपछि विस्तारै तिनीहरुले पहिलेदेखि चलिरहेको सामाजिक विभेदको शृंखलालाई नयाँ रंग पोतेर लागू गराए । यही विन्दुबाट शुरु भएको ‘भूटानमा श्रीसम्प्रदायले समाज भाँडेको’ भाष्य आजसम्म पनि टुंगिएको छैन ।

 

यति कुरा हुँदासम्म यहाँहरुले बुझिसक्नु भएको हुनुपर्छः मेरो निजी मूल्यांकनमा भूटानी समाजले सो अमुक सम्प्रदाय भित्रिएपछि मात्र भूटानमा उच-निचको भेदभाव अभ्यास गरेको कुरा पूर्णसत्य होइन । किनभने समाज विकासको आदिम युगदेखि नै विभिन्न किसिमका चिन्तनप्रणाली सबै समाजमा, सबै कालखण्डमा कुनै न कुनै रूपले विद्यमान छन् । लेखकले औंल्याएको समाज, निकट विगतमा ‘मरेका बाबुसँगै ज्यूँदा आमाहरु पोलेर’ हुर्केको रूढ परम्परागत समूह हो ।

 

हो, श्रीवैष्णव सम्प्रदाय भूटान प्रवेश गर्नभन्दा पहिले विभेदका आधारहरु केही भिन्नरूपमा थिए । उदाहरण हेरौं; छोरो जन्माउन नसकेका कति आमाहरूले सौतेलो बुहार्तन भोगे, कसले लेखाजोखा गऱ्यो होला र? खासमा छोरो सन्तान नपाएका अभिभावकहरु पहिले ‘स्वर्ग जान नपाउने’, वैष्णव बनेपछि ‘वैकुण्ठ जान नपाउने’ भए । फेरिएको कुरा त त्यतिमात्र हो । अरु सबै कुरा पुरानै थिए । यहाँहरुलाई याद हुनुपर्छ, कुन्नि कसलाई आफ्ना गाईको ‘दूध दियो भने गाई नै रुख चढ्छ’ भनिन्थ्यो । ‘गोठगोठै गाईहरु मरेर सकिन्छन्’ भनिन्थ्यो । गोठधूप, कुलायन पूजा हुँदै कसैको निधन हुँदा कुलवंशको सदस्यबाहेक अरूले छोइदिएमा ‘सिद्धै वायु भएर आउँथ्यो !’ अनेकौं किंवदन्तिका आधारमा नश्लीय शुद्धिको घमण्ड, विधवाविवाह वर्जिती, छुवाछूत, पेशाकर्मका आधारमा मानिसको हैसियत तोक्ने र कम आर्जन गर्ने पद- दायित्वप्रति घृणा पोख्ने परम्परा श्रीसम्प्रदायले मात्र ल्याएका चलन थिएनन् ।

अरु कुरा छोडौं, शास्त्रीय आदर्शमा राजाहरु क्षत्री हुन् । यस आधारमा राम-कृष्णहरु राजपुत्र, युवराज हुँदै राजा भएका क्षत्री   थिए । तिनलाई नै सर्वोच्च मर्यादा, इष्टदेव मानेर पूजा गर्ने बाहुनको वंश आजसम्म क्षेत्रीकी छोरी बिहे गर्ने छोरालाई घरबाट निकाल्छ । क्षत्रीकी बुहारी बन्नचाहने छोरीलाई माइतप्रवेशमा रोक लगाउँछ । हदै लचक भए, विशाल उदारताको महिमागान गर्नलायक भए पनि त्यस्ता छोरी-बुहारीले पकाएको दाल-भात नखानेसम्म चलन त अधिकांश बाहुनले अझै पालेकै छन् ।   

 

नगण्य अपवादबाहेक गैर-उपाध्यायले पुरोहित्याइँ शिक्षा नपाउने कुरा सामान्य भइहाल्यो । देश छोडेर शरणार्थी शिविर हुँदै पुनर्वाशपछि आज विभिन्न देशमा पुगेर पनि क्षत्रीकी छोरी बिहे गर्ने बाहुन केटाले परिवारबाटै अलगिनु पर्ने वा कुनै न कुनै विभेद ब्योहोर्नुपर्ने चलन छँदैछ । बरु, बाहुन-क्षेत्रीबाहेक अन्यमा गएका बाहुनका छोरीहरुले तुलनात्मकरूपमा विभेदको पीडा कम भोगेका होलान् !

 

‘जातिगुण र सांस्कृतिक आस्मिताको रक्षाका लागि देश त्यागेका’ मानिसहरु शरणार्थी शिविरमा संस्थाले बनाइदिएको धारोमा पनि छोइछिटोको बाझा-बाझ गर्थे । कथित ‘पानी अचल’ कुन्नि कसको बच्चाले तथाकथित ‘पानी चल’ कुन्नि कसको छाप्रोमा प्रवेश गऱ्यो भन्दै मुद्दामामिला गर्थे । यी सबै कुरा सामान्य जनसाधारणको मनोविज्ञानको कारणले मात्र भएका   थिएनन् । वास्तवमा रक्षा गर्नैपर्ने जातिगुण र संस्कृतिका केस्राहरु केलाई विद्वतवर्गले उनीहरुलाई दीक्षित नगरेर राजनीतिक दलको सदस्यता लिएझैं सम्प्रदायको ठप्पा भिराउँदै पुरानै चलनचल्तिमा अभ्यस्त राखेका कारण त्यस्तो भएको थियो । तिनै तमाम द्विविधा र अन्यौल बोकेर पुनर्वाशमा भासिएको समाजले आफ्नो परम्परागत भूगोलको दायरा पार गरेपछि पनि विभेदको पुरानो वंशाणु प्रारूपलाई नयाँ संस्करणमा रूपान्तरित गरी सम्प्रदायको घोल-जलप मोलेर नश्लीय घृणाको पर्खाल ठड्याइरहेको छ-दुरगन्धित खिचडी पकाइरहेको छ ।

 

सधैं नुहाउनपर्छ, बासी भोजनपान गर्न हुँदैन; नित्य योगसाधना गर्नुपर्छ आदिजस्ता योगिराज दीक्षाको कारणले भूटानमा विभेद भित्रिएको होइन । बरु सन्त योगिराज आजसम्म पनि थिए भने गोठधूप, कुलायन पूजा, संसारी पूजा, देवी भाकल आदिको भ्रान्तिपूर्ण धार्मिक रङ्गमञ्चबाट खुत्रुक्क ओर्लिएर नयाँ आवरणमा जातकर्मको परम्परागत जड्ता र साम्प्रदायिक बितण्डा उराल्दै रमाउने पुरोहित-पण्डितहरुलाई टाउकोमा बाङ्गे लौरीको टक्सिङ हान्थे होलान् । उनको बाङ्गे लौरीको टक्सिङ भेटेका एक-दुइ पण्डित-पुरोहितहरु मैले पनि व्यक्तिगत तहमै चिनेको थिएँ । वृहत् समाजको सांस्कारिक दायित्वको सवालमा किन पुरोहित-पण्डितका टाउकामा मात्र टक्सिङ हान्ने कुरा ? कसैले अन्यथा अर्थ लगाउन सक्छ !

 

अँ हो; पुन प्रष्ट पार्दैछुः पुरोहित-पण्डितकै टाउकोमा लागेको हो टक्सिङ । किनभने संस्कारादि दायित्वको मूलस्तम्भ पुरोहित-पण्डित नै थिए । अझै पनि कुनै आनुष्ठानिक कार्य, ब्रत-पूजा, जन्म-मृत्युसंस्कार, जातगोष्ठी र वंशानुमोदनको सरोकारमा समाजले सधैं पुरोहितकै आदेश पालना गर्दछ, पण्डितहरुको हुकूम नै शिरोधार्य गर्दछ । यद्यपि, अबको समयमा यो जडताको सम्पूर्ण दोषभागी पुरोहित-पण्डितमात्र होइनन् भन्ने बुझाइ राख्नु आवश्यक छ । समाजको विश्वासपरम्पराका कारण पनि यस्तो भएको हो । सबैपक्षले यसको दायित्व लिँदै सकारात्मक परिवर्तनको दिशा तय गर्नुपर्दछ ।

 

त्योबेला सन्त योगिराजको बाङ्गे-लौरीको टक्सिङ त विद्यालयको घण्टीजस्तै थियो जसले विद्यार्थीलाई निश्चित समयतालिकाको बोध गराउँथ्यो । यद्यपि, हाम्रो समाजले त्यो टक्सिङबाट निश्चित कालक्रमको बोध गर्नसकेन र नै आजसम्म सदस्यसंख्या बढाउनबाहेक योगिराजले चाहेको कुनै कुरा पूरा भएको छैन । यही कारण आजसम्म ‘सनातन वैदिक’ नामधारी समूहहरु ‘अपवादका केही थान तागाधारी क्षत्री र केन्द्रमा बाहुन संगठन’का रूपमै सीमित भएका छन् ।

 

वास्तवमा रामानुजाचार्य मुख्य प्रवर्तक रहेको श्रीसम्प्रदाय उत्पतिक्रममा विभेदको बीउ नभई विभेद र असमानता विरुद्धको अभियान थियो । मानिसको व्यक्तिगत जीवनका अनेक पाटा हुन्छन् । सन्त योगिराजका पनि कतिखाले पक्षहरु थिए होलान् । सामाजिक सरोकारका लागि सबै खोतल्न अब सम्भव पनि नहोला । तर, सार्वजनिक जीवनमा दाबी गर्नसकिने कुरा कति भने रामानुज प्रतिपादित सिद्धान्तका शिष्य सन्त योगिराज एकलैले भूटानमा विभेदको बीउ छरेका थिएनन् ! बरु पुस मसान्तमा मात्र नुहाएर माघे संक्रान्ति मनाउने, वैशाखीमा मात्र कच्छाड फेरेर कुलपूजा र गोठधूपमा अल्झिएका, ‘कुमाई’ र ‘पूर्वेली’, ‘जैसी’ र ‘उपाध्ये’ भन्दै भाँडिएका बाहुनहरुलाई शास्त्रसम्मत जीवनदर्शनको अध्ययन मनन् गर्न सिकाएका थिए ।

 

उनले दर्शाएको ज्ञानमा योगशिक्षा पनि थियो निः ! योगकै कारण उनको नाममा ‘योगिराज’ उपमा जोडिएको थियो । तर, विडम्बना सेवा-भक्ति नामको अतिरञ्जित चाकरी र अनावश्यक महिमागानबाहेक योगिराजले सिकाएको ‘योगाभ्यास’ गर्ने बाहुनहरु मैले खास देखेको छुइनँ । कोही भएर पनि मैले नदेखेको भए, मेरो कमजोरी हुनसक्छ । उसबेला योगिराजले शिष्य बनाएकाहरुमा तागाधारी क्षेत्री र बाहुनमात्र थिएनन्; गुरुङ, मगरादि सबैखाले थर-गोत्रका जनजातिहरु पनि थिए । कुरो यतिसम्म कि- केही वर्ष अघिको कुरा होः हाल भारतको दार्जीलिङ क्षेत्रको एउटा पहाडी इलाकामा सन्त योगिराजका शिष्य बताउने, समाजले ‘पानी अचल’ भनेका कथित दलित समुदायका प्रौढहरुसमेत भेटिएका थिए ।

 

आज सन्त योगिराजकै उत्तराधिकार दाबी गर्ने शिष्यमध्येका केही मानिसहरु आफ्नो साम्प्रदायिक खेतको आलीमा छाप्री लुकाएर, पृत्रेष्ठीलगायतका आनुष्ठानिक संस्कारादिको दुवाली थुन्दै असीमित सनातन संस्कृतिको विशाल महासागरमा विचरण गरिरहेका ‘माछा’हरुबाट मछुवाराले पहिले चिह्न लगाएका बुदुना-असला छानेझैं गरी तागाधारी क्षत्री-बाहुनलाई मात्र आफ्ना सांम्प्रदायिक खेतको कुलोतर्फ ओइराइरहेका छन् ।

 

दर्शन, मान्यता, आचरण र आदर्शका कुरा कता गए कताः कसैले मतलब राखेझैं देखिँदैन । कसैलाई न्वारन, जन्ति र मलामीको बल्छि हानेर त कतिलाई अनेक जाल बुनेर उर्लिएको बाढीमा बगेका माछा तानेझैं, बल्छि र जालले नभ्याए बेल्चालेसमेत उघाउँदै आफ्नै खेतको कुलोतर्फ हुऱ्याउन प्रयत्न गरेझैं पुनर्वाशको धङ्धङीले ओइलाएका मान्छेहरुलाई सम्प्रदायको जालमा छोपिरहेका छन् । उनीहरुलाई ‘धार्मिक ओलम्पिक’ जित्न खूब ठूलो कसरत भइरहेको देखिन्छ । हजारमा एक-कोही पनि सहज, शान्त समुद्रजस्तो, तपस्वी ऋषिजस्तो धीर देखिँदैन । सम्प्रदायका अनुचरहरु सबै हडबडमा देखिन्छन्, तनावग्रस्त ताउपरमाउर गरिरहेका छन् । उनीहरुले यति गरेर पनि समाज सकारात्मक उन्नतिमा गतिशील छैन । किन ? किनभने उनीहरुको विश्वासपरम्परा फेरिएको छैन ।  चिन्तन फेरिनु उनीहरुको बुझाइमा ‘अपराध’ हो । पितृसत्ता टेकाउने अंशबण्डाको खेल, वंशबीरता र दाइजो नासोका रूपमा सम्प्रदायलाई बोकेर हिँड्ने परम्परा अँगालिसकेपछि त्यो नशा त विषाक्त नै हुन्छ । तत्काललाई जतिसुकै सकारात्मक भएपनि यस्तो चिन्तन् उनीहरुकै निम्ति पनि घातक हो; धर्मका लागि  त अझ गम्भीर ‘अपराध’  पनि हो ।               

 

सबै सम्प्रदाय अथवा गुरुपरम्पराहरु एउटै विद्यालयमा पढाइने विभिन्न विषयका पाठ्यक्रमजस्तै हुन् । गुरुहरू विषयगत शिक्षक हुन् । कहिलेकाहीं अपवादमा गणित पढाउने शिक्षकले विज्ञानका कुरा, भूगोल पढाउनेले इतिहासका कुरा गर्लान्-किनकि यी विषयहरु एकार्कामा अन्तरसम्बन्धित हुन्छन् । तर, गणित पढाउने शिक्षकले यो इतिहास भन्ने विषय त पढ्नै हुँदैन-यो पढ्यो भने लडाइँ गराउँछ भन्यो भने, विज्ञान पढाउने शिक्षकले यो भूगोल भन्ने विषय पढ्नै हुँदैन- यो पढ्यो भने समाज भाँडिन्छ, मान्छे बहुलाउँछन् भन्नेजस्ता कुरा गर्नथाल्यो भने त्यो विद्यालयको कुन गति होला ? समाजलाई एउटा विद्यालयको रूपमा लिने हो भने अहिलेका सम्प्रदायहरु त्यस्तै देखिएका छन् । गुरुपरम्परा जुनसुकै भए पनि सबैले गर्ने दाबी एउटै हुन्छः “मेरो सम्प्रदायमा गुरुदीक्षा नलिएसम्म तिम्रो मुक्ति सम्भव छैन ।”

 

यो कुरा राम्रो गरी बुझेकाहरुले आफूले गरेको विभेदकर्मको ढाकर टेकाउन कुनै गुरु वा साधनापद्धतिलाई तोक्मा बनाउँदैनन् । तर, सभ्यताको विशालतम उदारतालाई अपराध ठान्ने शठहरुले ‘बसुधैव कुटुम्बकम’को दृष्टिबोधलाई पनि घृणास्पद विभेदकै आधार बनाइदिन्छन् । यद्यपि, बर्बाद नै भइहालेछ भनेर अत्तालिने होइन; धीर बनौं-सामान्य सोचौं । किनकि कुख्यात तानाशाहहरुले प्रजातन्त्रलाई आफ्नो अभीष्टको साधन बनाएझैं गुरुपरम्पराका अनुयायीहरुमा पनि मूल-मान्यताविरुद्ध विभेदजन्य घूसपैठी प्रवृत्ति हुनु अस्वाभाविक होइन ।

 

जुनसुकै गुरुपरम्परा होस्, आजसम्म सम्बन्धित सम्प्रदायको सदस्यता ग्रहण नगरेकाहरुले अनुष्ठानहरुमा गृहप्रवेश नै नपाउने, हदै लचकता भए मझेरीसम्म जान पाउने, त्योभन्दा पनि उदार भए यज्ञको रेखीभन्दा बाहिर बसेर रमिता हेर्न पाउने आदि चलन कायम गरिराखेको समाजका कुरा गर्दैछौं हामी । अथवा निष्कर्षमा भन्न खोजिएको के भने, भूटानमा छँदाको त्यो अमुक सम्प्रदायका प्रवर्तकमात्र सामाजिक विभेदलाई प्रश्रय दिने एकल मूलकारक थिएनन् ।

 

भूटान टु ब्ल्याक टाउनका लेखकलाई झैं मलाई पनि धेरैले ‘धर्मविरोधी’ भन्दै गर्छन् । तर, म कसैको विरोधी होइन, सम्प्रदाय फैलाउने कार्यमा सहयोगी पनि होइन । मैले सन्त योगिराजलाई भूटानभित्र विभेदको कारक होइनन् भनिरहँदा त्यसको कारक श्रीसम्प्रदाय र योगिराज नै ‘हुन्’ भन्नेहरु छक्क पर्लान् । भूटान टु ब्ल्याक टाउनका लेखकझैं म पनि सन्त योगिराजको शिष्य होइन । उनका कुनै आनुष्ठानिक प्रवचनहरुमा सामेल होइन, कुनै विधिले सम्प्रदायको निकट पनि होइन म । तर, मेरो निरपेक्ष नजरले देखेको र विवेकले आँकलन गरेको सापेक्ष सत्यलाई उजागर गर्नु मेरो धर्म हो । मेरो धर्मको सीमा मलाई राम्ररी ज्ञान छ ।

 

“श्रीवैष्णव सम्प्रदायमा रहेकाहरुले अति भेदभाव गरे” भनेर त्यसको विरोध गर्न आफू अर्को सम्प्रदायमा लागेको बताउने मान्छेहरु मैले खूब धेरै देखेको छु । तर, एउटा सज्जन चिन्तकले बुझ्नुपर्छ; एक खाले अतिवादको विरोधमा अर्को खाले अतिवाद अँगालेर समाजमा विद्यमान भेदभाव र परम्परागत चिन्तनलाई मास्न सकिँदैन । अन्धविश्वास र गलत चिन्तनप्रणालीको जगबाटै धोइपखाली शुरु गर्नु जरुरी छ । टुप्पो छाँसेर होइन, भेदभावको जराबाटै उन्मूलन गर्नु आवश्यक छ ।

 

यी तमाम सवालमा म लेखकसित पूर्ण सहमत छु । किनकि आफ्नो सामाजिक चिन्तनसँगै लेखकले देश, काल, परिस्थिति; रोजगार, पारिवारिक-सामाजिक व्यवस्थापन र सम्पूर्ण जीवनपद्धतिमा आएको परिवर्तनलाई अंगीकार गर्नुपर्ने कुरा गरेका छन् । त्यसविपरित वर्तमान विश्वपरिवेशमा प्रतिस्पर्धात्मक हुन बाधा गर्ने, फरक प्रकृतिका पुराना मान्यताहरु तोडियो भने ‘भोलि प्रलय नै भइहाल्छ’ भनेजस्तो गरी समाजलाई सधैं हतोत्साही, उदास, कमजोर बनाइराख्न चाहने केही ‘कठमुल्लावादी’हरुतर्फ औंला ठड्याउँदै लेखकले खबरदारीसमेत गरेका छन् ।

 

 

 

ऐतिहासिक सन्दर्भ

 

‘भूटान टु ब्ल्याक टाउन’भित्र इतिहासका केस्राहरु पनि प्रशस्तै भेटिन्छन् । पुस्तकका लेखक ओम ढुंगेल भूटान भन्ने मुलुकको त्यो जिल्लाका वासिन्दा हुन् जुन क्षेत्रमा ब्रिटिश भारतले दोस्रो विश्वयुद्धको पूर्वसन्ध्यामा गोर्खा फौजीका लागि जवानहरुको खोजी गरेको थियो । सन् १९३२ मा ब्रिटिश सरकारले तत्कालीन गोर्खा राइफल्सका क्याप्टन सी.जे.मोरिसलाई गोर्खाफौजमा भर्ना गर्नसकिने जवानहरुको सर्वेक्षण गर्न भूटान पठाएको थियो ।

 

यद्यपि, बलियो सेना र प्रहरी नभएको तत्कालीन भूटानले आफ्ना नागरिकहरुलाई विदेशी सेनामा पठाएर हतियारबन्द तालिम गराउन चाहेन । द्वितीय राजा जिग्मेदोर्जी वाङचुकले ब्रिटिशहरुको त्यस्तो चाहनाप्रति हिच्किचाहट व्यक्त गरेका कारण सो योजना खारेज भयो । नागरिकहरुमा सामरीक ज्ञान हुने कुरादेखि द्वितीय राजा किन डराए उनैलाई थाहा थियो । उनी त बितेर गएः अब उनका वंशजलाई जानकारी होला; त्यसको खोजी गर्ने काम अध्येता, अनुसन्धाता र इतिहासकारहरुको हो ।

 

क्याप्टेन सी.जे. मोरिसले भूटानका चिराङ र साम्ची जिल्लामा सर्वेक्षण गरेका थिए । सी.जे. मोरिसको त्योबेलाको तथ्यांक अनुसार चिराङ र साम्ची (सिब्चुलाई नगाभी) मा ‘६० हजार पहाडियाहरु’ थिए । सिब्चुलाई पनि जोड्नु हो भने तीनवटा मौजामा ८० हजारदेखि एकलाखसम्म नेपालीभाषी जनसंख्या भएको अनुमान मोरिसले गरेका थिए । ती ऐतिहासिक जिल्लामध्ये लेखक ढुंगेल स्वयं चिराङका भए भने उनले साम्चीलाई आफ्नो ससुराली बनाएका छन् । जिल्लामात्र ऐतिहासिक नभएर उनको ससुराली पनि राजघरानाकै परिवार थियो जो पारोका राजाले षड्यन्त्रपूर्वक बेपत्ता पारेका गर्जमान गुरुङका सन्तान थिए ।

 

लेखकले जानेरै हो कि भुलेर छुटाएको विषयचाहिं मेरा लागि के हो भने उनले सरोजासित विवाह गर्दैगर्दा साम्ची (ऐतिहासिक चमर्ची) ठेगाना बताएका थिए । तर, निर्वासनको पछिल्लो चरणमा उनकी सासू-आमा कमलालाई कालेबुङमा भेट्न जानुपरेको उल्लेख गरेका छन् । सन् १८६५ पछि भूटानबाट स्वामित्व छुटाएर ब्रिटिशले आफ्नो क्षेत्रमा गाभेको कालेबुङमा पश्चिमोत्तर भूटानका दामथाङे राजा उगेनदोर्जी, सोनाम तोब्गे (एस.टी.) दोर्जी हुँदै तिनका सन्तानले अड्डा जमाएका थिए । त्यही कालेबुङमा दक्षिण भूटान-सौरेनीको बाहुन्नढोके दरवारका अर्का उपराजा गर्जमानका सन्तानहरु पनि कसरी जोडिन पुगे भन्ने जिज्ञासा पाठकहरुमा उठ्नसक्छ-उठेको छ । पुस्तकले त्यो जिज्ञासाको समाधान गरेको छैन ।

 

त्यसपछि संस्कृत पाठशालामा पढ्दा पढ्दै के कुराले दखल गरेर आधुनिक ठानिएको सरकारी विद्यालयतर्फ आफू अकर्षित भइयो भन्ने कुरा अलि विस्तारमा खुलाउनु श्रेयस्कर थियो । हुन त थोरै बालमनोविज्ञानका कुरा लेखकले उल्लेख गरेकै छन् । तर, यस विन्दुमा पूर्वीय दर्शन र संस्कृतिप्रतिको उदासीनताका तमाम कारक र कारणहरु जनाउने त्यो अवसर गुमेको मैले अनुभूत गरेको छु ।

 

यसै त पुस्तक बडो रोचकिलो ढाँचामा अघि बढेको छ । श्री ढुंगेलको वर्णनमा आफूले बंगलादेशमा पढेर भूटान फिर्तीपछि दूरसञ्चार प्राधिकरणको विकास तथा प्रवर्द्धनमा गरेको योगदान, विद्यार्थीकालमा पूर्वराजा जिग्मे सिंगेसितको साक्षात्कार र भलाकुसारी आदि प्रसंगले मलाई फ्रेडरिक ह्विलियमशनको गाथा स्मरण गराइदियो । प्रसंग कस्तो पऱ्यो भने फ्रेडरिक ह्विलियमशन र लेखक ढुंगेलको जीवनयात्रामा मेलखाने धेरै कुराको संयोग जुटेको छ । फ्रेडरिक पनि बेलायतबाट सयवर्षको हाराहारी पहिले नै लेखक ढुंगेल पुगेको अष्ट्रेलियाको सिडनीमा बसाइँ सरेका थिए । सय वर्षपछि (सन् १९९८) सिड्नीमै पुगेका लेखक ढुंगेलको वर्णनमा सयवर्ष अघिको फ्रेडरिकबारे मार्गरेटले गरेको वर्णन कसरी ठ्याक्क मिल्न पुगेको, मलाई आश्चर्य लागिरहेको छ । सयवर्षको अन्तराल छोटो समय पक्कै होइन ।

 

बेलायतको ह्वेस्टर्न इलेक्ट्रिकल कम्पनीले सन् १८९७ मा आफ्ना कर्मचारी आर्थर ह्विलियमशनलाई दूरभाष सञ्चार केन्द्र (टेलिफोन एक्सचेञ्ज बुथ) स्थापनाकै लागि सिड्नीको मोस्म्यान शहरमा पठाएको थियो । आर्थरका चार सन्तानमध्ये एक फ्रेडरिक पनि परिवारसँगै त्यहाँ पुगे । पछि उनी बेलायत फर्किए र क्याम्ब्रिजबाट स्नातक पूरा गरी ब्रिटिश इण्डिया कम्पनिसँग आबद्ध भए । ‘भूटान टु ब्ल्याक टाउन’ को एउटा अंशमा उल्लेख भए अनुसार लेखकका पुर्खाहरु सिक्किमबाट भूटान गएका हुन् । यही कारण उनीहरु सिक्किमे साइँलाका सन्तान हुनपुगेका थिए । फ्रेडरिक पनि ब्रिटिश इण्डिया कम्पनीमार्फत ‘पोलिटिकल अफिसर’ को रूपमा सिक्किममै नियुक्त भए । त्योबेला सिक्किम र तिब्बत छुट्टा-छुट्टै देश थिए जसले आज भारत र चीनमा गाभिएर आफ्नो अस्तित्व गुमाउनु परेको छ ।

 

‘तिब्बत, सिक्किम र भूटानका लागि राजनीतिक प्रतिनिधिकी श्रीमतीको संस्मरण’ (Memoirs of a Political Officer’s wife in Tibet, Sikkim and Bhutan) मा उल्लेख मार्गरेट डी.ह्विलियमशनको कथन अनुसार मानसरोवर क्षेत्रको कैलास पर्वत छेउमा रहेको दार्चेन गुम्बाको स्वामित्व तिब्बतले कब्जा गरेपछि भूटानका द्वितीय राजा जिग्मे वाङ्चुकले तिब्बतबाट त्यो क्षेत्र फिर्ता गराइदिन फ्रेडरिकसमक्ष अनुरोध गरेका थिए । मार्गरेटको कथनानुसार फ्रेडरिक ह्विलियमशनले तिब्बत र भूटानबीच सो विषयमा मध्यस्थता नै गरे । कैलास पर्वतसम्म भूटानले आफ्नो स्वामित्व फिर्ता पायो । तर, पछि सन् १९५९ को ह्लाशाविद्रोहपश्चात चीनले तिब्बतमाथि कब्जा गऱ्यो, तिब्बती शासक १४ औं दलाई लामा, तेञ्जिन ग्यात्सो निर्वासित भए अनि तिब्बतभित्र भूटानले चर्चिएका सबै क्षेत्रहरु पनि सधैंका लागि चीनकै अधीनमा गए ।

 

सन् १९३३ मा पोटाला दरबार पुगेर १३ औं दलाई लामा, थुप्तेन ग्यात्सोलाई भेटेका फ्रेडेरिक, थुप्तेन ग्यात्सोको निधनपछि तिब्बतमा आएको राजनीतिक उतार-चढाव, चीनको नजानिँदो तिब्बत-हडप पहलकदमीको साक्षी पनि बन्न भ्याएका थिए । संयोग नै भनौं कि गुप्त प्रायोजनले हो, फ्रेडरिक ह्विलियमशन क्रमशः थुप्तेन ग्यात्सोका सहयोगीहरुको बहिर्गमन र कालेबुङमा निर्वासित जीवनयापनका लागि पोरक्ष सहयोगी बनेका थिए । दलाई लामाको उत्तराधिकारमा हक जमाउन खोजिरहेका रुस समर्थित लुङत्सारको आँखा फुटाइ, जिब्रो काटेर निर्मम हत्या आदि घटनाको प्रत्यक्षदर्शी बनेका फ्रेडरिक ह्विलियमशनको भूटान सम्बन्धबारे चाखलाग्दो कुरा त के छ भने मार्गरेट र फ्रेडरिक-ह्विलियमशन दम्पत्तिले विवाहपछि भूटानको पारोमा पुगेर हनिमुन मनाएका थिए । सन् १९३४ भूटानका द्वितीय राजा जिग्मे दोर्जीको कलकत्ता भ्रमणलाई सफल पार्न ह्विलियमशन दम्पत्ति (फ्रेडरिक-मार्गरेट) ले प्रभावकारी भूमिका खेलेका थिए ।

 

अन्ततः सन् १९३५ मा फ्रेडरिकले तिब्बतको देकीलिङ्कामा शरणार्थी मृत्युवरण गरे । त्योबेलाको ‘कहिल्यै घाम नअस्ताउने’ बेलायती साम्राज्यको प्रतिनिधि भएर पनि ब्रिटिशले चर्चिन नसकेको पराई मुलुक तिब्बतमा उनले मृत्युवरण गर्नुपरेको इतिहासले के बताउँछ भने सीमाहरुको चौघेरामा बाँधिएको राष्ट्रियताले त्योबेला पनि मानिसलाई थाम्न सकेको थिएन रहेछ; आजको ग्लोबल भिलेज अवधारणामा झन् के बाँध्न सक्ला !

 

यसर्थ, भूटानबाट लखेटिन पऱ्यो, हामी शरणार्थी बन्नपऱ्यो भनेर कसैले हीनताबोध गर्नु पर्दैन । सधैं रोएर जीवन सहज हुँदैन । जे भएको छ, भोगाइलाई अनुभवको रूपमा लिई अभ्यास गर्दै जीवनको गति अघि बढाउने सुझाव भूटान टु ब्ल्याक टाउनका लेखकले पनि दिएका छन् । पुस्तकको पृष्ठ ८ मा लेखक भन्छन्,‘सधैं खुम्चिएर, पीडाबोध गरेर, रोइकराइ गरेरमात्र आफूप्रति न्याय हुँदैन; जे भएको छ त्यसलाई सकार गर, पीडक पक्षलाई क्षमा देऊ अनि अघि बढ्दै जाऊ । त्यसैमा जीवनले खुशी पाउँछ; गति र उन्नतिको बाटो पाउँछ !’

 

जाँदाजाँदै एउटा चाखिलो कुरा छुटाउन सकिएन । मार्गरेटले आफ्नो पुस्तकमा उल्लेख गरेकी छिन्,“सन् १९७४ मा चौथो राजा जिग्मेसिंगेको गद्दी आरोहण समारोहमा निम्ता आएकोले म थिम्पू पुगें । त्यहाँको कार्यक्रम सकेर म आफ्नो पुरानो बासस्थान गान्तोक पुगें । एक बिहान टासी नाम्गेलको दरवार अगाडिको उद्यानमा हिँडिरहँदा दरबारको एकजना लामा कर्मचारी मेरो नजिक आएर केही भन्न खोजे । उनले मेरो कुरा नबुझ्ने, मैले उनको कुरा नबुझ्ने भएपछि हामीलाई संवाद गर्न असम्भव भयो । पछि कसैको सहयोगमा कुरा बुझ्दा उनी त फ्रेडरिक र मैले सन् १९३३ मा तिब्बत भ्रमणताका आयोजना गरेको बालभोजमा सहभागि एकजना बालक पो रहेछन् ।”

 

मार्गरेटको यो कथनबाट हामीले के बुझ्न सकिन्छ भने सन् १९७० को दशकसम्म पनि तिब्बतबाट सिक्किम र भूटान पस्ने अनुप्रवेशकारीहरुको कमी थिएन । तिब्बतबाट आएर यसरी दरबारसम्म पहुँच बनाउन सक्नेहरु गाउँ-बस्तीहरुमा कति क्षेत्र ओगटेर बसे होलान् ! अनि सन् १६२४ मै गोर्खाका राजा रामशाहको पालामा सन्धि गरी भूटान लगिएका परिवारका सन्ततीहरुचाहिं सन् १९९० ताका कसरी ‘विदेशी’ भए?

 

आधुनिक भूटानका संस्थापक शाब्ड्रुङ नावाङ नाम्गेल पनि सन् १६१६ मा मात्र भूटान पसेका हुन् । उनी भूटान प्रवेश गरेको ८ वर्षपछि, यानिकि सन् १६२४ मा भूटान पुगेका गोर्खाली (नेपाली)-हरुलाई आज ‘विदेशी घुसपैठी’ को अभियोग लगाएर देशबाट हटाउँदा यसका विरुद्ध बलियो अठोटमा प्रश्न उठाउँदै अन्तर्राष्ट्रिय मञ्चहरुमा वकालत गर्न नसकेकै कारणले निर्वासित भूटानीहरुको मुद्दा कमजोर भएको हो । भूटान टु ब्ल्याक टाउन-पृष्ठ १०९ मा ढुंगेल लेख्छन्-“भूटानबाट निर्वासित भएपछि शरणार्थी जीवनमा थुप्रै दल र संगठनहरु थिए । तिनका सिद्धान्त जे जस्ता भए पनि तिनीहरु बीचमा देशफिर्तीको एकल उद्देश्यमा सहकार्य कहिल्यै हुनसकेन । भूटानको कर्मचारी तन्त्रमा ठूलो पदमा भएकाहरुले साना पदमा हुनेहरुलाई सामन्ती दृष्टिमा हेर्ने चलन निर्वासनमा पनि जारी नै थियो ।”

 

लेखकको कथनलाई अलिकति व्याख्या गरौं है । निर्वासनमा एउटा ठूलो दलको नेतृत्व गरेका स्व. रनबहादुर बस्नेत भूटानमा छँदा माथिल्लो सरकारी पदमा थिए । अर्को दललाई नेतृत्व गर्ने राजकुमार बुढाथोकी भूटानमा बस्नेतभन्दा तल्लो तहको सरकारी पदमा थिए । उनीहरु बीचको यो ‘तल्लो’ र ‘माथिल्लो’ हैसियत निर्वासनमा आएर फेरिनै सकेन । बस्नेत र बुढाथोकीबीचको यो प्रसंग उदाहरण मात्रै हो । निर्वासित सम्पूर्ण समाज यही मनोवृत्तिबाट ग्रसित थियो । आज पुनर्वाशको दुइदशक पार गरिसक्ता पनि त्यो दृष्टिचेतना अझै फेरिएको छैन भन्ने संकेतहरु जताततै देखिँदैछन् ।

 

भूटान टु ब्ल्याक टाउनका लेखकले आफ्ना पुर्खाहरु करिब एक शताब्दि अघि सिक्किमबाट भूटान पसेका बताएर जातीय चिह्नारीको रक्षामा न्याय गरे कि गरेनन् छुट्टै बहस गरौंला । तर, आधुनिक भूटान राज्यको संस्थापक शाब्ड्रुङले लगभग आफूसँगै (आठ वर्षपछि) तत्कालीन गोर्खा र नेपाल मण्डलबाट लगेका रैतीहरु कसरी ‘राजद्रोही’ भए? भन्ने न्यायिक प्रश्नको उत्तर खोजी गर्न अबका दिनमा सबै जुटेर एकमुष्ट पहल गर्नु अत्यावश्यक छ । अब निर्वासित समुदायले आफ्ना पुर्खाहरु कहाँबाट कहिले गए भन्ने कुराको खोजी गर्नुभन्दा बढी उनीहरुले भूटानमा राज्यलाई कर तिरे कि तिरेनन् ? देशको उन्नतिमा भूमिका खेले कि खेलेनन् ? अथवा के कुरामा उनीहरुले देशलाई हानी पुऱ्याउने काम गरे? राष्ट्रसंघलाई साक्षी राखेर यी प्रश्नहरु सोधिनु जरुरी छ ।

 

पुर्खा कहाँबाट भूटान गएका थिए भन्ने कुरा गौण हो, यसलाई छोडेर ड्रूक रालुङस्थित धार्मिक मठको उत्तराधिकार विवादमा परेपछि शरणार्थीको रूपमा भूटान पसेका शाब्ड्रुङ नावाङ नाम्गेल सँगसँगै भूटान पुगेको पहाडे, डोले-खर्पनेहरुको समुदायचाहिं आधुनिक भूटान राज्यस्थापनामा के कुराले चुक्यो ? नेपाली बोल्ने समुदायले देशको उन्नतिपथका कस्ता योजनामा बाधा गऱ्यो? गऱ्यो कि गरेन? गरेन भने किन त्यस्तो भाष्य निर्माण गरियो? यस्ता सारा वृत्तान्तको लेखाजोखा गर्नतिर लाग्नु जरुरी छ । हाम्रो सामाजिक विश्वास परम्परा अनुसार वर-पिपल रोप्नेहरुको नाम ती बोट रहेसम्म रहिरहन्छ । वर-पिपल उखेल्ने र फाँड्नेको पनि नाम त रहन्छ तर, अल्पकालीन् ! केही समयको अन्तरालमा बिलाउँछ । कुन नाम राख्ने तपाइँ-हाम्रो हातमा छ । समाजको अस्तित्वका लागि कुन नाम हितकर छ- कुन कित्तामा समाजको इतिहासलाई स्थापित गर्ने भन्ने जिम्मा निर्वासित समूहमा परेका सबैको दायित्व हो ।

 

आफू उदासीन भएर आफैंमाथि अन्याय गरिरहने अनि विगतमा भए-गरेका हानि-नोक्सानीजति अरुकै दोषभागमा पस्किने निर्वासित भूटानीहरुको सामाजिक मनोवृत्ति अत्यन्त घातक छ । मानिस सधैं भोलिको कल्पनामा बाँच्छ । तर, कहिल्यै नभेटिने समय भनेकै भोलिमात्र हो । भेटिएको समय आज हो भने भेटिएर छुटेको समय हिँजो हो । हिँजोबिनाको आज र आजबिनाको भोलि कल्पना गर्नै सकिँदैन । यसर्थ हिँजोको सम्झना र भोलिको कल्पनाबीच तरुलझैं चेप्टिएको आजलाई सहज रूपमा उपभोग गर्न ‘फर्गिभ बट् नेभर फर्गेट’ भन्ने विचार पर्गेल्नु अनिवार्य छ । आशा गरौं, लेखक ढुंगेलले झैं तथ्यपरक लेखनीमार्फत अरु धेरैले पनि आफ्नो समाजलाई हिँजो, आज र भोलिसम्मको दृष्टिचेतना निर्माण गर्न सहायता पुऱ्याउने छन् ।

 

तथ्यपरक पुस्तक लेखेर टिप्पणीकारका रूपमा यति कुरा लेख्न अवसर प्रदान गर्नुभएकोमा, भूटान टु ब्ल्याक टाउनका लेखक ओम ढुंगेलप्रति आभारी त छँदैछु, पुस्तक उपलब्ध गराएर यो संयोग जुराइदिएकोमा एशियन रफ्युजीस् यूनाइटेड (ARU’s) का रविन गुरुङप्रति पनि कृतज्ञ छु ।

 

स्रोत सौजन्यः

  • Bhutan to Black town: Om Dhungel (Australia)
  • Memoirs of a Political Officer’s Wife in Tibet, Sikkim and Bhutan: Margaret D Williamson (UK)
  • Himalayan Kingdom Bhutan: Traditions, Transition and Transformation: AC Sinha (Shillong, India)

(साहित्यपोष्ट ह्वेब-पत्रिकामा पूर्वप्रकाशित सामग्री विशेष पाठकहरुको अनुरोधमा केही महत्वपूर्ण बुँदामा संशोधनसहित पुनर्प्रकाशन गरिएको)

2 Replies to “‘भूटान टु ब्ल्याक टाउन’ निर्वासित समुदायले हेर्नुपर्ने ऐना”

  1. Anonymous

    समालाेचना हाेइन , सिर्जनात्मक लेखन मानें मैले

Leave a Reply

Your email address will not be published. Required fields are marked *