भू-दान
आइ पी अधिकारी
काठमाडौँ
श्याममणि पण्डित र कुलमान काजी खेतैखेत उँधो झर्दै थिए। उनीहरूबीच भोलिको तेर्हौं पुण्य तिथिको कामको चर्चा हुदै थियो।
कुलमान काजी गाउँका हुनेखाने अनि हकिला मान्छे हुन्। उनले भनेपछि गाउँलेहरू हत्तपत्त नाई भन्दैन थिए। अघि त्यस्तो नभए पनि रामबाबुको देहान्त पछि श्याममणि पण्डित कुलमानको नजिक भएका छन् । पण्डितले मुख खोले – “काजीबाबु यसपाला त हाम्रा गाउँका तारा नै अस्ताए। यसले गाउँलेलाई निकै ठूलो नोक्सान पुर्यायो ।”
“अँ पण्डित बाजे । गाउँलेले एक असल र भलाद्मी हितैषी गुमाए” – कुलमानले सही थपे ।
“बाचुञ्जेल त गाउँको सेवा गरेरै रहे । धेरै भाग्यमानी मानिस । अर्काको सेवा गर्नु भनेको नै त इश्वर खुशी गराउनु हो,” पण्डितले कुरो अघि बढाए । “जिउँदो हुँदा उनको निम्ति कसैले केही गरिदिएन । मृत्यु पछि भए पनि उनको आत्माले शान्ति पाओस् भनेर केही धर्मकर्म गरिदिनु पर्ला उनको नाममा ।”
निधारको छाला खुम्च्याउँदै कुलमानले भने – “खै के राम्रो काम गरिदिने? पाटी-पौवा खोल्न निकै खर्च लाग्छ । गुठी खोल्न पनि गाउँले मान्लान्-नमान्लान्। पुराण लाउन विचरी धनमायाको हैसियत नै छैन । अरू के गर्ने र? ”
पण्डितले कुरो बटार्ने मौका पाए । उनलाई काजीको मन जीत्न सकिन्छ कि भन्ने आँट पलायो । उनले थपे – “रामबाबुको पनि इच्छा थियो । उनको क्रिया सकेको दिन उनको नाममा रहेको त्यो तल्लो खेत दान गर्नु । उनको इच्छा पुर्याई दिन सके रामबाबुको आत्माले शान्ति पाउने थियो । त्यसमा पनि हिन्दू धर्ममा भू-दानले ठूलो पुण्य मिल्छ भनेर उल्लेख गरिएको छ ।”
यस कुराले काजीको मन झस्क्यो । तर बोलिहाल्न उचित ठानेनन् । सही मात्र थपे – “त्यो पनि राम्रै कुरा हो ।”
गाउँका मान्य पुरोहित कैलाशपति पनि आइपुगे । रामबाबुको मृत्यु पछि त्यहाँको कर्मकाण्ड सबै उनैले गराउँदै आएका थिए । यसले श्याममणि पण्डितलाई कुड्याएको थियो । छेवैमा आएर पुरोहित बोले – “ओहो! नमस्कार! यहाँ के को चर्चा हुँदै थियो रु”
“दुई जना बिचको कुराको तपाईलाई के चासो ?” – चिडिएर श्याममणि कराए ।
“के हुनु! पण्डितबाजे रामबाबुको तल्लो खेत दान गरे मृतात्मालाई स्वर्ग पुर्याई दिने कुरो गर्दैछन् । रामबाबुको पनि त्यही इच्छा थियो रे” – काजीले कुरो लुकाएनन् ।
“काजी दाई तपाई के कुरा गर्नु हुन्छ ? त्यो खेत दान गर्ने हो भने भोलि छोराहरुले कहाँ कमाएर खाने? ती विधवाले पनि त बाँच्नु पर्यो । अन्न उब्जाउने त्यही एउटा खेत छ” – कैलाशपति पुरोहितले भने ।
कैलाशपति पुरोहित गरेर हिडे पनि अलि व्यवहारिक छन् । इश्वरलाई खुशी पार्न अनि ब्राम्हणलाई दान दिने निहुमा मान्छे कंगाल पार्नु हुँदैन भन्ने उनको मान्यता छ । उनी भन्ने गर्छन् – “इश्वर जीवआत्मामा बस्छ, त्यसैलाई सन्तुष्ट पारे इश्वर खुशी हुन्छन् । दान दक्षिणा गर्नु पर्दैन । त्यो चलन हो, मुन्धुम मात्र गरे पुग्छ ।“
श्याममणि पण्डितको कुरो काट्दै उनले अघि थपे – “त्यो खेत दान गर्दा रामबाबुले कमाएर खान्छन् त! भोलि अरु परिवारको भुँडी खाली हुँदा तपाई खुवाउन सक्नुहुन्छ ?”
यसले श्याम पण्डितलाई चिढ्यायो । उनी कराए – “कैलाश भाइ, तिमी धेरै जान्ने नबन । तिम्रा भन्दा धेरै लुगा फटाएको छु । धर्मकर्मका कुरा गर्नु पर्छ । उनको इच्छा अनुसारको काम गरिदिनु भनेको मात्र हुँ मैले । पाको मान्छेले भनेको मान्नु पर्छ । बुझ्यौ ?”
+ + + + + +
रामबाबुको आज तेर्हौं पुण्य तिथि । धेरै दिन पछि नुन खाएकाले क्रियापुत्रिहरु गर्हौं जिउ लिएर पनि काममा लागि परेका छन् । अरु गाउँलेहरु पनि काम सिध्याउने हतारोमा छन् ।
बाहिर मानिसको निकै ठूलो जमघट छ । रामबाबु गाउँका हकिला र फर्स्याइला मानिस भएकाले उनलाई सबै गाउँले मन पराउँथे । आज उनको तेर्हौं तिथिको दिन उनीहरु यस घरमा भेला भएका छन् ।
रामबाबुले घर बाहिर-भित्र सबै तिरको काम आफैं भ्याउँथे । धनमायाले त्यति धेरै चटारो सहनु पर्थेन । तर आज उनको अनुपस्थितिमा धनमायालाई के गर्ने कसो गर्ने निर्णय गर्न गार्हो परिरहेको छ । जेठो छोरो दिनेश विदेश काम गर्न गएको आइपुगेको छैन । कान्छो धनबिर उमेर नपाकेकोले उसको कुरा कसैले पत्याउँदैनन् । दिनेशले आउने तार त गरेको थियो । तर काम सिद्धिँदा पनि उसको उपस्थिति हुन सकेन । अब आउने आश पनि सबैले मारे ।
आज बिहानै देखि श्याममणि पण्डित यतै छन् । खुब फुर्तिसाथ काम सघाइरहेका छन् । आजको कर्मकाण्ड ‘मैले’ गर्न पाउनु पर्छ भन्ने उनको दाबी छ ।
“हेर धनमाया बहिनी ! आजको कर्मकाण्ड राम्ररी रीत पुर्याएर गर्नुपर्छ । हतारो गरेर हुन्न । उनको निम्ति जति गर्ने आजै हो । राम्रो ब्राम्हणलाई पाठ गर्न लाउनु पर्छ । दान दक्षिणा गरेर ब्राम्हण खुशी पार्यौं भने रामबाबुको आत्माले पनि शन्ति पाउने छ ।”
“मलाई त यो धर्म रीति पनि धेरै आउँदैन । सबै उनैले सम्हालेका थिए । अब के गर्नु पर्ने हो । तपाईहरु हुनुहुन्छ र नै म ढुक्कसित बसेकी छु । तपाईहरु जे भन्नुहुन्छ, त्यही गर्छु म त,” – धनमायाले भनिन् ।
“तिमीलाई आफ्नो श्रीमानको इच्छा त थाहै होला । उनको ठूलो इच्छा थियो । मरेपछि उनको नाममा त्यो तल्लो खेत दान गरिदिनु । खेत दान गर्नु भनेको ठूलो पुण्य हो । यसले सात पुस्ताका पितृलाई पनि तार्छ,” श्याममणि पण्डितले आफ्नो दूनो सोझ्याउने प्रयास गरे ।
धनमायाले आफ्नो अनभिज्ञता पोखिन “जसो गर्दा उनको आत्माले पार पाउँछ त्यसै गरिदिनोस् । म ऐउटी बुढी त पार्टीमा बसेर भए पनि जीवन गुजरा गर्छु ।”
कैलाशपति आएको देखेपछि श्यामपण्डितको मनमा चिसो पस्यो । अव कतै कुरे बिग्रने हो कि । “म अहिले घर जान्छु । पुस्तकहरु ल्याएकै छैन । तिमी सबै थोक तयार गर । दान दक्षिणा, पूजाका अन्य सामानहरु पनि ।” हतार-हतार गर्दै पण्डित उठेर हिडे । हिड्न भ्याउँदा नभ्याउँदै कैलाश पुरोहित पनि आइपुगिहाले ।
“पूजाका सामानहरु सबै ठिक भयो त ? बाछी किन्नु पर्दैन । मेरो घरको लिन आउनु भैहाल्छ । धेरै खर्च गर्ने हैन नि । बुझ्नु भो !अँ पण्डित बाकेले के भने ?
“के भन्थे धर्म कर्मका कुरा त गर्छन नि । दान दक्षिणा राम्रो गर्नु, पूण्य कमिन्छ भन्छन् । मेरो पनि ईच्छा त्यही हो । धनेका बा’को आत्माले मुक्ति पाओस । तल्लो खेत दान गर्ने तयारिमा छु,” धनमायाले कथा सुनाइन् ।
“तपाई कस्तो कुरा गर्नु हुन्छ ? खेत दान गरेर कहाँ कमाइ गरेर खाने ? भोली यी छोराले गरी खानु पर्दैन् ? जिउदो आत्मालाई दु:ख दिदा मृतात्माले सुख पाउँदैन बुझ्नु भो । खेत दान गर्ने कुरा नगर्नुस । दुई पैसा खर्च नगरी यो काम सिद्धिन्छ, खर्च भनेको छोरालाई पढाउन चाहिन्छ,” पुरोहितले सम्झाए ।
धनमायाले केही भन्न सकिनन् । दुई विद्वानका दुई थरी कुराले उनलाई अक्क न बक्क बनायो । दान दक्षिणाका विषयामा अरु कसैले केही बोलेनन् । निर्णय परिवारले गर्ने भएकाले काजी पनि अघि सरेनन् । धनमाया कुन ठीक हो भनेर निर्णय गर्ने अवस्थामा थिइनन् ।
अबेर सम्म कर्म काण्ड थालिएन । धर्म कर्म, दान दक्षिणा र वेदान्त अर्थ्याउने नाममा दुई ब्राम्हणको चर्का चर्की नै पर्यो । गाउँमा ग्रन्थ र कर्म काण्डका विषयमा सबैले सोध्ने यीनै दुई ब्राम्हण थिए । तर उनीहरुविच नै ठेलमठेल परेपछि विचमा कुरा काट्ने कुसैले आँट नै गरेन । यसले धनमायालाई झन पिरोल्यो ।
अन्य सबै काम तयार भए पनि ब्राम्हणहरुको रडाकोले गर्दा कर्म काण्ड थालिएको थिएन । श्याम मणि त्यो राम्रो खेत आफ्नो हातमा पार्ने दाउमा थिए भने कैलाशपनि बार्ह दिन आफूले काम गरे पछि तेह्रौँ दिनको कर्म किन छाड्छु भन्ने जिद्दिमा थिए ।
तर अचानक……………परिवेश बदलियो । होहल्लाको खिचलोमा अरु तिर नसोचेका गाउँलेले दिनेशलाई आगनमै आइपुग्दा मात्र देखे । सबैको मन हलुंगो भयो । सबै उसैतिर झुम्मिए । घरको खिचलो मिलाउने प्रयास फेरी सुरु भयो ।
One Reply to “भू-दान”