भेटेँ भने तिमीलाई
जमुना न्यौपाने
क्यानाडा
तिम्रो बोलिको माधुर्यतामा
लठ्ठिएको यो मन
थाहा छैन – लोभलाग्दो त्यो यौवनले
कति मत्याउने हो मलाई ?
पर्ख केही क्षण संगम भेटिनेछ पक्कै
र, बग्नेछौ हामी संगसँगै एक भएर
कल्पदैछु ती पलहरु – यदि भेटेँ भने तिमीलाई
हेर्न सकुँला कि नसकुँला
ती मयुरी आँखाहरुमा
थाहा छ – म सर्माएकी हुनेछु
तर, नसम्झनु – मेरा आँखामा ग्रहण रहेछन् भनेर
तिम्रो पुष्पपत्र जस्तै ओठहरुसँग
संवाद गर्न सकुँला नसकुँला
थाहा छ – म अवाक हुनेछु त्यसबखत
तर, नसम्झनु -मेरो बोलिमा अविस्वासको ननिको गन्ध रहेछ भनेर
यदि भेटेँ भने तिमीलाई –
नियालेर मासुम अधर
मुस्काउन सकुँला नसकुँला
नभनेरै पनि बुझ्नु तिमीले -बग्नु अघि नदिको स्थिरता
तर, नसम्झनु – मेरो मुहारमा औंशीको धब्बा रहेछ भनेर
हाय, त्यो तिम्रो कामुक वदन
नजिकै पुग्न सकुँला नसकुँला
थाहा छ – मेरा अवयवहरु वाचाल हुनेछन्
तर, नसम्झनु -मेरो बनावटमा कुरुपताको टिको रहेछ भनेर
यदि भेटे भने तिमीलाई –
प्रथम प्रहर मै दौडदै गएर
सक्नेछैन – समाउन हातहरु
सक्नेछैन – दिन अंगालोको न्यानोपन
न सक्नेछु दिन गहिरो चुम्बन तिमीलाई
तर, नसम्झनु – मेरा हरेक छिद्रहरुबाट
गाउँले गन्ध आइरहेछ भनेर
बरु बुझिदिनु -पर्खाईको बेतावमा अनियन्त्रीत मेरा चालहरु
असामान्य परिस्थितिद्वारा बिचलित छालहरु
पहिलो भेटको क्षणअघि
अन्तिम बिदाई गर्नुपर्नेका खयालहरु
तिमीमा समाहित भएपछि झेल्नुपर्ने सवालहरु
तर, भेटें भने तिमीलाई –
बेरेर नसा नसाको सञ्जालमा
बहाउँदै रक्तकणहरुद्वारा
पुर्याउन मन छ मुटुसम्म
र, सुनाउन मन छ – ढुकढुकिसँगै गुञ्जिरहेको एउटा नाम
देखाउन मन छ दिलद्वारा
दिलमा कुदिएको अमिट एउटा बिम्ब
र, बनाउन मन छ – त्यही बिम्बाकृत भित्तोमा
तिम्रा ओठहरुको एउटा गहिरो निसानी