भ्रम
भक्त घिमिरे
अमेरिका
यो भ्रम तिमीमा कहिल्यै नरहोस्-
तिमी शैशवकालबाट बढ्दै जाँदा
तिम्रो टाउकोले उचालेर
आकाश अग्लो भएको होस् !
बुझ्नुपर्छ अब तिमीले;
हीनताबोधको आवेगमा
खुट्टा बजार्दा थिचिएर
धर्तीमा खाल्टाहरु परेका पनि होइनन् !
तिमी अर्थहीन कंकलाशब्द रुँदा
प्रकृति भिजेर नदीहरु बढेका पनि होइनन् ।
यो अन्योल तिमीमा नरहोस् कहिल्यै-
तिमी मभन्दा बेग्लै अस्तित्व बोकेर
यो धर्तीमा बाँचिरहेका छौ,
तिमी र म त
पछि ढकमक्क फुल्ने आशामा रहेका
एउटै सुनाखरीको बोटका पल्लवीहरु हौं,
एउटै लहरामा झुलेका
मुना, कोपिला र थुँगाहरु हौं ।
इतिहासका युद्ध सरदारहरुको
नामका पुच्छरहरु गाँसेर तिमी आफूलाई,
धृतराष्ट्रको लागि सञ्जय बने सम्झौला,
हस्तिनापुरका लागि महात्मा विदुर बने बुझौला…
तिमीलाई थाहा छ त;
नूनकै सोझो सम्झेर दुष्ट दूर्योधनको पक्ष लिँदा
इच्छा मृत्युका हकदार देवब्रतको पनि
कुरुक्षेत्रमा केही पिताम चलेन !
तिमीले भनेजस्तै साँच्चै तिमी
हाम्रो भविष्यप्रति चिन्तित छौ भने-
नभएको झूटो युद्धको कथा सुनाउने
छली सञ्जय नबन-
तिमी आफैंले नंग्र्याएर क्षतविक्षत बनाएको
हाम्रो ‘हस्तिनापुर’लाई
कुरुक्षेत्र बनाएँ भन्ने भ्रमका बखान
अब त धृतराष्ट्रले पनि सुन्ने छैनन् ।
तिमीले भनेजस्तै साँच्चै तिमी
हाम्रो भविष्यप्रति चिन्तित छौ भने-
हाम्रो युद्ध कतै छ भने,
त्यो त महाभारत युद्धजस्तो
बन्धुबीचको लडाईँ होइन,
वंशजबीच अंशबण्डा होइन-
हाम्रो युद्धको लक्ष्य र गन्तव्य,
तिमीलाई पनि याद हुनुपर्छ !
यसको उद्देश्यप्राप्तिमा तिमी सचेत छौ भने-
हामीलाई त कथा सुनाउने सञ्जय होइन,
रथ हाँक्ने सारथी पो चाहिएको छ;
हुनसक्छ पछि शान्ति-सुव्यवस्थामा
शान्तिका मन्त्रसहित चरु पोलौंला
होम लगाउँला; त्यतिबेला
तिमीजस्ता पण्डितको खाँचो हुनेछ !
तर आज त;
अस्तित्वरक्षाको यस युद्धमैदानमा
गणनायक र सेनापतिहरु पो
हामीलाई चाहिएको छ !
धर्तीमा उज्यालो र अँध्यारो छुट्याउने
हामीमा चेत छ;विवेक छ –
यो चेत तिमीमा पनि रहोस्…
भाले बासेर उज्यालो भएको होइन,
उज्यालो भएर भाले बासेको हो ।
भाले बासेर उज्यालो भएको होइन, उज्यालो भएर भाले बासेको हो । निक्कै राम्रो कविता