मक्ख परिछन्
रमेशचन्द्र घिमिरे
लमजुङ्ग, नेपाल
(बालकविता)
उफ्रिएर राधाले स्पाइक् गरिछन्
लिफ्टर भा´की बबिना मक्ख परिछन्
विपक्षीलाई जैले नि पेल्न सिपालु
उस्तै उस्तै छ जना खेल्न सिपालु
करिनाले सजिलै जाली कटाउँछिन्
जताबाट आयो बल त्यतै पठाउँछिन्
जर्सी उस्तै नम्बरचाहिँ थरिथरि छन्
नयाँ ड्रेसमा सुमिना मक्ख परिछन्
सिट्ठी फुक्दा रेफ्रीले सर्भिस हानेका
खेलको नियम सबैले पूरै जानेका
पास मिलाई हावामै बल नचाए
फल् हुन्छ कि भनेको कस्सो बचाए
खेल्दाखेल्दै प्रतिमा झन्नै लडिछन्
बल उठाउन पाएर मक्ख परिछन्
नम्बर आयो आफैलाई उता गएन
मिलाएर खेलेथे आउट भएन
बरु हारे हारिन्छ गर्नु हुन्न झेल्
अनुशासित भएर खेल्नुपर्छ खेल्
सुष्मा उस्तै तगडा साह्रै दह्री छन्
भलिबलमा जितेर मक्ख परिछन् ।